खेलकुदको सपना बुन्नु र यसैमा करिअर बनाउन खोज्नु त्यति सहज छैन । सामान्य परिवारमा समय व्यवस्थापनको जटिलता एकातिर हुन्छ भने खेल सामग्रीका लागि स्रोत जुटाउने चुनौती अर्कातिर । धेरैलाई लाग्छ–खेल क्षेत्रबाट जीवन निर्वाह गर्न सकिँदैन । तर पनि अनेक समस्या र चुनौती झेल्दै खेलकुद क्षेत्रमा महिलाको आगमन लोभलाग्दो देखिन्छ । फुटबल, भलिबल, जुडो, कराँते एवं सुटिङजस्ता खेलमा महिलाहरू ओलम्पिकसम्म पुग्न सफल भएका छन् । कतिपयले आफ्नै रेकर्ड तोडेका छन् त कतिपयले अनुभव बटुलेर फर्किएका छन् । यी त्यस्ता भाग्यमानी हुन्, जसका लागि पारिवारिक साथ र सहयोग महत्वपूर्ण रह्यो । छोरीहरूको सपना पूरा गर्न बुवाहरू पनि तयार भए । पेरिस ओलम्पिक–२०२४ मा यसपटक नेपालबाट जम्मा सात खेलाडी सहभागी भएकामा चार जना त महिला नै थिए । प्रिन्स दाहाल (ब्याडमिन्टन), श्यान्टु श्रेष्ठ (टेबलटेनिस), एलेक्जेन्डर शाह (पौडी), सुस्मिता नेपाल (सुटिङ), मनिता श्रेष्ठ प्रधान (जुडो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र डुवाना लामा (पौडी) ले ओलम्पिकमा आफ्नो कौशल देखाइसकेका छन् ।कुशेऔंसी (बुवाको मुख हेर्ने दिन) को अवसर पारेर नारीको यो अंकमा खेलाडी छोरी हुर्काइरहेका बुवाहरूका अनुभव समेट्ने प्रयास गरिएको छ ।
सुस्मिता नेपाल (सुटिङ)
बुबा -गणेश प्रसाद नेपाल
पेरिस ओलम्पिक २०२४ को सुटिङ खेलमा सहभागिता जनाउन पुगिन्, सुस्मिता नेपाल । तर सोचेजस्तो सफलता हात परेन । १० मिटर एयर राइफल प्रतिस्पर्धामा उनी छनोट चरणबाटै बाहिरिनुपर्यो । ‘ओलम्पिकमा जसरी पनि राम्रो गर्नुपर्छ भन्ने दबाब महसुस भयो,’ उनले ओलम्पिक अनुभव सुनाइन्, ‘धेरै आत्तिएँ, त्यसैले पनि सोचेजस्तो खेल्न सकिनँ ।’
उपाधि जित्न नसके पनि ओलम्पिकसम्मको यात्राले उनीसँगै बुवालाई खुसी तुल्याएको छ । छोरीका हरेक खेल गतिविधिलाई नियालिरहेका हुन्छन्, बुवा गणेश प्रसाद नेपाल। सुस्मिताले ओलम्पिकसम्मको यात्रा तय गर्लिन् भनेर उनले सोचेका थिएनन् । ‘अहिले ओलम्पियन खेलाडीको बुवाभन्दा एकदमै गर्व महसुस भएको छ,’ उनी भन्छन्, ‘ओलम्पिकसम्मको यात्राले छोरीले राष्ट्रको प्रतिनिधित्व गर्न सकेकामा खुसी छु ।’ उनी सदैव छोरीको खेल अनुभवका साक्षी हुन् । खेलकुदका हरेक सामान उनैले जुटाइदिन्छन् । ९ कक्षा पढ्दै गर्दा विद्यालयको सुटिङ खेलमा छनोट भएपछि सुस्मिताको यात्रा सुरु भएको हो । पहिलो खेलमा गोल्ड मेडल ल्याएपछि उनीसँगै परिवारमा हौसला थपियो । ‘पहिलो खेलमै गोल्ड ल्याएपछि छोरीमा खुबी रहेछ भन्ने लाग्यो, त्यसपछि उसको प्यासन र रहर देखेर निरन्तर अगाडि बढ्न हौसला दिइराखें,’ बुवा भन्छन् ।
कामको सिलसिलामा उनी बाहिरै हुन्थे । दुई छोरीको बाल्यकालमा धेरै समय सँगै रहन पाएनन् । ‘सानोमा बाहिरबाट बुवा आउँदा चकलेट–मिठाईं ल्याइदिनुहुन्थ्यो, त्यसले हामी दङ्ग पर्थ्यौं,’ सुस्मिता सम्झिन्छिन् । छोरीहरूको पढाइ र रहरमा उनले कुनै कसर बाँकी राखेनन् । खेलकुदमा लागेर पढाइ बिग्रन्छ कि भन्ने चिन्ता तब हरायो जब सुस्मिताले एप्लस ल्याएर एसएलसीपास गरिन् । छोरीको रहरका लागि खेलकुदमा प्रोत्साहन गरे पनि उनी खेलमा भविष्य देख्दैनन् । सरकारी तहबाट खेलाडीलाई प्रोत्साहन गर्न नसकेको उनको भनाइ छ । भन्छन्, ‘खेलाडीहरूलाई अभिभावकले मात्रै सधैं टिकाउन सक्दैनन् । यसका लागि सरकारी तहबाट पनि संरक्षण आवश्यक छ ।’
मनिता श्रेष्ठ (जुडो)
कमल श्रेष्ठ
९ वर्ष पुग्दै गर्दा जुडोसँग जोडिइन्, मनिता श्रेष्ठ प्रधान । बन्दी सहायता नियोग (पाम) मा रहेर उनले खेलयात्रा सुरु गरेकी हुन् । पाँचथरमा जन्मिएकी उनी आठ वर्षकै उमेरमा काठमाडौंमा आइपुगिन् । जुडोमा प्रवेश गर्दैगर्दा परिवारले मात्र होइन उनको समाजले पनि खेल बुझ्न सकेको थिएन । ‘मैले जुडो खेल्छु भन्दा बुवा कराँते होला भनेर बुझ्नुहुन्थ्यो,’ मनिता भन्छिन् ।
उनी होस्टलमै हुर्किइन् । त्यहीँबाट जुडोलाई करिअरका रूपमा अगाडि बढाइन् । उनको सपना थियो–ओलम्पिक । उनलाई लाग्छ, छोराछोरीको खुसी र सपनामा बाआमाले आफ्नो सपना त्यागेका हुन्छन् । छोरीले राम्रो गरिरहेकाले सफल हुन्छे भन्ने विश्वास उनका बुवामा थियो ।
मनिताले आफ्नो सपना त पूरा गरिन्, ओलम्पिकसम्म पुगेर । तर, पेरिस ओलम्पिक २०२४ मा पहिलो चरणबाटै बाहिरिनुपर्यो । उनी भन्छिन्, ‘नेपाली खेलाडीलाई ओलम्पिक जित्नु सहज छैन अहिलेको अवस्थामा । तर, प्रतिनिधित्व गर्नु नै ठूलो कुरा हो ।’
ओलम्पियन खेलबारे अझै पनि उनका बुवा जानकार छैनन् । छोरीको सपना पूरा भयो भन्ने उनलाई लागेको छ । गेममा जाँदैछु भन्दा बुवाले भनेका थिए, ‘जसरी पनि जित्नुपर्छ है, राम्रो खेलेर आउनू ।’ खेलकुदका समस्या अठ्यारा उनलाई थाहा छैन । थाहा छ, छोरीको सफलताका लागि प्रोत्साहन गरिरहनुपर्छ भन्ने ।
२०७६ सालमा पुलिस क्लबमा आबद्ध भएपछि बुवाले छोरी खेलाडीसँगै जागिरे भइन् भनेर खुसी व्यक्त गरेका थिए । खेलकुदको प्रशिक्षण भइरहने हुनाले उनी घरपरिवारसँग चाहेर पनि समय बिताउन सक्दिनन् । भन्छिन्, ‘एक खेलपछि अर्को खेलको तयारीमा जुटिहाल्नुपर्छ । त्यसकारण परिवारसँग समय बिताउन, घुलमिल हुन पाइरहेकी छैन ।’
बुवा छोरीका खेलकुद गतिविधिदेखि कहाँ–कहाँ खेल हुँदैछन् भन्ने जानकारी राख्छन् । मनिताले पनि यसबारे जानकारी गराइरहन्छिन् । ‘सानैमा परिवारबाट टाढा बसेकाले होला, धेरै सोधखोज गर्नु हुँदैन, छोरीले नाम कमाएकी छ भन्नुहुन्छ । यत्तिमै खुसी हुन्छु ।’
कल्पना परियार (सुटिङ)
अशोक परियार
सिरहामा जन्मिइन्, कल्पना परियार । बुवा वैदेशिक रोजगारमा भएकाले बालापनको पिता स्नेहबाट वञ्चित रहिन् । बुवाबाट मात्र नभई आमाबाट टाढा मामाघरमा हुर्किइन्, पढिन् । उनकी आमाका लागि छोरी र श्रीमान् ‘पाहुना’ बनेर पुग्थे । ‘बालापन मैले मामाघरमा नै बिताएँ, बुवा–आमासँग त्यति बस्ने मौका मिलेन,’ उनी भन्छिन्, ‘यसले भावनात्मक दूरी भने बढ्ने रहेछ ।’
बुवाले पढाइका बारेमा सोधिरहन्थे र भन्थे, ‘असल मान्छे बन्नुपर्छ ।’ छोरीले यस्तो गरोस् भन्ने कुनै सपना देखेका थिएनन् । जुन क्षेत्रमा लागे पनि अब्बल बनून् भन्ने मात्र थियो । न त कल्पनालाई नै खेलाडी बन्ने रुचि थियो । प्लस टु सकिनासाथ सेनामा जवान बन्ने हुटहुटीले उनलाई जागिर मात्र दिलाएन राष्ट्रिय खेलाडीको पहिचान पनि दियो । उनले भनिन्, ‘सेनाको विज्ञापन देखेर आवेदन दिएको, तालिममा फायरिङमा प्रथम भएपछि खेलकुदमा छनोट भएँ ।’ छोरी सेनामा छ भनेर ढुक्क थिए बुवा । तर, सुटिङ खेल के हो ? क्लब के हो भन्नेमा अञ्जान । कल्पनाले पनि बुझाउन चाहिनन् । खेलकुदमा अगाडि बढ्दै जाँदा विभिन्न टेलिभिजन, पत्रपत्रिकामा छाएपछि मात्र छोरी खेलाडी रहिछन् भनेर थाहा पाएका हुन् ।
सुरुमा आफू खेलाडी भएको बुवाले नरुचाएको सुनाउँछिन् कल्पना, ‘सेनामा भर्ती भएको मान्छे खेलाडी भएर हुन्छ भनेर गाली गर्नुहुन्थ्यो ।’ यो क्रम २–४ वर्षसम्म रहिरह्यो । राष्ट्रिय खेलाडी बनेर प्रतिस्पर्धा गर्न थालेपछि भने बुवाले पनि बुझ्दै गए । छोरीको नामले आफू चिनिन थालेपछि भने उनले गर्व महसुस गर्न थालेका छन् । अहिले उनलाई लाग्छ–छोरीले जागिरसँगै खेलाडीको पहिचान पनि बनाउँदै गएकी छन् । कल्पनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय हुँदै ओलम्पिकसम्मको यात्रा तय गरेकी छन् । खेलकुदका लागि सबै कुरा क्लबले नै जुटाइदिन्छ । ‘आर्मी क्लबमा आबद्ध भएकाले कुनै पनिसमस्या भोग्नुपरेको छैन, आर्थिकदेखि तालिम, खेलकुद सामग्री हरेक कुरामा सहज छ,’ उनले भनिन्। टोकियो ओलम्पिक २०२० मा उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । ६१६.८ स्कोरसहित उनले कीर्तिमान बनाइन् । कल्पनाले ओलम्पिकको सपना पूरा गरेकी छन् भने बुवाले छोरीको रोजाइ बुझेका छन् । खेलकुदका लागि बाहिर जाँदा उनी बुवालाई जानकारी गराउँछिन् । त्यसबेला बुवा सधैंझैं आशीर्वाद दिन्छन्, ‘छोरी राम्रो गरिरहेकी छौ । अझै राम्रो गर्दै जानू ।’