Successfully Copied

तीज व्रत श्रद्धा र स्वास्थ्यको सन्तुलन

व्रतले शरीरमा सञ्चित बोसो घटाउन, तौल घटाउन र पाचन प्रणालीलाई विश्राम दिन सहयोग गर्छ । शरीरको आवश्यकताको बेवास्ता गरियो भने त्यही व्रतले समस्या निम्त्याउँछ ।

हरेक वर्ष भदौ महिनाको शुक्ल तृतीया तिथिमा मनाइने तीज हिन्दू महिलाहरूको एक विशेष पर्व हो । सौभाग्य, प्रेम र परिवारको कल्याणको कामना गर्दै महिलाहरू यस दिन व्रत बस्छन् । परम्परागत रूपमा तीजको व्रत जल समेत नखाई बसिने कठोर व्रत हो । तर बदलिँदो जीवनशैली, स्वास्थ्यप्रति बढ्दो चेतना र व्यस्त सहरी जीवनबीच आजका महिलाहरूले तीजलाई परम्परा र स्वास्थ्यबीचको सन्तुलित रूप दिन थालेका छन् । त्यसैले तीजको तयारीमा अब ‘डाइट र फास्ट प्याकेज’ पनि खास अंग बनेको छ ।
तीजको व्रत अघिल्लो रात ‘दर खाने’ चलनबाट सुरु हुन्छ । पहिलेका दिनमा दरमा घिउ, बेसार, मसलायुक्त परिकार, मासु, मिठाईंहरूमा बढी जोड दिइन्थ्यो । तर अहिले भने महिलाहरू डाइट प्लानअनुसार दर खान थालेका छन् ।

हेल्दी दर आइडियाज
-ओट्स हलुवा वा खजुर हलुवा
-ड्राइ फ्रुट्स र भिजाएका बदाम
-सिजनल फ्रुट सलाद
-मकैको सुप, टोफु वा हल्का पनिर सब्जी
-ग्रीन टी वा क्याफिन–फ्री हर्बल चिया
यसरी खानाले शरीरलाई भोलिपल्टको व्रतका लागि ऊर्जा दिन्छ भने ग्यास्ट्रिक, भारीपन, सुगर स्पाइक जस्ता समस्याबाट पनि बचाउँछ । पछिल्लो दिन ‘हेल्दी दर’ भन्ने शब्द लोकप्रिय बन्दै गएको छ । महिलाहरूले भारी र तेलिलो खाना त्यागेर अब फलफूल, ड्राइ फ्रुट्स, सलाद, हल्का दाल–भात, सुप, ओट्सजस्ता पोषणयुक्त परिकारहरू दरमा राख्न थालेका छन् ।

स्मार्ट फास्टिङ
तीजको मूल भावना व्रत हो । तर त्यसको स्वरूप आजका दिनमा थोरै लचिलो भएको छ । पानी पनि नखाई व्रत बस्ने महिलाहरू कम भइरहेका छन् । धेरैजसो महिलाहरू अब फलाहार वा लिक्विड डाइट फास्टिङ शैली अपनाउँदै छन् । डाइटिसियनहरूका अनुसार, यस्तो व्रतले व्रतको भावना पनि जोगाउँछ र शरीरमा कमजोरी आउन दिँदैन ।
-डेट डाइट फास्टः खजुर, किसमिस र नरिवल पानीसँग ऊर्जा लिनु
-लिक्विड फास्टः फ्रेस फ्रुट जुस, लेमन हनी वाटर, काँक्राको जुस
-स्मुदी फास्टः बनाना, ओट्स, अल्मन्ड मिल्क स्मुदी
-सिंगल मिल फास्टः साँझ एक हल्का, शाकाहारी सुपरसहित डिनर

व्रत र मानसिक स्वास्थ्य
तीजको व्रत महिलाका लागि केवल शारीरिक अभ्यास होइन, त्यो मानसिक धैर्य, श्रद्धा र आत्म–अनुशासनको अभ्यास पनि हो । व्रत बस्ने क्रममा मेडिटेसन, मौन अभ्यास, भजन–कीर्तनजस्ता तत्वहरू मनलाई शान्त पार्न सघाउँछ ।
व्रत बसेको दिनमा अधिक फिजिकल एक्टिभिटी गर्न सकिँदैन । त्यसैले व्रतअघिका हप्ताहरूमा महिलाहरू अब योग, स्ट्रेचिङ, डान्स एक्सरसाइजमार्फत शरीरलाई तन्दुरुस्त बनाउन थालेका छन् । कतिपय महिलाहरूले त दर खानुअघिको एक हप्ता डिटक्स डाइट प्लान पनि फलो गर्छन् ।

डिटक्स टिप्स (तीजअघिका ७ दिन)
-बिहान खाली पेट पानी
-बिहान वा बेलुका फलफूल डिनर
-तेल र मसला कम गर्ने
-मेथी, अजवाइन, बेसार पानी खाने
-राति ८ बजेपछि नखाने अभ्यास

निर्जला उपवासको चुनौती
तीजको व्रत अधिकांश महिलाहरू निर्जला अर्थात् खाना र पानी केही पनि नखाई बस्ने गर्छन्, जुन धार्मिक आस्थाको गहिरो प्रतीक भए पनि स्वास्थ्यको दृष्टिले भने चुनौतीपूर्ण अभ्यास बन्ने चिकित्सकहरू बताउँछन् ।
पोषणविद् अनुश्री आचार्य भन्छिन्, ‘पानी नपिएर बस्दा शरीरमा डिहाइड्रेसनको समस्या देखिन्छ । पेट पोल्ने, एसिडिटी, टाउको दुख्ने, थकान लाग्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।’ उनका अनुसार यस्तो व्रत बस्नुअघि प्रत्येक महिलाले आफ्नो स्वास्थ्य अवस्थाबारे गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।
पोषणविद् संगीता लामिछाने पनि तीजको अघिल्लो दिनको भोजनले उपवासमा असर पार्ने बताउँछिन् । ‘अघिल्लो दिन धेरै तेल र मसला भएको खाना खाएर भोलिपल्ट पानी नपिई व्रत बस्दा शरीरमा बढी डिहाइड्रेसन हुन्छ,’ उनी भन्छिन् । उनको भनाइमा उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरूका लागि यस्तो उपवास विशेष जोखिमपूर्ण हुन सक्छ ।
विशेषतः मधुमेह वा हर्मोन असन्तुलन भएका महिलाहरूका लागि दिनभरको निर्जला व्रत निकै संवेदनशील विषय बन्न सक्छ । लामो समय खाली पेट बस्दा शरीरको चिनीको मात्रा घट्ने (हाइपोग्लाइसेमिया), रक्तचापको असन्तुलन, बढी थकान, कमजोरी, चक्कर आउने स्वास्थ्य समस्या देखिन सक्छन् । यो अवस्थाले हर्मोनको सन्तुलनमा पनि असर पु¥याउन सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार व्रत बस्नु आफैंमा खराब होइन, तर उपयुक्त तरिकाले व्रत बस्नुपर्ने हुन्छ । शरीरको अवस्थाअनुसार निर्जला व्रतको सट्टा फलाहार वा जल सेवनसहितको हल्का उपवास बस्न पनि सकिन्छ । डिहाइड्रेसनबाट बच्न व्रतअघि प्रशस्त पानी पिउनु, हल्का र सुपाच्य खाना खानु, व्रतपछि धेरै भोजन नगरी विस्तारै खान सुरु गर्नु पोषणविद्हरूको सुझाव छ ।
धार्मिक आस्था र परम्परा पालना गर्नु एक कुरा हो, तर त्यससँगै आफ्नो स्वास्थ्य सुरक्षालाई पनि ध्यानमा राख्नु अत्यावश्यक छ । तीजको व्रत बस्दा महिलाहरूले केवल परम्परा होइन, शरीरको संकेत पनि सुन्ने बेला आएको छ ।

व्रत बस्दा
व्रतले शरीरमा सञ्चित बोसो घटाउन, तौल घटाउन र पाचन प्रणालीलाई विश्राम दिन सहयोग गर्छ । तर त्यही व्रतले यदि शरीरको आवश्यकताको बेवास्ता गरियो भने, समस्यै समस्या निम्त्याउँछ ।
व्रत विज्ञानले पनि प्रमाणित गरेको ‘अटोफेजी’ नामक प्रक्रिया सक्रिय हुन्छ–जसमा शरीर आफैंले मृत वा रोगी कोषहरूलाई हटाउने काम गर्छ । तर गलत विधिबाट गरिएको उपवासले शरीरलाई झनै कमजोर बनाउँछ ।

के गर्न सकिन्छ ?
-यदि गम्भीर रोग छ वा नियमित औषधि सेवन गर्नुपर्छ भने उपवास गर्नुहुँदैन ।
-एसिडिटी हुनेले चिया–कफी खानुहुँदैन । पानी वा फ्रेस जुस लिइराख्नु उपयुक्त हुन्छ ।
-व्रतअघि हल्का, पोषिलो सात्विक खाना खानुपर्छ । चिल्लो–मसालेदार खाना नखाएकै राम्रो हुन्छ ।
-अत्यधिक थकाउने काम नगर्नु, धेरै घाम वा ऊर्जा लाग्ने क्रियाकलापबाट टाढा बस्नुपर्छ ।
-व्रतपछि धेरै खानेकुरा एकैचोटि नखाई, मनतातो पानी वा कालो चिया लिएर विस्तारै खान सुरु गर्नु उपयुक्त हुन्छ ।


व्रतले पाचनक्रियालाई विश्राम दिन्छ ।


तीज भन्नासाथ एक किसिमको उत्साह हुन्थ्यो, सानैदेखि । व्रत किन लिने ? कसले लिन्छ ? त्यसबारे खासै मतलब हुँदैनथ्यो । हामीलाई एउटै कुराले कुरा बनाउँथ्यो, दर । तीजको दर खान पाउनु नै मुख्य कुरा थियो ।
तर, आज अवस्था ठीक विपरीत छ । अहिले दरभन्दा पनि उपवास वा व्रतमा चासो बढेको छ । व्रत किन बस्ने भन्ने कुरा परम्परा वा आस्थासँग मात्र होइन शारीरिक स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ ।
व्रतले शरीरलाई फाइदा गर्छ । तर, कस्तो व्रत ? कसरी बस्ने ? कसले बस्ने ? कहिले बस्ने ? यावत् कुरा मूल प्रश्न हुन् । किनभने व्रतका पनि विभिन्न प्रकार छन् । कोही निराहार बस्छन्, जसले दिनभर पानी मात्र होइन थुक पनि निल्नु हुँदैन भन्ने मान्यता छ । कसैले फलफूल मात्र खाएर बस्छन् । कसैले एक छाक खाएर पनि व्रत बस्छन् ।
व्रत बस्दा मूलतः पेट वा पाचन तन्त्रमा प्रभाव पर्छ । यसले पाचन क्रियालाई विश्राम दिन्छ, जुन स्वास्थ्यका लागि जरुरी हुन्छ । त्यस्तै यसले इन्सुलिनको सेन्सिटिभीटी बढाउँछ ।
लगातार भोजन सेवन गर्दा पेट, आन्द्रा र सम्बन्धित अङ्गहरू निरन्तर काममा रहन्छन्, जसले थकान र अपचको समस्या ल्याउन सक्छ । ब्रतले पाचन तन्त्रको दबाब घटाई त्यसलाई पुनः सक्रिय हुन मद्दत गर्छ । यस समयमा शरीरले पुराना बोसो र विषाक्त पदार्थहरू जलाउन सुरु गर्छ, जसले पाचन क्षमता र आन्द्राको स्वास्थ्यमा सुधार ल्याउँछ । साथै, पाचन रसहरूको सन्तुलन मिलाएर पेट फुल्ने, ग्यास र अपचजस्ता समस्या कम गर्न व्रत लाभदायी हुन्छ ।
तर, सबै अवस्थामा शरीरले यस्तो लाभ लिँदैन । कतिपय अवस्थामा पानी पनि नखाई व्रत बस्दा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले गर्दा थकान, चक्कर लाग्छ । कमजोरी भई तनावको स्तर बढ्ने हुन्छ । कहिलेकाहीँ ग्लुकोजको मात्रा पनि घट्न सक्छ ।
यस्तै अरु बेला ग्यास्ट्रिक नहुनेलाई पनि पेटमा एसिडको मात्रा बढेर सताउन सक्छ । हाम्रो शरीरको महत्वपूर्ण हिस्सा पानी हो । जब पानी नै शरीरलाई पुग्दैन भने त्यसमा समस्या आउँछ । त्यसैले पानी पनि नखाई ब्रत बस्नका लागि म व्यक्तिगत रूपमा सिफारिस गर्दिनँ ।

दरको कुरा
दर आफैमा मिष्ठान्न भोजनको संगम हो । व्रत बस्नुअघि दर खाने प्रचलन छ । तर, दर खानुअघिको समयको आहार कस्तो हुनुपर्छ त ? त्यो झोलिलो, पोषिलो र सुपाच्य हुन जरुरी छ । छिट्टै ग्लुकोजमा परिणत नहुने खालको होल ग्रेन उपयुक्त हुन्छ । यसो हुँदा, शरीरलाई लामो समय त्यो खानाले ऊर्जा दिन्छ । यस्तो खानेकुरा भनेको बोक्रासँगको, गेडागुडी, क्वाँटी आदि हुन् ।
कफी, रक्सी आदि खानेकुरा नखाने । त्यसले शरीरलाई निर्जलीकरणको समस्या ल्याउन सक्छ ।

व्रतमा के खाने ?
कतिले फलफूल मात्र खाएर पनि व्रत बस्छन् । त्यस्तो अवस्थामा दही वा मोहीमा फलफूल मिसाएर खानु राम्रो हुन्छ । मौसमी फलफूलमा जोड गर्नुपर्छ । व्रतमा कमजोरी महसुस भएमा धार्मिक आस्था एकातिर छँदैछ, तर शारीरिक अवस्थालाई ख्याल गर्नुपर्छ । यदि अरुथोक खाइएन भने पनि नरिवल पानी खानुपर्छ । अकस्मात् ग्लुकोजको मात्रा कम भए नुन र चिनीमा पानीको मिश्रण खानुपर्छ ।

मधुमेह र रक्तचाप भएकाले के गर्ने ?
मधुमेह र उच्च रक्तचापको समस्या भएकाले व्रत बस्नुअघि आफ्ना चिकित्सकसँग परामर्श गर्नैपर्छ । यस्तै डाइटिसियन सम्पर्कमा छन् भने उहाँहरूसँग पनि सल्लाह गरेर मात्र व्रत बस्नुहोला । नियमित स्वास्थ्य जाँच गरिरहनुभएको छ वा छैन ? यदि छैन भने व्रत नबस्न सुझाव दिन्छु म । किनभने तपाईंको हकमा व्रत जोखिमपूर्ण पनि हुनसक्छ ।
तपाईंहरूले औषधि नछुटाउनुहोला । बाहिर पनि धेरै घुमफिर नगरी सकेसम्म घरमै आराम गर्नुपर्छ ।

व्रतपछिको भोजन
व्रतअघिको भोजन कस्तो हुनुपर्छ भनेजस्तै व्रतपछिको भोजन पनि महत्वपूर्ण हुन्छ । व्रत तोड्दा शरीरमा सजिलै पच्ने झोलिलो, सुपाच्य खानेकुरा खानुपर्छ । अघिल्लो दिनको व्रत र भोलिपल्टको खानाले पुलका रूपमा काम गर्नुपर्छ । यो धेरै भारी वा बोझिलो हुनुहुँदैन । ठोसभन्दा पनि अलि तरल खालको खानेकुरा खानुपर्छ । जस्तो जाउलो, तरकारीको झोल, सुप आदि ।

व्रत कसले बस्ने ?
यतिबेला सबैलाई व्रत बस्ने मन हुन्छ । तर, व्रत कसले बस्ने भन्ने कुरा आफ्नो शारीरिक अवस्था, उमेर, कामको प्रकृति के छ भनी निर्धारण गर्नु उपयुक्त हुन्छ ।
बालबालिका, बूढापाका, रोगी आदिले व्रत बस्नुहुँदैन । बालबालिकाहरूले व्रत नबस्नु होला । किनभने यतिबेला उनीहरूको शरीरलाई बढी पोषण जरुरी हुन्छ । त्यो पोषणबाट शरीरलाई विच्छेद गर्नुभएन । 

 Image