कृषिमा मेसिन प्रयोग
तरकारी खेतीका साथै अन्नबाली लगाउन मिनी टिलर, पावर टिलर सहयोगी बनेको छ । मेसिनरी सामान चलाउन सिकेपछि खेतीबाली लगाउन धेरै सहज भएको छ ।

रञ्जिता अधिकारी
दाङको घोराही उपमहानगरपालिका–१ र २ मा पर्ने चेपे जलाशय घोराही–सिमलतारा सडकको छेउमा २०७३ सालसम्म सानो खोल्सो थियो । रामपुरबाट पूर्वतिर जाने साना ट्याक्सी अप्ठ्यारो साँघुरो बाटोका कारण सोही खोलामा खस्दा धेरै मानिस घाइते हुन्थे । झन्डै ७.५ बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र (स्थानीय भाषामा चेपे सोतो) स्थानीय मानिस तथा पशुपंक्षीको खानेपानी तथा मौसमी सिंचाइको स्रोत थियो । संरक्षणको अभावले पुरिँदै जाँदा सिमसार क्षेत्रको अस्तित्व नै संकटतिर धकेलिएको थियो । जसले गर्दा स्थानीयलाई खडेरीमा त परै जाओस् बर्खामा समेत आवश्यक पर्ने पानीको अभाव पूर्ति गर्न कठिन भएको थियो । २०७४ सालको स्थानीय निर्वाचनपछिअगुवा तथा स्थानीय सरकारको पहलमा चेपे ड्याम तथा सडक विस्तार भएको स्थानीय बताउँछन् ।
घोराहीर स्थानीय समुदाय यो सिमसार क्षेत्रको संरक्षणमा जुटेपछि अहिले उक्त क्षेत्र ७.५ विघामा विस्तार भई चेपे तालको नामले परिचित छ । यो ताल अहिले स्थानीय ८ सय घरपरिवारको जीविकाको आधार मात्र बनेको छैन, जलचर संरक्षण, पर्यावरण संरक्षण तथा वन्यजन्तुको प्यास मेटाउने र आन्तरिक तथा बाह्य पर्यटकको घुमघामको थलो समेत बनेको थियो ।
रामपुर, गाउँको वरिपरि खोला, नदी र पानीका स्रोत छैनन् । पहिले सिंचाइको समस्याले गर्दा खेती गर्न गाह्रो थियो । अहिले तालले गर्दा वरिपरिका सबै किसानले कृषि उत्पादन तथा आयआर्जन बढाएको स्थानीयको भनाइ छ । स्थानीय ७८ वर्षका भीमबहादुर चौधरी बाल्यकालको गाउँ सम्झँदै भन्छन्, ‘चेपेखोला खोलाजस्तो थिएन । सानो खोल्सो थियो । फागुन महिनादेखि जेठ–असार महिनासम्म पानीको अभाव हुन्थ्यो । खानेपानी हुँदैनथ्यो, खेती गर्ने कुरै भएन ।’
उनका अनुसार गाउँलेहरू सबै गाग्री बोकेर खोल्साको पानी ल्याउँथे र खान्थे । पानी नहुँदा वर्षाको पानीको अवसर छोपेर धान रोपाइँ गरेको उनलाई सम्झना छ । २०७४ सालमा चेपे सोतालाई जलाशय बनाउन विस्तार गर्ने र संरक्षण गर्ने कुरा उठ्यो । त्यो समयमा आफूले पहिलो नम्बरमा तालसँग सटेको जमिन जलाधार निर्माण गर्न दिएको उनले बताए । आजभोलि हिउँदमा समेत तालको पानी प्रयोग गरेर ढुक्कसँग सिंचाइ गर्न सकिएको उनी बताउँछन् । ‘तरकारी र अन्न बाली लगाउन वर्षाको पानी कुरिरहनु पर्दैन । गत वर्ष असारसम्मै पानी नपर्दा पनि तालको पानीलेसिंचाइ गरी धान रोपेका थियौं,’ उनले भने ।
घोराही–२ सुर्केडाङीका नवयुग टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद सुवेदीका अनुसार सानो सोतालाई सबैजना मिलेर ठूलो जलाशय बनाएका हुन् । १५ मिटर गहिरो तालले अहिले आठ सय घर धुरीका दुई सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ । जमिनमा सिँचाइ सुविधाले खेतीपातीलाई मात्रै होइन, चराचुरुङ्गी, जीवजन्तु सबैको पानीको समस्या समाधान भएको छ । गाउँका युवा सबै खेतपातीमा लागेका छन् । पढ्नबाहेक रोजगारीका लागि विदेश जानेको संख्या कम छ । ‘एक सिजनमा काउली, बन्दा र गोलभेंडा खेती गरेको सुर्केडाङी गाउँबाट झन्डै दुई करोड रुपैयाँको तरकारी बिक्री भएको छ,’ उनले भने ।
वर्षामा चुरे पहाडदेखि बग्दै आएको पानीलाई तालभित्र पठाउने व्यवस्था गरिएको छ । गाउँमा सिंचाइका लागि पानी निकासको बाटो राखिएको छ । चेपे तालमा हिउँदमा पानीको कमी भयो भने पम्पसेटको प्रयोग गरेर पानी तान्ने गरिन्छ । ताल आफूहरूको जीवनको आधार नै बनेको सुवेदीले बताए ।
चेपेताल संरक्षण समितिका अध्यक्ष एवं घोराही–१ का अध्यक्ष राममणि पाण्डेले भने, ‘तालको अस्तित्व नै संकटमा गएको बेला यसको संरक्षणबाट हुने फाइदाका विषयमा स्थानीय समुदायसँग छलफल भयो । सुरुमा यहाँका स्थानीयले सहयोग गर्नुभएन । सबैलाई पछि हुने फाइदाको बारेमा जानकारी गरायौं। स्थानीयले तालको माथिल्लो भागमा बस्ने स्थानीयले बस्ती डुबानमा पर्ने खतरा रहेको भनेर विरोध गर्नुभयो ।’ केही समयको विवादपछि उनीहरू सहमतिमा आएर छेउछाउका जमिन चेपेताललाई दिए । सिमेन्ट, बालुवाबिना प्राकृतिक तरिकाले माटोको आधार बनाई संरचना तयार गरेको उनको भनाइ छ ।
यसका लागि घोराही उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको सहयोगमा ताल मर्मतसँगै संरक्षण गरिएको हो । अहिले रामपुरवासीहरूले परम्परागत बालीको उत्पादकत्व बढाउनेदेखि नयाँ कृषि उत्पादन थप्न र तालमा माछा पालनसम्मका काम गर्न थालेका छन् । तालको विस्तारसँगै भएका परिवर्तनले गर्दा यो ताल पर्यटकीय आकर्षण र चर्चाको विषय बन्न थालेको उनको भनाइ छ । उनका अनुसार खेती गर्ने मानिसले खेती गरेर आम्दानी बढाएका छन् ।
ताल संरक्षणले उत्पादन वृद्धि
घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा पाँच वर्षअघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले एक करोड रुपैयाँको लागत र स्थानीयको पहलमा २०७७ सालमा जलाशय बनेको थियो । झन्डै दुई बिघामा फैलिएको यो जलाशय क्षेत्रको गहिराइ ६ मिटर छ । यो जलाशय निर्माण भएपछि ९५ बिघा जमिनमा सिचाइ पुगेको छ ।
घोराही–१७ कर्जाहीका जीवन चौधरी ५५ वर्षका भए । उनको पेसा खेतीपाती हो । आफ्नो एक विघा र भाडामा ल्याएको ९ कठ्ठा जमिन व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । जमिनलाई वर्षको दुई हजार तीन सय भाडा दिने गरेकोउनले बताए । कक्षा ८ सम्मको अध्ययन गरेका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेको ४ वर्ष भयो । पछिल्लो समय बाह्रै महिना तरकारी खेती गरेर ६०/७० हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । चार वर्ष अघिसम्मा गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलाशय विस्तार भएपछि मात्रै पानीको पहुँच पुग्यो र खेती सुरु भयो ।
ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा जीविकोपार्जनलाई जोड्ने कामलेखेतीपातीमा सहजता थपिएको चौधरी बताउँछन् । स्थानीयलाई माछा पालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम अभियान घोराहीले गरेको छ । कर्जाही गाउँबाट दैनिक ५० हजार बराबरको तरकारी बिक्री हुने गरेको छ । कर्जाही ड्याम लिफ्ट सिंचाइ आयोजनाका अध्यक्ष परशु चौधरीले गाउँका २ सय ५० घर धुरीका ९५ बिघा जमिनमा सिंचाइ पुगेको बताए ।
किसानलाई तरकारी खेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याई हुन्छ । अहिले बाह्रै महिना किसान व्यस्त रहने र आम्दानीसँगै पोषणमा समेत सुधार भएको चौधरीले बताए ।
जैविक मल तथा झोल मल बनाउने र प्रयोग गर्ने तरिकासिकेपछि गाउँमा रासायनिक मल तथा विषादीको प्रयोग घट्दै गएको छ । बीउ छर्नेदेखि गोडमेल गर्ने, बाली भित्र्याउने र उत्पादनलाई बजारसम्म पुर्याउने काममा पालिकाले सहयोग गर्दै आएको छ ।
थारू समुदायका महिलाहरूले परापूर्वकालदेखि ढकिया, गुन्द्री, वीणा, पटकी, चटार्ई बुनेर व्यावसायिक बनेका छन् । यसले उनीहरूको सीप आयआर्जनको माध्यम बनेको छ । गुन्द्री र पटकी बुन्न प्रयोग हुने गुँद (एकप्रकारको झार) पानी भएको स्थानमा मात्र लगाउने गरिन्छ । हातले बुनेका वस्तु बिक्री गरेर महिलाहरूले आम्दानीको माध्यम बनाएको र यसबाट घरखर्च चलाउन सजिलो भएको स्थानीय रिता थारु बताउँछिन् ।
सिमसार संरक्षणले नयाँ जीवन
जमिनको सतहलाई आंशिक तथा पूर्णरूपले पानीले ढाकिएको क्षेत्र सिमसारमा वार्षिक वा केही समयसम्म पानी जम्मा हुन्छ । साबिक जिल्ला भू–संरक्षण कार्यालय हाल भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका जलाधार निर्देशक शिवराम अधिकारीले सिमसार संरक्षणले सिंचाइ व्यवस्थापन घरायसी प्रयोग, मत्स्य तथा घरेलु जनावर पालनका लागि उपयोगी भएको बताए । सिमसार संरक्षण तथा व्यवस्थापन गर्दै आएकाले हिउँद/गर्मी मौसमको समयमा पानी सञ्चय, नवीकरण र उपयोगमा सघाउ पुर्याउने गरेको अधिकारीले बताए । जमिनको भित्री भागमा पानी सञ्चितीकरण गरी, कल बोरिङ तथा कुवाको खानेपानीको सतहलाई घट्न नदिने काम भएको छ । स्थानीय तथा बसाइ सर्ने प्रजातिहरूको वासस्थान सुरक्षित गर्न पानीको पूर्ति भएको छ । हरितगृह, ग्यास सञ्चित, बाढीको पानी संकलन अथवा मानव बस्ती व्यवस्थापन, पर्यापर्यटन व्यस्थापन, सरोकारवालाहरूको धार्मिक, आर्थिक, सामाजिक विकासका लागि सबैलाई फाइदा पुगेको अधिकारीले बताए ।
उनले भने, ‘जलवायु परिवर्तनका असरहरूसँग अनुकूल तथा न्यूनीकरण गर्न, जैविक विविधता संरक्षण कार्यमा टेवा पुर्याउन सिमसार क्षेत्र संरक्षणले ठूलो योगदान गरेको छ । वातावरणीय सेवा भुक्तानीको अवधारणा विकास गर्न, भूमिगत जलस्रोतको सतह वृद्धि भएको, जमिनमा चिस्यान फैलाई खेतीयोग्य जग्गाको ऊर्वराशक्ति वृद्धि गरी किसान लाभदायी भएको गाउँको सौन्दर्यकरणमा थप योगदान पुगेको उनको भनाइ छ ।
सुकेका मुहान रसाउन थाले
पहिले हिउँद सुरु भएसँगै गाउँबाट पर रहेका खोला, खोल्सा र नदीमा पुर्याएर गाईवस्तुलाई पानी खुवाउनुपर्थ्यो । अहिले तालमै पानी प्रशस्त हुन थालेपछि गाउँमा सुकेका मुहान समेत रसाउन थालेका छन् । ताल संरक्षणपछि घरको इनारको पानी पहिले भन्दा माथिको सतहमा आइपुगेको स्थानीय भौना चौधरीको अनुभव छ । यति मात्र नभई तालका कारण गाउा वरिपरिको जमिनमा प्राकृतिक रिचार्जको काम समेत भएको छ । जसले गर्दा जमिन ओसिलो एवं उर्वर भइरहने र बाली उब्जाउन पानीको धेरै आवश्यकता नपर्ने उनी बताउँछन् । अहिले पानीमा आश्रित जलचर जीवहरू र जंगली जनावर तथा चराचुरुङ्गीको संख्या समेत बढेको उनको भनाइ छ । सुख्खायाममा वन–जंगलमा डढेलोको जोखिम बढी हुने गरेको र यस्तो बेला आगलागीे नियन्त्रणका लागि तालकै पानी प्रयोग गर्न सकिन्छ । त्यसैले आगलागीको क्षति न्यूनीकरण गर्न समेत ताल उपयोगी भएको चौधरी बताउँछन् ।
चरा आउने क्रम बढ्दो
दाङमा पछिल्ला वर्ष आगन्तुक चराको संख्या बढेको छ । सिमसार, जलाशय र चराका लागि उपयुक्त वासस्थान बन्न पुगेका छन् । यी क्षेत्र संरक्षणका जैविक विविधताको प्रवर्द्धनले हिउँदमा विशेष गरी साइबेरिया, मङ्गोलिया, चीन आदि देशबाट आउने आगन्तुक चराको संख्या बढ्न थालेको हो । सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको संख्या बढ्न थालेको छ । घोराही– १७कर्जाहीमा पाँच वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो ।
गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयकै पहलमा जलाशय बनेको थियो । अहिले उक्त जलाशय मानिसको मात्र नभई स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको स्थानीय बताउँछन् । जलाशय बनेको सुरुसुरुमा त चरा आएनन् पछिल्लो समय विदेशी चराहरु आउने क्रम बढेको छ । नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आएकाखनालले कृत्रिम जलाशय, सिमसारससँगै नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभलाग्दो रहेको बताए ।
उनले चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउबाट चिसो छल्न चरा नेपाल आउने गरेको बताए । कुनै समय सुख्खा ठाउ अहिले जलमग्न भएका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा छ महिनासम्म बस्ने गरेको चराविज्ञ खनालले बताए । दाङमा २८ प्रजातिका जलपंक्षी पाइन्छन् ।कृत्रिम जलाशयले गर्दा चराको वासस्थान भएको उनको भनाइ छ । बाहिरी देशबाट समेत चरा आउने गरेका छन् । कृत्रिम ताललाई भविष्यमा अझै प्रवर्द्धन गर्दै जलपंक्षीको पनि संरक्षणमा लाग्ने उनी बताउँछन् ।
नेपाल पंक्षीविद् संघका अनुसार गत वर्ष गरिएको जलपंक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातिका ६३ हजार ९ सय जलपंक्षी छन् । ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपंक्षीको गणनाबाहेक अरु काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।
उपमहानगरको प्रशंसनीय प्रयास
दाङको घोराही उपमहानगरपालिकाले २०७५/०७६ मा ताल संरक्षण गर्न सुरु गरेको हो । अहिलेसम्म ४३ वटा ताल बनिसकेका छन् ।
तालबाट वर्षाको पानी जम्मा गरी हिउँदमा खेतीमा सिंचाइ गर्न सजिलो हुनुका साथै स्थानीयको आयआर्जनमा सहयोग पुगेको नगरप्रमुख चौधरी बताउँछन् । पालिकाले संरक्षण गरेका ताल हेर्न आउने स्थानीय र बाह्य पर्यटक आउने भएकाले त्यस क्षेत्रमा सञ्चालन भएका होटल एवं पसलहरू राम्रो चलेका छन् । जलाशयमा माछा पालन गरेर स्थानीयले आम्दानी गर्न थालेका छन् । तालबाट जमिनमुनिको पानीको सतह रिचार्ज हुने भएकाले घोराही क्षेत्रका इनार, कुवामा हिउँद वा सुक्खा मौसममा पानीको अभाव नभएको बताए । ‘हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता–मानव विकास स्वस्थ र स्वच्छ घोराही उपमहानगरपालिका’ भन्ने पालिकाको नारालाई पालिकाले सफल बनाउँदै लगेको छ । पोखरीमा जम्मा गरिएको पानीले बाह्रै महिना सिँचाइ भएपछि घोराहीभित्रका नागरिकको जीवनस्तर फेरिएको छ । मौसमी र बेमौसमी तरकारी बेचेरै पनि राम्रो आम्दानी गरिरहेका छन् ।
रासस