नेपाली चलचित्रमा प्रेमलाई केवल रोमान्समा सीमित नराखी समाज, स्मृति र संघर्षसँग गाँस्ने दिनेश राउत फरक धारका निर्देशक हुन् । ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’, ‘पुकार सार्की’ हुँदै पछिल्लो चलचित्र ‘कुमारी’ सम्म आइपुग्दा उनले एउटै सूत्र समातेका छन्, मानिसको भित्री द्वन्द्व, विशेषत: महिलाको मौन पीडा र समाजसँगको टकराव । कहिले प्रेमको कोमल भावना र कहिले सामाजिक अन्यायको कठोर यथार्थमा उनका क्यामेराले नारीलाई केन्द्रमा राखेर कथा भन्छ । ‘कुमारी’ मार्फत उनी फेरि एकपटक नेपाली महिलाको भावना, पहिचान र आत्मसम्मानमाथि प्रश्न उठाउँदै, आफूलाई भावनात्मक र सामाजिक रूपमा सचेत र पात्र–केन्द्रित निर्देशकका रूपमा चिनिन्छन् । उनै निर्देशकसँग गरिएको संक्षिप्त कुराकानी :
‘कुमारी’ कथाको मूल आत्मा तपाईंका लागि के हो ?
बेसिक लेयरबाट हेर्दा ‘कुमारी’ लभ स्टोरी जनराको फिल्म हो । अहिलेको जेनेरेसनका केटाकेटीको प्रेमकथाजस्तै देखिन्छ । तर गहिरिएर हेर्ने हो भने यो फिल्म महिला दृष्टिकोणबाट बनेको हो । महिलाको अस्तित्व, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई यसले बोल्छ । मूलत: यो एउटा महिला पात्रको यात्रालाई केन्द्रमा राखेर बनाइएको फिल्म हो ।
यस्तो विषयमा फिल्म बनाउनुपर्छ भन्ने सोच कसरी आयो ?
म पनि यही समाजभित्रको मान्छे हुा । पछिल्लो समय मैले देखेको, भोगेको सामाजिक यथार्थले यो फिल्म बनाउने सोच आयो । म पहिलेदेखि नै सामाजिक मुद्दालाई उठान गर्ने फिल्महरू बनाउादै आएको छु । त्यही क्रममा ‘कुमारी’ जन्मिएको हो । यो फिल्मले हामी मानिसहरूको दोहोरो चरित्र पनि देखाउँछ, बोल्दा एउटा कुरा गर्छौं, व्यवहारमा अर्कै । समाजभित्र कति हिपोक्रेसी छ भन्ने कुरा पनि यसले उठान गरेको छ । रोमान्टिक लभ स्टोरीको फ्रेमभित्र समाजको यथार्थ चित्र उतार्ने प्रयास गरिएको हो ।
तपाईंका फिल्महरूमा महिलाका पात्र प्राय: बलिया देखिन्छन्, यसको कारण यही सामाजिक अनुभव नै हो ?
हो, मैले समाजमा देखेको, भोगेको यथार्थ स्वाभाविक रूपमा कथामा आउँछ । त्यसैले महिलाका पात्रहरू बलिया देखिन्छन् ।
तपाईंको विचारमा अहिले महिला कत्तिको स्वतन्त्र छन् ?
हामी बोल्दा महिला स्वतन्त्र छन् भन्छौं, महिला अधिकार र फ्रिडमको कुरा गर्छौं । तर व्यावहारिक रूपमा सााच्चै त्यस्तो छ कि छैन भन्ने प्रश्न उठ्छ । यही नै समाजको डबल फेस हो । बोली र व्यवहारबीच ठूलो अन्तर छ र फिल्मले यही प्रश्न सोध्छ ।
‘नारी’ का पाठकले किन ‘कुमारी’ हेर्नैपर्छ जस्तो लाग्छ ?
यो फिल्म विशेषगरी महिला दृष्टिकोणबाट बनेको हो । महिलाको आवाज, महिलाको अनुभवलाई उठान गरिएको छ । त्यसैले महिलाले हेर्दा अझै गहिरो रूपमा महसुस गर्न सक्छन् ।
त्यसको अर्थ पुरुषले हेर्नु हुादैन भन्ने होइन । बरु पुरुष दर्शकले हेर्दा महिलाप्रति आफ्नो सोच बदल्ने, नसोचेको कोणबाट सोच्ने अवसर पाउन सक्छन् ।
कथा छनोट गर्दा तपाईंले पहिलो प्राथमिकता केलाई दिनुहुन्छ ?
म सबैभन्दा पहिले आफैं कन्भिन्स हुनुपर्छ । यो विषय फिल्ममार्फत भन्न कति प्रभावकारी हुन्छ भन्ने कुरालाई मुख्य प्राथमिकता दिन्छु । जुन विषयमा म आफैं विश्वस्त छु, त्यही कथा छनोट गर्छु ।
आगामी प्रोजेक्टहरू पनि महिला केन्द्रित हुने सम्भावना छ ?
महिला केन्द्रित नै हुन्छन् भन्ने छैन । म इन्टेन्सनली महिला केन्द्रित फिल्म मात्र बनाउँछु भन्ने सोचमा छैन । जुनसुकै विषय पनि हुन सक्छ, मुख्य कुरा आफू कन्भिन्स हुनु हो ।