Successfully Copied

स्वस्थ दाँत, खुसी शिशु

दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ।

डा. रीना शाक्य

मेरो २५ वर्षको अनुभवमा धेरैजसो अभिभावक आ–आफ्ना व्यस्तता र दुधे दाँतसम्बन्धी गलत धारणाले गर्दा स–साना बालबालिकाले दुःख पाइरहेका हुन्छन्। कतिपय अभिभावकले दुधे दाँत त हो नि छिट्टै झरिहाल्छ भन्ने सोचले बालबालिकालाई असह्य अवस्था नआउन्जेलसम्म डेन्टल क्लिनिक आउने गर्दैनन् । फलस्वरूप बालबालिकाका दाँत समय अगावै झर्ने, खान अप्ठ्यारो हुने, कीराले खाएर दाँत काला देखिने, राति सुत्न नसक्ने, पाक्ने र गाला सुन्निने जस्ता समस्या उत्पन्न हुन्छन् ।
दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ। तसर्थ दुधे दाँतमा पनि मुख्यतः बङ्गारातिरका दाँत समयअगावै निकाल्नुहुँदैन।
यी दुधे दाँतले स्थायी दाँतको ठाउँ (पोजिसन) निर्धारण गर्छन् र पछि आउने स्थायी दाँत राम्ररी उम्रने हुन्छन् । त्यति मात्र नभएर बालबालिकाका दुधे दाँतराम्रो भएनन् भने उनीहरूलाई खुलेर हाँस्न मन लाग्दैन । कतै साथीहरूले आफ्ना काला कीराले खाएका दाँत देखेर जिस्काउने पो हो कि जस्ता भावना उत्पन्न हुन्छन् र त्यसले बालबालिकाको व्यक्तित्व विकासमा पनि असर पर्छ । दाँतहरू कीराले खाएमा राम्ररी चपाएर खान सक्दैनन् जसले गर्दा पाचन प्रणालीमा समस्या हुने र अपचको समस्या आउन सक्छ ।


हाम्रो देशमा कतिपय आमाबुवामा नै राति दाँत माझ्ने बानी हुँदैन । बालबालिकाले आफ्नै अभिभावकबाट धेरै कुरा सिक्ने हुनाले सर्वप्रथम बुवाआमाले नै नियमित दुई पटक फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्ने, कुल्ला गर्ने र डेन्टल फ्लस प्रयोग गर्ने बानी बसाल्नुपर्छ । यसले स्वतः बालबालिकाको पनि राम्रो बानी विकास हुन्छ । उनीहरूलाई सकेसम्म जंक फुड नखुवाउने, गुलिया पदार्थको सट्टा फलफूल, चीज, बदाम काजु इत्यादि खान प्रोत्साहन दिनुपर्छ । ६ वर्षभन्दा मुनिका बालबालिका छन् भने अभिभावक आफैं शिशुले ब्रस गरेको सुपरभाइज गर्नुपर्ने हुन्छ ।
सकेसम्म सानासाना कीराले खानेबित्तिकै दाँत फिलिङ गरिहाल्ने गर्दा भविष्यमा लामो, खर्चिलो र पीडादायी दाँतको समस्याबाट सधैका लागि मुक्त हुन्छ । बालबालिकाको दाँत स्वस्थकर राम्रो भयो भने निर्धक्क साथ हाँसेर कुरा गर्ने बानी हुन्छ र उनीहरूको मनोबल पनि बलियो हुन्छ । के तपाईं पनि आफ्ना बालबालिकाहरूलाई तीन–तीन महिनामा डेन्टल भिजिट गर्नुहुन्छ ? यदि गर्नुहुँदैन भने तुरुन्त डेन्टिस्टकहाँ समय लिएर बच्चाको दाँतको स्वास्थ्यको सुरक्षा गर्नुहोस्।

(डा. शाक्य लुमन्ती डेन्टल क्लिनिक पाटनढोकाकी सञ्चालक हुन्)

 Image