Successfully Copied

पेशागत व्यस्तताले नमरेको रहर

पेसागत व्यस्तताभित्र पनि साहित्य, संगीतदेखि पेन्टिङमा रमाइरहेका थुप्रै उदाहरण समाजमा भेट्न सकिन्छ । विभिन्न कारणले आफ्नो दबिएको रहर पूरा गर्न प्रयासरत चिकित्सक, प्रशासकदेखि कर्पोरेट अधिकृतसम्म फुर्सदको समयलाई सदुपयोग गरिरहेका छन् ।

पेसागत व्यस्तताभित्र पनि साहित्य, संगीतदेखि पेन्टिङमा रमाइरहेका थुप्रै उदाहरण समाजमा भेट्न सकिन्छ । विभिन्न कारणले आफ्नो दबिएको रहर पूरा गर्न प्रयासरत चिकित्सक, प्रशासकदेखि कर्पोरेट अधिकृतसम्म फुर्सदको समयलाई सदुपयोग गरिरहेका छन् । पेसागत मर्यादा र दायित्वलाई ध्यानमा राख्दै आफ्ना रहर पूरा गर्दै फरक पहिचान बनाएकाहरूको अनुभवलाई नारीले समेट्ने प्रयास गरेको छ ।

पेन्टिङदेखि साहित्यमा रमेकी : डा. सबिना

सबिना श्रेष्ठ पेसाले आँखाकी चिकित्सक हुन् । चिकित्सा क्षेत्रमा उनले २० वर्षभन्दा बढी समय बिताइसकेकी छन् । तर उनको परिचय चिकित्सा क्षेत्रमा मात्र सीमित छैन । उनी कथाकार, चित्रकार र गायकदेखि चित्रकारसम्म हुन् । यी सबै कार्य उनका लागि पेसाभन्दा फरक छन् ।

लेखन, गायनदेखि चित्रकार बन्ने रहर उनमा सानैदेखि थियो । पढाइ, विवाह, सन्तान र पारिवारिक जिम्मेवारीका कारण आफ्नो इच्छा चाहेर पनि पूरा गर्न सकिनन् । तर कोभिड महामारी उनका लागि अवसर बनिदियो । त्यसबेलाको लकडाउनको समय पेन्टिङमार्फत रमाउन थालिन् । त्यही बेलादेखि उनी रङहरूसँग खेल्न थालिन् । न त कतै सिकिन् न प्रशिक्षण लिएकी हुन् । आफैं अभ्यास गर्दै, हेर्दै, सिक्दै उनले रङमा हात चलाउन थालिन् ।

रहरलाई अगाडि बढाउँदै उनले ‘भाइब्रेसन’ शीर्षकमा एकल चित्रकला प्रदर्शनीसमेत गरेकी छन् । पेन्टिङमा लाग्दा अत्यधिक एकाग्रता आवश्यक हुने भएकाले सबै कुरा बिर्सिन सकिने उनी बताउँछिन् । एक्रेलिक रङमा रमाउने उनी पेन्टिङलाई थेरापीका रूपमा पनि लिन्छिन् । कला र साहित्यको यात्रामा उनी केवल पेन्टिङमा सीमित रहिनन् । कथा, कविता, गजल लेख्न थालिन् । यसमा उनकी आमाको प्रेरणा पनि मिलेको हो । आमा पनि साहित्यकार भएकीले साहित्य लेखनमा प्रेरित भएको उनको भनाइ छ ।

त्यसो त उनले दुईवटा गीति एल्बमसमेत सार्वजनिक गरिसकेकी छन् । गजल, कवितालाई नै गीतका रूपमा प्रस्तुत गरेकी हुन् उनले । ‘मेरा धेरै रहर गुम्सिएर बसेका थिए, अहिले ती सबै पूरा गरिरहेकी छु–पेन्टिङ, साहित्य र संगीतमार्फत,’ उनी भन्छिन्, ‘आफ्ना रहर पूरा गर्दा मन आनन्दित बन्दो रहेछ ।’

यति धेरै गतिविधिमा कसरी समय मिलाउँछिन् त ? उनको जवाफ छ, ‘इच्छा भए समय आफैं निस्कने रहेछ ।’ चिकित्सा पेसाको दैनिकीबाट फुर्सद पाउनासाथ उनी कलम होस् वा ब्रस समाइहाल्छिन् ।

गायक प्रहरी : दीपक

‘वर्षमा दिनको यो बडादसैं कमेरो लाइएन

देश र जनता भन्दामा भन्दै घर जान पाइएन

धानकै बाला झुलाऊँ मायालाई बोलाऊँला’

जबजब दसैं आउँछ, यो गीत गुञ्जिन थाल्छ । अनि खोजी हुन्छ, यसका गायक र अभिनेताको । सामाजिक सञ्जालमा मिम बन्न थाल्छन्–यी दाइले दसैंमा घर जान पाए कि पाएनन्, यी दाइ अहिले कता छन्, यी दाइले यसपालि त बिदा पाए हुन्थ्यो ।

यस्ता कमेन्ट नियाल्दै मुस्कुराइरहेका हुन्छन्, गायक दीपक कोइराला । वर्षौंअघिको यो गीतमार्फत हरेक दसैंमा उनको खोजी भइरहन्छ । त्यसबेला प्रहरी निरीक्षक रहेका दीपकको पहिचान उजागर गरेको छ, यो गीतले । उनी भन्छन्, ‘यो गीत कालजयी झैं बनेर बसेको छ, यति चल्ला र मेरो खोजी होला भनेर सोचेको थिइनँ, सामाजिक सञ्जालमा मिमहरू देख्दा पो थाहा पाएँ, यो गीतले यति चर्चा पाइसकेको रहेछ भनेर ।’

त्यसबेला २९ मिनेटको कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । भिडियोमा समय नबनेर यो गीत थपिएको उनी बताउँछन् । न भिडियोमा लगानी न त कुनै तयारी । भिडियो पूरा गर्न बनाएको यो गीतले उनको पहिचान गायकका रूपमा स्थापित गरिदिएको छ । देशको सेवा गर्ने प्रहरीलाई चाडपर्व भन्दा ठूलो उसको कर्तव्य भन्ने सन्देश उनले दिएका छन् । गीतमा फौजी जीवनको वास्तविक पीडा, चाडपर्वमा घर जान नपाउने पीडादायी भावना मार्मिक ढंगले प्रस्तुत गरिएको छ । दसैंमा घर जान नपाउने प्रहरीको मनस्थिति चित्रण गर्न त्यो गीतले सामाजिक सञ्जालमा व्यापक चर्चा पाउन सफल भएको हो ।

दोलखामा जन्मिएका दीपकको बाल्यकाल काठमाडौंमा बित्यो । रत्नराज्य विद्यालयमा पढ्दा उनी नाटक, वादविवाद, वक्तृत्वकला जस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थे । तर समयक्रममा उनी पत्रकारिता पढ्दै नेपाल प्रहरीमा सहायक निरीक्षकका रूपमा प्रवेश गरे । पत्रकारिताको पृष्ठभूमिले उनलाई शब्दसँग खेल्ने बनाइसकेको थियो । सोही मोहबाटै उनले गीत लेख्न थाले ।

सुरक्षा निकायभित्र रहँदा उनले श्रव्यदृश्य शाखामा काम गरे र धेरै जनचेतनामूलक टेलिचलचित्र लेखन, निर्देशन तथा अभिनयसमेत गरे । ‘अमरेको पुकार’, ‘मैले देखेको भुईंचालो’, ‘नारी’, ‘भत्किएको घर’, ‘आफ्नो–आफ्नो रोजाइ’ गरी दुई सय टेलिचलचित्रमा अभिनयसमेत गरेका छन् । विभिन्न जिम्मेवारीमा भूकम्पपछिको पीडा, द्वन्द्वकालपछि भोगिएको अवस्था र समाजका विकृति–कुरीतिमाथि कार्यक्रम तयार गरेका छन् । उनले प्रहरीका विभिन्न तहमा काम गरे । सहायक निरीक्षकदेखि अधिकृत हुँदै हाल लुम्बिनीको कमाण्ड सम्हालिरहेका छन् । उनी सेवामा तल्लीन छन् ।

त्यसो त सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट पनि आइरहेका हुन्छन् । ‘अब त बूढो भइसक्यो होला, कतै खाडी गयो होला जस्ता कमेन्टले आफूलाई फरक नपारे पनि छोराछोरीले भने चिन्ता गर्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘यस्ता कमेन्टले मेरो खोजी भइरहेको महसुस हुन्छ तर छोराछोरीलाई भने नकारात्मक असर पर्ने रहेछ ।’ गीतको सन्देशमार्फत देशको मौलिक भाषा, कला जोगाउनु आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । प्रहरी सेवामा नै उनी अहिले थिएटरतिर लागेका छन् । विभिन्न कार्यक्रममा सडक नाटक गर्नेदेखि व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी सम्हालेको अनुभव छ । जुनसुकै परिस्थितिमा पनि आफूमा भएको कलालाई मर्न नदिने उनको अठोट छ ।


कत्थक सिक्ने बैंकर्स : ज्योति

ज्योति श्रेष्ठ पेसाले बैंकर्स हुन् । उनी नबिल बैंकमा अधिकृत पदमा कार्यरत छिन् । व्यस्त पेसा मानिने बैंकको जागिरका साथसाथै उनी कत्थक नृत्यमा रमाइरहेकी छन् ।

उनी भन्छिन्, ‘जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तो समय त मिलाउन त सकिने रहेछ ।’ हुन त उनको नाच्ने रहर सानैदेखिको थियो तर परिवारले पढाइमा मात्रै फोकस गरिरह्यो । उनी काठमाडौंमा हुर्किइन् । नाच्ने मानिस बिग्रन्छ, यसले पढाइ राम्रो हुँदैन भन्ने मानसिकताले नै नाचमा अगाडि बढ्न सकेकी थिइनन् । उनको यो चाहना सानै उमेरदेखि नै दबिएको थियो । ‘पहिले समय अहिलेको जस्तो थिएन । न त धेरै सिक्ने ठाउँ धेरै थिए न त अभिभावकको समर्थन नै हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले त सामाजिक सञ्जालबाट नै धेरै कुरा थाहा पाउने अवस्था सिर्जना भएको छ । मलाई पनि कत्थक सिक्ने मौका सामाजिक सञ्जालले जुरायो ।’

इन्स्टाग्राममा थाहा पाएपछि उनी आफ्नो दबिएको रहर पूरा गर्नेतिर लागेकी हुन् । नृत्यमा कत्थक नै किन सिकिन् त उनले ? भन्छिन्, ‘अन्य नाच त हेरेर पनि सिक्न सकिन्छ तर कत्थकका लागि कक्षा नै चाहिन्न्छ ।’ कत्थकका लागि विभिन्न स्टेप र शरीरको हाउभाउ नै फरक हुने भएकाले सिक्न जरुरी लागेको उनले बताइन् । अहिले हप्तामा तीन दिन सिकिरहेकी उनी कत्थक नृत्यले सबै कुरा बिर्साइदिने बताउँछिन् । कत्थकमा मन र शरीर एकाग्रता हुनाले पनि सबै पीडा बिर्साइदिने गरेको उनको अनुभव छ ।

कत्थकका लागि शरीरका हरेक अङ्गलाई सन्तुलन र अनुशासित ढंगले चलाउनुपर्छ । कत्थकमा बेसिक लेभल १ सकेर लेभल २ सम्म पुगेकी छन् उनी । उनका अनुसार छोटो समयमा कत्थक सिक्न सकिँदैन । त्यसैले पनि उनी स्टेपमा सिक्ने गर्छिन् । सुरुमा स्टेपमा केही असहज भए पनि अहिले बानी परिसकेको छ । कक्षामा मात्रै सिकेर नहुने भएकाले उनी घरमा पनि सिक्ने गर्छिन् । सादा कुर्ता–सुरुवाल लगाएर तालमा अभ्यास गर्दै उनी तीन दिन नृत्यशालामा पुग्छिन् । अबेरसम्म अफिस हुँदा उनी कत्थक सिकेर फेरि अफिस आएर काम गर्छिन् ।

‘बैंकको जागिर रातिसम्म पनि हुन्छ, यस्तो समयमा सिकेर आएर फेरि काम सकेर घर पुग्छु,’ उनले सुनाइन् । श्रीमान्को साथले नै आफ्नो रहर पूरा गर्न सकेको उनी बताउँछिन् । एक छोरीकी आमासमेत रहेकी उनी सिक्ने रहर र जाँगर भए उमेरले बाधा नपर्ने बताउँछिन् । उनलाई श्रीमान्को साथ, प्रेरणा र प्रोत्साहनले अझ अघि बढ्न सघाएको छ ।

कला क्षेत्रमा विशेष रुचि भएकी ज्योतिको रुचि नृत्यसँगै स्केचिङ, चित्रकलातर्फ पनि छ । छोरीलाई पनि रहर पूरा गर्न प्रोत्साहन गरिरहेकी हुन्छिन् । खेलकुद, स्केटिङ, नृत्य वा अन्य चित्रकलामा छोरीको रुचिमा उनको साथ छ । उनी भन्छिन्, ‘छोरीले आफ्ना रहर दबाउन नपरोस् भन्ने लाग्छ, त्यसकारण उसका हरेक रुचिमा साथ दिइरहेकी छु ।’


गीतकार पूर्वसचिव : दामोदर

तीन दशक लामो प्रशासनिक सेवाबाट अवकाश पाएपछि पनि दामोदर रेग्मीको सक्रियता रोकिएको छैन । उनले अहिले शब्द, धुनमार्फत आफ्नो परिचय बनाइरहेका छन् । कविता, गजललाई परिस्कृत गर्दै उनको गीति यात्रा सुरुवात भएको हो । सेवा अवधिभरमा लेखिएका कविता र गजलले निवृत्तिपछि पूर्णता पाएका छन् ।

सेवा जीवनपछि पनि सिर्जनशीलतामा रमाउन सकिन्छ भन्ने उदाहरण हुन्, उनी । गीत–संगीतमा ३–४ वर्षदेखि निरन्तर लागिरहेका छन् । पुराना पुस्ताका गायक आनन्द कार्कीदेखि नयाँ पुस्ताका समीक्षा अधिकारी, प्रताप दाससम्मले उनको शब्दमा स्वर भरेका छन् । पछिल्ला ३–४ वर्षमा उनले २५ भन्दा बढी गीत लेखिसकेका छन्, जसमा ‘एक अञ्जुली माया’, ‘हाँसौंला’, ‘जिन्दगीको पाठशाला’, लगायत नेपाली संगीत बजारमा चर्चित छन् ।

गीत लेख्नलाई भने उनलाई बसको यात्राले झस्काएको हो । बसमा बजेको गीतका शब्दले छोएपछि उनले गीत बनाउने सोचेका हुन् । कवितालाई गीतमा बदल्न उनी तयार भए । गीत र कविताका बारेमा उनी भन्छन्, ‘कविताले शब्द खोज्छ, तर गीतले संगीत माग्छ यी दुई फरक विधा हुन् ।’

पहिलो गीत ‘एक अञ्जुली माया’ आनन्द कार्कीले गाएपछि मात्र उनले शब्दमा संगीत भर्ने सम्भावना रहेको महसुस गरे । उनी भन्छन्, ‘आनन्द कार्कीले गाएपछि मात्रै मेरो कविता गीतमा रूपान्तरण हुनसक्छ भनेर थाहा भयो । त्यसपछि मैले निरन्तर गीत निकाल्ने प्रयास गरेको छु ।’ आफ्ना गीतमा फरक शब्द, सामाजिक मर्म झल्किने उनको भनाइ छ । उनी केवल गीत लेखेर मात्र आफ्नो कर्म पूरा भएको मान्दैनन् । रेकर्डिङ, डमी स्वर, गायक गायिका छनोट, भिडियो निर्देशनदेखि युट्युब प्रोमोसनसम्म खटिन्छन् । उनी भन्छन्, ‘गीत सफल बनाउन रचनाकारले टिमको भावना बुझ्नुपर्ने रहेछ, कहिलेकाहीँ महिला स्वरको गीत पुरुष स्वरमा परिवर्तन पनि गर्नुपर्ने अवस्था आउने रहेछ ।’

२०४६ सालदेखि अधिकृत हुँदै सचिवबाट उनले अवकाश पाएका हुन् । गण्डकी प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था मन्त्रालय, युवामन्त्रालय जस्ता थुप्रै मन्त्रालयमा काम गरेको अनुभव उनीसँग छ । लेखक वा गीतकार समाजलाई सशक्त बनाउने पक्षमा अग्रसर रहने गरेको उनको बुझाइ छ । ‘गीतमाार्फत सकारात्मक सन्देश दिन सक्नुपर्छ,’ उनी भन्छन्, ‘नेपाली साहित्य र संगीतमा कसरी सामाजिक उत्तरदायित्व बहन गर्न सकिन्छ, त्यो हरेक सर्जकले सोच्नुपर्छ ।’

 Image