रूपा गहतराज
बाँके नेपालगन्जकी अछरी पोखरेलले २२ वर्षको उमेरमा विवाह गरिन् । सरकारी जागिरे श्रीमान्, नपुग्दो केही थिएन । विवाहपछिको घरजम अनि दुई छोरालाई हुर्काउँदा जिन्दगी आफ्नै लयमा बितिरहेको थियो । २०५७ सालको घटना हो । छिमेकमा एउटी महिलालाई आफ्नै श्रीमान् र कान्छी पत्नी मिलेर हत्या गरेको घटनाले उनलाई स्तब्ध बनायो । सन्तान नभएपछि आफ्नै पतिको अर्को विवाह गरिदिएकी ती महिलाले अन्ततः मुत्यु भोग्नुपरेको घटनाले अछरीलाई भित्रैबाट झस्काइदियो । त्यो घटनाले उनी धेरै रात सुत्न सकिनन् । ती महिलाको पीडाले उनलाई भित्रभित्रै पोलिरह्यो । एउटी महिलाको जीवनको के नै मूल्य रहेछ र आफ्नै परिवारबाट एउटी महिला कसरी असुरक्षित बन्न पुगिन् । पतिलाई सन्तान प्राप्तिको खुसी दिन खोज्दा एउटी महिलाले आफ्नै लागि मृत्युको बाटो तय गर्नुप¥यो । यी सबै प्रश्न अछरीको मनमा उठिरहे । उनले यही विषयमा एउटा लेख तयार गरिन् । भोलिपल्ट क्याम्पसका साथीहरूलाई त्यो लेख देखाइन् । सबैले त्यसलाई पत्रिकामा छपाउन सुझाव दिए । उनले नेपालगन्ज एक्सप्रेस पत्रिकाका सम्पादकलाई त्यही लेख देखाइन् । २०५७ साल मंसिर ११ गतेको पत्रिकामा त्यो लेख प्रकाशित भयो । त्यसपछि उनको पत्रकारिताको यात्रा सुरु भयो ।पत्रिकामा प्रकाशित आफ्नो नामसँग उनलाई प्रेम बस्यो । उनी अर्को दिन फेरि अर्को लेख लेख्न थालिन् । कार्यक्रममा जाने अनि त्यहा“को गतिविधि टिप्दै उनले समाचार लेख्न सुरु गरिन् । स्नातकसम्म अध्ययन गरेकी अक्षरीले फिल्डमा पुगेर समाचारहरू तयार गर्न थालिन् । पत्रकार बन्छु भनेर म यो क्षेत्रमा आएकी होइन तर एउटा घटनाले मलाई पत्रकार बनाइदियो ।’ उनले भनिन् ।
माओवादी जनआन्दोलन उनलाई सम्झना छ । २०५८ सालको कुरा हो । नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । पुलिस चौकीमा आक्रमण,प्रहरी, माओवादी नियन्त्रण अनि मृत्युका समाचारहरू तयार पार्नुपर्ने हुन्थ्यो ।
दुई दिनसम्म राति १ बजे फर्किन् । तेस्रो दिन पनि घर फर्कदा रातिको एक बजिसकेको थियो । पतिले घरको ढोका खोलिदिएनन् । उनले निकै बेर कर गरेपछि पतिले ढोका खोलिदिए । निकै रिसाएका पतिले कि पत्रकारिता कि मलाई रोज भने । त्यो सुनेपछि अछरी निकै भावुक भइन् र निकै बेर विवाद चलिरह्यो । अन्तमा उनले पतिसँग एउटा सम्झौता गरिन् । अहिले पनि त्यो दिन सम्झदा उनी भावुक हुन्छिन् । ‘जुन दिन तपाईंले मेरो चरित्रमाथि प्रश्न उठेको सुन्नुभयोे त्यो दिनदेखि म पत्रकारिता छोड्नेछु । तर मलाई पत्रकारिता छोड्न कहिल्यै नभन्नुहोला । विगत सम्झदै उनी भन्छिन्, ‘त्यसपछि उहाँले मलाई रोक्नुभएन ।’ त्यतिबेला मिडियामा काम गर्ने महिलाको संख्या थोरै थियो । उनी रिपोर्टिङमा जाँदा पनि प्रायः एक्लै जान्थिन् । आफ्नो कामबाहेक अरुसँग खासै सरोकार राख्दिनथिन् । तर पनि उनलाई त्यो यात्रा गर्न सहज भने थिएन । दुई छोरा हुर्काउँदै पत्रकारितामा टिक्नु सहज भएन । त्यतिबेला उनका जेठा छोरा पाँच वर्ष र कान्छा छोरा साढे तीन वर्षका थिए । रातबिरात घर आएर खाना पकाउनु, जुनसुकै बेला पनि रिपोर्टिङका लागि तयार हुनुपर्ने, छोराहरूलाई समय दिन नपाउने कुराले उनलाई पीडा दिन्थ्यो । तर पनि उनको लगनशीलताले त्यो सिलसिला रोकिएन ।
आफ्नो लक्ष्यलाई भेटाउन समय व्यवस्थापन गरेर काम गर्न सकियो भने सफल अवश्य भइन्छ । अछरीले भनिन्, ‘पत्रकारितालाई मैले प्यासन बनाँए । त्यसैले जस्तोसुकै अवस्थालाई व्यवस्थापन गर्न असहज भएन ।’ पाँच वर्षसम्म नेपालगन्ज एक्सप्रेसमा संवाददाता हुँदै उनी प्रमुख संवाददाता बनेर काम गरिन् । २०६१ सालमा त्यही पत्रिकाको सम्पादक बनिन् । उनको पत्रकारिताप्रतिको लगाव अनि अनुशासन देखेर उनलाई २०६१ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा प्रदान गरिने महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो ।‘जीवनको त्यो पहिलो पुरस्कारले मलाई थप हौसला प्राप्त भयोे । श्रीमान् तथा परिवारले मेरो कामको सही मूल्यांकन भएको कुरा बुझे।’उनले भनिन्,‘पुरस्कार पाएपछि पत्रकारिताबाट नहराउनू भन्ने शब्दले मलाई थप लगनशील भएर पत्रकारिता गर्ने आत्मबल बढ्यो ।’ अरुको पत्रिकामा काम गर्दा आफूले सोचेअनुसारको काम गर्न नसकेपछि उनले २०६२ सालमा आफ्नै महिला संचार साप्ताहिक पत्रिका प्रकाश गर्न थालिन् । सफलताका सबै आ–आफ्नै मापदण्ड होलान् अछरीका लागि सफलता कुनै ठूलो कुरा थिएन । उनी लेखेर आफ्नो नामले चिनिन चाहन्थिन् । विवाह नहुँदै भन्दा विवाह गरेर बच्चा जन्मिसकेपछि पत्रकारिता गरेकाले उनलाई कहिल्यै रोकिनु परेन । २९ वर्षको उमेरदेखि पत्रकारिता गरिरहेकी उनी अहिले ५२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । ‘
त्यही नै मेरो लागि राम्रो पक्ष थियो ।बच्चाहरू हुर्कदै थिए सँगसँगै मेरो पत्रकारिता पनि बढ्दै गयो । अछरीले भनिन्,‘कुनै पनि काममा निरन्तर लागेपछि सफलता हात पर्ने रहेछ ।’ उनी रिपोर्टिङका लागि फिल्डमा पुग्दा प्रायः एक्ली महिला हुन्थिन् । तब उनलाई महिला पत्रकार भनेर हेर्ने गरिन्थ्यो । उनलाई महिला भएर किन पत्रकारिता गर्नुप¥यो भनेर सधै एक्लो बनाइन्थ्यो । नबुझेको कुरामा कुनै प्रश्न सोध्दा सबै हाँस्ने महिला भएकै कारण उनले चुनौती भोगिरहिन् । महिलालाई केही जानकारी हुँदैन उनीहरू सक्षम हुँदैनन् भन्ने पुरुष दृष्टिकोणले उनलाई सधै पीडा दियो ।अछरीका अनुसार अहिले पनि महिलालाई हेर्ने नजर फेरिएको छैन तर अहिलेका महिला प्रतिकार गर्न सक्छन् । आफूलाई दबाउन खोज्नेलाई जवाफ दिन र विभेदविरुद्ध आवाज उठाउन सक्छन् ।’