त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गत पुस १० मा दशरथ रंगशालामा ५१ औं दीक्षान्त समारोह सम्पन्न गर्यो । २०८१ असार १ देखि ०८२ जेठ ३१ सम्मको एक शैक्षिक सत्रमा स्नातकदेखि विद्यावारिधिसम्म उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९९ जना थिए । तीमध्ये आवेदन दिने १६ हजार ३ सय ८० हाराहारी विद्यार्थी समारोहमा उपस्थित भए । स्नातकदेखि विद्यावारिधिसम्म सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रछात्राले पदक र पुरस्कार प्राप्त गरेका थिए । विभिन्न संकायमा सर्वोत्कृष्ट भई पदक र पुरस्कार प्राप्त गरेका केही विद्यार्थीको धारणा हामीले बुझेका छौं । उनीहरूले कसरी सफलता हासिल गरे, उनीहरूको पढ्ने सूत्र के हो, भविष्यमा कस्ता सपना बोकेर अगाडि बढरहेका छन् ? विभिन्न संकायका सर्वोत्कृष्ट केही छात्राका अनुभव नारीले समेट्ने प्रयास गरेको छ ।
प्रस्तुति : आरती पौडेल
एमबीएमा अगाडि
केही समय पहिलाको कुरा हो । आफन्त एवं छरछिमेकले भन्थे, ‘पढाइ राम्रो छ । यति धेरै मेहनत गछ्र्याै । बाहिर नगएर किन नेपालमै बसेको ?’
रक्षा भेटुवाललाई भने नेपालमै उच्च शिक्षा हासिल गर्ने इच्छा थियो । उनले अरुको कुरालाई ध्यान दिने, मनमा राख्ने गरिनन् । बरु आफ्नो लक्ष्य र पढाइलाई निरन्तरता दिएर अगाडि बढिन् ।
रक्षाले गरेको मेहनतको फल एकदमै राम्रो आयो । उनी त्रिविको ५१ औं दीक्षान्त समारोहमा एमबीएमा राम्रो ३.९३ जीपीए हासिल गरी सर्वोत्कृष्ट विद्यार्थी भइन् । उनले इन्द्रभक्त श्रेष्ठ स्वर्णपदकका साथै पुरस्कार प्राप्त गरिन् । उनी भन्छिन्, ‘आफूले गरेको मेहनतको फल प्राप्त गरेकी छु । यो कुराले मलगायत मेरो परिवारका सबैजना खुसी छौं ।’
रक्षा सानैबाट पढाइमा निकै अब्बल थिइन् । काठमाडौंमै जन्मे–हुर्केकी उनमा पढ्नुपर्छ भन्ने सोच सानैबाट थियो । उनले एसएलसीमा राम्रो नम्बर ल्याएर पास गरेपछि प्लस टुमा साइन्स लिएर पढेकी थिइन् । ब्याचलरमा साइन्सभन्दा फरक विषय पढ्ने सोचले रक्षा बीबीए पढ्ने निर्णय गरिन् । उनी भन्छिन्, ‘हाम्रो समाजमा साइन्स पढेपछि मेडिकल फिल्ड, इन्जिनियरिङ पढ्ने भन्ने सोच छ तर मैले बीबीए पढ्ने भनेपछि घरमा हुन्छ भन्नुभयो । परिवारको सपोर्ट एकदमै भयो । यसैले पनि सफलता हासिल गर्न सकेकी हुँ ।’ ब्याचलरमा शंकरदेव कलेज अध्ययन गरेकी रक्षाले कलेज टप गरेकी थिइन् ।
ब्याचलर सकिनेबित्तिकै राम्रो नतिजा भएका कारण उनका आफन्त, साथीभाइले पढ्नका लागि विदेश जाऊ, प्रोसेस गर भन्ने सुझाव पनि दिएका थिए । तर रक्षा भने नेपालमै आफ्नो पढाइलाई निरन्तरता दिएर अगाडि बढिन् । उनले एमबीए पढ्न थालिन् । त्यही मेहनतले नै एमबीए टपर भएर गोल्ड मेडलिस्ट भएकी छिन् ।
रक्षा नेपालमा अवसर छैन भन्नेहरूको बुझाइ गलत भएको बताउँछिन् । ‘नेपालमा अवसर हुँदै नभएको भन्ने होइन धेरै छन्,’ उनले भनिन्, ‘व्यवसाय गर्न वा जागिर खान चाहनेलाई अवसर छ । तर ग्याप छ । विश्वविद्यालय वा अन्य कुनै संस्थाले व्यवसाय वा जागिर पाउने खालको वातावरण मिलाएमा झनै राम्रो हुन्थ्यो ।’ नेपालमा भएका अवसरहरूलाई हरेक युवाले खोज्न आवश्यक रहेको उनी बताउँछिन् । आफ्नो देशमा केही गर्न प्रयासै नगरी विदेश पलायन हुनुलाई भने उनी गलत ठान्छिन् ।
उनी दुई वर्षदेखि फाइनान्स सेक्टरमा कार्यरत छिन् । अध्ययनका क्रममा टाइम म्यानेजमेन्टको ठूलो भूमिका हुने बताउँछिन् । ‘लेख्दै प्राक्टिस गर्दै पढ्ने मेरो बानी छ । मेहनत गरेर मात्र पनि हँुदैन । समय मिलाउन जान्नु पनि ठूलो कुरा रहेछ,’ उनी भन्छिन् । साथै बाहिरी पुस्तक, फिल्म र इन्टरनेटमा पाइने नवीन जानकारीले थप ऊर्जा मिल्ने उनी बताउँछिन् । सबै कुराबाट पाएको ज्ञानलाई नै एकीकृत गरी लेख्ने र उदाहरण पेस गर्ने उनले सुनाइन् ।
परिवारको हौसलाले आफूलाई सर्वोत्कृष्ट विद्यार्थीका रूपमा पहिचान बनाउन ठूलो सहयोग गरेको रक्षा बताउँछिन् । उनी भन्छिन्, ‘नेपालमै अवसर सिर्जना गर्ने र आफै अवसर खोजेर अगाडि बढ्ने सोचमा छु । जे गर्छु नेपालमै गर्छुु भन्ने सोच छ ।’
रक्षा नेपालमै आफ्नो पढाइलाई निरन्तरता दिने र नेपालमै अवसर सिर्जना गर्ने सकारात्मक सोचले अगाडि बढिरहेकी छिन् ।
पत्रकारितामा अब्बल
त्रिविको ५१ औं दीक्षान्त समारोहमा पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर (एमए) गरेकी अनुशा रोका सर्वोत्कृष्ट विद्यार्थी भइन् । उनले ३.७३ जीपीए ल्याएर नारायण शान्ति मिश्र पदकका साथै पुरस्कार प्राप्त गरेकी छिन् । उनी भन्छिन्, ‘अहिलेसम्म गरेको मेहनतको फल पाएको महसुस भएको छ ।’
रुकुम पश्चिम मुसिकोट नगरपालिकाकी अनुशाले कक्षा ५ सम्म गाउँकै स्कुलमा पढेकी थिइन् । काठमाडौं आएर अनुशाले त्यसपछिको शिक्षा हासिल गरेकी हुन् । गाउँबाट आएको दुई वर्ष प्राइभेट स्कुल पढेकी उनले पछि फेरि सामुदायिक स्कुलमा पढेकी थिइन् । सानै उमेरदेखि पढाइमा रुचि राख्ने उनले कक्षा ९ मा प्राविधिक शिक्षा पढ्ने इच्छाले इलेक्ट्रिकल इन्जिनियरिङ पढेकी थिइन् । एसएलसीमा ए प्लस ल्याएकी अनुशाले प्लस टु (डिप्लोमा) सम्म प्राविधिक शिक्षा पढेकी थिइन् । त्यसपछि भने इन्जिनियरिङ नपढ्ने सोच बनाइन् ।
उनका बुवा पेसाले पत्रकारिता गर्थे । सानै उमेरदेखि पत्रकारिताको माहोलमा हुर्किएकी अनुशालाई पत्रकारिता पढेर बुवाको पेसालाई निरन्तरता दिने सोच जाग्यो ।
उनी भन्छिन्, ‘घरमा इन्जिनियरिङ पढ भन्नुभएको थियो । तर मैले पत्रकारिता पढ्ने सोच बनाएकी थिएँ,’ उनले भनिन्, ‘बुवा पनि पत्रकार भएका कारण मलाई पत्रकार नै बन्छु भन्ने थियो ।’
पत्रकारितालाई नै आफ्नो सपना सोची अनुशा रत्नराज्य लक्ष्मी क्याम्पस मानविकी संकायमा भर्ना भइन् । उनी बोल्न, लेख्नमा रुचि राख्थिन्, यसले पनि पत्रकारितामा उनको रुचि बढ्यो ।
‘ब्याचलरमा पत्रकारिता पढ्न सुरु गरेपछि बल्ल सोचेअनुसारको विषय पढें भन्ने भयो,’ उनी भन्छिन् । अनुशाले स्नातक राम्रो नतिजाका साथ पास गरिन् । त्यसपछि पत्रकारिता केन्द्रीय विभागमा स्नातकोत्तर पढ्न थालिन् । कडा मेहनत र संघर्षले नै पत्रकारिताबाट गोल्ड मेडलिस्ट भइन् ।
कलेजबाट दिएको असाइनमेन्ट र गर्नुपर्ने प्रिजेन्टेसनले पनि धेरै कुरा सिक्ने अवसर मिलेको उनको अनुभव छ । उनी हरेकको पढ्ने तरिका फरक हुने बताउँदै भन्छिन्, ‘नोट बनाउने, परीक्षाभन्दा अगाडि नै पढेर रिभिजन गर्ने गर्थें । ध्यान तथा व्यायाम गर्थें, यसले मलाई ध्यान केन्द्रित गर्न र पढेको कुरा सम्झन सहयोग पुर्यायो ।’
अनुशा नेपाल छोडेर विदेश जाने सपना भने कहिल्यै नदेखेको बताउँछिन् । घरपरिवारबाट लोकसेवा तयारीमा लाग्न सुझाव आएको र आफूले भने अहिले नै के गर्ने भनेर सोच नबनाएको सुनाइन् । केही समय विभिन्न क्षेत्रमा अध्ययन गर्ने र त्यसपछि आफूले चाहेको क्षेत्रमा निरन्तरता दिने उनको सोच छ । उनी केही वर्षयता विभिन्न संस्थामा आबद्ध भएर सामाजिक काम गर्दै आएकी छन् ।
पत्रकारिता विषयमा प्राज्ञिक हुने उनको रहर छ । भन्छिन्, ‘पत्रकारिता विषयको शिक्षक भई आफ्नै देशमा पत्रकार भएर सत्यका लागि सधै लड्ने सपना छ ।’ नेपालमा नैतिक पत्रकारिता आवश्यक रहेको उनी बताउँछिन् । हरेक विद्यार्थीले आफ्नो रुचिअनुसारको विषय पढ्न आवश्यक रहेको उनको भनाइ छ ।
सधैं सर्वोत्कृष्ट फुर्वा
फुर्वा शेर्पाले त्रिविको ५१ औं दीक्षान्त समारोहमा बीबीए तर्फबाट सर्वोत्कृष्ट नतिजा ल्याएर भाइस चान्सलर पदकका साथै पुरस्कार प्राप्त गरेकी छिन् । उनले ३.९८ जीपीए ल्याएकी छन् । भन्छिन्, ‘एकदम खुुसी महसुस भएको छ । म भन्दा धेरै परिवार र साथी मेरो प्रगतिमा खुसी भएको देख्दा धेरै आनन्द आउँदो रहेछ ।’
सानै उमेरदेखि पढाइमा रुचि राख्ने फुर्वा सधैं उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी हुन् । रामेछाप घर भई काठमाडौंमा हुर्किएकी उनले सधैं मेहनतका साथ पढ्ने गर्थिन् । गोल्डेन पिक हाइस्कुलबाट एसईई दिएकी उनी स्कुल टपर हुन् । त्यसरी नै ग्लोबल कलेजबाट व्यवस्थापन संकायमा प्लस टु गरेकी फुर्वा त्यहाँ पनि कलेज टपर हुन् ।
स्नातक तहमा व्यापार प्रशासन (बीबीए) शंकरदेव पढेकी उनले सधैं राम्रो नतिजा ल्याउँथिन् । उनी भन्छिन्, ‘मेहनत गरेर पढ्थें । मैले सधै एउटै किसिमको नम्बर ल्याएँ,’ उनले भनिन्, ‘कुनै सेमेस्टरमा अन्य साथीले पनि टप गर्नुभएको छ । तर मेरो नम्बर सधैं एउटै किसिमको हुन्थ्यो । त्यही भएर नै मेरो राम्रो नतिजा आयो ।’
सर्वोत्कृष्ट विद्यार्थी भएपछि आफूमा अझ धेरै जिम्मेवारी थपिएको उनले महसुस गरेकी छन् । पढाइमा सधैं अब्बल उनको क्षमताप्रति साथीहरूको पूर्ण भरोसा थियो । साथीहरूले समेत ‘हामीलाई थाहा थियो तिमी गोल्ड मेडलिस्ट हुन्छ्यौ’ भन्दा उनलाई झनै खुसी लाग्थ्यो । शिक्षकसँग कक्षामा पढेको कुरा नबुझे सोध्ने बानी गर्नुपर्ने उनी बताउँछिन् । ‘अहिलेको समयमा पढ्नका लागि धेरै माध्यमको प्रयोग गर्न सकिन्छ । विषयभन्दा बाहिरको पनि पढ्न सकिने र त्यसबाट छुट्टै टेक्निक सिर्जना गरेर पनि पढ्न सकिन्छ,’ उनको सुझाव छ ।
परिवारकी एक्ली छोरी फुर्वालाई आफ्ना हरेक निर्णय र सपनाप्रति घरपरिवारको सधै हौसला र साथ थियो । ‘घरबाट मैले चाहेको कुरा कहिल्यै नगर भन्नुभएन,’ उनले भनिन्, ‘मलाई सफल बनाउन बुवाआमाले गरेको दु:ख, मेहनतले गर्दा नै म यहाँ छु र आफैलाई भाग्यमानी ठान्छु ।’
२५ वर्षीया फुर्वा केही समय कामको अनुभव लिन चाहन्छिन् । ‘जिन्दगीमा धेरै कुरा सिक्न छ । अहिले नै के पढ्ने भनेर सोच बनाएकी छैन । जे पढे पनि आफ्नो इच्छानुसारको विषय रोजी पढ्ने सोचमा छु,’ उनले भनिन् । नेपालमा आफूले पढेअनुरूपको काम नपाएर विदेश जानेहरूको संख्या बढेको उनको बुझाइ छ । ‘अहिले हरेक कुरामा प्रतिस्पर्धा छ । पढाइअनुसार काम पाइँदैन,’ उनले भनिन्, ‘त्यसैले विदेश जानेको संख्या बढेको हो । देशमै पढाइ, विषयअनुसारको राम्रो रोजगारको वातावरण सिर्जना भएमा युवाहरू विदेश पलायन हुनुपर्दैनथ्यो ।’
नेपालमै बसेर आफ्नो सपना पूरा गर्ने र आफ्नो सीप, क्षमताले देशमै भविष्य कोर्ने योजनाका साथ उनी अगाडि बढिरहेकी छिन् ।
कानुनमा उत्कृष्ट
पाँच वर्ष कानुन पढ्दा गोल्ड मेडलिस्ट हुनुपर्छ भन्ने भावना अधिकारीको सोच थियो । त्यसैले पनि उनी इच्छानुसारको सफलता हात पार्न सफल भएको बताउँछिन् ।
बीएलएलबी (कानुन) संकायबाट गोल्ड मेडलिस्ट बनेकी भावना आफूले सोचेअनुसार नै सफलता हात पारेकोमा दंग छिन् । सानैदेखि पढाइमा अब्बल उनी २४ वर्षकी भइन् । एसईईमा राम्रो नतिजा ल्याएकी भावनाले साइन्स विषय लिएर प्लस टु गरेकी थिइन् । साइन्स पढ्दै गर्दा भने उनलाई आफ्नो रुचिको विषय यो होइन कि भन्ने भएको थियो । ब्याचलरमा बीएलएलबी पढ््ने सोच बनाएर अगाडि बढिन् । नेपाल ल क्याम्पसमा नाम निकालेर भर्ना भएकी उनले निकै मेहनत गरिन् । उनले गोल्ड मेडलिस्ट भएरै छोड्छु भन्ने संकल्प लिएर पढेकी थिइन् । भावनाले देखेको सपना र गरेको मेहनतले सकारात्मक फल दियो । उनले बीएलएलबीबाट ३.८० जीपीए ल्याएर सर्वोत्कृष्ट विद्यार्थी भई लोकराज ज्ञवाली पदकका साथै पुरस्कार पनि प्राप्त गरिन् ।
भावना आफूले गरेको मेहनतले सबैमा खुसी छाएको बताउँछिन् । भन्छिन्, ‘परिवार, आफन्त एवं सबैको आशा भएर यो कुराले निकै खुसी दिएको छ । अरुका लागि प्रेरणाको स्रोत बन्न सकेको कुराले निकै खुसी छु । कुनै मान्छे सफल हुन्छ भने ऊ एक्लै सफल हँुदैन ।’ उनी सफलताको जस परिवार, आफन्त, शिक्षक एवं साथीभाइलाई दिन्छिन् ।
परिवारले सधै प्रोत्साहन दिन्थे । ‘पढ भनेर कसैले प्रेसर दिएनन् । आफ्नै तरिकाले पढ्थें,’ उनले भनिन्, ‘अहिले जागिर एवं पैसाको पछि लाग्नु हुँदैन, पढ्ने समयमा पढ भनेर सम्झाउनु हुन्थ्यो । कलेजमा पढ्ने राम्रो वातावरण मिल्यो । सिनियर, जुनियरबाट पाएको सहयोगका कारण उत्कृष्ट नतिजा ल्याउन मद्दत गर्यो ।’
उनका अनुसार सबै कुुरामा राज्यलाई मात्र दोष नदिई आफूले पनि मेहनत गर्नुपर्छ । उनी भन्छिन्, ‘कुनै पनि विद्यार्थीले यस्तो भएन भनेर राज्यसँग गुनासो गर्नुभन्दा आफूले कुन क्षेत्रमा काम गर्न चाहेको हो त्यो हेरेर आफैले अवसर खोज्नुपर्छ ।’ हरेक कुराबाट सकारात्मक तरिकाले सिक्न सकिने उनको भनाइ छ । ‘जीवन भनेको सिकाइ हो हरेक कुराबाट सिक्न सक्छौं । परीक्षाका लागि मात्र नभएर आफूले ज्ञान लिने हिसाबले हरेक कुराबाट ज्ञान आर्जन गर्नुपर्छ भन्ने सोचले पढ्न आवश्यक छ । परीक्षामा मात्र पास हुनका लागि पढ्छु भन्ने सोच्नु हँुदैन,’ उनले भनिन् ।
भावना त्रिविबाट कानुन संकायमा सर्वोत्कृष्टसँगै सरकारी सेवामा पनि कार्यरत छिन् । उनी नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको सातौं तह कानुन अधिकृतमा सिफारिस भएकी थिइन् । त्यहाँ सफल भएर डेढ महिना काम गर्दा खुल्लातर्फ न्याय सेवातर्फको कानुन अधिकृतमा दुई नम्बरमा नाम निकालिन्, त्यसयता न्याय क्षेत्रतर्फ काम गरिरहेकी छन् । भन्छिन्, ‘मैले भोलिका दिनमा कानुन पढेर सकेपछि नेपाल सरकारको जागिरे हुन्छु भन्ने गोल सेट गरिसकेकी थिएँ ।’
उनी बीएलएलबी सकिनेबित्तिकै लोकसेवा तयारीमा जुटेकी थिइन् । एक वर्षमा दुईवटा लोकसेवा तयारी गरिन्, दुवैमा नाम निस्कियो । आफू लक्ष्यसम्म पुग्न सबैले सपना देख्नुपर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सपना देख्नुपर्छ । आत्मविश्वास राखेर अघि बढ्ने हो भने अवश्य गन्तव्यमा पुगिन्छ ।’
उनका बुवा आफ्ना सन्तानले नेपालमै बसेर सरकारी सेवामा राम्रो गरेको देख्न चाहन्थे । त्यही कुराले भावनालाई सरकारी सेवाप्रति झुकाव भएको थियो । बुवाले दिएको प्रोत्साहन र आफ्नो रुचिले आफू सरकारी सेवामा लागेको उनी बताउँछिन् । ओखलढुंगा मानेभन्ज्याङमा जन्मिएकी अधिकारी आफ्नै देशमा बसेर निष्ठाका साथ राष्ट्र सेवामा समर्पित हुन चाहन्छिन् ।
राजनीति शास्त्रमा अग्रस्थान
प्रतिभा पौडेल एमए राजनीति शास्त्रबाट त्रिविको ५१ औं दीक्षान्त समारोहमा सर्वोत्कृष्ट विद्यार्थी बनिन् । उनले ३.७९ जीपीए प्राप्त गरी बडाकाजी मरिचमान सिंह पदकका साथै ललित चन्द पुरस्कार प्राप्त गरेकी हुन् । उनले जसरी पढाइमा सर्वोत्कृष्ट नम्बर हासिल गरिन् त्यसरी नै राजनीतिमा पनि निकै सक्रिय विद्यार्थी नेता हुन् ।
प्रतिभा पहिलेदेखि नै पढाइमा अब्बल थिइन् । उनले काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी दिएकी थिइन् । प्लस टुमा साइन्स लिएर पढेकी प्रतिभा ब्याचलरमा माइक्रोबायोलोजी लिइन् । त्यसबेलादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएर लागेकी प्रतिभालाई राजनीतिको भित्री पाटोलाई बुझ्ने रहर पहिलेदेखि थियो । उनी मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध छिन् ।
राजनीतिक झुकावका कारण मास्टर्स भने राजनीति शास्त्रमा गर्ने निधो गरिन् । उनी भन्छिन्, ‘विद्यार्थी राजनीतिमा सक्रिय रूपमा काम गर्थें । जुन विचारधारालाई फलो गरेर राजनीति गरेकी थिएँ । त्यससँगै समाजमा देखिने हरेक किसिमका विचार पनि सुन्थें । सबै बुझ्ने मनमा उत्सुकता थियो ।’ अहिलेसम्मको राजनीतिक विचार कसरी आयो, के–के रहेछन् भन्ने उनमा जिज्ञासा थियो । इतिहास, समाज, विश्वराजनीति घटना, देशको अन्तर्राष्ट्रिय सम्बन्ध कसरी हुँदो रहेछ भन्ने भएर नै बायोलोजीबाट राजनीति शास्त्र रोजेकी थिइन् । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए गरेकी प्रतिभा कडा परिश्रम गरेर नै आफू सर्वोत्कृष्ट विद्यार्थी भएको बताउँछिन् ।
कुन बेला पढ्ने भन्ने व्यक्तिको रुचिअनुसार फरक हुने उनको भनाइ छ । ‘व्यक्ति स्वयंको इच्छा शक्तिले कति पढ्ने भन्ने कुरामा निर्भर गर्छ । यसरी पढ्छु भन्ने ठ्याक्क सूत्र छैन । तर मैले पढ्ने भनेको आफूलाई उपयुक्त हुने समय हो । बुझेको कुरा लेखेर पढ्ने गर्छु,’ उनले भनिन् ।
नेपालको शिक्षा प्रणाली कमजोर छ भन्ने भाष्यप्रति भने उनी सहमत छैनन् । ‘पाठ्यक्रम विभिन्न समयमा परिमार्जन भइराखेको हुन्छ । त्यो भनेको हाम्रो पाठ्यक्रम विश्व स्तरमा प्रतिस्पर्धा गर्ने खालको बनाउने उद्देश्य हो,’ उनले भनिन्, ‘नेपालमा सरकारी क्षेत्रमा लागेकाहरूदेखि विभिन्न क्षेत्रमा सफल भएका व्यक्ति नेपालमै पढेर त्यहाँसम्म पुग्नुभएको हो । त्यसैले शिक्षा प्रणालीलाई मात्र गलत भन्नु ठीक होइन । सुधार गर्नपर्ने पाटाहरू छन् तर खराब छैन ।’
सरकारले, विश्वविद्यालयले प्रयोगात्मक पढेका कुरालाई व्यवहारमा जोड्न सकेमा नेपालको शिक्षा प्रणाली अझ राम्रो हुने उनको भनाइ छ । प्रतिभा पढाइ र राजनीति दुवैमा सक्रिय भएर सफलता हासिल गर्नेमध्येकी एक हुन् । राजनीतिमा लागेका विद्यार्थीले पढ्दैनन् भन्ने भनाइ उनलाई मन पर्दैन । ‘विद्यार्थी राजनीतिमा लागेर पढ्दैनन् भन्ने भाष्य पछिल्लो समय निर्माण भएको हो । त्यो निर्माण हुनुमा केही हदसम्म विभिन्न पार्टीमा आबद्ध केही विद्यार्थीले गर्दा मात्र हो,’ उनी भन्छिन्, ‘इतिहास हेर्ने हो भने जो पढ्थे, पढाउँथे उनीहरूले नै दल स्थापना गरेका थिए ।’
प्रतिभा अहिले राजनीतिशास्त्र केन्द्रीय विभागमा एमफिल गर्दै छिन् । विभिन्न पार्टीमा कार्यरत धेरै मन्त्रीदेखि पूर्वसांसद, मेयरसम्मका व्यक्तिहरूले एमफिल गरिरहेको उनले सुनाइन् ।
आफू सफल हुनमा घरपरिवारको ठूलो भूमिका रहेको प्रतिभा बताउँछिन् । ‘पढ्नका लागि पारिवारिक वातावरण कारक तत्व हो । पारिवारिक रूपमा धेरै जिम्मेवारी रहिराख्दा पढ्नका लागि जटिल हुनेगर्छ । मेरो परिवारले सहजीकरण गरेर नै म यहाँ छु,’ उनले भनिन् ।
प्रतिभा स्वर्ण पदक पाउँदा आफूभन्दा धेरै परिवार खुसी भएको बताउँछिन् । उनी आफ्नै देशमा बसेर प्राज्ञिक क्षेत्रमा काम गर्ने र राजनीतिमा पनि सक्रिय हुने सपनाका साथ निरन्तर मेहनत गरिरहेकी छिन् ।
तस्बिरहरु: दीपेन श्रेष्ठ