चेपाङ समुदायको साक्षरता प्रतिशत ४८.८८ मात्रै छ ।आदिवासी जनजाति आयोगले २०७७/७८ मा तयार पारेको वार्षिक प्रतिवेदनअनुसारकक्षा ९ देखि १२ सम्म पढ्ने ५.२९ प्रतिशत छन् भने स्नातक वा सोभन्दा माथि पढ्ने साक्षरता प्रतिशत शून्य दशमलव १६ प्रतिशत मात्र छ ।देशभर चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ छ । अर्थात्, कुल जनसंख्याको ०.२९ प्रतिशत । चितवनमा सबैभन्दा ३५ हजार ६ सय ३७जना छन् । मकवानपुरमा २३ हजार ६ सय ५०, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ चेपाङ समुदायको बसोबास छ । काठमाडौंमा १ हजार ५३, ललितपुरमा २ सय १३ र भक्तपुरमा १सय ३ चेपाङहरू रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।
जहाँ विकट बस्ती छ, त्यहाँ नजिकमा विद्यालय छैनन् । जहाँ स्वास्थ्यचौकी छ, त्यहाँ उपचार गर्ने व्यक्ति भेट्न मुस्किल पर्छ । दुर्गम बस्तीमा अन्नले वर्ष दिन खान नपुग्दा ६ महिना अनिकालको सामना गर्नुको बाध्यता अझै हट्न सकेको छैन । यस्तो समस्या, अभाव र चुनौतीबीच संघर्ष गरेर आफ्नो खुट्टामा आफैं उभिनेहरू पनि छन् । तिनैमध्ये धादिङ, मकवानपुर, चितवन र गोरखाका केही चेपाङ युवतीको चर्चा हामी गर्नेछौं, जो नर्सिङ पढेर बिरामीको सेवामा तल्लीन छन् ।
‘दिदीले पढेपछि प्रेरणा’
अनिता चेपाङ, धादिङ
धादिङको नीलकण्ठ नगरपालिका–१२, पाङ्कोसकी अनिता चेपाङ २५ वर्षकी भइन् । अहिले उनी बेनीघाट रोराङ गाउँपालिका–५ को चन्द्रोदय माविमा विद्यालय नर्सका रूपमा कार्यरत छिन् । ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत वाग्मती प्रदेश सरकारले करारमा राख्नेगरी विज्ञापन खुल्ला गरेपछि उनी लिखित र मौखिक दुवैमा उत्तीर्ण भइन् । उनले उक्त विद्यालयमा २०७७फागुनदेखि विद्यालय नर्सका रूपमा काम गर्दै आएकी छन् । परिवारमा स्वास्थ्य क्षेत्रमा लाग्ने उनी मात्र हुन् । ‘करारमा हो, स्थायी हुने वा नहुने निश्चित छैन,’ उनी भन्छिन्, ‘सुविधा भने सबै सरकारी नै हो ।’ उनी पाँचौं तहकी नर्स हुन् ।
उनले दुई वर्षअघि धादिङकै राजेश श्रेष्ठसँग विवाह गरिन् । राजेश भेटनरीसम्बन्धी काम गर्छन् । ‘होस्टलमा बसेर चितवनको नवोदय चेपाङ विद्यालयमा १० कक्षासम्मपढें । त्यहीँबाट एसएलसी पास भएँ,’ अनिता भन्छिन्, ‘छात्रवृत्तिमा नाम निकालेर वीरगन्ज गएर पढें । त्यहीँबाट पीसीएल नर्सिङ पास गरें ।’
बुवा फोक्सो र दाइ कलेजोको क्यान्सरबाट बितेकाले माइतीघरमा उनकी आमा र भाउजू छन् । चार दिदीमध्ये उनी कान्छी हुन् । जेठी प्रेममाया र साहिँली सुनिताले पढेनन् । माहिली विष्णुमायाले एएनएम नर्स पढेकी छन् ।अहिले उनी गजुरी गाउँपालिकामा न्यायिक सहजकर्ताका रूपमा काम गरिरहेकी छन् । ‘दिदीले पढेपछि मैले पनि पढ्न थालेकी हुँ,’ उनी भन्छिन्, ‘पढेर जागिर खाँदा अरूको आशामा बाँच्नु पर्दैन ।’
‘जस्तै दुःखमा पनि पढ्न छाडिनँ’
सजनी चेपाङ, मकवानपुर
मकवानपुरको कैलाश गाउँपालिका–७, कोथलीटारकी सजनी चेपाङ अहिले सोही गाउँपालिकाको भवानी माविमा विद्यालय नर्सका रूपमा काम गर्दै आएकी छन् । २५ वर्षकी उनले यसरी काम गर्न थालेको चार वर्ष भयो । बिहान १० बजेदेखि चार बजेसम्म उनी विद्यार्थीमाझ नै हुन्छिन् । उनले हेर्ने विद्यार्थीको संख्या मात्र छ सय ६० छ । सानैदेखि उनको नर्सिङ पढ्ने सपना थियो । तर, आर्थिक अवस्था बाधक बन्न पुग्यो । तरहिम्मत हारिनन् । नेपालगन्जको भेरी नर्सिङ कलेजमा छात्रवृत्तिमा नाम निकालेर त्यतै पढ्न गइन् । ‘त्यहाँ २०७३ सालमा भर्ना भएर २०७६ मा पास भएँ,’ उनी भन्छिन्, ‘सानो हुँदा ठूलो दाइले बहिनीलाई नर्स पढाउनुपर्छ भन्नुहुन्थ्यो, त्यो सपना अहिले पूरा भएको छ ।’
नर्स पढ्न उनले गरेको संघर्ष भने तीतो छ । २०७१ सालमा एसएलसी पास भएपछि आर्थिक अवस्था कमजोर हुँदा नर्स पढ्ने अवस्था भएन । ‘त्यसपछि व्यवस्थापन संकाय पढ्न क्याम्पसमा भर्ना भएँ,’ उनी भन्छिन्, ‘यही बेला छात्रवृत्तिमा नर्स पढ्न नाम निस्किएर नेपालगन्ज गएँ ।’ अहिले उनको घरमा बुवाआमाबाहेक सबै जागिरे छन् । उनका दुई दाजु र एक भाइ हुन् । उनले काम गर्ने विद्यालयमै जेठादाइ दीपकुमार राहत शिक्षकका रूपमा पढाउँछन् । माइला दाइ सरोज नेपाली सेनामा छन् । भाइ सुनील प्रावि शिक्षकमा नाम निकालेर लमजुङमा छन् । बुवाआमा खेतीपातीको काम गर्छन् ।
‘घरमा खानाको समस्या थिएन, तर पैसाको अभाव भइरह्यो,’ सजनी भन्छिन्, ‘जस्तो दुःख आइपरे पनि पढ्न भने कहिल्यै छाडिएन।’ चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्ने समस्या हटिसकेको छैन । जुन उनलाई मन पर्दैन । आफ्नो खुट्टामा आफैं उभिएर विवाह गर्ने उनको सोच छ ।
उनले विद्यालयमा विद्यार्थीलाई महिनावरी हुँदा सेनेटरी प्याड उपलब्ध गराउँछिन् । ‘यसको प्रयोग र व्यवस्थापनबारे सिकाउँछु, पोषण र सरसफाइसम्बन्धी पनि शिक्षा दिन्छु,’ उनी भन्छिन्, ‘प्राथमिक उपचार सेवा पनि विद्यालयमै उपलब्ध गराइएको छ ।’ घरबाट विद्यालय पुग्न एक घण्टा लाग्छ । तर बर्खामा खोलामा बाढी आउने भएकाले उनी त्यो अवधिभर विद्यालयको होस्टलमै बस्छिन् ।
‘लोकसेवाको तयारीमा छु’
इन्द्रमाया चेपाङ, धादिङ
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जोगीमाराकी २७ वर्षीया इन्द्रमाया चेपाङ चितवनको भरतपुर अस्पतालमा काम गर्छिन् । उनको पनि घरको आर्थिक अवस्था एकदम कमजोर थियो । नर्स नै बन्ने मन थियो तर एसएलसीपछिनर्सिङ पढ्ने पैसा भएन । घरको आम्दानी केही थिएन ।गाउँकै स्कुलमा कक्षा ११ मा पढ्दै थिइन् । त्यही बेला सिटिईभिटीमार्फत पूर्ण छात्रवृत्तिमा नाम निकालिन् । नर्सिङ पढ्नका लागि विराटनगरस्थित विराट हेल्थ कलेज पुगिन् । जहाँ उनले तीन वर्ष मेहनत गरिन् ।
पाखो बारीको अन्नले कहिले वर्ष दिन धान्छ त कहिले अनिकालले सताउँछ । नर्सिङ पढे पनि केही समय उनी बेरोजगार बसिन् । पछि चितवन मेडिकल कलेजमा रोजगारीको अबसर पाइन् । त्यहाँ आठमहिना काम गरिन् । यहीबीचभरतपुर सरकारी अस्पतालले करारका लागि विज्ञापन खुलायो । उनले लिखित र मौखिक दुवै परीक्षा २०७६ माघमा पास गरिन् । ‘कोभिड–१९ का बेला आइसीयूमा काम गरें, अहिले अर्थो वार्डमा छु,’ उनी भन्छिन्, ‘बेलाबेलामा घर गइरहन्छु, तलब आएपछि घरमा पठाइरहन्छु ।’ उनीपाँचौं तहकी नर्स हुन् । ‘अहिले लोकसेवाको तयारीमा छु,’ इन्द्रमाया भन्छिन्, ‘व्यस्तताका बीच पनि पढ्न छाडेकी छैन ।’
‘नर्स बन्ने सपना पूरा भयो’
ज्ञानु चेपाङ, चितवन
चितवनको राप्ती नगरपालिका–१२, तिरुवाकी २७ वर्षीया ज्ञानु चेपाङ भरतपुर अस्पताल विकास समितिमार्फत मेडिकल वार्डमा कार्यरत छिन् । सुरुमा मुस्ताङ जिल्ला अस्पतालमा पुगेर ६ महिना करारमा काम गरिन् । अहिले तीन वर्षदेखि भने भरतपुर अस्पतालमा पाँचौं तहमा काम गरिरहेकी छन् । उनले श्री मेडिकल कलेज भरतपुरबाट नर्सिङ पास गरिन्, त्यहीँबाट बीएन पनि गरिन् ।
खैरहनी माविबाट २०६८ सालमा ६४ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरेकी उनको सपना थियो–नर्स बन्ने । यसका लागि खैरहनी माविका पूर्व प्रअ घनश्याम प्रधानले सहयोग गरे । अहिले उनी सपना पूरा भएपछि दङ्ग छिन् । बीएन गरेपछि पढाउन पाइन्छ, तर उनी पढाउने भन्दा पनि लोकसेवा पढेर अधिकृत तहमा नाम निकाल्ने सोचमा छिन् । उनकाबुवा छैनन् । जेठो दाइ रामकृष्ण राप्ती नगरपालिकाकै यहुरालीटार माविको स्थायी शिक्षक हुन् । चार दिदीबहिनीमध्येकीजेठीकविता बितिन् । माहिँली सन्तमाया खेतीपातीको काम गर्छिन् । साहिँली सिर्जना करारमा यहुरालीटारमै पढाउँछिन् । दुई भाइमा ठूलो गणेश दोलखामा स्नातक तेस्रो वर्षमा पढिरहेका छन्, अशोक नेपाल मावि टाँडीबाट कक्षा १२ को परीक्षा दिएर बसेका छन् । ‘मैले त पढाइ सकें,’ ज्ञानु भन्छिन्, ‘बिरामीको सेवा पनि गरिरहेकी छु, अब स्थायी जागिरका लागि पढिरहेकी छु ।’
‘घरमा उपचार गर्न आउनेको भीड लाग्छ’
सरिता चेपाङ, धादिङ
धादिङ लैताककी सरिता चेपाङले २०७२ सालमा ७४ प्रतिशत अंक ल्याई एसएलसी उत्तीर्ण गरिन् । राष्ट्रिय मावि खोरभन्ज्याङबाट एसएलसी दिएका २२ जनामध्ये सबैभन्दा धेरै नम्बर ल्याउने उनी थिइन् । अरुको जस्तै चाहना उनको पनि थियो, नर्स बन्ने । तर, आर्थिक जोहो थिएन । चार दिदीबहिनीमध्येकी सरिता माहिँली हुन् । जेठीभीममायाले २०६७ सालको एसएलसीमा विद्यालयमै सबैभन्दा धेरै ६४ प्रतिशत अंक ल्याइन् । परिवारले खर्च नहुँदा राम्रोसँग पढाउन सकेनन् । प्लस टु पढ्दै गर्दा विवाह भयो । अहिले गजुरीमा पढाउँछिन् ।
सरिताले सिटिईभीटीमार्फत छात्रवृत्तिका लागि परीक्षा दिइन् । नाम निकालेर भरतपुर अस्पतालको नर्सिङ कलेजमा पीसीएल उत्तीर्ण भइन् । भाइ सुमन एक्स्काभेटर चलाउँछन् । बहिनी सुनिताले एग्रिकल्चरको पढाइ सकिन् । अहिले कोरियन भाषा पढिरहेकी छन् । बुवाआमा खेतपातीको काम गर्छन् । सरिताले २०७६ मंसिरदेखि २०७८ असारसम्म किरणचोक स्वास्थ्यचौकी धादिङमा करारमा काम गरिन् । त्यसपछि असोजसम्म एक प्रोजेक्टमा कार्यक्रम अधिकृत बनिन् । त्यसपछि दुई वर्षसम्म सिन्धुली प्रादेशिक अस्पतालमा चौथो तहमा अनमीमा नाम निकालेर सेवा गरिन् ।
‘घरबाट टाढा भनेको चितवन मात्र गएकी थिएँ । त्यसैले सिन्धुली जान मन लाग्यो,’ उनी भन्छिन्, ‘त्यहाँ अनमीमा नाम निकालेर काम गरें, काम गर्दैगर्दा वीर अस्पतालमा पाँचौं तहका लागि विज्ञापन खुलाएको थाहा भयो, त्यसपछि लोकसेवा पढेर खुल्लामै नाम निकाल्न सफल भएँ ।’ अहिले उनी वीरको इमर्जेन्सी वार्डमा कार्यरत छिन् ।
घर पुगेका बेला उनलाई खोज्दै उपचार गराउन छरछिमेकीहरू जम्मा हुन्छन् । ‘गाउँमा हाम्री डाक्टर नानी आइन् भन्दै सबैजना घरमा भेट्न आउनुहुन्छ,’ उनी भन्छिन्, ‘गाउँ जाँदा प्रेसर जाँच्ने मेसिन साथै लिएर जान्छु, औषधि ल्याएको छ भनेर पनि धेरै सोध्नुहुन्छ ।’
‘काम गर्दै पढिरहें’
फनिसा चेपाङ, गोरखा
२७ वर्षीर्या फनिसा चेपाङले गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा विद्यालयतहको पढाइ पूरा गरिन् । त्यहीँबाट २०७० सालमा एसएलसी उत्तीर्ण भइन् । उनको सपना नर्स बन्ने थियो । त्यसैले हिमाल इन्स्टिच्युट अफ हेल्थ एन्ड टेक्निकल साइन्स वीरगन्जमा छात्रवृत्तिमा नाम निकालेर नर्सिङको पढाइ थालिन् । त्यसपछि १४ महिना चितवन मेडिकल कलेजमा काम गरिन् । पछि गाउँकै गण्डकी गाउँपालिका–६ स्थित भुम्लिचोकको स्वास्थ्यचौकीमा दुई वर्ष करारमा काम गरिन् । ‘यही बेला लोकसेवाको तयारी गर्दै थिएँ, एएनएममा नाम निस्कियो र एक वर्ष लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित स्वास्थ्यचौकीमाकाम गर्न पुगें,’ उनले सुनाइन्, ‘संघ सरकारअन्तर्गत गतवर्ष वीर अस्पतालमा नाम निस्किएपछि यहीँको सर्जरी वार्डमा काम गरिरहेकी छु ।’
उनी घरको एक्लो सन्तान हुन् । बुवाआमा सामान्य किसान भएकाले फनिसाले कामसँगै पढाइ पनि अघि बढाइन् । ६ वर्षअघिगण्डकी गाउँपालिकाकै सञ्जीव चेपाङसँग विवाह भयो । उनीहरूको साढे चार वर्षकी छोरी छिन् । ‘म ड्युटीमा जाँदा श्रीमान्ले छोरी हेर्नुहुन्छ,’ उनी भन्छिन्, ‘घरमा जम्मा भएपछि दुबैजना मिलेर काम गर्छौं ।’