Successfully Copied

७५ वर्ष सँगसँगै

शिवलालका समकालीन दौंतरीलाई समारोहमा सहभागी गराउन उनका छोराछोरीले अखबारमा बुवाआमाको फोटोसहित रंगीन विज्ञापन प्रकाशन गरेका थिए ।


सुरज कुँवर
संसारभर बिहावारीका लागि कुनै निश्चित ‘सही’ उमेर छैन । सामान्यतः किशोरावस्थाको अन्त्यसँगै अधिकांश मानिस २०–३० को दशकबीचविवाह गर्छन् ।उमेर पुगेपछि हुने दीर्घकालीन साझेदारीहो–विवाह । भावनात्मक र आर्थिक रूपमा स्थिर भएपछियुवा–युवती ‘जुनीजुनीसम्म सँगै जिउने–सँगै मर्ने’ भनी जोडी बाँधिन्छन् ।
‘विवाह किन हुन्छ ?’ यसका थुप्रै कारण छन् । जस्तो एक पुस्ताबाट अर्को पुस्तासँग सम्बन्ध गाँस्न, परिवार निर्माण गर्न, सांस्कृतिक र सामाजिक अपेक्षा पूरा गर्न, धार्मिक दायित्व पूरा गर्न, कानुनी र वित्तीय लाभ आदान–प्रदान गर्न विवाह गरिन्छ । यी सबै कारणमा एक–अर्काबीच गहिरो हेरचाह, प्रेम, भावनात्मक समर्थन त आवश्यक पर्छ ।
विवाहपछि पहिलो वर्षगाँठ धेरै जोडीका लागि एउटा फगत मिति मात्रै हुँदैन । यो जोडीको प्रेमकथाको सुरुवाती पहिलो अध्याय हो । विवाहको पहिलो वर्षगाँठ (कटन वर्षगाँठ) देखि ९० वर्ष (ग्रेनाइट वर्षगाँठ) सम्म मानिसहरूले संसारभर ‘वैवाहिक वार्षिकोत्सव’ मनाउने गरेको पाइन्छ ।
विशेषगरी संयुक्त राज्य अमेरिका र बेलायत आदि विकसित मुलुकमा १० वर्षमा आल्मुनियम, १५ वर्षमा क्रिस्टल, २५ वर्षमा सिल्भर, ५० वर्षमा गोल्ड र ७५ वर्षमा डाइमन्ड म्यारिज एनिभर्सरी (विवाह वार्षिकोत्सव) मनाइन्छ । त्यहाँ जस्तै नेपालमा पनि विवाह सम्पन्न भएको दिनका आधारमा सन्तान तथा आफन्तजनले विवाहको वार्षिकोत्सव मनाइदिने, पुनः धुमधाम विधिवत् विवाह गराइदिने, लुगाकपडा, गहना उपहार दिने, स्वास्थ्य लाभको कामना गर्दै पूजा गरिदिने, भोज आयोजना गर्ने चलन बढ्दै गएको छ । जुन, इन्स्टाग्राम, फेसबुक, टिकटक र युट्युबमा पनि देख्न सकिन्छ ।
विवाह भएको दिनका आधारमा पहिलोदेखि ५० वर्षसम्मको वार्षिकोत्सव त धेरै नै मनाइएको देखिन्छ । तर, ७५ सम्म पनि निरोगी भई साथसाथै विवाह उत्सव आयोजना भएका घटना भने बिरलै सुनिन्छन्/देखिन्छन् ।
हालै ललितपुरको खोकनाका ९३ वर्षीय दम्पती शिवलाल डंगोल र दुर्गा डंगोल यस्तै समारोहमा आकर्षणको केन्द्र बने । सधैजसो नयाँ–नयाँ विवाहको साक्षी हुने ललितपुरको भैंसेपाटीस्थित कार्यविनायक पार्टी प्यालेस २०८१ असार २२ गते यस्तै समारोहको साक्षी बन्यो । विवाह गरेको ७५ वर्षको अवसरमा शिवलाल र दुर्गाले एउटा भव्य वैवाहिक समारोह अर्थात् हीरक जयन्तीको आयोजना गरे ।
विभिन्न पेसामा अमेरिकादेखि भारतको मुम्बईसम्म फैलिएका शिवलाल र दुर्गाका तीन/चार पुस्ता सन्तान भेला भए । पौराणिक नेवारी गाउँ खोकनामा रथयात्रा गराए । बाजा बजे । गाउँबाट निस्केको त्यो रथयात्रा बेलुकी पार्टी प्यालेसमा ठूलो भोजमा बदलियो । जहाँ झन्डै ८ सय मानिस भेला भएर शिवलाल र दुर्गालाई बधाई दिए । त्यहाँ शिवलाल र दुर्गालाई परिवारजनले नृत्य देखाए । अबेरसम्म गीत गाए । उनीहरूलाई पनि नचाए ।
‘बदलिँदो राजनीतिक परिवर्तनपछिको समानताको कानुनी परिवर्तनले हिजोआज सामान्य मनमुटावमा दम्पतीहरूबीच चाँडै विभाजन आउने घटना बढिरहेकाबेला ७५ वर्ष सँगसँगै पति–पत्नी भई बिताएकाशिवलाल र दुर्गाकोहीरक जयन्ती समारोह सहभागी सबैका लागि उदाहरणीय कार्य हो,’ ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन भन्दै थिए । समारोहमा खुसीयाली मनाउन पुगेका शुभेच्छुक दम्पतीहरू शिवलाल र दुर्गाबाट आ–आफ्नो दाम्पत्य जीवनको सफलताका लागि आशीर्वाद लिइरहेका देखिन्थे ।
शिवलालका समकालीन दौंतरीलाई उक्त समारोहमा सहभागी गराउन उनका छोराछोरीले अखबारमा बुवाआमाको फोटोसहित रंगीन विज्ञापन प्रकाशन गरेका थिए ।
४३ वर्ष लामो निजामती सेवाका क्रममा विभिन्न कार्यालयका साथै छुटपुट सहकर्मीलाई शिवलालको हीरक जयन्तीमा अखबारको सूचनाबाट डाकिएको थियो ।
‘हाम्रा बुवा–आमाको विवाह भएको ७५ वर्षगाँठ आफैमा दुर्लभ समारोह थियो,’ शिवलालका कान्छा छोरा डोर्नियर जहाजका प्रशिक्षक पाइलट रवीन्द्र डंगोलले भने, ‘बुवालाई चिन्ने उहाँकै दाँवलका समकालीन जीवितै साथीहरूको भेला गराउन, गुज्रेको कालसमय सम्झाउन सार्वजनिक सूचना (विज्ञापन) गरेका थियौं । बुवाको उमेर ९३ वर्ष पूरा भइसकेकाले राणाकालदेखि प्रजातन्त्रकालसम्म बुवासँगै काम गरेका, स्कुल पढेका वृद्ध दौंतरीबीच भेट गराउन सार्वजनिक आह्वान गरेका थियौं ।’
१९८९ सालमा खोकनामा जन्मिएका शिवलालभन्दा दुर्गा उमेरमा ५ महिना मात्रै कान्छी हुन् । दुवैले १५ वर्षको उमेरमा २००४ सालमा खोकनामै विवाह गरेका थिए । लमीको सहायतामा भएको त्यो मागी विवाह थियो । उनीहरूबीच तीन वर्षसम्म बोलचाल पनि भएन । २० वर्षको उमेरमा उनीहरूलाई पहिलो सन्तानको प्राप्त भएको थियो । उनीहरूका हाल दुई छोरा र दुई छोरीसहित १५ सन्तान छन् ।
शिवलालको जीवनीमाथि लेखिएको पुस्तक ‘खोकनाका अभियन्ता’ मा उनले आफ्नो विवाह गर्दा ७ सुका (१ रुपैयाँ ७५ पैसा) मा इस्टकोट किनेको प्रसंगमा त्यसताका हुने विवाहबारे लेखेका छन्, ‘त्यो धेरै ठूलो पैसा थियो । हुनेखानेले मात्रै इस्टकोट लगाउँथे । नहुनेले घरमै भएका फरक लुगा लगाउँथे । केही मीठोमसिनो खान्थे । अरु सबै उस्तै हुन्थ्यो ।’

दुर्गाले पाठशाला गएर अक्षर चिन्न पाइनन् । ३० जनाको संयुक्त डंगोल परिवारको मुख्य आम्दानीको स्रोत त्यसताका कृषि मात्रै थियो । खेती किसानी भएकाले दुर्गाको काम खेतबारी र पशुचौपाया स्याहार्नुमै ठिक्क हुन्थ्यो ।
दुर्गाका भाइ ८१ वर्षीय गोपाल डंगोलका अनुसार, त्यो जमाना पढेलेखेका केटालाई छोरी दिन अभिभावक नाक खुम्च्याउँथे । किनभने ‘पढेलेखेकाले खर्पन बोक्दैन । छोरीले मात्रै दुःख पाउँछे’ भन्ने मान्यता थियो ।
खेती किसानीका लागि कहलिएको खोकनामा शिवलालले भने सुरुमा न्यूरोडको हाकु प्राथमिक पाठशाला (हाल गोरखापत्र रहेको स्थान) मा स्कुल अक्षर चिन्ने अवसर पाएका थिए । खोकनाबाट पढ्न आउन नभ्याउने भएकाले उनी इन्द्रचोकमा डेरामा बसेर पढ्थे ।उनी खोकनामा एसएलसी पास गर्ने पहिलो व्यक्ति थिए । यसमा खोकनाको गाविससहितले २०५६ सालमा अभिनन्दन गरेको थियो । उनले एसएलसी पास गर्नुअघि नै २००६ सालमै निजामती सेवामा जागिर पाएका थिए ।
त्यसबेला कर्मचारीको सबैभन्दा कनिष्ट तह नौसिन्दा (क्लर्क) बाट उनले निजामती बाली अड्डामा जागिर सुरु गरे। यो अड्डाले राणाहरूका भाइभारदार र आफन्तलाई विभिन्न शीर्षकमा भत्ता वितरण गर्थ्यो । त्यहाँ शिवलालको हात पर्ने तलब १२ रुपैयाँ थियो । उनी राति नागपोखरीस्थित नन्दी स्कुलमा पढ्थे । दिउँसो बबरमहलमा नोकरी गर्थे । नन्दीरात्रि विद्यालयबाट उनले २०१२ सालमा एसएलसी पास गरेका थिए । एसएलसीमात्रै होइन आईए र बिए पास गर्नेमा शिवलाल खोकनाकै पहिलो व्यक्ति भएको उनको आत्मकथामा वर्णन गरिएको छ । ‘खोकनाबाट एसएलसी पढ्ने पहिलो मात्रै होइन,२०११ सालमा गाउँमै साइकल चढ्ने, २०३३ सालमा घरमा चर्पी बनाउने, २०३४ सालमा मोटरसाइकल प्रयोग गर्ने पहिलो मै थिएँ,’ पुस्तकमा लेखिएको छ ।

त्यस्तै, जमलमा स्थापना भएको पहिलो निजी क्लिनिकमा उपचार गराउने पहिलोमध्येका उनी पनि एक हुन् । त्यसताका काठमाडौंमा सरकारले स्थापना गरेका वीर अस्पताल, टेकु अस्पताल, काठमाडौं वैद्यखाना र टोखामा क्षयरोग निवारण केन्द्र मात्रै थिए । निजी क्लिनिक थिएन ।
२०१३ सालमा नेपालको नागरिकताको प्रमाणपत्र प्रयोगमा नआउँदै मजिस्ट्रेट अफिसबाट सादा पाना (लेखोट) मा नेपाली नागरिकता पहिलोपटक लिनेमध्ये म पनि थिएँ,’ उनले पुस्तकमा लेखेका छन्, ‘२००६ सालतिर नेपालमा पैसा भनेको चाँदीको मोहर सिक्कामात्रै थिए । त्यसबेला एक रुपैयाँलाई खुल्ला गर्दा एक सय पैसा र एक पैसालाई खुल्ला गर्दा चार दाम हुन्थ्यो । एक पैसामा जिरा, अदुवा, मरिच, सुकमेल गरी चार मसला किन्न पाइन्थ्यो । त्यसैबेला न पहिलोपटक रु ५ को नोट आयो । त्यसबेला पैसा गनेर थन्क्याउनेमध्ये म पनि एउटा कर्मचारी थिएँ ।’
शिवलाल कर अधिकृत भई उपसचिवबाट २०४९ सालमा ६० वर्षको उमेरमा सामान्य प्रशासन मन्त्रालयबाट अवकाश लिई घर फर्के ।
जागिरपछि शिवलाल पत्नी दुर्गा र परिवारसहित दर्जनौं तीर्थस्थल घुमे । दुर्गाले बताएअनुसार, उनीहरू मुक्तिनाथ, गोसाइँकुण्ड, रिडी, मनकामना पुगे । त्यस्तै भारतको बनारस, उत्तराञ्चल चारधाम, यमुनोत्री, गंगोत्री, केदारनाथ, हरिद्वार, गंगासागर, जगन्नाथ पुरी, रामेश्वरम्, कन्याकुमारी, कर्नाटक, पुष्कर, मद्रास, गोपुरम, तिरुपती बालाजी, मुम्बई साइबाबा, कृपालुधाम उत्तरप्रदेश पुगे घुमे । जागिरकै सिलसिलामा शिवलाल अमेरिका, जापान, हङकङ, फ्रान्स र भूटान पनि पुगे ।
अफसोस, वैवाहिक जीवनकोहीरक उत्सवपूरा गरेको एक महिनापछि साउन २४ मा उनको निधन भयो ।
श्रीमान्को जागिरे जीवनसँगै झापा, विराटनगर, कपिलवस्तु, नेपालगन्ज र पोखरा पुगेकी दुर्गा हालै खोकनास्थित मूलघरमा भेटिइन् । जहाँ उनले आफ्ना श्रीमान्सँग बिताएका क्षणहरूको केस्रा–केस्रामा विस्तार गरिन् ।
हालको विशालबजारमा २० को दशकतिर नाटक देखाइने थिएटर रहेछ । एक साँझ श्रीमान् शिवलालसँग त्यहाँ नाटक हेरिरहँदा दर्शक भड्किएछन् । ‘हामी अन्तिम सिटमा थियौं,’ दुर्गाले सम्झिन्,‘त्यो समयमा महिलाहरू घरबाट निस्किँदैन थिए । तर, मेरा श्रीमान्ले मलाई साथसाथै लैजानुहुन्थ्यो । समाज देखाउनुहुन्थ्यो ।’
उनले नाटकको नाम सम्झिन खोजिन् । तर, स्मृतिबाट हराइसकेको रहेछ । छेउमै उनका श्रीमान्को सम्झनामा राखिएको फोटो र बलिरहेको दियो थियो । उनले श्रीमान्को अनुहार हेरिरहिन् ।

 Image