Successfully Copied

मुस्कानका लागि दाँतको हेरचाह

सुन्दर दाँतले सौन्दर्यमा आकर्षण थप्नुका साथै आत्मविश्वास पनि बढाउँछन् ।

हाम्रो जीवनमा सौन्दर्य र फेसनसँगै मुस्कानको पनि त्यत्तिकै महत्व छ । सुन्दर मुस्कानका लागि मिलेका सेता दाँत हुनुपर्छ । अझ विवाहको तयारीमा रहेकाहरूका लागि यो महत्वपूर्ण छ । महिलाहरूले सौन्दर्य, गरगहना र फेसनका लागि धेरै पहिलादेखि नै योजना बनाइरहेका हुन्छन् । यसमा थुप्रै रकम पनि खर्चिरहेकै हुन्छन् । तर आकर्षक मुस्कान प्रदान गर्न नमिलेका दाँतमा भने खासै ध्यान दिएको पाइँदैन । अब भने यसलाई सौन्दर्यको एउटा पाटो बनाउनुपर्छ । यसका लागि करिब छ महिनादेखि नै ‘डेन्टल प्लानिङ’ गर्दा उचित हुन्छ । यसबाट विवाहमा गरिने फोटो सुटिङमा आफ्नो मधुर मुस्कानले बेहुलासँगै अरूको पनि माया जित्न सकिन्छ । 

यसो त विवाहमा बेहुली मात्र राम्री देखिएर हुँदैन, बेहुला पनि उत्तिकै सुन्दर र आकर्षक हुनुपर्छ । त्यसैले दाँत र गिजाको सफाइ आफ्नो मुखको स्वास्थ्य र ताजा सासका लागि अति आवश्यक छ । डेन्टल उपचारको प्लानिङ गर्दा आवश्यकतानुसार कस्मेटिक उपचार जस्तै डेन्टल ब्लिचिङ (दाँत सेता बनाउने), अगाडिका दाँतमा डाइमन्ड हाल्ने, भनियर क्राउन हाल्ने र साधारण फिलिङ गरी आफ्नो दाँतको आकार मिलाउन सकिन्छ । यी सबै उपचार कम समयमै गर्न सकिन्छ । 

यसैगरी दाँत नमिलेका वा बाङ्गा–टिङ्गा भएको अवस्थामा विवाह हुनुअघि कम्तीमा एक/डेढ वर्षको प्लानिङ आवश्यक हुन्छ । पछिल्लो समय नेपालमा पनि ‘इनिभिजिबल ब्रेसेस’ को चलन बढ्दो छ । यो उपचारले विना ‘ब्रेसेस’ बाङ्गा दाँतहरू सोझ्याउने गरिन्छ । यसलाई ‘स्माइल अलाइनर्स’ भनिन्छ । यो उपचारमा ‘रिमुभेबल अप्लाइन्स’ लगाइने हुँदा व्यक्तिले सजिलैसित झिक्न सक्छन् । त्यसैले योजनाअनुरूप नभएको विवाहमा अपर्झट ‘ब्रेसेस’ झिक्ने टेन्सन हुँदैन । 

हरेकले विवाहका लागि छुट्टै सपना बुनेका हुन्छन् । त्यसलाई साकार र स्मरणीय बनाउन आफ्ना दाँतलाई गहना सम्झी उचित हेरचाह गर्नुपर्छ । सुन्दर दाँतले सौन्दर्यमा आकर्षण थप्नुका साथै आत्मविश्वास पनि बढाउँछन् । त्यसैले विवाह गर्ने योजनामा हुनेहरूले आफ्नो मधुर मुस्कानका लागि ध्यान दिने हो कि ? 

(डा.रिना, लुमन्ती डेन्टल क्लिनिक, पाटनढोकाकी संचालिका हुन् ।) 

 Image