Successfully Copied

सुन्दरताको परिभाषा बदलिनुपर्छ–जेन दीपिका ग्यारेट

महिलाको चौतर्फी विकासलगायत विशेषतः नेतृत्व विकासका ब्युटी प्याजेन्टआवश्यक भएको मेरो अनुभव छ ।

लक्ष्मी भण्डारी



मिस युनिभर्स नेपाल–२०२३, जेन दीपिका ग्यारेट यो वर्ष निकै चर्चामा रहिन् । मिस युनिभर्समा भाग लिन जानुअघि नै ‘बडी सेमिङ’ लाई चुनौती दिएको र सुन्दरताको परिभाषा बदलेको भन्दै उनको चौतर्फी चर्चा चुलिएको थियो । मिस युनिभर्सको भीडमा पनि उनले आफूलाई उच्च आत्मविश्वासका साथ फरक रूपमा प्रस्तुत गरेका कारण निकै लोकप्रिय भइन् । नेपालकी चाँदनी बोहरा र अमेरिकास्थित टेक्सास राज्यका जोल ग्यारेटकी सन्तान जेन दीपिका प्राथमिक शिक्षा अमेरिकामै पूरा गरी कक्षा ६ देखि १२ सम्म नेपालको किस्ट कलेजमा पढेकी हुन् । त्यसपछि उनले नर्भिक इन्टरनेसनल अस्पतालबाट नर्सिङ पूरा गरिन् । अहिले उनी लाइसेन्स प्राप्त नर्स पनि हुन् । उनी भन्छिन्–‘एक्टिङ–मोडलिङमा पहिलेदेखिकै रुचि हो । पढाइ सँगसँगै मोडलिङ तथा बिजनेस डेभलपर्सको काम पनि गरिरहेकी थिएँ । पढाइ सकिनेबित्तिकै मिस युनिभर्समा सहभागी हुने मौका पाएँ । त्यो मेरा लागि राम्रो र उपयुक्त प्लेटफर्म बन्यो ।’

केमा व्यस्त हुनुहुन्छ ?
मोडलिङमै व्यस्त छु । राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डसँग काम गरिरहेकी छु । थाइल्यान्ड, न्यूयोर्क, मियामिका प्रोजेक्ट सिध्याएर आएँ । अब दुबईको काम सुरु हुँदैछ । त्यसबाहेक एक्टिङ सुरु गर्दैछु ।

मिस युनिभर्सको अनुभव कस्तो रह्यो ?
धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । फरक देशका भाषा–संस्कृति, संस्कारबारे थाहा भयो, साथै नेपालका बारे धेरै राम्रा सूचना थुप्रै देशमा पुगे । संसारका मान्छे उपस्थित भएको त्यो भीडको प्रेसर राम्ररी ‘ह्यान्डल’ गर्न सकें । फरक सन्देश र उद्देश्यसहित गएकीले त्यहाँ नेपालको नाम उँचो रह्यो भन्ने लाग्छ ।

मिस युनिभर्सको प्लेटफर्मबाट के उपलब्धि हासिल गरेजस्तो लाग्छ ?
ब्युटी स्यान्डर्ड र स्टिग्मा अलिकति भए पनि ब्रेक गरेजस्तो लाग्छ । गोरो छाला, अत्यन्तै स्लिम फिगरलाई मात्रै सुन्दर मान्ने जुन पुरातन टे«न्ड थियो त्यसलाई मैले आत्मविश्वास नै सुन्दरता हो भन्ने कुरा प्रमाणित गर्न सफल भएँ । साथै हाम्रो सुन्दर देश नेपाललाई संसारसामु सुन्दर शैलीमा प्रस्तुत गर्ने सक्दो प्रयास गरें ।

के कुरामा अलि बढी परिश्रम गरेको भए मिस युनिभर्सको विजय नजिक पुग्ने थिएँ जस्तो लाग्छ ?
मैले परिश्रम गरेकै थिएँ । शतप्रतिशत इफोर्ट दिएकै हुँ । मलाई लाग्छ हाम्रो तर्फबाट अलिकति रिसोर्स पुगेन । एक त हाम्रो देश नै सानो छ र रिसोर्सेस पनि कम छ । मलाई त जितेरै आउँछु भन्ने लागेको थियो तर कतिपय टेक्निकल कुरा नमिलेका हुनसक्छन् ।


मिस युनिभर्सले तपाईंलाई के सिकायो ?
मानवीय सीपलगायत मानिसहरूसँग कसरी ‘डिल’ गर्ने, प्रतिस्पर्धात्मक खेल कसरी खेल्ने, नेटवर्किङ कसरी गर्ने भन्ने कुरा सिकायो ।

अहिलेको समयमा महिलाका लागि अत्यावश्यक कुरा के हो ?
जबसम्म महिलाले आफूले आफूलाई माया र हेरचाह गर्दैनन् तबसम्म सशक्त भइँदैन जस्तो लाग्छ । आफू जे र जस्तो छौं, आफैंलाई माया गर्न सिकौं । सशक्त हुनका लागि पहिला आफू हुन सिक्नुपर्छ ।

ब्युटी प्याजेन्ट जस्ता प्लेटफर्म किन आवश्यक छ ?
महिलाको चौतर्फी विकासलगायत विशेषतः नेतृत्व विकासका लागि पनि यस्ता प्याजेन्ट आवश्यक भएको मेरो अनुभव छ । उहिले यस्ता प्याजेन्टलाई सौन्दर्यका दृष्टिकोणले हेरिन्थ्यो तर अहिले सोच बदलिएको छ । महिलाको ‘सेल्फ ग्रोथ’ (आत्ममृद्धि) का लागि पनि यो आवश्यक छ ।

मिस युनिभर्स नेपालमा तपाईंको विजयले के–कस्तो सन्देश दिएजस्तो लाग्छ ?
आफूमा विश्वास गर्न सकियो भने जस्तोसुुकै विजय सम्भव छ भन्ने सन्देश दिएझैं लाग्छ । संसारका हरेक मान्छे सुन्दर छन्, उनीहरू जे छन् यो कुरालाई कम आँक्न मिल्दैन ।


नारीलाई कसरी परिभाषित गर्नुहुन्छ ?
महिला त्यस्ती शक्तिशाली देवी हुन् जसले जीवन दिन सक्छिन् । नारीमा विशेष शक्ति छ जसमा अर्को जीवन सिर्जना गर्न सक्ने शक्ति मात्रै नभएर त्यसलाई फुलाउने, फलाउने र त्यो भन्दा झा“गिन सक्ने संसार बनाउन सक्छिन् ।

तीन वटा कुरा जुन महिलामा छन्, पुरुषमा छैनन्र ?
सृष्टिकर्ता, जीवनदाता र आध्यात्मिकताकी खानी ।

तपाईंका भावी योजना र सन्देश केही छन् कि ?
मेरो आगामी योजना भनेको एक्टिङ, बिजनेस, अन्तर्राष्ट्रियस्तरमा मोडलिङ, मोटिभेसनल स्पिकिङ तथा कन्टेन्ट क्रियटिङ नै हो । तपाईं जे–जस्तो हुनुहुन्छ आफूलाई माया गर्दै आफैंमाथि भरोसा राख्न नछोड्नुस्, जसले तपाईंको सपनालाई यथार्थमा बदल्नेछ । समय यस्तो आइसक्यो अबको समाजले शरीरको आकार, रंग, उचाइलगायतका कुरालाई मात्रै सुन्दरता मापन गर्ने सीमा बनाउने छैन । आफूले आफैंलाई र सबैले सबैलाई मनदेखि माया गरौं भन्न चाहन्छु ।



पहिरन- रमिला नेमकुल, कासा पाटनढोका
मेकअप- पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडेमी नयाबानेश्वर
लोकेसन- पाम गार्डेन, होटल हिमालयन कुपण्डोल
तस्बिर- महेशमान प्रधान

 Image