अलग अध्याय
सदियौंदेखि पितृसत्ता हाबी भएको नेपाली समाजमा महिलाको खुसी र स्वतन्त्रताले कम अर्थ राख्छ वा प्राथमिकतामा पर्दैन । तर पछिल्लो समय कतिपय आत्मनिर्भर महिलाले यस विषयलाई जीवनको मूल मन्त्र बनाएर साहसका साथ अघि बढेको देखिन्छ ।

आरती पौडेल
काठमाडौँ — भोजपुरबाट ९ वर्ष अगाडि ’सपनाको सहर’ छिरेकी थिइन्, विष्णुकुमारी तामाङ । उनमा ठूलो महत्वाकांक्षा र योजना त थिइन । तर, रहर थियो केही काम गर्ने । राजधानी काठमाडौं उनले सोचेभन्दा धेरै फरक थियो । सुरुवाती दिनमा के गर्ने, के नगर्ने अलमलमा परिन् । केही समय सेक्युरिटी गार्डमा जागिर खाएकी उनलाई १२ हजार तलबले कोठा भाडा र रासन खर्च जोहो गर्न हम्मेहम्मे प¥यो । अर्को विकल्प खोज्दै जाँदा उनी पुगिन्, मेडिसिटी हस्पिटल । सफाइ कर्मचारीका रुपमा काम पाएकी उनी बिहानै ९ बजे पुग्नपथ्र्यो । आफू बस्दै आएको मातातीर्थबाट मेडिसिटी पुग्न उनलाई कठिन भयो । ’दुइटा गाडी फेरेर पुग्नुपर्ने,’ उनले सुनाइन्, ’समयमा पुग्न गाह्रो भएपछि पछि काम नै छाड्नुप¥यो ।’ एक्ली विष्णुमायालाई त्यसपछि उनका कठिन दिन सुरु भए । काम केही थिएन । आम्दानी नभएपछि काठमाडौंमा बस्न कति सकस हुन्छ, उनले भोग्न थालिन् । ’कुनै काम नगरी र पैसा आउने स्रोत नभएपछि कसरी खर्च टथ्र्यो र,’ उनी विगतका नमिठा दिन सम्झिन्छिन्, ’पैसाको अभावले दुई छाक खान र कोठाभाडा तिर्न पनि गाह्रो भयो ।’
धन्न उनले चिनेकी रहिछन्, जनता यातायातमा सहचालकको काम गर्ने एक महिलालाई । तिनै साथीले आफूजस्तै काम गर्न सल्लाह दिइन् । तर उनलाई सुरुमा आँट आएन । नयाँ सहर, भिडभाड, कोलाहल । यहाँका चोकहरुबारे त राम्ररी थाहा पाइनसकेकी उनलाई तत्काल निर्णय लिन गाह्रो भयो । तर पेट र रित्तो खल्तीले चुप लाग्न दिएन । जागिर छाडेपछि दुई छाक पेटभरि खाना बिर्सेको सम्झेर काम गर्छु भन्ने अठोट लिइन् । यसरी उनले नयाँ जिम्मेवारी लिइन्, सहचालक । ’गाउँबाट धेरै सपना बोकेर आएकी थिएँ, आफूले सोचेजस्तो त के हुन्थ्यो र,’ उनी भन्छिन्, ’पेट पाल्नैप¥यो । त्यसैले जनता यातायातमा सहचालकका काम सुरु गरेँ ।’
सुरुका दिनभने विष्णुले निकै कष्ट खेप्नुप¥यो । बसमा चढेपछि केही यात्रुले उनलाई तलदेखि माथिसम्म नियाल्थे । उनी लाजले भुतुक्कै हुन्थिन् । कोहीले भने ’किन यस्तो पेसामा लागेको’ भनेर प्रश्न तेस्र्याउँथे । त्यतिबेला उनलाई लाग्थ्यो– के मैले यसरी प्रश्न गर्नुपर्ने खालको काम गरिरहेकी छु र ? आफ्नो ज्यान पाल्न इच्छाअनुसारको काम गर्दा पनि हरेक ठाउँ जवाफ दिनुपर्ने ? यस्ता अनेक प्रश्न मनमा खेलाउँदै उनका धेरै रात बितिसकेका थिए । ’तर बिस्तारै राम्रै पैसा कमाउन थालेँ । त्यसपछि त अरुले भनेका कुरालाई मनमा लिन छाडिदिएँ,’ उनी गर्विलो आवाजमा भन्छिन् ।
राम्रो तलब पाएपछि उनले नेपाल यातायातमा काम सुरु गरिन् । सानाथली–गोठाटार– जडीबुटी–बानेश्वर–पुतलीसडक–बागबजार चल्ने रुटमा उनी पहिलो महिला सहचालक हुन् । भन्छिन्, ‘जनता यातायातमा एउटी बहिनी त थिइन् । यसमा भने म मात्रै थिएँ । त्यसैले धेरै यात्रुलाई मैले किन सहचालकको काम गरेँ भन्ने कुराको निकै चासो हुन्थ्थो ।’सुरुवाती दिनमा कसैले केही भन्दा मन दुखाउने उनी बिस्तारै त्यस्ता नकारात्मक कुरालाई बेवास्ता गर्न थालिन् । पहिलेपहिले ढोकामा उभिएर एक हातमा पैसा र अर्को हातले रुटको नाम फलाक्दै ढ्यापढ्याप गर्दाको दृश्य यात्रुहरू आश्चर्य मुद्रामा हेर्ने गर्थे । केही वर्ष अगाडिसम्म ’छोरी मान्छे पनि सहचालक हुन्छन् र ? अरु काम गर न किन यस्तो पेसा रोजेको ? काम नपाए १० हजारसम्मको हामी नै खोज्दिन्छौं’ भन्दै उनलाई प्रस्ताव गर्नेहरु धेरै थिए । आफ्नो दैनिक जीवन चलाउनका लागि काम थालेकी उनीलाई यस्ता प्रश्नले मन चिसो बनाउँथ्यो । एक मनले सोच्थिन्– सहचालक पेसा पुरुषले मात्र गर्ने काम रहेछ, छाडिदिन्छु । अर्को मनले भन्थ्यो– कुनै पनि काम पुरुषले मात्र गर्न हुने, महिलाले नहुने भनेर कहाँ लेखेको छ ? समाजले बनाएको धारणा परिर्वतन गरेरै छाड्ने अठोट लिइन् ।
तर उनको आँट र साहस देखेर प्रशंसा गर्नेहरु पनि नभएका होइनन् । जसले गर्दा उनमा काम गर्न ऊर्जा भरिन्थ्यो । अपमानले गलेका बेला कसैले दिएको हौसलाले फेरि आफूले गरेको कामप्रति गर्व हुने गरेको उनले सुनाइन् । काम गर्दा दुःख भए पनि त्यसबाट हुने आम्दानीबाट भने उनी सन्तुष्टि छिन् । ७ वर्षदेखि सहचालक रहेकी उनी भन्छिन्, ‘मलाई खान, बस्न मज्जाले पुगेको छ । धेरैमा ४० हजारसम्म कमाउँछु । हुँदै नभएको बेला पनि १५ देखि २० हजार हुन्छ ।’ ३६ वर्षकी विष्णुले अबको सपना पनि सुनाइन्– आफैले कमाएको पैसाबाट गाडी किनेर हाँक्ने ।
विष्णुको कामले प्रभावित भएर यही रुटमा चारजना महिला सहचालकका रूपमा काम गरिरहेका छन् । यिनैमध्येकी एक हुन्, सुशीला तामाङ । उनी नेपाल यातायातमै दुई वर्षदेखि काम गरिरहेकी छन् । काभ्रे घर भएकी उनी १२ वर्ष अगाडि काठमाडौं आएकी थिइन् । उनका श्रीमान् सोनम तामाङ पेसाले चालक हुन् । दुई वर्षअगाडि बस किनेका उनले सहचालक कसलाई राख्ने भनेर सोचिरहेका थिए । काममा राखेपछि तलबभत्ता दिनुपर्ने, गाडी किन्दा लागेको ऋण, घरखर्च, छोरीहरुको पढाइ सबै सम्झेर सुशीलाले आँट गरिन्– मै बन्छु सहचालक । तर श्रीमान्ले तत्काल निर्णय नगर्न भने । छोरी मान्छेलाई हेप्ने र नराम्रो दृष्टिकोणले हेर्ने जस्ता अनेक थरी कुरा सुनाए ।
तर सक्छु र काम गर्छु भन्ने अडान लिएकी उनी श्रीमान्का कुराले रोकिइनन् । ‘सुरुका दिनमा तिमी सक्दैनौ, सहचालक छोरी मान्छेले गर्ने पेसा होइन भनेर श्रीमान् भन्नुहुन्थ्यो । पछि मैले गरेको काम देखेर उहाँको सोच नै परिर्वतन भयो । अहिले आँट गरेकामा मेरो प्रशंसा गर्नुहुन्छ,’ ३२ वर्षीया सुशीला भन्छिन् । स्वरोजगार बनेपछि आफूलाई चाहिएको सामान किन्न र छोरीहरुका आवश्यकता पूरा गर्न उनले श्रीमान्लाई गुहार्नै पर्दैन । महिनामा आउने तलबको प्रतीक्षामा पनि बस्न नपरेको कुराले खुसी छिन् । ‘आफूले काम नगर्ने बेलासम्म सबै जिम्मेवारी श्रीमान्कै थाप्लोमा थियो । छोरीहरुलाई केही सामान चाहिँदा होस् कि घरमा सामान ल्याउन, श्रीमान्लाई भन्नुपथ्र्यो,’ उनी भन्छिन्, ’अहिले उहाँको तलब कुर्नु पर्दैन । मैले मेरा इच्छा, चाहना आफैले कमाएको पैसाले पूरा गर्न सकेकी छु ।’
काठमाडौंको ट्राफिक समस्या र कतिपय यात्रुको स्वभावले हरेक दिन विभिन्न तनाव झेल्नुपरे पनि कमाइको पैसाले घर चलाउन ठूलो सहयोग मिलेको उनी बताउँछिन् । ‘हरेक पेसामा लागेका मान्छेलाई सजिलो त कहाँ छ र ! समस्या र दुःख फरकफरक होलान्,’ उनी भन्छिन्, ’म सहचालक हुँ । बिहानदेखि बेलुकासम्म उभिँदा उभिँदा थाकेको हुन्छु । गाडीमा चढाउने र ओराल्ने बेला चर्कोचर्को स्वरमा बोल्नपर्छ । कुनै यात्रुले दुःख दिन्छन्, वचनका प्रहार सहनुपर्छ। उनको योजना नै अब आफ्ना तीन छोरीलाई राम्रोसँग पढाउने हो । पैसा जम्मा गरेर टेम्पी किनेर आफै चालक बन्ने रहर पनि पालेकी छन् उनले । ’आफ्नो चाहना पूरा गर्न त हरेक दिन संघर्ष गर्नैपर्नेछ,’ उनी भन्छिन् ।
जगतमाया तामाङ भने यो पेसामा नौलो हुन् । उनी सहचालक बनेको चार महिना मात्रै हुँदै छ । ३० वर्षकी जगतमायाका दुई छोरा र एक छोरी छन् । श्रीमान् पेसाले चालक छन् । सुरुवाती दिनमा बिहानदेखि बेलुकासम्म गाडीको ढोकामा उभिएर रुटको नाम भन्दै, यात्रुलाई बोलाउँदा आफ्नो कैयौंपटक घाँटी बसेको उनले सुनाइन् । काभ्रेबाट आएकी उनी यसअघि उनी बेरोजगार थिइन् । छोराछोरीको पालनपोषण र घर चलाउन सहज होस् भनेर सहचालककको काम सुरु गरेको उनले सुनाइन् । ‘श्रीमान्ले मात्र कमाउनुपर्छ भन्ने त कतै लेखेको छैन नि । परिवार पाल्नका लागि सबैले काम गर्ने हो भने सहज हुन्छ भनेर नयाँ पेसा रोजेकी हुँ,’ उनले भनिन् । अरुबेला दुःखसुख काम गरे पनि महिनावारी हुँदा भने निकै कष्ट हुने उनको अनुभव छ । ‘दिनभर उभिएरै यात्रा गर्नुपर्छ । अझ महिनावारीका बेला ढाड, कम्मर, पेट सबै एकैचोटि दुख्ने हुन्छ,’ भन्छिन्, ’नसकेर बिदा लिएँ भने पैसा कम आउँछ । कहिलेकाहीँ त कम पैसा आयो भने घरव्यवहार रोकिन्छ भन्ने पिरले पनि जसोतसो काम गर्छु ।’आफूले सक्ने बेलासम्म सहचालकको कामलाई निरन्तरता दिने उनको सोच छ । महिनामा २५ देखि ३० हजारसम्म कमाउने बताउने उनले बचत पनि गर्ने गरेकी छन् । ’श्रीमन्सँगै आफूले कमाएको पैसाले घरखर्च चलाउन धेरै सहज हुने रहेछ,’ उनी खुसी हुँदै भन्छिन् । हरेक दिन रफ्तारमा गुडिरहेको गाडीसँगै यात्रुलाई गन्तव्यसम्म पु¥याउन सहजीकरण गर्ने यी महिला सहचालकको पीडा र रहर लगभग उस्तै छ । काम सबै एकै हो, पुरुषले गरे पनि महिलाले गरे पनि । यसप्रतिको लगाव र सम्मान भयो भने सन्तुष्टि मिल्छ । घरव्यवहार र जीवन सहज बन्छ ।