‘ पृथ्वी सबैको साझा हो’
पृथ्वीको मानवका रूपमा मैले मेरो अधिकारको कुरा गरिरहँदा आफ्ना वरिपरिका जीवनजन्तु, बोटबिरुवाको पनि अधिकारको कुरा विचार गर्नुपर्नेरहेछ ।

बिन्दा पाण्डे, संविधानसभा सदस्य
गत पुसमा स्टाटस लेखेकै आधारमा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे निलम्बनमा परिन्। जतिबेला उनले पार्टी मुख्यालय निर्माणका लागि विवादित पात्रबाट जग्गादान लिएको भन्दै सामाजिक सञ्जालमा असहमति जनाएकी थिइन। नुवाकोटको रावलस्वाँरामा जन्मिएकी पाण्डे जिफन्टमा काम गर्ने सन्दर्भमा अन्य जिम्मेवारीका साथै जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्युटकी अध्यक्ष र आइएलओ गभर्निङ बडी को सदस्य भइन् । २०६५ मा नेकपा एमाले केन्द्रीय सदस्य, २०७१ सालबाट पोलिटब्युरो सदस्य हुँदै २०७८ बाट नेकपा एमालेको स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छिन्।
२०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य र २०६४ सालको पहिलो संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको अध्यक्ष रहेकी उनी २०७४ मा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य भइन् । पाण्डेका नेपाली श्रमिक महिला आन्दोनलमा महिला सहभागिता (नेपाली र अंग्रेजी), आजका युवा विद्यार्थी–भोलिका दक्ष जनशक्ति र वुमन इन नेपाली पोलिटिक्स (अंग्रेजी), समानताका पाइलाहरू, धर्तीमाथिको दाबी ः अधिकारको लडाइँ, संसदीय राजनीतिमा लैंगिक सहभागिता तथा भुईंमान्छेलगायतका कृति प्रकाशित छन् । उनका महिला र श्रमिकसम्बन्धी प्रशिक्षण सामग्री तथा समसामयिक राजनीतिक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । डा. पाण्डेसँग लैंगिक न्याय, अधिकार र नीति निर्माण क्षेत्रमा लामो कार्यानुभव छ । यसैको सेरोफेरोमा उनीसँग गरिएको कुराकानी ः
तपाईंको शैक्षिक अवस्था कस्तो रह्यो ?
सुरुमा धूलेपाटीबाट अक्षर चिनेकी थिएँ । त्यसपछि नुवाकोटको भैरवी माविमा ९ कक्षासम्म पढें । कान्ती ईश्वरी माविबाट एसएलसी पास गरें । त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढें । केही समय गाउँकै स्कुलमा पढाएँ । पुनः त्रिचन्द्र क्याम्पसबाट बिएस्सी, त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर पूरा गरें । पढाइ एउटा, काम अर्कोतिर भएकाले सैद्धान्तिक ज्ञान प्राप्त गर्नुपर्छ भन्ने सोचले २०५८ सालमा बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट जेन्डर एन्ड डेभलपमेन्टमा पनि स्नातकोत्तर गरें–। २०७४ सालमा काठमाडौं विश्वविद्यालयको शिक्षा संकायबाट राजनीतिमा महिला सशक्तीकरण विषयमा विद्यावारिधि गरेकी हुँ ।
राजनीतिमा रुचि कसरी भयो ?
स्कुले जीवनमै नेताहरू गाउँमा गएर भाषण गर्थे, त्यतिबेला भाषण सुन्न गइन्थ्यो । २०३७ सालमा अनेरास्वयिुमा आबद्ध भएँ । ९ कक्षामा पढ्दा देशव्यापी हडताल गरी स्कुल बन्द गरिएको थियो । सुरुमा समानताका कुरा र जनवादी गीत गाउन थालियो । समानताका लागि लड्ने अखिल हो भन्ने महसुस भयो । यसैबाट प्रभावित भएर ३८ सालमा जिल्ला कमिटी कोषाध्यक्ष भएँ । यसैगरी काठमाडौं आएपछि पनि स्कुलमा र क्याम्पस पढ्दा पनि राजनीतिक गतिविधिलाई निरन्तरता दिएँ ।
राजनीतिमा लागेर महिलाका बारेमा के–के गर्नुभयो ?
२०४६ सालमा पञ्चायतविरोधी अभियानमा लागियो । त्यतिबेला पैतृक सम्पत्तिमा समान अधिकार, आमाको नामबाट नागरिकता, महिला विरुद्ध हिंसा अन्त्यका लागि कडा कानुन लगायतका विविध विषय उठान गरियो । आन्दोलनको सफलतापछि बनेको संविधानमा महिलाहरुका तर्फबाट १६ बुँदे साझा सुझाव पेश गरिएका थिए ।
राजनीतिमा लाग्न राजनीतिशास्त्र नै पढ्नुपर्छ ?
राजनीतिमा लाग्न राजनीतिशास्त्र नै पढ्नुपर्छ भन्ने छैन । जस्तो कि चीनमा राजनीतिमा लाग्नेहरू धेरैजसो प्राविधिक क्षेत्रबाट (इन्जिनियर) र अमेरिकामा कानुन ब्याकग्राउन्डबाट आएका छन् भनिन्छ । यसले गर्दा राजनीतिशास्त्र पढ्नैपर्छ भन्ने छैन तर राजनीति भने बुझ्नैपर्छ । राजनीति गर्ने मान्छेले सबैभन्दा बढी पढ्नुपर्छ । उनीहरूले गर्ने एउटा निर्णयले सिंगो राज्यको नीति र आम नागरिकको जीवनमा फरक पार्छ । त्यसैले अन्दाजका भरमा नीति बनाउनु हुँदैन । राजनीतिमा आएका मान्छे मेहनती, पढैया र इमानदारी हुनैपर्छ । जनताको जीवन पनि पढ्न सक्नुपर्छ । पढ्ने भनेको जनताको अनुभव र आवश्यकताबाट सिक्ने र त्यसलाई सम्बोधन गर्ने कुरा पनि हो ।
महिला राजनीतिको उच्च तहमा किन नआएका होलान् ?
महिला र पुरुषमा यौनिक अंग मात्र फरक हो । सोच्ने, पढ्ने र ज्ञान लिने, विवेचना, विश्लेषण गर्ने कुरामा यौनिक पहिचानले फरक पार्दैन भन्ने कुरा ‘सुप्रिम लिडर’ ले बुझ्न सकेनन् । त्यो कुरा राजनीतिक नेतृत्वले बुझेमा मात्र महिला माथिल्लो तहमा आउन सक्छन् । महिला पुरुष दुवैको दिमाग चल्छ । अवसर र सही वातावरण भएमा सबैले गर्न सक्छन् भन्ने मानसिकता हुनु जरुरी छ । मेनस्ट्रिममा महिलालाई ल्याउनु जरुरी छ । आफूले मात्र ठाउँ अकुपाई गर्नुहुँदैन भन्ने कुरा नै समावेशिताको मर्म हो । यो कुरा आत्मसात गरेर व्यवहारमा लागू गरेमा महिला राजनीतिमा आउन गाह्रो छैन । अहिले पनि राजनीतिमा महिला वा पुरुष दुवैको कुरा सुनेर नीति बनाउनुपर्छ भन्ने महसुस भएरै समावेशितालाई आत्मसात गरियो । तर व्यवहारमा पार्टी निर्माण र अधिकारका आन्दोलनामा सहयोद्धाकै रुपमा आएका महिलालाई सहयोगीकै रुपमा मात्र लिइयो र समस्या त्यही छ ।
राजनीतिमा आलोचना रुचाइँदैन किन होला ?
लोकतन्त्रमा राजनीतिक दल सार्वजनिक संस्था हो । त्यसैले राजनीतिक दलका नेताले आफ्नो पार्टीका मानिसले मात्र प्रश्न गरून् भन्ने मानसिकता राख्नुहुँदैन । राजनीति पार्टीमा लाग्नु नलाग्नु आफ्नो छनोट हो । मत हाल्ने र आलोचना गर्ने जनताको अधिकार हो । नेतामा आलोचना सहने क्षमता हुनुपर्छ । लोकतन्त्र बलियो बनाउन राजनीतिमा आएपछि राजनीतिक दलले नागरिकसँग डराउनुहुँदैन । मैले गरेको कामका बारेमा नागरिकले के प्रतिक्रिया दिन्छन्, समर्थन या विरोध गरिरहेका छन् थाहा पाउनुपर्छ । नागरिकले मैले गरेको काम ठीक भनेमा मेरो राजनीति ठीक रहेछ गलत भनेका छन् भने सच्याउन तयार हुनुपर्छ । राजनीतिक दल सदस्यसँग नेतृत्व लिन सजग र सक्षम हुनु जरुरी छ । प्रश्न गर्न सबैले पाउनुपर्छ । सार्वजनिक संस्थामा बसिसकेपछि नागरिकले गरेका हरेक प्रश्नको जवाफदेही हुनुपर्छ । गणतन्त्रमा राज्य, दल वा कुनै पनि संस्थाको हरेक पद अस्थायी हुन् । त्यसैले कुनै पनि पदमा पुग्नासाथ कसैले पनि आफैलाई सर्वेसर्वा घोषित गर्ने वा आजिवन पदधारी ठान्ने कुरा लोकतान्त्रिक गणतन्त्रले कल्पना गरेको कुरा होइन । यो पक्षलाई आत्मसाथ गर्न सकेको दिन लोकतन्त्र सबल हुनेछ ।
आलोचना गरेकै आधारमा पार्टी निलम्बनमा पर्नुभयो नि होइन ?
एमाले मुख्यालय निर्माणका लागि भनेर विवादित पात्रहरूबाट जग्गादान लिएको प्रकरणमा असहमती राख्दै सामाजिक सञ्जालमा स्टाटस लेखेबापत स्थायी कमिटीबाट २०८० कात्तिक पहिलो साता स्पष्टीकरण सोधिएको थियो । पुसमा निलम्बन गरिएको भन्ने सुनियो तर पनि अहिलेसम्म निलम्बनको चिठी हात परेको छैन ।
निलम्बनपछि नयाँ वर्षको शुभकामना फोनमार्फत पार्टी अध्यक्षले दिनुभएछ । भेटमा के कुराकानी भयो ?
नयाँ वर्षको पहिलो दिन उहाँसँग फोनमार्फत् गरेर शुभकामना आदानप्रदान भयो । त्यसपछि उहाँकै आग्रहमा वैशाख २ गते प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे भेट्न गएकी थिएँ । ६ महिना भइसक्यो, न निलम्बनकै चिठी पाइयो, न फुकुवाकै भनेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसमक्ष आफ्ना कुरा राखे । उहाँले अहिलेसम्म यसबारे जानकारी नभएकामा आश्चर्य मान्नुभयो । पुराना वर्षका तीतामीठा बिर्सेर पार्टी काममा लाग्न आग्रह गर्नुभयो । पार्टीभित्र आफ्ना विषय राख्ने स्वतन्त्रता जहिले पनि सुरक्षित हुने भन्दै गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने बताउनुभयो । यसैगरी विगत संघर्षका बेला योगदान दिएका जिल्ला–जिल्लाका व्यक्तिलाई सम्झेर ‘भुईंमान्छे’ किताब दिए र अर्को संस्करणका लागि सुझाव मागे ।
महिला हरेक क्षेत्रमा कसरी अघि बढ्ने होला ?
महिला वा पुरुष दुवैको आ–आफ्नै क्षमता हुन्छ । सबै अघि बढ्नका लागि अवसरको साथै अनुकुल वातावरण पनि बन्नुपर्छ । कसैको पनि क्षमता देखाउने अवसर पाउनुपर्छ । जस्तो कि अहिले हामीकहाँ चर्चित भएका गायिका रचना रिमाल, खेलकुद क्षेत्रकी सावित्रा भण्डारी ‘साम्बा’, अन्जिला लगायतलाई लिन सकिन्छ । उनीहरूको क्षमता कुनै सन्दर्भमा पहिचान भयो । त्यसपछि कसैले अवसर उपलब्ध गरिदियो र उनीहरु अगाडि आउन सफल भएँ । राजनीति अलि फरक विधा हो । त्यसलाई समावेशी बनाउन राजनीतिक दलहरुमा फरक, फराकिलो सोच र व्यवहार चाहिन्छ ।
तस्बिरहरुः महेशमान प्रधान