Successfully Copied

कलाकारका दसैं योजना

नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।


नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् । तर गायक–गायिकाभनेयो समयमा बढी व्यस्त बन्छन् । स्वदेश र विदेशमा चाडबाडताका आयोजना हुने सांगीतिक कार्यक्रममा उनीहरूको उपस्थिति अनिवार्यजस्तै हुन्छ । जसले गर्दा चाडबाडमा परिवारलाई समय दिन भ्याउँदैनन् । केही कलाकार यही बेला सुटिङमा व्यस्त हुन्छन् । केही गायिका र अभिनेषले आफ्नो दसैं योजनाबारे सुनाएका छन् ।

रोल्पा घर जाने
शान्तिश्री परियार,गायिका

गायिका शान्तिश्री परियार सांगीतिक कार्यक्रमको सिलसिलामाअमेरिकाछिन् । दुई महिने यात्रा टुंग्याएर असोज दोस्रो साता उनी स्वदेश फर्किंदैछिन् । लगत्तै व्यक्तिगत कामको सिलसिलामा दिल्ली जाने उनले सुनाइन् । दिल्लीबाट फर्किएपछि भने उनी दसैं मान्न रोल्पा जाने सोचमा छिन् । ‘व्यस्त भएपनि चाडबाडमा घरै पुगौं भन्ने हुन्छ,’ अमेरिकाबाटै उनले भनिन्, ‘घर जान एकदम मन छ, ममीले पनि दसैंमा त घर आउनैपर्छ भन्नुभएको छ ।’
घर गए पनि टीकाको भोलिपल्टै काठमाडौं फर्कनुपर्नेछ । ‘टीकाको चार दिनपछि सांगीतिक कार्यक्रमका लागि बेलायत जाँदैछु,’ उनी भन्छिन्, ‘जति नै व्यस्त भएपनि दसैंमा घर जाने योजनामै छु ।’ दसैं उनलाई मनपर्ने चाड हो । छोरीलाई छाडेको धेरै भएकाले उनलाई साथै लिएर रोल्पा पुग्ने उनले सुनाइन् । ‘बुवा–ममीलाई नभेटेको पनि डेढ वर्ष भयो,’ उनी भन्छिन्, ‘परिवारसँग बस्ने मन छ, जति समय पाउँछु, त्यो समय परिवारसँगै बिताउने छु ।’


परिवारसँगै रमाउने
अस्मिता अधिकारी, गायिका

यो पटकको दसैंमा गायिका अस्मिता अधिकारी पनि सांगीतिक कार्यक्रममा व्यस्त हुनेछिन् । ‘दसैंको बेलामा सांगीतिक कार्यक्रमधेरै हुन्छन्,’ उनी भन्छिन्, ‘त्यसैले यो पटक पनि कार्यक्रममै व्यस्त भइन्छ जस्तो छ ।’ दसैं–तिहारमा सांगीतिक कार्यक्रम धेरै हुने उनले सुनाइन् । ‘चाडबाड भनेको परिवारसँग भेटघाट गर्ने माध्यम पनि हो,’ उनी भन्छिन्, ‘विदेशमा सांगीतिक कार्यक्रमकालागि जाने कुरा पनि भइरहेको छ ।’ विदेश नगए दसैं परिवारसँगै मनाउने सोचमा रहेको उनले सुनाइन् । ‘चाडबाडमा प्रायः कार्यक्रममै हिँडिरहेकी हुन्छु,’ उनी भन्छिन्, ‘दसैं त घरमा परिवारसँग बाहेक अन्यत्र रमाइलै हुँदैन ।’


दसैंमा चितवन
आँचल शर्मा, अभिनेतृ

अभिनेतृ आँचल शर्माले दसैंकालागि खासै त्यस्तोयोजना बनाएकी छैनन् । त्यसैले दसैं परिवारसँगै बसेर रमाइलो गर्ने सोचमा छिन् । ‘दसैंमा घरपरिवारसँग बसेर टीका लगाउने हो,’ उनी भन्छिन्, ‘यो बेला विभिन्न परिकार बनाएर खान मन लाग्छ, त्यो पनि परिवारमा सबै जमघट हुँदा सजिलो हुन्छ ।’ उनी फूलपातीका दिन चितवन घर जाने सोचमा छिन् । ‘चितवन गएर परिवारसँग वरिपरिका रमणीय ठाउँहरू घुमिन्छ,’ उनी भन्छिन्, ‘त्यसपछि टीकाको दोस्रो दिन काठमाडौं फर्किने योजना छ ।’

दर्शकसँग टीका लगाउने
दीपाश्री निरौला, निर्देशक

अभिनेतृ एवं चलचित्र निर्देशक दीपाश्री निरौला दसैंमा विराटनगर घर जाने योजनामा छिन् ।त्यसो त उनका लागि यो पटक दुई वटा ठूला चाड आउँदैछन् । एउटा दसैं र अर्को फिल्म ‘छक्का पन्जा–५’ । उनले निर्देशन गरेको ‘छक्का पन्जा–५’ फूलपातीको दिनबाट प्रदर्शनमा आउँदै छ । दर्शकले दसैंमा ‘छक्का पन्जा–५’हेरेर रमाउने उनले सुनाइन् ।
‘अष्टमीका दिन दसैं मनाउन विराटनगर घर जान्छु,’ उनी भन्छिन्, ‘दर्शकका लागि भने हामीले दसैंमा उपहारका रूपमा फिल्म ल्याएका छौं ।’ फिल्मले दर्शकलाई हाँसोसँगै खुसी साट्ने अपेक्षा रहेको उनले सुनाइन् । ‘दसैंलगत्तै फिल्मी टुर पनि हुनेछ, यतिबेला धेरै छुट्टी हुने भएकाले सबैका लागि समय धेरै हुन्छ,’ उनी भन्छिन्, ‘दसैंमा दर्शकसँग भेट हुने छ, हलहलमा फिल्म युनिट गएर दर्शकसँग टीका लगाउने छौं ।’ चाडबाडका बेला हलमा जम्मा हुने दर्शकसँग प्रत्यक्ष भेट हुनेमा उनी दङ्ग छिन् ।


दसैं घरमै
शर्मिला मल्ल,अभिनेतृ

भदौ २७ मा अमेरिका गएकी अभिनेतृ शर्मिला मल्ल दसैं मनाउन भने नेपाल नै फर्किनेछिन् । भदौ ३० मा अमेरिकामा हुने ग्लोबल नेपाली फिल्म एवार्डमा सहभागिता जनाउन गएकी उनी दसैंको केही दिनअघि नेपाल फर्किने योजनामा छिन् । ‘दसैं–तिहार नेपालीहरूका ठूला चाड हुन्,’ उनी भन्छिन्, ‘त्यसैले दसैंमा मिलेसम्म घर र परिवारबाट टाढा हुँदिन ।’सासू आमा ९० वर्ष पुगेकीले उनकै हातबाट टीका लगाएर आशीर्वाद लिने उनले बताइन् ।
दसैंका बेला घरमा नातेदारहरूको जमघट हुने भएकाले रमाइलो लाग्ने उनले सुनाइन् । ‘वर्षमा एक/दुई पटक अमेरिका–नेपाल आउजाउ भइरहन्छ,’ उनी भन्छिन्, ‘तर जहाँ गए पनि घरै आउँछु, चाडबाड परिवारसँग मात्र रमाइलो हुन्छ ।’तिहार पनि म परिवारसँगै रहेर मनाउने उनले सुनाइन् ।

मुन्धुम ट्रेल जाने
पशुपति राई,अभिनेतृ
अभिनेतृ पशुपति राईदसैंमा धरान घरै जाने तयारीमा छिन् । उनलाई पनिघरमै रमाइलो लाग्छ । ‘परिवारसँग दसैं मनाउनकै लागि घर पुग्छु, यो बेला कार्यक्रममा व्यस्त हुन्न, दसैंमा अहिलेसम्म कतै कार्यक्रममा जाने योजना पनि छैन,’ उनी भन्छिन्, ‘दसैंमा घर पुगेर सफा गर्न र रङ लगाउन रमाइलो लाग्छ ।’ दसैंमा टीका लगाएर भाइ–बहिनीले माने भने मुन्धुम ट्रेलमा निस्कने योजना रहेको उनले सुनाइन् । ‘यो पटक घर गएका बेला मुन्धुम ट्रेलमा जाने मन छ,’ उनी भन्छिन्, ‘घर पुगेपछि यसबारे योजना बन्छ, त्यसपछि भाइ–बहिनीसँग कुरा मिले यात्रा सुरु हुन्छ ।’


फिल्म प्रमोसनमा व्यस्त
स्वस्तिमा खड्का,अभिनेतृ
अभिनेतृ स्वस्तीमा खड्काले दसैंकालागि खासयोजना बनाएकी छैनन् । आफूले अभिनय गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रमोसनमा भने उनी सक्रिय हुनेछिन् । घटस्थापनाका दिन यो फिल्म रिलिज हुँदैछ । फिल्ममा उनको मुख्य भूमिका छ ।
‘दसैंमा परिवारसँग बसेर टीका लगाउने हो, परिवारसँगै बस्ने हो,’ उनी भन्छिन्, ‘त्यसपछि भने फिल्मको प्रचारप्रसारमा व्यस्त हुन्छु ।’ उनले टीकाका दिन हलमा दर्शकहरूसँग पनि भेट हुने सुनाइन् । ‘काममा व्यस्त हुने भएकाले कतै घुम्न जाने योजना छैन,’ उनी भन्छिन्, ‘दसैंपछि सुटिङहरू पनि छन्, त्यता पनि समय दिनुपर्छ ।’

दसैं–तिहार अमेरिकामै
मिलन नेवार,गायिका
गायिका मिलन नेवार यतिबेला अमेरिकामा आयोजित सांगीतिक कार्यक्रममा व्यस्त छिन् । पहिलोपटक अमेरिका पुगेकी उनले त्यहाँका विभिन्न राज्यमा आयोजित कार्यक्रममा सहभागिता जनाइरहेकी छन् ।
‘यो पटकको दसैं–तिहार अमेरिकाका दर्शक–श्रोताहरूमाझ मनाउँदै छु,’ उनी भन्छिन्, ‘लामो सांगीतिक कार्यक्रम भएकाले सबै चाडबाड यतै मनाएर फर्कन्छु ।’ उनले अहिलेसम्म १५ भन्दाबढी राज्यमा पुगेर सांगीतिक प्रस्तुति दिइसकेकी छन् । दसैं–तिहारमा पनि दर्शक–श्रोतालाई गीतमार्फत नचाउने सुरमा रहेको उनले सुनाइन् ।

 Image