Successfully Copied

‘हेल्थ टुरिजमलाई प्रमोट गर्नुपर्छ’

यहाँ दक्ष चिकित्सक हुनुहुन्छ । हेल्थ टुरिजमलाई प्रमोट गर्नुपर्छ । कम रेटमा उच्चस्तरको सेवा दिन सकिन्छ । टेलिमेडिसिनको अवधारणा हुनुपर्छ ।


साबिहा यासमिन (अन्सारी)
प्रबन्ध निर्देशक, नेपाल मेडिकल कलेज, जोरपाटी

आजभन्दा ३७ वर्षअघि वीरगन्जको नारायणी प्रसूति गृहमा सबिहा यासमिनको जन्म भएको थियो । उनले वीरगन्जकै एक स्कुलबाट एसएलसी पूरा गरेपछि हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलबाट प्लस टु गरिन् । एमबीबीएस वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट सकाइन् । एमडी दुई वर्ष अध्ययनरत रहेकै बेला करिअर ‘स्विच’ गरेको उनी बताउँछिन् । त्यसपछि केही समय नेसनल मेडिकल कलेजमा काम गरेकी उनी हाल जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजमा प्रबन्ध निर्देशक छिन् ।
मेडिकल पढेको मान्छे बिजनेसमा कसरी आकर्षित हुनुभयो ?
मेरा अभिभावकका पाँच सन्तानमध्ये म दोस्री छोरी हुँ । हामी जन्मिएको समयमा हाम्रो समुदायमा छोरीहरू स्कुल जाँदैनथे । तर पनि बुवाले पढाउनुभयो ।रेडियोलोजिस्ट दिदी पढ्न र काम गर्न अमेरिका जाने हुनुभयो, भाइ र अरु बहिनी सानै भएकाले पारिवारिक बिजनेसमा सपोर्ट गर्ने भनेर यसमा लागें । एमडी (डर्मा विशेषज्ञ) दोस्रो वर्षमा अध्ययनरत रहेकै बेला बिजनेस ह्यान्डल गर्नुपर्ने भएकाले पढाइलाई निरन्तरता दिन पाइनँ ।
बिजनेस गर्न सहज कि बिरामीको उपचार गर्न ?
बिरामीको उपचार गर्न सहज हुन्छ । यसमा बिरामीको उपचार गरेमात्र पुग्थ्यो भने बिजनेसमा सबै कुराको जिम्मेवारी लिनुपर्छ । बढी परिश्रम गर्नुपर्छ । यद्यपि कहिलेकाहीँ पढाइ छोडेकोमा दुःख लाग्छ ।
नेपाल मेडिकल कलेजमा कर्मचारी संख्या, बिरामीको उपचारमा के–कस्ता सेवा–सुविधा छन् ?
यहाँ चिकित्सक, नर्स र सबै विभागका जम्मा ८ सय कर्मचारी छन् । यहाँ इन्टरनल मेडिसिन, गाइनो, इएनटी, कार्डियोलोजी, जनरल मेडिसिन, एनआइसियु आदिको राम्रो सुविधा छ । भर्ना भएर उपचार गर्ने बिरामीको बेड क्षमता ४ सय छ । यहाँ बिमा सेवा पनि उपलब्ध छ ।
उपचारपछि बिरामी निको नहुँदा अस्पताल तोडफोड गर्ने प्रवृत्ति पनि देखिन्छ नि, किन होला ?
कुनै पनि चिकित्सक वा अस्पतालले बिरामीको मृत्यु चाहँदैन । यसमा काउन्सिलिङको कमी भएको हो । बिरामीका आफन्तले चित्त नबुझेमा मेडिकल काउन्सिलमा कुरा गर्न सक्छन् तर बिरामीको मृत्युपछि क्षतिपूर्ति दिनु गलत हो ।

नेपालका स्वास्थ्य क्षेत्रमा कसरी सुधार ल्याउने ?
यहाँ दक्ष चिकित्सक हुनुहुन्छ । हेल्थ टुरिजमलाई प्रमोट गर्नुपर्छ । कम रेटमा उच्चस्तरको सेवा दिन सकिन्छ । टेलिमेडिसिनको अवधारणा हुनुपर्छ । यसका लागि सरकारले पनि सहयोग गर्नुपर्छ । चिकित्सक सहरमा मात्र नबसेर ग्रामीण भेगमा पनि जानुपर्छ । यसो गरेमा सेवा जनतामाझ पुग्छ ।
काम गर्दा सहज वा अप्ठ्यारा पक्ष के छन् ?
म प्रबन्ध निर्देशक भए पनि टिम वर्कमै काम गर्ने हो । पहिलेदेखि नै बुवाले गरेको काम हेर्ने गरेकाले सबै अवगत थियो । सानै उमेरदेखि डिसिजन लेवलका काम गर्ने कुरा सिकाउनुहुन्थ्यो । सुरुमा म यो कलेजमा बोर्ड अफ डिरेक्टर थिएँ । मेरो कामको मूल्यांकन गरेर नै यो पद पाएकी हुँ । ‘सिंगल ह्यान्ड’ ले भन्दा पनि टिम वर्कमै काम गर्ने हो । सही मानिस सही ठाउँमा भएमा काम गर्न सहज हुन्छ । प्रत्येक डिपार्टमेन्टको हेड अफ डिपार्टमेन्टसँग नियमित कामको मिटिङ भइरहेको हुन्छ । कहाँ अप्ठ्यारो भएको छ, केही नपुग छ सबै हेरेर ‘क्विक डिसिजन’ गर्न सक्नुपर्छ । नयाँ प्रविधि, सामान के थप्ने, कहाँ मिसिङ भएको छ, सर्भिसेज के थप्ने भन्ने कुरा पनि बारम्बार निगरानी राख्नुपर्छ । कामलाई इन्जोय गरेमा अप्ठ्यारो महसुस हुँदैन ।
महिला भएकैले काम गर्न अप्ठ्यारो परेको छ ?
मैले त्यसको अनुभव गर्नुपरेन । सानो बेलामा समाज त्यही किसिमको भए पनि बुवा पढेलेखेको भएकाले त्यस्तो महसुस गर्नुपरेन । समाजमा गाइँगुइँ गर्नेहरूले पनि पछि आफ्ना छोरीलाई पढाउन थाले ।
कामकाजी महिलालाई दोहोरो भूमिका निभाउन कत्तिको गाह्रो भयो ?
हुनत महिलालाई समाजमा त्यति प्रोत्साहन गरिँदैन । मेरो सवालमा समाज र परिवारबाटै सपोर्ट मिल्यो । मिटिङ वा कामको सिलसिलामा राति अबेरसम्म बस्नुपर्ने हुन्छ, त्यो समयमा पनि परिवारले साथ दिनुभयो । परिवार सहयोगी भए सहजै अघि बढ्न सकिन्छ ।
महिला हरेक क्षेत्रमा कसरी अघि बढ्ने होला ?
पहिलेको तुलनामा महिला अहिले विस्तारै अघि बढिरहेका छन् । दोहोरो–तेहोरो कामको जिम्मेवारीका बाबजुद पनि अघि बढ्नु गौरवको कुरा हो । महिला ‘मल्टी टास्किङ’ हुन्छन् । अहिले चिकित्सा क्षेत्रमा पनि धेरै महिला सर्जन आउनुभएको छ ।
भविष्यको योजना के छ ?
बिजनेसमा निरन्तरता दिन्छु । विदेशमा पनि मेडिकल कलेज खोलेर आफ्नो क्षेत्रमा दक्ष हुनका लागि अध्ययन गर्ने सोच छ । बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्न लागिपर्नेछु ।

तस्बिरहरुः महेश प्रधान

 Image