मेष
यात्राको योग छ । आत्मीयजनसितको भेटघाटले मन प्रसन्न रहला । मनमा भएको तनाव हट्नुका साथै तन पनि स्वस्थ रहनेछ । कुनै आर्थिक कार्यमा लगानी गर्ने अवसर जुट्नसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रो धन लाभ हुनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने मौका मिल्नेछ । व्यक्तिगत काम र खुसीका लागि विभिन्न कुराको जोहो हुनेछ । परिवारमा कसैकसैलाई सन्तान लाभ हुनेछ भने कसैकसैको घरमा भने इष्टमित्र वा परिवारका नयाँ सदस्यलाई स्वागत गर्ने अवसर मिल्ला । दाम्पत्य जीवन सोचेजस्तै सुमधुर रहनेछ । विविध कुराले गर्दा यो महिना फलदायी रहला ।
वृष
विभिन्न कामकुराले गर्दा अलि व्यस्त रहनुपर्ला । समयानुसार आफूलाई प्रस्तुत गर्नु उत्तम रहनेछ । कुनै पनि काम धैर्यपूर्वक गर्नुपर्ने बेला छ । कसैमाथि बढी विश्वास नगरेकै राम्रो हुनेछ । सकेसम्म तटस्थ रही आफ्नो काम गर्नु उत्तम रहला । कामको परिणाम नआउन्जेल मौन बसेकै उत्तम हुनेछ । प्रतिस्पर्धात्मक काम गर्दा गोपनीयतामा ध्यान दिनुपर्ला । हेमोग्लोबिन, फलाम, जिंक तत्व भएका खानेकुराहरूको उपभोग गर्नसके शरीर तन्दुरुस्त रहला । अनावश्यक खर्च हुने सम्भावना भएकाले किनमेल गर्दा सजग रहनुपर्ला । हरेक ठाउँमा जाँदा सामानको राम्रो हेरविचार गर्नुपर्ला ।
मिथुन
यात्रा गर्ने योग छ । विविध कामकुरामा व्यस्त रहनुपर्ला । समयावस्था विचारेर काम गर्नसके धेरै सहज होला । समयलाई सकेसम्म आफू अनुकूल बनाउने प्रयत्न हुनेछ । विविध कुराको किनमेल हुनेछ । विभिन्न माध्यमबाट काममा सहयोग पाइएला । कुनै आर्थिक काममा संलग्न हुनुपर्ला । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि पनि केही खर्च होला । तपाईंको विचार बुझी काम गर्ने प्रयत्न हुनेछ । जति अनपेक्षित हुनसक्यो उति नै आफूलाई सजिलो होला । साथीसंगीसित भेटघाट गरी रमाउने मौका जुट्नेछ । कतैबाट कुनै कुराको आकस्मिक उपहार पाइएला । अनावश्यक खर्च हुने सम्भावना भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी विचार गर्नुहोला ।
कर्कट
काम गर्दा अपजस आइलाग्नुका साथै अनपेक्षित विवादको सामना गर्नुपर्ला । सकेसम्म मौन र तटस्थ भएकै राम्रो हुनेछ । आफू अनभिज्ञ भएका कामकुरामा चासो नदिएकै राम्रो होला । नयाँ एवं पुराना साथीसंगीसित भेटघाट गर्ने मौका जुट्नेछ । कुनै कामका लागि रकमको जोहो हुनेछ । व्यक्तिगत खुसी एवं कामका लागि केही कुराको किनमेल हुनेछ । सहयोगी हातहरू पछि हट्नसक्छन्, सकेसम्म आफ्नो काम आफैं गर्नु उचित हुनेछ । प्रतिस्पर्धात्मक काम गर्दा सजग रहनुपर्नेछ । चोटपटक लाग्नसक्ने भएकाले कुनै पनि काम गर्दा वा सवारी चलाउँदा हडबड नगर्नुहोला । जता जाँदा पनि मालसामानको राम्रो ख्याल गर्नुहोला ।
सिंह
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कतै घुमघाम गर्न जाने सम्भावना छ । विभिन्न कुराले गर्दा मन रमाउनेछ । आकस्मिक लाभ हुनसक्छ । अनपेक्षित रूपमा मनले खुसीको अनुभव गर्नेछ । कुनै कामका लागि किनमेल गरिनेछ । विभिन्न सरसामानको जोहो गरिनेछ । कसैले भने गरेको कुरामा प्रतिक्रिया दिँदा सजग रहनुपर्नेछ । कुनै धार्मिक/माङ्गलिक कार्यमा सहभागिता जनाउनुपर्ला । तनमन स्वस्थ हुँदा हरेक कुरामा सहजता होला । कसैकसैलाई नयाँ रोजगारीको सम्भावना छ । अप्रत्याशित रूपमा कुनै कुराले आकस्मिक खुसी प्रदान गर्ला ।
कन्या
सोचेअनुरूप सबै कुरा मिल्दै जानेछन् । समयले पनि साथ दिँदै जानेछ । जुनसुकै काममा खुसी र शान्त मनले आफूलाई अघि बढाइनेछ । रोकिएको काम पनि क्रमशः अघि बढ्दै जानेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । आत्मीयजनसितको साथले मन खुसी हुनेछ । कसैकसैको घरमा पाहुनाको आगमन हुनेछ भने कसैकसैलाई फेरि सन्तान लाभ हुनसक्छ । कहिँकतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । अपेक्षित साथ र समझदारी हुँदा दाम्पत्य जीवन सुमधुर रहनेछ । छोराछोरीबाट अपेक्षित सुख–सन्तोष पाइनेछ । तपाईंको बोली एवं कार्यदक्षताको समाजमा कदर होला ।
तुला
विविध कुराले मनमा डेरा जमाउन सक्छन् । सम्भावित वा भैपरि आउनसक्ने कुरालाई लिएर अनपेक्षित रूपमा मन चञ्चल रहला । जतिसक्यो शान्त र तटस्थरूपले आफूलाई प्रस्तुत गर्नुपर्ने बेला छ । आफ्नो स्वास्थ्य र खानपानको विचार गर्दै समयानुकूल रहने प्रयत्न गर्नुपर्ला । कुनै कुरामा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुपर्ने बेला छ । धेरै कुरामा व्यस्त हुनुपर्ने भएकाले नयाँ काममा अघि सर्दा विशेष ख्याल गर्नुपर्ला । दाम्पत्य जीवन सोचेजस्तै सुखमय रहनेछ । माइतीपक्षसित भेटघाट गर्ने मौका जुट्नसक्छ । कुनै कुराको आकस्मिक उपहार प्राप्त हुनसक्छ । विविध कुराले बेलाबेलामा अल्मल्याए पनि दशम स्थानको बुधले कतिपय कुरामा सहजता तुल्याउनेछ ।
वृश्चिक
महिनाका सुरूका दिनहरू आफूअनुकूल नै रहनेछन् । पछिका दिनहरूमा कुनै न कुनै कुराले अल्मल्याउलान् । काम र समयको महिमा बुझी चल्नुपर्ने बेला छ । कसैको लहैलहैमा नलागी आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ । जसले जे भने पनि कुनै कुरालाई गम्भीररूपमा नलिएकै राम्रो होला । मनलाई चञ्चल हुन नदिने प्रयत्न गर्नुपर्नेछ । कुनै कुराले तनाव दिन खोजे पनि आफ्नै सुझबुझले उम्किने प्रयास गर्नुपर्ला । जति अनपेक्षित हुनसक्यो उति नै तनावमुक्त र मन शान्त होला । सकारात्मक सोचमा रही आफूलाई प्रस्तुत गर्न सके सबै कुरामा सहज हुनेछ । झिनामसिना कुराबाट तर्किनु नै लाभप्रद होला ।
धनु
उपलब्धिमूलक महिना छ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । व्यक्तिगत काम र खुसीका लागि केही खर्च होला । कुनै कुरामा आर्थिक लाभ होला । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । रोकिएका कामले पनि गति लिन थाल्नेछन् । नयाँ रोजगारीको सम्भावना पनि छ । पेट र ग्यास्ट्रिकका बिरामीले खानपानमा सजग रहनुपर्नेछ । आत्मीयजनसित भेटघाट गर्ने अवसर जुट्नेछ । साथीहरूसित पनि कतै जमघट हुनसक्छ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कुनै कार्यक्रममा विभिन्न व्यक्तित्वसित चिनजान गर्ने अवसर मिल्ला ।
मकर
मनमा भएको तनाव हट्दा मन प्रसन्न हुनेछ । काम गर्ने उत्साह बढ्नेछ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । पुराना कुराहरूलाई बिर्सेर नयाँ धारमा आफूलाई बढाउन खोजिनेछ । आफ्नो अनुकूलता विचारेर आफूलाई प्रस्तुत गर्ने प्रयास होला । काम गर्दा विभिन्न खालका व्यक्तित्वसित भेटघाट हुनसक्छ । पुराना तथा नयाँ साथीहरूसित भेट्ने मौका जुट्नसक्छ । रक्तचापका बिरामीले मौसमावस्था विचारेर स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । आर्थिक लेनदेनको काम गर्दा भने सजग रहनुपर्नेछ । बोली एवं व्यावहारिक कार्य गर्दा पनि सावधानी अपनाउनुपर्ला ।
कुम्भ
सन्तानको खुसी एवं सहजता विचारेर आफूलाई प्रस्तुत गरिनेछ । आफ्नो खुसी र अनुकूलताको पनि उत्तिकै ख्याल गरिनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । आफ्नै रोजाइअनुसारका क्रियाकलापमा आफूलाई प्रस्तुत गरिएला । बेलाबेलामा अनपेक्षित रूपमा कुनै कुराले मन चञ्चल बनाउन सक्छ । सकेसम्म सकारात्मक रही आफ्नै सुझबुझले मनको व्यवधान हटाउनु उत्तम रहला । आफूलाई कसरी प्रस्तुत गर्ने सबै कुरा आफूमै निर्भर रहनेछ । सबैले तपाईंको हिताहितको विचार गरी तपाईंकै इच्छामा जोड दिनेछन् । झिनामसिना र नकारात्मक कुराबाट आफूलाई जति सक्दो तर्काएकै लाभप्रद हुनेछ । कतैबाट तपाईंको कार्यकुशलताको कदर गरिनेछ । विभिन्न कुराको लाभ हुनेछ । प्रतिस्पर्धात्मक काममा सफल भइनेछ । नयाँ साथीहरूसित चिनजान गर्ने मौका जुट्नसक्छ । कुनै नयाँ ठाउँमा घुमघाम गर्ने अवसर जुट्नसक्छ ।
मीन
राम्रो गर्दागर्दै पनि कुनै कुरामा अपजस मिल्नसक्छ । बोली र व्यावहारिक काममा सजगता अपनाउनुपर्ला । सन्तानले कुनै कुरामा गरेको जिद्दीले अनाहकमा तनाव हुनसक्छ । केटाकेटीकै कुरालाई लिएर खटपट पर्नसक्छ । समयानुसार आफूलाई प्रस्तुत गर्नु उचित हुनेछ । कुनै पनि कुरामा झर्को नमानी शान्त रहन सके सम्भावित विवाद टर्नसक्छ । जतिसक्यो कम बोलीमै काम सक्ने प्रयास गर्नु राम्रो होला । आफूले जानेबुझेका कुरामा मात्र मुख खोल्दा राम्रो हुनेछ । कतिपय कुरामा आँखा चिम्लिनु नै मनासिब रहला । व्यक्तिगत काममा भने सफलता मिल्नेछ । इच्छानुसार समयलाई तह लगाउन खोजिनेछ । मानसिक सुखका निम्ति कुनै कुराको किनमेल होला ।