मुलुकमा उत्पादित ९८ प्रतिशत अलैंची भारत निर्यात हुन्छ । बाँकी स्वदेशी बजारमै खपत हुन्छ । तर अलैंची टिप्नेबेला काटिएका त्यसका सरा (डाँठ) भने खेर गइरहेका हुन्छन् । त्यही प्रयोगविहीन सराबाट हस्तकलाका सामग्री बनाएर ताप्लेजुङकी माया गुरुङले भने राम्रो व्यापार गरिरहेकी छन् । ‘बुवा, हजुरबुवाले अलैंचीको सराबाट दाम्लो, गुन्द्री बनाउनुहुन्थ्यो, धेरै टिक्थ्यो पनि,’ उनी भन्छिन्, ‘त्यसैले अलैंची देख्दा मेरो ध्यान त्यतै जान्थ्यो ।’हस्तकलाका सामान बनाउन मायाले २०६८ सालमा ‘चन्दन फाइबर उद्योग’ दर्ता गरिन् । व्यवसाय सुरु गरेपछि पनि उनी झन्डै दुई वर्ष गैरसरकारी संस्थामै रहिन् । त्यसअघि उनी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्थिन् । ‘पहिलेदेखि नै एनजिओ/आइएनजिओमा काम गरें, त्यतिबेला सिलाइ–बुनाइसम्बन्धी तालिम पनि लिएकी थिएँ,’ उनले भनिन्, ‘एनजिओमा काम गर्दा गाउँगाउँ पुग्थें । त्यतिबेला पनि अलैंचीकोसरा कसरी प्रयोग गरिरहेका छन्, भन्ने हेर्थें ।’
उनले खेर जाने अलैंचीको सराबाट हस्तकलाका सामान बनाएर बेच्न थालेको १३ वर्ष भइसक्यो । उनले आफूसँगै १५ जना महिलालाई आम्दानीको गतिलो स्रोत बनाउन सघाएकी छन् । ‘अलैंचीका दाना निकालेपछि बोट त्यत्तिकै फ्याँक्ने गरिन्थ्यो, मल पनि नहुने र गाईवस्तुले समेत नखाने भएर होला,’ उनले भनिन्, ‘आफ्नै घरमा गाईवस्तुलाई बाँध्न दाम्लो बनाएको सम्झना थियो ।’ सुरुमा डोर म्याट, चकटी बनाउन सुरु गरेकी मायाले अहिले ५० भन्दा बढी प्रकारका हस्तकलाका सामान बनाइरहेकी छन् ।उनी सराबाट टी कोस्टर, हट म्याट, ढक्की, चकटी, टेबुल रनर, ब्याग, पर्सलगायतका सामग्री बनाउँछिन् । यस्ता सामान कम्तीमा १० देखि १५ वर्षसम्म चलाउन सकिने उनको अनुभव छ । ‘यस्ता सामान फोहोर हुँदा धुन मिल्छ, धोएर घाममा सुकाइयो भने खासै बिग्रँदैनन्, हत्तपत्त मक्किँदैनन्,’ उनले भनिन्, ‘अन्य सामग्रीको जस्तो रङ पनि खुइलिँदैन ।’सुरुमा ६८ हजारबाट सुरु गरेको उद्योगमा अहिले ३० लाख रुपैयाँ लगानी पुगिसकेको उनको भनाइ छ । उद्योगबाट वर्षमा २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । वार्षिक दुई हजार पिस विभिन्न सामग्रीहरू उत्पादन गर्ने गरेको उनले बताइन् ।
हिजोआज उनी किसानबाट सरा खरिद गर्छिन् । भदौदेखि कात्तिक अन्तिमसम्म अलैंची निकालिने भएकाले त्यसबेला नै सरा किन्ने सिजन हो । किसानबाट प्रतिकिलो ४० देखि ५० रुपैयाँमा सरा किन्न पाइन्छ । यो सुक्न तीन महिना समय लाग्छ । सुक्दै गएपछि त्यसबाट पत्रैपत्र निकाल्न सकिन्छ । ‘पहिलो पत्र अलि खस्रो हुन्छ, त्यसबाट डोर म्याट बनाउँछौं,’ उनले भनिन्, ‘बाँकी दोस्रो, तेस्रो पत्रबाट अन्य सामान बनाउँछु । पहिलो पत्र भन्दा अन्य पत्र अझ धेरै राम्रो हुन्छ ।’
बजारमा पाइने सराबाट बनेका हस्तकलाका सामग्रीको मूल्य एक सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म पर्छ । बिक्रीका लागि बजारको त्यति ठूलो समस्या नभएको उनको अनुभव छ । ‘तर, यसको बिक्री र प्रयोगबारे प्रवर्द्धन हुन सकेको छैन,’ उनी भन्छिन् ।
उनको उद्योगमा १५ जना महिला छन् । उनीहरू घरको काम सकेर अनुकूल समयमा काम गर्न आउँछन् । प्रतिपिसका आधारमा पारिश्रमिक पाउँछन् । ‘एक जनाले मासिक सात हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्,’ उनले सुनाइन् । उद्योग, व्यापारका प्रदर्शनी आयोजना हुने मौसममा ती महिलाले मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको अनुभव छ ।
२०६७ सालमा काठमाडौं आउँदा उनले कुपण्डोलमा घाँसले बुनेर बनाएका विभिन्न हस्तकलाका सामग्री देखेकी थिइन् । घाँसको समेत सामग्री बनाएर बेचेको देखेपछि अलैंचीको सराबाट पनि केही गर्न सकिन्छ भन्नेतिर उनको ध्यान मोडियो ।यस्ता सामानको ब्रान्डिङ गर्न झन्डै ७ वर्ष लागेको उनले सुनाइन् । २०७४ सालपछि भने उनलाई भ्याइनभ्याई छ । उनी देशका विभिन्न ठाउँबाट आएका अर्डरअनुसार सामान बनाएर बिक्री गर्छिन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न पसलमा समेत उनको उद्योगबाट उत्पादित सामग्री पाइन्छन्