मञ्जु शर्मा (ओशोधारा नेपालका लागि राष्ट्रिय संयोजक)
२४ वर्षदेखि अल्फाबिटा ग्रुपको कार्यकारी पदमा सक्रिय मञ्जु शर्मा योग प्रशिक्षक हुन् । उनले थुप्रै संघसंस्थामा योग तथा ध्यानको प्रशिक्षण दिँदै आएकी छिन् । अल्फा केयर डाइग्नोस्टिक सेन्टरको सामाजिक उत्तरदायित्वमार्फत यस्ता सामाजिक कार्यमा उनी सक्रिय छिन् ।
हाल केमा व्यस्त हुनुहुन्छ ?
व्यावसायिक काम सम्हाल्नुका साथै समर्थ गुरु सिद्धार्थ औलियाको जीवन विधायक शिक्षामा समय बितिरहेको छ । यसमा विद्यार्थीदेखि वृद्धवृद्धा सबैलाई काम लाग्ने योगसिकाइन्छ । उहाँले जीवन जिउने कला विशेष तरिकाले सिकाउनुभएको छ । ओशो परम्पराको धेरै कुरा यसभित्र छ । पछिल्ला दिन ओशोले दिन खोजेका कुरा स्पष्ट रूपमा समाजमा देखिएको छैन, फेसन मात्रै बनेजस्तो लाग्छ । मन, चित्त र कर्म शुद्ध हुनुपर्छ भन्ने जीवन विधायक शिक्षा सिद्धार्थ औलियाको मूलमन्त्र हो ।
यसको मूल मर्म के हो ?
हामी हाम्रो जीवन जिउने क्रममा स्वयंसँग टुट्दै बाहिरको दुनियाँमा रमाइरहेका हुन्छौं । तसर्थ सम्पन्नताको चुलीमा पुग्दा पनि स्वयंसँगको टाढापनले वियोगमा डुबिरहेका हुन्छौं । जीवन बितेको पत्तै हुँदैन । त्यसैले धेरै तनाव आउँछ । समस्या आउनुको मूल कारण नै स्वयंसँग टाढिनु रहेछ । यसको मूल मर्म आनन्दमय जीवन जिउने कला सिकाउनु नै हो ।
यसभित्र महिलाका लागि के–कस्ता विशेष कला छन्?
ध्यान सबैका लागि उत्तिकै महत्वपूर्ण छ । कुनै पनि महिला ध्यानमा प्रवेश गरे भने उनीहरूलाई आफ्ना समस्या पहिचान गरी ती समस्या सुल्झाउने शक्ति प्राप्त हुन्छ । आफूभित्र छिपेको ऊर्जाको पहिचान गरी त्यसैसँग जोड्दै जीवनलाई व्यवस्थित गराउन सकिन्छ । त्यसरी कुनै महिलाले जीवन जिउँछन् भने उनीहरूमा आत्मविश्वास, ऊर्जा र विशेष शक्ति प्राप्त हुन्छ ।
यससम्बन्धी प्रशिक्षण कहाँ र कसरी लिन सकिन्छ?
काठमाडौंको ओशोधारा बुद्धनगर ध्यान केन्द्रमा लिन सकिन्छ, यो ३ दिनको हुन्छ । अनलाइन कक्षा बिहान–बेलुका सवा एक घण्टाको हुन्छ । यो ४ देखि ६ दिनमा सकिन्छ ।
प्रशिक्षण पाइसकेकाहरूमा कत्तिको प्रभाव देखिएको छ ?
म २२ वर्षदेखि यसमा जोडिएकी छु । आफ्नो काम र व्यक्तिगत जीवनमा आनन्द महसुस गरिरहेकी छु । हरेक मानिसका लागि यो अत्यन्तै प्रभावकारी छ । आत्मविश्वास, ऊर्जा, शक्ति सबै आफैंभित्र हुन्छ । ती तत्वसँग जोडिने केही टेक्निक हुन्छन् । तिनैलाई अन्तर्क्रियात्मक तथा प्रयोगात्मक रूपमा सिकाइन्छ ।