हिमालका घरहरूमा राडीपाखी झुन्ड्याइन्थ्यो । पहाडी घरमा कमेरो र रातो माटो पोतेर चिटिक्क बनाइन्थ्यो । कलात्मक सन्दुक–मदुसले काष्ठकलाको अनुपम सौन्दर्य फिजाइरहेको हुन्थ्यो । तराईका घरमा खटिया सजाउने, अरिपन कोर्ने, परालका डिजाइनदार गुन्द्री ओछ्याउने चलनले सामाजिक पक्षलाई निरन्तरता दिइरहेको हुन्थ्यो । घरलाई सुन्दर र चित्ताकर्षक देखाउन सीप चाहिन्थ्यो । तर करिब एक दशकअघिसम्म यस्तो पनि पेसा हुन सक्छ र भन्ने प्रश्न उठ्थे । किनकि त्यहाँ कुनै सिद्धान्त हुँदैनथ्यो न त एकेडेमिक कोर्स नै । प्रयोगात्मक परीक्षाबिनै पुस्तान्तरण प्रक्रियाबाट यस्तो सीप हस्तान्तरण हुँदै आयो ।
सय वर्ष पुरानो आन्तरिक साजसज्जाको इतिहास खोतल्दा यो अमेरिका, ब्रिटेन, इजिप्ट हुँदै भारतसम्म जोडिएको छ । सन् १९०० को सुरूमा उद्योगले गति लिन थाल्दा इन्टेरियर डिजाइनरको उदय भएको कथा अहिले पनि पढ्न पाइन्छ । अमेरिका र ग्रेट ब्रिटेनमा अहिले पनि देखिने भव्य कलाकौशलयुक्त पुराना भवन र त्यसभित्रका आन्तरिक साजसज्जा त्यसैका उदाहरण हुन् । प्राचीन भारतीय समयमा वास्तुविद्हरू आन्तरिक डिजाइनरका रूपमा समेत काम गर्थे । भारतीय पुराणमा समावेश गरिएका देवीदेवताका आकृति र १७ औं शताब्दीमा भारतमा निर्मित महलहरूमा देखिने प्राचीन पाठ र घटनाहरूलाई चित्रित गर्ने मूर्तिहरूलाई पनि यसैको प्रभाव मान्न सकिन्छ ।
नेपालमा त इन्टेरियर डिजाइन, इन्टेरियर आर्किटेक्चर विषय पढाइ हुन थालेकै कति भयो र ? सीमित कलेज मात्रै छन्, जहाँ यो विषय पढाइ हुन्छ । तीमध्ये आईईसी कलेज अफ एनालिस्टिक, कान्तिपुर इन्टरनेसनल कलेज, अन्तर्राष्ट्रिय फेसन तथा इन्टेरियर डिजाइन संस्था (आइएनआइएफडी) तथा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका थोरै कलेज पर्छन् ।
इन्टेरियर डिजाइनिङलाई पनि व्यवसायका रूपमा अगाडि लैजान सकिन्छ भनेर सोच्न थालेको पनि भर्खरै मात्र हो । पछिल्लो पुस्ता डाक्टर, इन्जिनियर, पाइलट, वकिल बन्नका लागि तँछाड–मछाड गरिरहेको भीडमा हामीले यहाँ इन्टेरियर डिजाइनिङ क्षेत्रमा काम गरिरहेका २५ वर्षमुनिका युवालाई प्रस्तुत गरेका छौं । जसले यसैमा भविष्य खोज्दै राम्रो दाम र नाम कमाइरहेका छन् । समुदाय र देशलाई सुन्दर बनाउन आफ्ना तर्फबाट योगदान पुर्याइरहेका छन् ।
सगुन शाही, इन्टेरियर आर्किटेक्ट डिजाइनर
सुर्खेतकी सगुन शाही २२ वर्षकी भइन् । आईईसी कलेज अफ आर्ट एन्ड फेसनबाट आर्किटेक्टमा ब्याचलर गरेकी उनलाई कामको खाँचो छैन । उनका अभिभावक मञ्जुकुमारी र टोपेन्द्रबहादुरलाई सुरुमा त छोरीले कस्तो विषय रोजी भन्ने लागेको थियो । तर सगुनको सानैदेखिको सिर्जनात्मक स्वभावले उनीहरू ढुक्क थिए, छोरीले जे पढे पनि गरिखान सक्छे ।
‘मलाई बच्चैदेखि सिर्जनशील काम गर्न मन पर्थ्यो । चित्रकला र साहित्यमा रुचि थियो । बाल्यावस्थादेखि म भित्र भएको त्यही क्रियटिभ साइडका कारण यो विषय रोज्न पुगें,’ इन्टेरियर डिजाइनिङमा प्रवेशका बारेमा सगुन भन्छिन्, ‘अर्को कुरा यो नेपालमा ग्रोइङ मार्केट हो भन्ने बुझेर पनि यतातिर लागें । नेपालमा भर्खरै फक्रिन सुरु गरेको यो क्षेत्रको स्कोप राम्रो छ ।’ सगुनका अनुसार नेपालमा आजकल कफी सपदेखि कर्पोरेट डिजाइनसम्म इन्टेरियर आर्किटेक्टको खोजी हुन थालेको छ ।
सगुनले पढाइ सिध्याएपछि राम्रा कम्पनीमा काम पाइन् । जीकी डिजाइन र भ्यालु डिजाइन नेपालमा नाम चलेका इन्टेरियर डिजाइनिङ कम्पनी हुन् । उनले यी दुवै कम्पनीमार्फत आफ्नो सिर्जनात्मक कला नेपाली बजारमा छरिसकेकी छिन् । जीकी डिजाइनमा काम गर्दा उनले लोकप्रिय ब्रान्ड दुल्लाको आउटलेट डिजाइन र भ्यालु डिजाइनमार्फत प्रसिद्ध गहनाको ब्रान्ड काजल नैनाको शोरुम डिजाइन गर्ने मौका पाइन् । त्यसबाहेक उनले थुप्रै रेसिडेन्सियल डिजाइन गरिसकेकी छिन् । उनी भन्छिन्, ‘मेरा डिजाइनका कुनै न कुनै स्टोरी हुन्छन् । आरामदायी र आकर्षण त्यसभित्र कुनै कथा । यही नै मेरो डिजाइनको विशेषता हो ।’
उनले हालै मात्र जनकपुरको एउटा रेस्टुरेन्ट डिजाइन गरिन्, जसमा पिच कलर खेलाइएको थियो किनभने सञ्चालकले उनलाई जनकपुरको संस्कृति झल्किने तर त्यसमा मोर्डन डिजाइन फ्युजन गर्नुपर्ने माग राखेका थिए । सगुनले जनकपुरका प्रायः घरमा पिच कलर देखेकी थिइन्, जुन त्यस सहरका लागि कमन थियो । तसर्थ आफूले जनकपुरको संस्कृति झल्किने कथासहित उक्त रेस्टुरेन्टको डिजाइन गरेको बताउँछिन् ।
सगुनलाई लाग्छ, पछिल्लो समय युवापुस्ता नयाँ र सिर्जनात्मक काम गर्न उत्साहित र आकर्षित छन् जुन भविष्यमा गएर स्वआर्जन गर्ने माध्यम बनोस् । ‘यस क्षेत्रमा जागिर नै नपाए पनि वा जागिर खान मन नलागे पनि आफ्नै व्यवसाय सुरु गर्न सकिन्छ । स्वतन्त्र रूपले आफ्ना सिर्जना प्रस्तुत गर्न सकिन्छ । यो क्षेत्रमार्फत देश र समाजका लागि नयाँ केही दिन सकिन्छ,’ सगुनले प्रस्ट पारिन् ।
प्रतिमा कार्की, इन्टेरियर आर्किटेक्ट
नयाँबजारका पार्वती र चेतबहादुर कार्की छोरी प्रतिमालाई पनि आत्मनिर्भर हुने विषय पढाउन चाहन्थे । किनकि उनीहरू व्यवसायी हुन् । नभन्दै अहिले २३ वर्षीर्या प्रतिमा सानै उमेरमा स्वावलम्बी बनेकी छिन् । यसको श्रेय जान्छ, व्यावसायिक शिक्षालाई । प्रतिमाले युनिग्लोब कलेजबाट बायोलोजी विषय लिएर साइन्समा प्लस टु गरिन् । सानैदेखि क्रियटिभ डिजाइनमा रुचि राख्ने उनी बच्चैदेखि दाजुसँग रुम सेयर गर्दा साँघुरो लाग्ने र कोठा भताभुङ्ग देख्दा चिढिने गर्थिन् । उनलाई सबै कुरा सफा र पर्फेक्ट चाहिन्थ्यो । ‘यो मेरो बाल्यकालदेखिकै बानी हो । भयो पनि त्यस्तै, अहिले यस्तै प्रोफेसनमा आफ्ना सिर्जना फैलाउन पाइरहेकी छु,’ साइन्समा बायोलोजी पढेकी उनी यता मोडिएको बारे भन्छिन्, ‘यतातिरको रुचि र रहर सानैदेखिको हो । प्लस टु पछि इन्टेरियरमा ज्ञान आर्जन गर्ने सोच बनाइरहेकी थिएँ । मेरी एउटी बहिनी पनि त्यही विषय पढ्न कलेज खोजेको थाहा पाएँ । सँगै मिलेर कलेज खोज्ने काम भयो अनि इन्टेरियर आर्किटेक्टमै ब्याचलर भर्ना भएँ ।’
पढाइ सकाएपछि उनले केही समय नियो इन्टेरियर्समा काम गरिन् । त्यहाँ काम गर्दा उनले एम्बार्क कलेजलगायतको इन्टेरियर डिजाइन गर्ने मौका पाइन् । काम गर्दै जाँदा उनलाई लाग्न थाल्यो फ्रिल्यान्सिङ गर्नुमै फाइदा छ । त्यसपछि उनी लागिन्, स्वतन्त्र रूपमा काम गर्नतर्फ । ‘फ्रिल्यान्सिङ गर्दा मन फुकाएर काम गर्न पाइने, आम्दानीका हिसाबले पनि जागिरमा भन्दा राम्रो हुने र गुणस्तरीय प्रदर्शन गरेर क्लाइन्टको मन जित्न सकियो भने त्यसमार्फत अन्य काम पाइने हुनाले स्वतन्त्र भएर काम गर्न थालेकी हुँ,’ नेपालमा इन्टेरियर डिजाइनिङको स्कोप र आम्दानीबारे प्रतिमा थप प्रस्ट पार्छिन् ‘अहिले हाम्रो देशमा इन्टरनेसनल चेन होटल धमाधम बनिरहेका छन् । मल्टीनेसनल कम्पनीहरू भित्रिने र रेस्टुरेन्टहरू पनि बढ्ने क्रम तीब्र छ । अहिले आएर नेपालीहरू हरेक दश–दश वर्षमा घर रेनोभेसन गर्न थालेका छन् । आजकल त एउटा कोठाको आन्तरिक सज्जाका लागि पनि इन्टेरियर डिजाइनर हायर गर्न थालेका छन् । यी सबै कुरालाई विश्लेषण गर्दा यसको स्कोप एकदमै राम्रो छ भन्ने अनुभवले बताउँछ ।’
प्रतिमाले यो क्षेत्रलाई सीमित नभएर फराकिलो क्षेत्रका रूपमा बुझेकी छिन् । हालै मात्रै उनले एड डाइरेक्टरका रूपमा बिग मार्टको नयाँ एपका लागि सुटिङ स्टुडियोको डिजाइन गरिन् । जसमा कुन सामग्री कुन ठाउँमा राख्ने, कस्तो रङ प्रयोग गर्ने, कुन एंगलमा कुन सामान राख्दा आकर्षक र उपयुक्त देखिन्छ, त्यो मिलाउनु उनको काम थियो । त्यसो त उनले भर्खरैमात्र डिजाइन गरेको ठमेलस्थित सोइ–१६ नामको रेस्टुरेन्ट निकै युनिक र आकर्षक देखिन्छ । उनी भन्छिन्, ‘क्लाइन्टको सन्तुष्टि नै मेरो पहिलो प्राथमिकतामा पर्छ । त्यसपछि म पछिल्लो ट्रेन्ड फलो गर्दै थिम र कलरसँग खेल्न रुचाउँछु । क्राफ्टिङ ब्युटी, सेपिङ कम्फर्ट नै मेरो कामको मूल थिम हुन्छ । मेरा डिजाइनमा मूलतः क्लासिक र नियो क्लासिक थिम झल्किन्छन् ।’
हाल आइएमबिए (इन्टरनेसनल मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) गरिरहेकी प्रतिमा काम र पढाइ एकसाथ अगाडि बढाइरहेकी छिन् । आफूले डिजाइन गरेको पानीपोखरी कोलोनीभित्रका घर र अन्य थुप्रै रेसिडेन्सियल डिजाइन सम्झिँदा सन्तुष्ट मिल्ने उनी बताउँछिन् । आफ्नो काममार्फत मुलुकलाई योगदान गर्न चाहेको बताउँदै उनले भनिन्, ‘पढाइ सकेपछि पनि नेपालमै बसेर काम गर्ने इच्छा छ । आफ्नै डिजाइनिङ फर्म खोलेर नेपाल र नेपालीलाई योगदान गर्ने चाहना छ । राम्रा डिजाइन भए नै कम्युनिटी सुन्दर देखिने र मानिस पनि एडभान्स हुँदै जाने हो । आफ्नै व्यवसायमार्फत रोजगारी पनि दिन सकिन्छ । त्यसैले हाम्रो काममार्फत मुलुकको आर्थिक योगदानमा टेवा पुर्याउन सकिन्छ ।’
समृद्धि श्रेष्ठ, इन्टेरियर आर्किटेक्चर
धरानकी २४ वर्षीया समृद्धि श्रेष्ठले बाल्यकालमा आफ्ना बुवा चन्द्रकुमार श्रेष्ठबाट चित्रकला सिकिन् । उनी चित्रकलामा प्रथम–द्वितीय हुँदा आमा अम्बिका खुब हौसिन्थिन् । उनले बनाएका प्रकृति र वातावरणदेखि लिएर नारीवादी थिम समेटिएका चित्रहरूले ठूलो प्रशंसा पाउँथे । उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि पुरस्कार ग्रहण गरिसकेकी छिन् । उतिबेला उनले बनाएको चित्र र तस्बिर कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोस्ट र विभिन्न अनलाइनले छापेका छन् । टोयटा कारद्वारा प्रायोजित आर्ट कम्पिटिसनमा उनले ‘भविष्यका कार’ अर्थात् फ्युचरिस्टिक भेहिकल नामक चित्र बनाएकी थिइन्, जुन वर्षकै उत्कृष्ट चित्रमा दरिएको थियो । यसबाट उनले प्रथम पुरस्कार हात पारेकी थिइन् ।
‘ममा भएको त्यही कलाकौशलले मलाई आज इन्टेरियर आर्किटेक्चर बनायो । चित्र कोर्ने सीप र रुचि मात्रै नभएको भए म यो क्षेत्रमा आउँथें वा आउँदिनथें भन्न सक्दिन,’ समृद्धि भन्छिन्, ‘प्लस टुपछि यो विषय कहाँ पढ्न पाइएला भनेर बुझ्दै हिँड्ने क्रममा एकदिन भृकुटीमण्डपमा इन्टेरियर डिजाइनिङ सम्बन्धी प्रदर्शनी भइरहेको थाहा पाएँ । नेपालमा यो विषय के पढाइ होला र ! भन्ने लागेको थियो । तर त्यो मेलामा आईईसी कलेजको स्टल भिजिट गर्ने अवसर मिल्यो । त्यहाँको परामर्शपछि म आईईसीमा इन्टेरियर आर्किटेक्टमा ब्याचलर ज्वाइन गरें । अनि सुरु भयो मेरो इन्टेरियर डिजाइनिङको यात्रा ।’
नेपालमा यो क्षेत्र अझै परिस्कृत हुँदै गइरहेको समृद्धिलाई लागेको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सोसल मिडियाका कारण मानिस यसप्रति सचेत र सजग हुँदै गइरहेको पनि उनले बताइन् । कामकै सिलसिलामा उनले थुप्रै अत्याधुनिक घरको इन्टेरियर डिजाइनिङ गरेकी छिन् । उनी बढी मात्रामा रङ र आकार (कलर र सेप) मा खेल्न रुचाउँछिन् । उनी भन्छिन्, ‘विशेषगरी म कर्भमै खेल्छु । जस्तो कि एउटा साधारण देखिने ढुंगाको के अर्थ होला र भन्ने सोच्छन् मान्छेहरू । म त्यसैमा कुनै न कुनै अर्थ र सन्देश प्रवाह गर्न खोज्छु । जे उपलब्ध छ, त्यसैलाई उत्कृष्ट पोट्रेट गरेर त्यसैभित्र कुनै न कुनै सन्देश सिर्जना गर्न मलाई मन पर्छ ।’
इन्टेरियर डिजाइनिङ पेसा र क्षेत्रलाई समृद्धिले नेपालमा वृद्धि भइरहेको बजारका रूपमा लिएकी छिन् । उदाउँदै गरेको क्षेत्रमा निश्चय पनि फराकिलो अवसर हुन्छ भन्नेमा उनलाई विश्वास छ । समृद्धिलाई पनि यो विषयमा नेपालीहरूलाई अझै बुझाउनुपर्ने धेरै कुरा बाँकी रहेको छ जस्तो लाग्छ । जबसम्म यस विषयमा ज्ञान र सचेतना जाग्दैन, तबसम्म व्यवसाय झांगिने गति धिमा हुनाले आफूलाई यस्तो लागेको उनले प्रस्ट्याइन् । उनका अनुसार विदेशमा यसबारे मानिसहरू निकै सचेत छन् । मार्केट पनि ठूलो छ । तर हामीकहाँ खुम्चिएको बजार छ । डिजाइनरको संख्या पनि कमै छ । ‘यो विषय पढेर घाटा छैन । नेपालमा केही गर्न नसके विदेश गएर भए पनि आफ्ना सिर्जनामार्फत नेपाल चिनाउन सकिन्छ,’ उनी ढुक्क छिन्, ‘किनभने त्यहाँ कामको कमी हुँदैन, खेल्ने फराकिलो प्लेटफर्म पनि पाइन्छ ।’
अस्मी श्रेष्ठ, इन्टेरियर आर्किटेक्ट
२३ वर्षीया अस्मी श्रेष्ठ कोटेश्वर निवासी हुन् । बुवा अर्जुनबहादुरका साथीहरू इन्टेरियर डिजाइनिङ पेसामा भएकाले आफू त्यसैबाट प्रभावित भएर यो विषय पढ्न पुगेको उनले बताइन् । अस्मीका एक दाजु र दिदी छन् । दिदी पनि फेसन डिजाइनिङ पेसामा आबद्ध भएकीले आफूलाई पनि डिजाइनिङ फिल्ड नै रोज्न मन लागेको उनले सुनाइन् ।
‘मलाई बच्चैदेखि घरमा सरसामान छरपस्ट भएको मन नपर्ने, सबैकुरा एस्थेटिक चाहिने, स्केच र चित्र कोर्न मन पर्थ्यो । सानो छँदा चित्रकलामा पुरस्कार पनि जितेकी छु,’ डिजाइनिङमा लाग्नु आफ्नो शौख मात्रै नभएर उत्साह र यसैमा केही गर्छु भन्ने आँट भएको बताउंदै अस्मी भन्छिन्, ‘युनिग्लोबबाट म्यानेजमेन्टमा प्लस टु सकेपछि इन्टेरियर आर्किटेक्टतर्फ लागें । यसैमा ब्याचलर पूरा गरें । मलाई यही क्षेत्रमा केही गर्छु भन्ने थियो । त्यसैले तन, मनले मेहनत गरेर पढें ।’
अहिलेसम्मको अस्मीको कामको अनुभवले बताउँछ, नेपालमा यसको स्कोप बढ्दो छ । ‘किनभने क्याफे, रेस्टुरेन्ट, हाउजिङ, अपार्टमेन्ट, कर्पोरेट अफिसहरू बढिरहेका छन् । जहाँ इन्टेरियर डिजाइनर वा आर्किटेक्ट राख्नैपर्छ भन्ने छ,’ अस्मीले प्रस्ट्याइन् । पढाइ पूरा गरेपछि उनले बोसामार्फत आफ्ना कलात्मक प्रस्तुति पस्किन थालिन् । बोसाद्वारा गरिएका काममा उनले निक्कै प्रशंसा पाइन् । हाल नियो इन्टेरियर र सिस्लीसँग काम गरिरहेकी अस्मीलाई कन्ट्रास्ट कलरसँग खेल्न मन पर्छ । उनी भन्छिन्, ‘आम मान्छेले पिंक र एल्लोको कम्बिनेसन मिल्दैन भन्छन् तर मलाई झन् त्यस्तै कलरसँग प्ले गर्न मनपर्छ । मान्छेहरूले सुहाउँदैन भनेका कुरालाई ब्लेन्ड गरेर सुन्दर र आकर्षक देखाउन मनपर्छ मलाई । च्यालेन्ज त हुन्छ तर मलाई यस्तै च्यालेन्जमा बेस्ट रिजल्ट दिन मन पर्छ । त्यसका लागि शतप्रतिशत केन्द्रित भएर समय र मेहनत खर्चिन्छु ।’
इन्टेरियर डिजाइनरलाई जागिर भन्दा फ्रिल्यान्सिङबाट बढी कमाइ हुने अस्मीलाई पनि महसुस भएको छ । जहाँ स्वतन्त्र भएर काम गर्न पाइने र आफूभित्रको सिर्जनशीलता अझै फक्रिने उनलाई लाग्छ । यो क्षेत्र आमरूपमा सोचेभन्दा फरक भएको उनको तर्क छ । यसभित्र एकाग्रता हुनुपर्ने, धैर्य चाहिने, पृथक् खालको सिर्जनजशीलता आवश्यक हुने र समय पनि बढी नै दिनुपर्ने अस्मी बताउँछिन् । त्यसबाहेक यसभित्र थुप्रै व्यावहारिक र प्राविधिक कुरा छन्, जुन हेर्दा साधारण देखिए पनि गर्दै जाँदा थुप्रै चुनौती थपिँदै जान्छन् ।
अस्मीका अनुसार यो पेसामा दुई तरिकाले काम हुन्छ । पहिलो, आवश्यक सामग्री क्लाइन्टले जोहो गरिदिने र इन्टेरियर डिजाइनरले थिम डिजाइन गर्ने, दोस्रो शतप्रतिशत प्याकेजमा जिम्मा लिएर काम गर्ने । ‘प्याकेज जिम्मा लिँदा दुःख भए पनि हामीलाई राम्रै फाइदा हुन्छ । आवश्यक पर्ने सम्पूर्ण सामग्री हामी आफैंले जुटाउनुपर्छ र डिजाइन पनि गर्नुपर्छ,’ अस्मी भन्छिन्, ‘जति धेरै स्क्वायर फिटमा काम गर्न पाइयो त्यति बढी आम्दानी हुन्छ । नेपालमा विस्तारै इन्टेरियर डिजाइनिङको महत्व बुझ्दै गएकाले अब यो क्षेत्रमा सस्टेन हुन गाह्रो छैन ।’
स्वस्ति शाक्य, इन्टेरियर डिजाइनर
नक्सालकी स्वस्ति शाक्य ८ कक्षा पढ्दा खुब टिएलसी च्यानल हेर्ने गर्थिन् । त्यहाँ देखाइने चित्ताकर्षक घर, अपार्टमेन्ट, रे‘टुरेन्टका डिजाइनले उनलाइ खिचेको थियो । उनले यस्तो विषय पनि पढाइ हुन्छ होला वा व्यवसाय बन्छ होला भनेर कहिल्यै सोचेकी थिइनन् । ए लेभल सकेपछि इन्टेरियर डिजाइनिङ पढ्छु भन्दा उनका बुवा धर्मबहादुर शाक्यले यो पढेर कमाउन सक्छौ ? या जीवन गुजारा चल्छ ? भनेर प्रश्न गरेको उनलाई अहिले जस्तै लाग्छ ।
‘नेपालमा ठूला हाउजिङ, अपार्टमेन्ट फैलिँदैछन्, इन्टेरियर डिजाइनर नराखी तिनको नियम वा नियमावलीको मापदण्ड पूरा हुन सक्दैनन् भन्ने कुरा बुझाएर मात्रै ड्याडीले मलाई यो विषय पढ्न दिनुभएको हो,’ रुचिको विषय कसरी व्यवसाय बन्यो भन्ने प्रश्नमा उनले सुनाइन्, ‘त्यसपछि म बुद्धनगरस्थित कान्तिपुर इन्टरनेसनल कलेज भर्ना भएँ । आफूले चाहेको विषय पढ्न पाउँदा उत्साहित भएर मेहनत गरिँदो रहेछ । सोहीअनुसार म पास भएँ र अहिले यसैमा जमिरेहेकी छु ।’
२५ वर्षीया स्वस्तिलाई आफू सानो छँदा घर सफा र चम्किलो चाहिन्थ्यो । कोठाहरू आफैं रि–एरेन्जमेन्ट गरिरहन्थिन् । सानैदेखिको बानीले पनि आफूलाई टिएलसी च्यानलका त्यस्ता कार्यक्रमतर्फ आकर्षित भएको उनी बताउँछिन् ।
पढाइसकेपछि स्वस्तिले कल्पना इन्जिनियरिङ र स्पेस डिजाइनसँग काम गरिन् । हाल भने उनी नेपालको चलेको इन्टेरियर डिजाइन कम्पनी बोसासँग काम गरिरहेकी छिन् । उनले भर्खरै मात्र लाजिम्पाटको ‘ओ ! माई मो मो’ डिजाइन सिध्याएकी छिन् । यसबीच उनले दुइ दर्जनभन्दा बढी रेसिडेन्सियल डिजाइन गरिसकेकी छिन् । ‘मलाइ पप–अप ब्राइट कलरसँग खेल्न मनपर्छ । मेरा डिजाइन नर्मल हुँदैनन् । जुन ठाउँको डिजाइन गर्छु, मानिसको दिमागमा त्यो ठाउँ बसिरहने गरी काम गर्छु,’ आफ्ना सिर्जना जुनसुकै हालतमा पृथक् हुनुपर्ने बताउँदै स्वस्ति भन्छिन्, ‘घरकै इन्टेरियर डिजाइन गर्दा पनि एकपटक आएको पाहुनाको पनि त्यो डिजाइन दिमागमा बसिराखोस् भन्ने ध्येयले मेहनत गर्छु ।’ स्वस्तिलाई आफ्नी आमा शुष्मा शाक्यको उत्प्रेरणाले झन् काममा जाँगर चल्छ ।
स्वस्तिकाका अनुसार नेपालका लागि यो उदाउँदै गरेको पेसा भएकाले यसका थुप्रै चुनौती पनि छन् तर उनलाई चुनौतीसँग खेल्न मज्जा लाग्छ । इन्टेरियर आर्किटेक्टलाई जागिर खानुभन्दा फ्रिल्यान्सिङ काम गर्दा बढी फाइदा हुने उनले बताइन् । उनलाई लाग्छ, नेपालीहरूमा इन्टेरियर डिजाइनिङको कम ज्ञान छ । उनी भन्छिन्, ‘यो इन्टेरियर डिजाइनिङ भनेको के हो र ? पर्दा र सोफाको खोल हाल्ने त हो नि भन्ने बुझाइ छ । तर त्यसो होइन, यसभित्र थुप्रै टेक्निकल कुरा छन्, सीप, ज्ञान, सिर्जनशीलता र धैर्य छ । यदि त्यस्तै सतही बुझाइ नै सही हो भने हामीले किन यत्तिका वर्ष लगाएर पढ्नुपर्थ्यो र ! त्यसैले मलाई पैसा केन्द्रित भएर काम गर्ने भन्दा पनि नेपालीहरूमा इन्टेरियर डिजाइनिङसम्बन्धी अवधारणा र ज्ञान बाँड्न मन छ, यसबारे बुझाउन मन छ ।’