Successfully Copied

बार्बर लेडिज

लामो समयसम्म पुरुषको कपाल काट्ने पुरुषको वर्चश्वलाई यतिबेला महिलाहरूले तोड्न थालेका छन् । समाजको परम्परागत धारणालाई तोड्दै महिलाहरूले पनि पुरुषहरूको कपाल काटी कलर गरेर विभिन्न डिजाइन निकाल्न थालेका छन् ।



कपाल काट्ने पेसा र व्यक्ति भन्नेबित्तिकै पुरुषको चित्र झल्किन्छ । हातमा कैंची र काँधमा तौलिया । लामो समयसम्म पुरुषको कपाल काट्ने पुरुषको वर्चश्वलाई यतिबेला महिलाहरूले तोड्न थालेका छन् । समाजको परम्परागत धारणालाई तोड्दै महिलाहरूले पनि पुरुषहरूको कपाल काटी कलर गरेर विभिन्न डिजाइन निकाल्न थालेका छन् । पुरुषको कामलाई महिलाहरूले पनि विश्वास जित्दै आत्मनिर्भर बन्दै गएका छन् । समाजमा उदाहरणीय व्यक्तिका रूपमा अगाडि बढ्न थालेका छन् र ‘बार्बर लेडिज’ । 

समीक्षा थापा
अनानिक ब्युटी सलोन एण्ड स्पा, नयाँबानेश्वर

इलामकी समीक्षा थापा क्षेत्रीले सौन्दर्य सेवाको क्षेत्रमा ९ वर्ष पूरा गरेकी छिन् । सुरुमा रहरका रूपमा सुरु भएको उनको यात्रा आज सौन्दर्यविद्का रूपमा स्थापित भएको छ ।
नील डेभिड सैलुनमा ६ महिनाको तालिम लिँदा ब्युटीसम्बन्धी सबै कुरा सिकिन् । कुनै स्पेसिक भएर काम गरिनन् उनले । फेसियल, हेयर कट, कलर, मेनिक्योर, पेडिक्योरजस्ता पार्लरका सम्पूर्ण सीप तालिममा एकसाथ सिकिन् । रमाइलो मान्दै सिकिनेको कामबारे उनी भन्छिन्, ‘सुरुका दिनहरू सजिला त थिएनन् तर साथीहरूसँग रमाइलो गरेर सिक्दासिक्दै तालिम सकेको थाहा नै भएन ।’ परिवारबाट खासै समर्थन नपाए पनि समीक्षाले आफ्नो रुचिलाई पछ्याइन् । ब्युटिसियन बन्ने उनको हुटहुटीले उनलाई अगाडि बढाइरह्यो ।
तालिमपछि उनले असिस्टेन्टका रूपमा काम सुरु गरिन् । ‘सुरुमा असिस्टेन्ट भएर काम गरें, तर सिक्दासिक्दै आफैं अगाडि बढें,’ उनी भन्छिन् । युनिसेक्स सैलुनमा कार्यरत समीक्षा महिला र पुरुष दुवै ग्राहकको कपाल काट्छिन् । उनी अहिले हेयर स्टाइलिसका रूपमा कार्यरत छन् । महिला–पुरुष दुवैको कपाल काट्नेदेखि डिजाइनको समेत काम गर्छिन् । काम एउटै गरे पनि उनको अनुभव भने फरक–फरक छ । महिलाहरू सजिलै सेवा लिन्छन्, तर पुरुष ग्राहकहरूले भने सुरुमा अलिअलि संकोच देखाउँछन् । महिला भएर पनि तपाईंले राम्रो काट्नु होला र, नबिगारी काटिदिनू भन्छन् ।
समीक्षालाई हेयर कटिङमा रुचि छ । विभिन्न डिजाइनमा कपाल काटेर ग्राहकलाई नयाँ लुक दिनु उनको दैनिकी बनेको छ । ‘पुरुषहरूको छोटो कपाल भएकाले गल्ती भयो भने तुरुन्तै देखिन्छ, त्यसैले अझ ध्यान दिनुपर्छ,’ उनी भन्छिन् ।
फेड, स्लोप जस्ता कट डिजाइन गर्दा अनुहार सफा भएकाले डिजाइन अझ स्पष्ट देखिने उनले अनुभव गरेकी छिन् । कहिलेकाहीँ ग्राहकबाट गुनासो पनि आउँछ, तर उनी त्यसलाई सिकाइका रूपमा लिन्छिन् ग्राहक सन्तुष्ट भएर फर्किंदा उनलाई अपार सन्तोष मिल्छ । उनको विचारमा, पहिले सैलुन महिलाका लागि मात्र हो भन्ने सोच थियो, तर अहिले युनिसेक्स सैलुनको अवधारणाले महिला–पुरुष दुवैलाई सेवा दिन सहज भएको छ । 




गंगा राई

अनानिक ब्युटी सलोन एण्ड स्पा, नयाँबानेश्वर
गंगा राईसँग पार्लर व्यवसायसँगको अनुभव १४ वर्ष पुरानो छ । सुरुवाती समयमा उनलाई पार्लरको काममा कुनै रुचि थिएन । मेकअप गर्न उनलाई कहिल्यै रहर लागेन । तर, काकाको सुझावपछि उनले आफ्नो खुट्टामा उभिन र आत्मनिर्भर बन्नका लागि पार्लरमा अगाडि बढेकी हुन् । सुरुमा उनलाई केवल केही सीप सिकेर आत्मनिर्भर बन्ने उद्देश्य थियो । त्यतिबेला पार्लर व्यवसायलाई खासै महत्व दिइएको थिएन । तर, समयसँगै पार्लर व्यवसायको बजारमा परिवर्तन आयो ।
पार्लरको माग र स्कोपले अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन मद्दत गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सुरुमा मलाई मेकअप र पार्लरमा खासै रुचि थिएन । तर पार्लरको व्यवसाय विस्तारै बढ्दै जान थालेपछि मैले यसलाई एक राम्रो करिअरका अवसरका रूपमा देखें,’ भन्छिन्, ‘त्यसपछि भने यसलाई निरन्तरता दिने अठोट गरेकी हुँ ।’ उनका लागि सौन्दर्यसम्बन्धी कामले आत्मनिर्भर बनाएको छ । कामले महिला र पुरुष दुवैलाई सेवा दिन उनी सक्षम भएकी छन् । यो व्यवसायमा पहिले धेरैजसो महिला र कम पढेका व्यक्तिहरू मात्र संलग्न थिए, तर अहिले शिक्षित व्यक्तिहरू पनि यसलाई करिअरका रूपमा अपनाउन थालेका छन् ।
गंगा भन्छिन्, ‘अहिले पढेलेखेका व्यक्तिहरू पनि पार्लर व्यवसायमा रुचि देखाइरहेका छन्, जसले व्यवसायको रूप र आम्दानीलाई नयाँ उचाइमा पुर्‍याएको छ । अहिले गंगा ‘अनानिका पार्लर’ मा हेयर स्टाइलिस्टका रूपमा काम गर्दैछिन् । सुरुमा केवल महिलाको कपाल काट्ने उनले अहिले पुरुषको कपाल पनि काट्ने गर्छिन् । उनी भन्छिन्, ‘पहिले पुरुषहरूले महिलाद्वारा कपाल काट्नमा विश्वास गर्न गाह्रो मान्थे, तर अहिले पुरुषहरूले पनि सहजै विश्वास गर्न थालेका छन् ।’
नेपालमा पार्लरको व्यवसाय महिला केन्द्रित मानिन्छ र विशेषगरी कपाल काट्ने समयमा महिलाहरूको फिडब्याक निकै महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा पुरुष ग्राहकलाई मन परेको छैन भने पैसा फिर्ता गर्ने सर्तमा पनि कपाल काट्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । उनी भन्छिन्, ‘पुरुषहरूले झट्ट विश्वास नगर्दा यदि मन परेन भने पैसा फिर्ता हुन्छ भन्ने सर्तमा पनि कपाल काट्नुपर्ने उनको भनाइ छ । 

अर्चना परियार
केश द युनिसेक्स सैलुन, पुरानो बानेश्वर

अर्चना परियारको सानैदेखि सौन्दर्यकला, विशेषगरी ब्युटिसियन पेसाप्रति रुचि थियो । उनको यो रुचिलाई आमाले प्रोत्साहन र साथ दिएकी थिइन् । आमाले उनको रुचिअनुसार अगाडि बढ्न उनलाई हौसला दिइरहिन् । एसएलसी सक्नासाथ उनले आफ्नो रहर पछ्याउन थालिन् । उनले ६ महिनाको ब्युटिपार्लर तालिम लिइन् । सुरुमा यो केवल एक रहर थियो, तर काम गर्न थालेपछि उनको यसप्रति झनै गहिरो रुचि बस्यो ।
अरूलाई राम्री बनाउँदै जानु र मेकअपमार्फत मानिसको आत्मविश्वास बढाउनु आफूलाई मन पर्ने उनी बताउँछिन् । तालिमका क्रममा अर्चनाले महिला र पुरुष दुवैको कपाल काट्न सिकिन् । महिलाहरूको थुप्रै डिजाइनको कपाल काटिन् तर पुरुषको सट नर्मल हेयर कट गर्न थालेपछि उनको चासो अझै बढ्न थाल्यो । महिलाको कपाल काट्न भन्दा पनि पुरुषको कपाल काट्न उनका लागि चुनौती थियो । ‘पुरुषको हेयरकट बिग्रियो भने मिलाउन सकिन्छ, तर त्यसमा निकै ध्यान दिनुपर्छ,’ उनी भन्छिन्, ‘पहिले साथीहरूले केटीले के पुरुषको कपाल काट्छ भनेर विश्वास गर्दैनथे, तर अहिले त धेरैले विश्वास र प्रशंसा पनि गर्छन् । किनकि पुरुषहरूको मेकअप भनेकै उनीहरूको कपाल हो ।’
उनका अनुसार पुरुष ग्राहकहरू कपाल काट्न मात्र नभई हेयर स्पा, कलर, ट्रिटमेन्ट, तेल मसाज, स्किन केयरजस्ता सेवाका लागि पनि पार्लर आउने गरेका छन् । अर्चनालाई फेसअनुसार पुरुषको कपालको डिजाइन बनाउनुपर्दछ । विशेषगरी पुरुषहरूले लो फेड, हाई फेड जस्ता स्टाइल काट्न रुचाउँछन् । ‘पुरुषको हेयरकट महिलाको भन्दा गाह्रो हुन्छ किनकि यसमा सटिक डिजाइन निकाल्नुपर्छ,’ उनी बताउँछिन् ।
मेकअप आर्टिस्टका रूपमा स्थापित उनी हेयर कटिङमा पनि आफूलाई अगाडि बढाउँदै लगेकी छन् । उनले हेयर कटिङ, फेस ट्रिटमेन्ट, कलर, केराटिन, स्किन केयर, हेयर स्पा जस्ता सेवाहरू दिने गर्छिन् । मेकअपमा उनको रुचि गहिरो छ र उनी विभिन्न क्रिएटिभ आर्ट पनि गर्छिन् । अर्चनाले अहिले आफ्नै युनिसेक्स सैलुन सञ्चालन गरिरहेकी छन् । पछिल्लो समय पुरुषहरूमा पनि सौन्दर्यप्रतिको चेतना बढेको उनी बताउँछिन् । अब पुरुषहरूले फेसियलदेखि हेयर कलरसम्म गराउँछन् । उनी भन्छिन्, ‘यो क्षेत्रमा राम्रो स्कोप छ, मेहनत गरेमा राम्रो आम्दानी र सन्तुष्टि दुवै पाइन्छ ।’

मोनिका तामाङ
द हिमालयन हेयरलाइन्स एण्ड बार्बर सप, गंगबु

मोनिका तामाङको सानैदेखि केही फरक काम गर्ने सोच थियो । उनले आफ्नो फरक सोच पहिल्याउँदै पुरुषको कपाल काट्ने ‘बार्वर सप’ लाई अगाडि बढाउने सोच बनाइन् । अहिले उनी सामाजिक सञ्जालमा एक प्रेरणादायी महिलाका रूपमा आफूलाई उभ्याएकी छन् । उनले ‘बार्वर सप’ सञ्चालनमा ल्याइन् सामाजिक सञ्जालमा पुरुषको कपाल काटेको भिडियो राखेर आफ्नो काम देखाउन थालिन् । भिडियो देखेर उनलाई पछ्याउनेहरू उनको पार्लरसम्म पुग्ने गरेका छन् ।
उनी भन्छिन्, ‘मलाई सानैदेखि फरक गर्ने सोच थियो, महिलाहरूले पनि आफ्नो कामलाई प्रमाणित गर्न सक्छन् भनेर यस क्षेत्रमा पाइला राखेकी हुँ । अहिले सबैले हौसला दिइरहनुभएको छ ।’ वर्षौंदेखि पुरुषहरूको हातमा रहेको बार्बरिङ कार्य महिलाहरूले पनि गर्न सक्छन् भनेर मोनिकाले प्रमाणित गरेकी छन् । बार्बरिङको क्षेत्रमा ५ वर्षको अनुभव सँगालेकी छन् । उनको यो सोचले उनलाई थुप्रै पुरुष ग्राहकहरूलाई आकर्षित गरेको छ ।
पुरानो समयको तुलनामा, अहिलेको पुस्ताले नयाँ, क्रिएटिभ र ट्रेन्डी कपाल कटिङलाई प्राथमिकता दिन थालेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘महिलाहरूमा विश्वास बढ्दै जानु र कटिङमा पनि विविधता थपिँदै गएको छ । यसले काममा थप जिम्मेवारी महसुस हुने गरेको छ ।’
भिडियो सामग्री र प्रमोसनका माध्यमबाट उनी आफ्नो कामको प्रसार गर्दै थिइन् र ग्राहकहरूको ध्यान आकर्षित गर्न सफल भइन् । महिलाहरूको कपाल काट्ने शैलीलाई धेरैले मन पराउन थालेका छन् । धेरैजसो महिलाले उनलाई धन्यवाद दिएका छन्, जुन उनका लागि ठूलो प्रेरणा बनेको छ । उनको पार्लरमा पुरुषहरूको कपाल काट्ने प्रारम्भिक मूल्य ४ सय ५० रुपैयाँदेखि सुरु हुन्छ, जसमा कपाल धुनेदेखि सेट गर्ने कामसम्मको प्याकेजमा समावेश हुन्छ । यसलाई परिस्कृत र परिमार्जन गर्दै लाने योजनामा छन् उनी । उनी भन्छिन्, ‘महिलाहरूका लागि यो व्यवसाय राम्रो हुँदै गएको छ । धैर्य र लगनशील भएमा यसमा आम्दानी र स्कोप राम्रो देखिन्छ ।’

 Image