भनिन्छ, जोखिम लिन नसक्नेले उद्यम गर्न सक्दैन । उद्यम थाल्न जोखिम बहन जरुरी छ । उद्यमसम्बन्धी प्रशस्त ज्ञान, सही लोकेसन, बजारको माग पनि बुझ्नुपर्ने हुन्छ ।
तर, ठूलो लगानी गरेर खोलिएका व्यवसाय कहिलेकाहीँ धरापमा पर्ने गरेको देखिन्छ । देशको अवस्थाले पनि धेरै व्यवसायी लगानी गर्न हच्किरहेका हुन्छन् । जुनसुकै पेसा–व्यवसायमा महिलाका लागि अहिले पनि थुप्रै चुनौती छन् । सरकार तथा बैंकहरूले बिनाधितो ऋण प्रवाह गर्ने नीति स्वीकार गरिसकेका छैनन् भने नेपाली महिलाका नाममा चल–अचल सम्पत्तिमा पहुँच कम छ । महिलाको नाममा भए पनि स्वामित्वमा पुरुषको निर्णय नै सर्वेसर्वा हुने चलन यथावतै छ ।
महिला भएर पेसा–व्यवसाय गर्नु र सफल हुनु ठूलै पहाड चढ्नु हो । किनभने एक त हाम्रो बजार नै सानो छ, दोस्रो मोफसलमा व्यवसाय गर्दा त्यससम्बन्धी चेतना अभिवृद्धि गर्दा नै धेरै समय खर्च हुन्छ । त्यति गर्दा पनि महिलाले हाँकेका व्यावसायिक संघसंस्थालाई उति विश्वास गर्ने र महत्वपूर्ण ठान्ने परिपाटी बसिसकेको छैन ।
पोखरामा रहेर विविध खाले उद्यम–व्यवसायमा सफलता हासिल गरेका केही महिलाका संघर्ष, चुनौती र सफलताले भन्छ– परिश्रमले नाफा कमाउँछ, अनुशासनले टिकाइरहन्छ । हामीले नारीको यस अंकमा तिनै सबल महिलालाई प्रस्तुत गरेका छौं ।
‘सौन्दर्यलाई सीपमूलक शिक्षामा समेटौँ’
चिनु गुरुङ, सौन्दर्यविद् तथा संस्थापक, गुरुङ ब्युटी पार्लर तथा एकेडेमी
सौन्दर्यविद् चिनु गुरुङलाई पोखरामा धेरैले सौन्दर्य गुरुआमाका नामले चिन्छन् । ३२ वर्षअघि उनले सौन्दर्य व्यवसाय सुरु गर्दा धेरै महिला थे्रडिङ गर्न पनि हिच्किचाउ“थे । हेयर स्यालिङ र फेसियल त टाढाको कुरा । चिनुले सौन्दर्यलाई सुन्दर देखिनका लागि नभएर स्वस्थ र बलियो व्यक्तित्व निर्माण गर्ने अस्त्रका रूपमा बुझाउने काम गरिन् । ‘उतिबेला आँखीभौं उखेल्ने, लिपिस्टक लगाउने महिलालाई फरक ढंगले सोचिन्थ्यो, हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो,’ चिनु भन्छिन्, ‘त्यो जमानामा सौन्दर्य पेसा अपनाउनु चुनौतीपूर्ण थियो । समाज र परिवारकै पनि साथ–सहयोग पाउन सहज थिएन ।’
तर उनी ती सारा चुनौती स्वीकार गर्दै अघि बढिन् । यही क्षेत्रमा धेरैले नाम कमाएका छन्, धेरैले रोजगारी पाइरहेका छन् । यही व्यवसायले महिलाहरूमा आत्मविश्वास बढाएको छ र यो धेरै आकर्षक पनि छ । आ–आफ्नो क्षेत्रमा सबल, अब्बल र सफल हुन पनि यसले हौस्याएको छ ।’
साढे तीन दशकभन्दा लामो समयमा चिनुले थुप्रै महिलालाई सौन्दर्य सीप सिकाइसकेकी छिन् । उनले उत्पादन गरेका दक्ष जनशक्ति स्वदेश तथा विदेशमा नाम, दाम र प्रतिष्ठा कमाइरहेका छन् । पोखराका विभिन्न स्थानमा उनको सौन्दर्य सेवा प्रदान गर्ने ठाउँ छन् भने ठूलो लगानीमा काठमाडौंको कुमारीपाटीमा पनि यसको शाखा खुलिसकेको छ । उनी भन्छिन्, ‘अहिलेको समयमा हामी सबैले सौन्दर्यको महत्वलाई बुझिसकेका छौं । अहिले यो सबै क्षेत्र, पेसा, व्यवसायका मानिसका लागि आवश्यकता बनिसकेको छ ।’
प्रविधिको विकासस“गै सौन्दर्य क्षेत्रमा पनि नयाँ प्रविधि भित्रिएका छन् । यसले गर्दा पनि चिनुलाई फरक ढंगले काम गर्न सहज भएको छ । पोखरामा पहिलो पटक फेस लिफ्टिङ, परमानेन्ट आइल्यासेस एक्सटेन्सन, माइक्रोब्लेडिङ, परमानेन्ट लिप ब्लसिङलगायतका नौला प्रविधिले उनको कामलाई पृथक् बनाएको छ । त्यो भन्दा पनि ठूलो कुरा सौन्दर्य पेसालाई सम्मानजनक पेसाका रूपमा स्थापित गर्न सकेकोमा चिनुलाई गर्व लागेको छ । यही पेसाले आज उनलाई इज्जत, सम्मान र सहज जीवन दिएको छ ।
चौतर्फी रूपमा सशक्त महिला दरिएकी चिनु यो सीपलाई सरकारले पाठ्यक्रममै राख्नुपर्नेमा जोड दिन्छिन् । भन्छिन्, ‘यो गरिखाने पेसा हो, हातमा सीप छ भने संसारको जुनसुकै कुनामा गए पनि खान नपाएर मरिँदैन । कामको अभावमा बिचल्ली पर्नु पर्दैन ।’ उनका अनुसार अहिले यो पेसाको माग अत्यन्तै बढ्दो छ । त्यसैले यसको मर्म बुझेर सरकारले सीपमूलक शिक्षाका रूपमा पाठ्यक्रममै राखिदिएको खण्डमा धेरैका लागि जीवनोपयोगी बन्ने उनले बताइन् ।
‘न्युज रुमदेखि प्रेस रजिष्ट्रारसम्म’
विमला भण्डारी, सञ्चारकर्मी तथा प्रेस रजिष्ट्रार, गण्डकी प्रदेश सरकार
२३ वर्षअघि मोफसलमा महिलाले पत्रकारिता गर्नु भनेको फलामको चिउरा चपाउनुसरह थियो । न्युज रुमको एउटा कुनामा बसेर खाली कागजमा शब्द कोर्दाको त्यो संघर्षपूर्ण क्षणदेखि आज गण्डकी प्रदेश सरकारको ‘प्रेस रजिष्ट्रार’ को कुर्सीमा बसेर नीति निर्माण गर्दाको अनुभवलाई विमला भण्डारी एउटा यात्रा मात्र मान्दिनन् । उनी भन्छिन्, ‘यो यात्रा केवल पदको होइन, यो एउटा विचार र संकल्पको यात्रा हो ।’
२५ वर्षअघि पोखराको माछापुच्छ«्े एफएमबाट ‘महिला आज’ कार्यक्रममार्फत यात्रा थाल्दा पत्रकारितामा पुरुषको वर्चस्व थियो । आफ्नो सुरुवाती दिन सम्झि“दै विमला भन्छिन्, ‘त्यतिबेला पत्रकार भनेका पुरुष मात्र हुन्छन्’ भन्ने सामाजिक भाष्य निकै बलियो थियो । तर, त्यो चुनौतीले मलाई गलाएन, बरु अझ निखार्दै लग्यो ।’ पत्रकारितासँगै समाज परिवर्तनको हुटहुटीले उनलाई २३ वर्षअघि नै ‘युवा फोरम’ मार्फत संगठित हुने अवसर जुरायो । पोखराको परिवेशमा युवाहरूलाई संगठित गर्दै ‘युथ मुभमेन्ट’ को जग बसाल्न उनले खेलेको भूमिकाले उनलाई एक कुशल प्रशिक्षक र प्रखर सामाजिक अभियन्ताको रूपमा समेत स्थापित गरायो ।
समयसँगै प्रविधिमा आएको परिवर्तनलाई उनले नजिकबाट नियालेकी छिन् । हिजो फ्याक्स र हुलाकबाट समाचार पठाउने दिनदेखि आज हातहातमा डिजिटल मिडिया चलाउने युगसम्म आइपुग्दा पत्रकारिता फेरियो, तर पितृसत्तात्मक सोच पूर्णरूपमा फेरिएन । यही सोच चिर्न उनी नेपाल पत्रकार महासंघ कास्कीको इतिहासमै ‘प्रथम महिला अध्यक्ष’ बनिन् । आफ्नो कार्यकालको समीक्षा गर्दै उनी भन्छिन्, ‘त्यो कार्यकाल केवल पद ओगट्नुमा सीमित भएन, मोफसलका पत्रकारहरूको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि एउटा बलियो आधार खडा गर्न सफल भयो भन्ने मलाई लाग्छ ।’ सायद त्यही निरन्तरता र बहुआयामिक व्यक्तित्वको प्रतिफल हो, आज उनी नेपालकै प्रथम महिला प्रेस रजिष्ट्रारका रूपमा गण्डकी प्रदेशमा इतिहास रचिरहेकी छिन् ।
नेतृत्वमा पुगेपछि अरूलाई पनि डो¥याउनुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले पोखरामा महिलाले मात्र व्यवस्थापन गर्ने ‘रेडियो जननी’ स्थापनामा नेतृत्वदायी भूमिका खेलिन् ।
‘त्यसले महिलालाई समाचार वाचकबाट माथि उठेर सम्पादक र स्टेसन म्यानेजर बन्न सक्ने आँट दियो,’ विमला सुनाउँछिन् । सञ्चारकर्मसँगै तत्कालीन पोखरा उपमहानगरपालिकाका १८ वटा वडाको ‘न्यायिक मञ्च’ को संयोजक भएर काम गर्दा उनले महिलाहरूको दुःख नजिकबाट देखिन् । उनी भन्छिन्, ‘आधा आकाश ओगट्ने महिलाहरू आधारभूत आवश्यकता पूरा गर्न अझै पनि दैनिक १८ घण्टा जोतिनुपरेको छ । उनीहरूको पसिना र पीडालाई मूलधारको मिडियामा ल्याउनु मेरो प्राथमिक दायित्व हो ।’
अवसरका लागि राजधानी नै धाउनुपर्छ भन्ने मानसिकतालाई उनले गलत साबित गरिदिएकी छिन् । पोखरामै रहेर उनले अमेरिकामा सम्पन्न ‘सिएसडब्लु’ सम्मेलनदेखि ‘मिसइन्फर्मेसन एण्ड डिस इन्फर्मेसन’ जस्ता विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द गरिन् । उनी दृढताका साथ भन्छिन्, ‘इच्छाशक्ति भए मोफसल नै विश्व नियाल्ने आँखीझ्याल बन्न सक्छ भन्ने उदाहरण म स्वयं हुँ ।’
अहिले प्रेस रजिष्ट्रारका रूपमा मिडिया साक्षरता र व्यवसायीकरणमा उनी केन्द्रित छिन् । उनको मूलमन्त्र नै ‘निर्णायक तहमा महिला’ भन्ने छ । जबसम्म नीति निर्माण गर्ने ठाउँमा महिला पुग्दैनन्, हाम्रा मुद्दा ओझेलमा परिरहने उनको बुझाइ छ । आफ्नो भावी बाटो र संकल्पबारे विमला भन्छिन्, ‘आफूले जित्दा सँगै जित्नेहरूको संख्या बढाउनुपर्छ भन्ने मान्यताका साथ म अघि बढिरहेकी छु । चुनौतीहरू हिजो पनि थिए र भोलि पनि हुनेछन् । तर, अथक प्रयास र निरन्तरता भयो भने अवसर आफैं खोज्दै आउ“छ । मलाई विश्वास छ, हामीले खडा गरेको जगमा भोलिका दिनमा धेरै छोरीले नेतृत्वको झण्डा फहराउनेछन् ।’
‘शक्तिका बेजोड रूप महिला’
मोनिका थापा, शिक्षाविद् तथा संस्थापक, निर्देशक पोखरा वल्र्ड स्कुल
टिनएजर्समै विवाह गरेर पनि महिला सफलताको उचाइसम्म पुग्न सक्दा रहेछन् भन्ने उदाहरण हुन्, मोनिका थापा । पोखराको शैक्षिक क्षेत्रमा नया“ आयाम थप्न सफल उनी शिक्षाविद्, उद्यमी, नेतृृृत्वकर्ता र समाजसेवी पनि हुन् ।
१८ वर्षकै उमेरमा विवाह गरेकी उनलाई आफ्नो गन्तव्यमा पुग्नलाई कुनै कुराले छेकेन, बरु आफ्नो व्यवहारले सबैको साथ–सहयोग बटुल्न सफल भइन् । सानैमा विवाह भयो, जीवनले नयाँं जिम्मेवारी र नयाँ पहिचान पायो । यो उमेरसम्म आइपुग्दा उनले छोरी, बुहारी, श्रीमती, आमा, शिक्षाविद्, उद्यमी र समाजसेवीको भूमिका एकसाथ निर्वाह गरिरहेकी छन् । यिनैै भूमिकाको संमिश्रणले उनलाई पूर्ण बनाएको छ ।
‘सेन्ट मेरिजबाट बीबीए सिध्याएपछि पढाइ कहिल्यै डिग्रीमा मात्रै सीमित रहेन । अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रशिक्षण, सम्मेलन र भ्रमणमा सहभागी भएर निरन्तर सिक्दै, बुझाइलाई विश्वदृष्टिसँग जोड्दै अघि बढिरहें,’ उनी सुनाउँछिन्, ‘हालसम्म म ३० भन्दा धेरै मुलुक भ्रमण गरिसकेकी छु । नयाँ स्थान, नयाँ संस्कृति र नयाँ स्वाद खोज्न मलाई निकै मन पर्छ । पुस्तक पढ्नु, यात्रा गर्नु र नयाँ अनुभव बटुल्नुले मेरो सोच र जीवनशैलीलाई फराकिलो आकार दिएका छन् ।’
उनले सन् २००३ मा पोखरा मोन्टेश्वरी किन्डरहोम सुरु गर्दा धेरैले बालबालिकाको दिसापिसाब स्याहार्ने सुसारेका रूपमा बुझेका थिए । तर मोनिकाले बालबालिकाको मनोविज्ञान, प्रेम र खेलमार्फत शिक्षामा विश्वास राखेर हजारौं बालबालिकाको उज्यालो यात्राको सुरुवात गरिन् । समयसँगै शिक्षा केवल कक्षाकोठा र पुस्तक होइन, मानवीय मूल्य, भावनात्मक बुद्धिमत्ता र जीवन सीपको संगम हो भन्ने बुझाउ“दै गइन् । फलस्वरूप विद्यालय अहिले पोखरा वल्र्ड स्कुलका रूपमा प्राथमिक तहसम्म विस्तार भएको छ भने यहाँ सयौंले रोजगारी पाइरहेका छन् ।
शिक्षालाई प्रविधिसँग जोडेर यसको आयातन बढाउन लागिपरेकी मोनिका यसबाहेक थुप्रै संघसंस्थामा आबद्ध छिन् । हिमालयन हाइड्रोपावरकी निर्देशक, सुपर गलेम्दी हाइड्रोपावरकी निर्देशक, एक्प्लोर नेपाल टेलिभिजनकी बोर्ड डाइरेक्टर, जोन्टा क्लब अफ पोखराकी पूर्व अध्यक्ष, अन्नपूर्ण सेल्फ सस्टेनिङ निल्डे«न होमकी उपाध्यक्ष, नेपाल–भारत फ्रेन्डसीप एसोसियसनकी एक्ज्युकेटिभ बोर्ड मेम्बर, आसमान पोखराकी चार्टर्ड प्रेसिडेन्टलगायतका जिम्मेवारी उनले एकसाथ निभाइरहेकी छिन् । क्वालालम्पुरबाट इन्टरनेसन अवार्ड अफ वुमन एक्सेलेन्स, गण्डकी युथ काउन्सिल गण्डकी आइनलगायतका सम्मान पदकबाट सम्मानित उनी महिलाभित्रको दृढ इच्छाशक्ति र आत्मविश्वासका अगाडि कसैको केही नलाग्ने दाबी गर्छिन् । ‘मेरा लागि पुरस्कारभन्दा पनि जिम्मेवारी र कर्तव्य ठूलो कुरा हो । यही नै प्रेरणाको स्रोत पनि हो । मैले जे–जति गर्न सकें त्यसवापत केही पाउँला भन्ने आशाले गरेकी होइन,’ उनी भन्छिन्, ‘आफ्नो क्षमता, सीप र कर्मले समाजलाई दिन सक्ने के हो त्यसको पहिचान गरी सोहीअनुरूप कर्मशील भएर अगाडि बढेकी हुँ ।’ जोन्टाको पूर्वपदाधिकारीका रूपमा महिलाको आत्मनिर्भरता, बालिकाको शिक्षा, बालविवाह रोकथाम, मानसिक स्वास्थ्य र लैङ्गिक समानताजस्ता परियोजनामा नेतृत्व गर्न पाउनुलाई जीवनको अर्थपूर्ण उपलब्धि मानेकी छन् उनले ।
जीवनमा कहिलेकाहीँ थकान, आलोचना, चुनौती र असन्तुलन आए पनि उनलाई एउटै कुराले डगमगाउन दिएन, त्यो हो, आफैंप्रतिको विश्वास र हार नमान्ने मनोवृत्ति । गल्तीबाट सिक्दै, चिन्ताबाट बल बटुल्दै हरेक दिन नयाँ रूपमा जन्मिन सक्ने त्यो अदम्य साहस । धेरैले उनलाई सोध्छन्, ‘सबै जिम्मेवारी सम्हाल्दै गर्दा आफैंलाई कसरी नहराउने ?’ उनको उत्तर सरल छ, आफूलाई कहिल्यै नबिर्सिनु र केन्द्रमा राख्न लाज नमान्नु । धर्मभन्दा आध्यात्मिकताले उनलार्ई भित्रबाट स्थिर र कृतज्ञ रहन मद्दत गरेको छ । ‘आज पनि म सिकिरहेकी वा बनिरहेकी छु । सोहीद्वारा योगदान गरिरहेकी छु, यसैको परिणाम हो,’ उनी भन्छिन् । शिक्षालाई मूल्य, आत्मविश्वास र मानवतासँग जोड्दै सक्षम पुस्ता निर्माण गर्ने, महिला तथा बालिकालाई अवसर, आवाज र नेतृत्वको ऊर्जासहित अघि बढाउने उनका अबका मूल योजना हुन् । दुई सन्तानकी आमा मोनिका भन्छिन्, ‘यदि हामी आफ्नो क्षमता बुझ्यौं भने संसारले हाम्रो बाटो पहिचान गराउन बाध्य हुन्छ । महिला हुनु कमजोरी होइन, शक्तिको बेजोड रूप हो ।’
‘समाजप्रतिको प्रतिबद्धताले जुझारु बनायो’
वन्दना कार्की केसी, युवा उद्यमी
विरासतको भार धान्ने र थाम्न सक्ने कमै मात्र छोरी हुन्छन् । अघिल्लो पुस्ताले गरेका असल कर्मको जिम्मेवारीको बोझ धानेर दह्रो उभिन सक्ने शक्ति कायमै राखी अघि बढिरहेकी युवा हुन्, पोखराकी वन्दना कार्की केसी ।
सन् १९८९ मा पोखरामा जन्मिएकी वन्दना शिक्षा, दृढ संकल्प र समाजप्रतिको गहिरो जिम्मेवारीले आकार लिएर हुर्किइन् । २१ वर्षकै उमेरमा विवाह गरेपछि उनी स्नातक गर्दा आफ्ना शैक्षिक लक्ष्यहरूमा प्रतिबद्ध थिइन् । सिक्ने जोशले उनलाई व्यवसाय प्रशासनमा स्नातकोत्तर डिग्री हासिल गर्न प्रेरित ग¥यो, जसले उनको भविष्यको प्रयासको जग अझै मजबुत बनायो ।
आहा, रारा चाउचाउ र माछापुच्छ«े बैंकमा परिचित व्यापारिक घरानामा विवाह गरेकी उनले आफूलाई दूरदर्शी व्यक्तिहरूले घेरिएको अवस्थामा पाइन् । उनका श्रीमान्का हजुरबुवा निर्माण क्षेत्रमा संलग्न थिए भने ससुरा एक महत्वाकांक्षी र अग्रगामी सोच भएका उद्यमी । जसले पारिवारिक उद्यमलाई उत्पादन, बैंकिङ, बिमा, घरजग्गा, शिक्षा र विशेष गरी जलविद्युत् आदि विविध क्षेत्रमा विस्तार गरेका थिए ।
‘हाम्रो परिवारसँग गर्वका साथ रारा नूडल्सको स्वामित्व छ, जुन नेपालको पहिलो इन्स्टेन्ट नुडल्स ब्रान्ड हो, जसले पुस्तादेखि पुस्तासम्म विरासत र गौरव दुवै बोक्छ,’ वन्दना सुनाउँछिन्, ‘धेरै जलविद्युत् परियोजना सम्पन्न भइसकेका छन् र धेरै निर्माणाधीन छन् ।’ परिवारले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेकोमा उनी खुसी छिन् ।
एमबीए पूरा गरेपछि नै उनले पारिवारिक व्यवसायमा सामेल हुने निर्णय लिइन् । हिमश्री फुड्समा खरिद प्रबन्धक बनिन् । जसले व्यापार सञ्चालनमा प्रत्यक्ष अनुभव दिलायो । पछि माछापुच्छ्रे बैंकमा निर्देशकका रूपमा पनि उनले काम गर्न पाइन् । उनी आएपछि कम्पनीहरू थप सिस्टमेटिक भएका छन् । यिनलाई हाइटेक बनाउनेमा, सामाजिक योगदान गर्नेमा तथा युवा सोचलाई कार्यान्वयन गर्नेमा अग्रगामी परिवर्तन आएको उनको भनँइ छ ।
पोखरा चेम्बर अफ कमर्सकी कार्यकारी सदस्य, महिला उद्यमी विकास समितिकी संयोजक, मातृशिशु मितेरी अस्पतालकी बोर्ड सदस्य, कालिका बहुमुखी क्याम्पसकी निर्देशक, गण्डकी जलविद्युत्की निर्देशक, जोन्टा क्लब अफ पोखराकी सक्रिय सदस्य छिन् । यसबाहेक वन्दना विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय छिन् ।
क्षमता मात्र होइन, समाजलाई फिर्ता दिने आफ्नोे प्रतिबद्धतालाई थप प्रतिबिम्बित गरेको उनको ठम्म्याइ छ । ‘मलाई दृढ विश्वास छ, महिलाहरू परिवार र समाज दुवैका मेरुदण्ड हुन्,’ भन्छिन्, ‘सार्वजनिक मञ्च र महिला–केन्द्रित संस्थाहरूमा भाग लि“दा महसुस हुन्छ, वास्तविक प्रगति तब मात्र सम्भव छ जब महिलाहरू सबल, शिक्षित र सशक्त हुन्छन् ।’
महिला सशक्तीकरण जोश मात्र नभई एक गहिरो र महत्वपूर्ण जिम्मेवारी भएको उनको विचार छ । ‘जब महिलाहरू उठ्छन्, परिवार समृद्ध हुन्छ, समुदाय बलियो हुन्छ र राष्ट्र अगाडि बढ्छ,’ उनी भन्छिन्, ‘महिला सशक्तीकरणका साथै, म नेपालका युवाहरूका लागि व्यावसायिक शिक्षाको महत्वलाई पनि जोड दिन्छु । सीपमा आधारित सिकाइले देश भित्र आयआर्जनका लागि धेरै अवसर सिर्जना गर्न सक्छ ।’
शैक्षिक होस् वा व्यावसायिक, सबै पेसालाई समान सम्मानका साथ व्यवहार गर्नुपर्छ भन्ने उनको सोचाइ छ । युवाहरूलाई सानै उमेरदेखि आत्मनिर्भर बनाउन आंशिक समय काम गर्ने संस्कृतिलाई प्रोत्साहित गर्नुपर्नेमा उनी जोड दिन्छिन् । वैदेशिक रोजगारीमा निर्भरता कम गर्न सीपमा आधारित तथा प्राविधिक तालिमलाई मूलधार शिक्षामा समावेश गराइए राम्रो हुने उनको सुझाव पनि छ ।
उनको सन्देश छ–विदेशमा अवसर खोज्नुको सट्टा नवीनता ल्याउन, व्यवसाय सुरु गर्न र राष्ट्रको विकासमा योगदान पु¥याउन युवालाई प्रोत्साहत गरौं । आफ्नो व्यावसायिक र सामाजिक प्रतिबद्धतामार्फत सधैं समुदायसँग सम्पर्कमा रहन गहिरो चाहना राख्ने वन्दना परिवार सामाजिक कल्याणमा लामो समयदेखि संलग्न रहेकाले आफूले पनि यसलाई निरन्तरता दिने बताउ“छिन् । भन्छिन्, ‘मेरा लागि रिवार्ड दायित्व भन्दा पनि म को हुँ किन यो धर्तीमा आएकी हु ? भन्ने प्रश्नको उत्तर हो, जुन मेरो जीवनको अभिन्न अंग बनेको छ ।’
‘महिला सक्षम छौं, गर्न सक्छौं’
गीता केसी, होटल तथा पर्यटन व्यवसायी
स्याङ्जाको पुतलीबजारमा जन्मिएकी गीता केसी पेसाले होटल व्यवसायी हुन् । पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक सिध्याएपछि उनलाई लाग्यो, आर्थिक आयआर्जन नै महिला सशक्तीकरणको मूल खम्बा हो ।
उनको विवाह कास्कीका कृष्णबहादुर के.सी.सँग भयो जो महिलाको उन्नति र विकास चाहन्थे । उनको परिवारको पाउँधुर नाउँडाँडामै खाद्यान्न पसल र पाउरोटी उद्योग थियो । व्यवसायलाई नजिकबाट नियालिरहेकी गीताको दिमागमा उद्यमशीलताको ज्ञान उतिबेलादेखि छिरेको थियो । उतिबेला उनीहरूले खाद्यपसल र पाउरोटी उद्योगमा दर्जन बढीलाई रोजगारी दिइरहेका थिए । तत्कालीन द्वन्द्वकालमा धेरै कुरा फेरबदल भए । गीताका श्रीमान् अस्टे«लिया पुगे । उनी काखे छोरी च्यापेर पोखरा झरिन् । ‘छोरी सानै थिइन् । श्रीमान् विदेश । गुजाराका लागि मैले पोखरामा शिक्षिकाको जागिर खान थालें,’ विगतका कठिन दिन स्मरण गर्दै गीता भन्छिन्, ‘धेरै दुःख भोग्नुप¥यो । त्यो सम्झिँदा अहिले लाग्छ, बिनामेहनत र संघर्ष सफलता सम्भव रहेनछ ।’
१२ वर्षपछि श्रीमान् नेपाल फर्किए । धेरै दुःखले पोखरामा जग्गा किनेकी थिएँ, पछि त्यसैमा होटल निर्माण गरियो । त्यसबीच भूकम्प र नाकाबन्दीले ठूलो क्षति हुँदा धेरै दुःखले जम्मा पारेको सम्पत्ति नष्ट भयो । तर आज गीता एक सफल उद्यमीमा दरिएकी छिन् । उनी अहिले थुप्रै संघसंस्थामा आबद्ध भएर सामाजिक काममा सक्रिय छिन् । उनलाई लाग्छ, सरकारले पर्यटन व्यवसायीका चुनौती सम्बोधन गरेर आवश्यक सुविधा दिने हो भने नेपाल संसारकै सुन्दर र उच्चस्तरमा पर्ने पर्यटन गन्तव्य बन्न सक्छ ।
‘स्वागत, सत्कार तथा आतिथ्यमा हामी नेपाली धेरै अघि छौं, विशेषगरी महिला । यो क्षेत्रमा महिलालाई राम्रो अवसर छ । नेपाली महिला हँसिला, सहनशील र आत्मविश्वासी छौं,’ उनी भन्छिन्, ‘यो चुरो कुरो बुझेर सरकारले यी गुण र स्वभावलाई देश विकासमा लगाउन सके उत्तम हुनेछ ।’ व्यवसाय गर्न चाहने दिदीबहिनीलाई दृढ इच्छाशक्ति र आत्मविश्वास राख्न गीता सुझाउ“छिन् । महिला घरका लागि मात्रै होइन मुलुककै परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने उनको बुझाइ छ ।
उनीद्वारा सञ्चालित ह्वाइट पर्ल नामक होटलले प्रत्यक्ष, अप्रत्यक्ष सयौंलाई रोजगारी दिइरहेको छ । महिलाले हाँकेको पर्यटन व्यवसाय अझ फलदायी हुने उनको अनुभव छ । विगत फर्केर हेर्दा उनलाई लाग्छ, यि दिनहरू निकै ढाटा र कल्पना बाहिर छन् तर मेहनत, संघर्ष, निरन्तरता र आफूप्रतिको विश्वास भयो भने कुनै कुराले छेक्दैन । दुई छोरीकी आमा गीताले लायन्स क्लब, महिला संघसंगठनमार्फत महिला सशक्तीकरण, महिला उद्यमशीलतामा लामो समयदेखि योगदान दिइरहेकी छिन् । ‘अब जमाना त्यो रहेन, जतिबेला हामी महिला घरेलु कामदारको भूमिकाभित्रै सीमित रहेर आफ्नो जीवन बिताइदिन्थ्यौं । अबका महिला हरेक क्षेत्रमा अग्रसर भएर नेतृत्व तहमै आउनुपर्छ, त्यसका लागि आफू स्वयं आत्मविश्वासी, परिश्रमी र हार नखाने हुनुपर्छ,’ उनी भन्छिन्, ‘हामी जन्मिएको समाज र राष्ट्रका लागि केही गर्नका लागि हो । हामी हरेक क्षेत्रमा सफल र सक्षम छौं, हरेक काम गर्न सक्छौं ।’