तुलसा गैह्रे
भारतको सर्वोच्च अदालतले ‘हाउस वाइफ’को साटो ‘होम मेकर’ शब्दको प्रयोग गर्नुपर्ने आदेश दिएको छ भन्ने जानकारी एलएलएमको कक्षामा सुन्नेबित्तिकै हाउस वाइफ शब्दावलीप्रति मेरो ध्यान केन्द्रित भयो । अरे?शब्द संरचना नै कस्तो अजीव ? हाउस वाइफ अर्थात् घरकी श्रीमती । यसरी यो शब्दले अप्रत्यक्ष रूपमा घरकी श्रीमती हुन् ताकि बाहिर पनि अरु श्रीमती छन् जस्तो अर्थ लगाउन मिल्ने जस्तो देखिन्छ भनेर प्रतिक्रिया दिँदा कक्षामा भएका सबै साथीहरू हाँसे । त्यसपछि एकजना साथीले भन्नुभयो, ‘हाउस वाइफको अर्थ हामीले त्यहाँसम्म सोच्न भ्याएका थिएनौं म्याम ।’
हो, शाब्दिक रूपमा हाउसलाई घरका रूपमा चित्रण नगरी भवनका रूपमा लिने गरिन्छ । अर्थात्, हाउसले आफ्नो परिवारसहितको घरलाई पूर्णरूपमा चित्रण गर्न सक्दैन । काम वा अन्य घुमफिरको सिलसिलामा श्रीमान् देश–विदेश घुमेर, विभिन्न ठाउँ–देशको परिवेश, संस्कृति, खानपान, आनन्दमा भिजेर सूचना, ज्ञान आर्जन गरी फर्केर आउँदा श्रीमतीका नाममा ल्याइदिएको सारी, गरगहना वा सौन्दर्यका सामग्रीले नारीले आफूलाई श्रीमान्ले असाध्यै प्रेम गर्ने र आउँदै गरेको चाडमा सोही सारी नै लगाउने हो भनेर साथीहरूलाई सुनाउँदा अत्यन्तै गौरवान्वित हुन्छिन् । त्यसका पछाडि आफ्नो जन्म, हुर्केपछि पराई घरमा आएर सन्तान प्राप्त गरी बालबच्चा हुर्काउने मात्र होइन । संसारमा भएका, भइरहेका विभिन्न प्राकृतिक तथा मानवनिर्मित सुन्दरता, यथार्थको अवलोकन गरी जिन्दगीमा निचोड निकाल्नु पनि हो भन्ने विषयको बोध नै हुँदैन । परिवारबाट केही दिन बाहिर निस्केर, परिवारप्रतिको दैनिक जिम्मेवारीबाट फुर्सद निकालेर म को हुँ ? मेरो पहिचान के हो/आकांक्षा के हुन् भनेर मौनतामा आफैंले आफैंलाई सोचेका छौं ? सायद पक्कै पनि यो प्रश्न अधिकांश नारीको मानसपटलमा उब्जिँदैन ।
समावेशीकरण, आरक्षण तथा सकारात्मक विभेदको अवधारणाले पक्कै पनि नारीलाई चारवटा पर्खालमा मात्र सीमित हुनुपर्ने वास्तविकताबाट निकै सहज बनाएको छ । तथापि नीति, राजनीति, अर्थतन्त्रमा समावेशिताको विषयले महिलाको पहिचान, क्षेत्राधिकार र धेरै विषयमा पहुँच बढाएको छ । तर, अझै पनि नारीमा अबोधपना छ ।
नारी ती हुन्, जसले सृष्टि चलाउने नाममा जानेर वा नजानेर हरेक समय त्याग गरेकी हुन्छिन् । समाजले लगाएको भूमिकाप्रति सचेत हुँदै यो गर्नुपर्छ, नत्र के भन्छन् भन्ने विषय मस्तिष्कको अग्र भागमा रहेको हुन्छ । शरीरमा प्रवेश भएको रगतको सम्बन्धलाई विवाहपछि दूरी कायम गर्ने र रगतभन्दा बाहिरको सम्बन्धमा आफ्नो बनाउन वा गराउन उनी हर समय सचेत हुने गर्छिन् । दिनमा २४ घन्टा, हप्तामा सात दिन र वर्षमा ३६५ दिन आफूलाई भुलेर परिवारका लागि भनेर तत्पर हुने ती हाउस वाइफ आज आफ्नो पहिचान खोज्न, आफ्ना इच्छा–आकांक्षालाई पनि मध्यनजर गर्न खुट्टा चाल्दैछिन् । समय, परिस्थितिसँगै प्रकृतिले प्रदान गरेको जैविक दायित्वको साथमा पुरुषसरह घर बाहिर, कार्यालय, राजनीति, आयआर्जनमा समेत साथसाथमा अगाडि बढेकी छिन् । आफ्नो पहिचान र आफ्नो स्वतन्त्रताप्रति बढ्दै गएको बोधले आफ्नो स्वतन्त्रता क्षीण गर्ने तत्वहरूप्रति प्रतिकार गर्दै ‘सिंगल मदर’हुन समेत पछाडि नहट्ने यी नारी आज पाइलट, ड्राइभर, बोस, प्रिन्सिपल, वैज्ञानिकहुँदै चन्द्रमामा समेत पाइला टेकिसके ।
दुवैतिर सम्बन्ध उत्तिकै प्रगाढ गराउन सकिँदैन भनेर सम्बन्धलाई टिकाइराख्न नारीले आफ्नो अंश, वंश, थर, गोत्र समेत फेरेर सदियौंदेखि पुरुषको पुरुषार्थमा साथ दिइरहिन् । पितृसत्तात्मक सोचले भरिपूर्ण धर्मका व्याख्याकारले पुरुषलाई उँचो र महिलालाई पुरुषसरह सक्षम नभएको भन्दै आए । श्रीमान्को दीर्घायुका लागि आफै पूजाआजा गर्ने, व्रत बस्ने र उनीहरूको इच्छाअनुकूल सजिनु आफ्नो मूल धर्म सम्झिए र अझै पनि यसमा थपघट भएका मान्यताप्रति महिलाहरू स्वीकारोक्तिमा देखिन्छन् । तिमी नारी हौ । धेरै नबोल । जहाँतहीँ नहिँड । नहाँस । यो तिमीले गर्न सक्दिनौ । यो तिम्रो काम होइन (पुरुषार्थको विषयमा) भनेर सदियौंदेखि सिकाइयो । पुरुषले गरेको–गर्न खोजेको दमन हिंसाप्रति त्यति धेरै प्रतिक्रिया नजनाई सहर्ष स्वीकार गर्न महिलालाई बानी पारिएको थियो, छ ।
सृष्टिको सञ्चालन र आफैंमा आएको पहिचानप्रतिको बोधले पढेलेखेका नारीमा अझ बढी मानसिक भार समेत बढ्दै गएको छ । पारिवारिक जिम्मेवारी र आयआर्जनमा संलग्न भई वृत्तिविकासका लागि थपिएको सामाजिक दायित्व पनि छ । जैविक जिम्मेवारी (सन्तानको पालन पोषण), समय अनुकूल परिवेशमा आफूलाई ढाल्नुपर्ने प्रचलन, रीतिरिवाजले हिजो आमाहरूको कठोर शारीरिक श्रमभित्र पनि स–साना प्राप्तिले प्रदान गरेको खुसी–आनन्द आजका नारीमा बिल्कुलै पाउन गाह्रो छ । यसको कारण बदलिँदो परिवेश र दोहोरो भूमिका हो । तसर्थ हाउस वाइफको साटो होममेकर भनी गरेको आदेशप्रति सम्मान भाव जाग्यो ।
(गैह्रे नेपाल सरकार पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत छिन् ।)