निर्देशन र कलाकारितामै व्यस्त
असोज पहिलो साता रिलिज हुने ‘प्रेमगीत ३’ मा म राजपरिवारको भविष्यवाणी गर्ने राजमाताको भूमिकामा छु ।

पछिल्लो समयका चर्चित मोडल सनम कठायतले थुप्रै गीतमा मोडलिङ गर्नुका साथै दर्जनौं अवार्ड हात पारिसकेका छन् । डोटीमा जन्मिएका उनी गीत–संगीतमार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन् । पेसाले स्वास्थ्यकर्मी उनी ‘दृश्यमा नेपाल’ मार्फत उनले यो अभियानलाई अगाडि बढाउने अठोट गरेका छन् । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी ः
सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो सांगीतिक यात्रा रेडियोबाट सुरु भएको हो । रेडियोमा विभिन्न कार्यक्रम सञ्चालन गर्दागर्दै कलाकारिताको मोह बढेको हो । रेडियोमा प्रत्यक्ष फोन गरी चिठीपत्र पठाउँथें । त्यसैले गीत–संगीत सुन्ने र मोडलिङ गर्ने रहर जागेको हो ।
आफूले अभिनय गरेका गीतहरू सम्झँदा ?
म धेरै सुगम संगीतमा रमाउँछु । सुगम संगीतमा मेरो पहिचान नै स्थापित भएको छ । १२ वर्षदेखि म म्युजिक भिडियोलाई निरन्तरता दिइरहेको छु । अहिले धेरै चर्चित गीत आइसकेका छन् । जसमा आफू दुःखी, अन्त माया लाको भए, पहिलो माया, एनि बरै, आफ्नोपन हुन् ।
‘दृश्यमा नेपाल’ मार्फत कसरी काम गरिरहनुभएको छ ?
‘दृश्यमा नेपाल’ म्युजिक भिडियोबाट नेपाल देखाउने अभियान हो । यसअन्तर्गत हामीले देशका विभिन्न स्थानलाई म्युजिक भिडियोमा समेटेका छौं । यसका लागि हामी स्थानीय तहदेखि प्रदेश सरकारसम्म सहकार्यमा काम गरिरहेका छौं । कला तथा प्रविधिमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य हो । पर्यटकीय स्थानमा गीत सुटिङ गर्छौं । सरोकारवाला पक्षहरूको उपस्थितिमा गीत विमोचन गर्दछौं ।
यसको उद्देश्य के हो ?
यसको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन गर्नु हो । कला र कलाकारिताको माध्यमबाट संस्कृति जोगाउने कुरामा लागिरहेका छौं । म्युजिक भिडियोमार्फत स्थानीय रहनसहन एवं कला–संस्कृति देखाउने उद्देश्य हो । पर्यटनलाई प्रविधि र प्रकृतिसँग जोड्ने अभियान हो । यसले कलालाई मात्र बुझाउँदैन संस्कृति संरक्षणमा पनि टेवा दिएको छ ।
अभियानमा काम गर्न कत्तिको सहज छ ?
चुनौती त छ नै । कला र संस्कृतिलाई संरक्षण गर्ने र माया गर्ने परम्परा त्यति बसेको छैन । अन्य क्षेत्रको जस्तै प्राथमिकतामा पर्न सकेको छैन । हामीले राष्ट्रिय स्तरका कलाकारलाई लिएर पर्यटकीय स्थलमा उच्च प्रविधिका साथ सुटिङमा पुग्ने गरेका छौं । यसमा लगानी केही बढी हुन्छ । त्यसका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्मलाई बुझाउन जटिल नै छ । यसका साथै कलाकारलाई यो अभियानमा जुटाउन चुनौती नै छ ।
मोडलिङ गर्न सहज कि स्वास्थ्यकर्मी बन्न ?
मैले हालसम्म धेरै काम गरिसकेको छु । स्वास्थ्यकर्मी एवं सञ्चारकर्मीदेखि धेरै विधामा काम गरिसकेको छु । सबैभन्दा गाह्रो भनेको मोडलिङ हो र यसका लागि गीतअनुसारको चरित्र निभाउनुपर्ने हुन्छ । जसले विविध चरित्रमा अभ्यस्त बनाउँछ । छोटो समयमा अभिनय र संगीतको माध्यमबाट एक पात्रलाई न्याय दिन सहज छैन ।