Successfully Copied

अलग अध्याय

सदियौंदेखि पितृसत्ता हाबी भएको नेपाली समाजमा महिलाको खुसी र स्वतन्त्रताले कम अर्थ राख्छ वा प्राथमिकतामा पर्दैन । तर पछिल्लो समय कतिपय आत्मनिर्भर महिलाले यस विषयलाई जीवनको मूल मन्त्र बनाएर साहसका साथ अघि बढेको देखिन्छ ।

जीवन थुप्रै रङको मिश्रणले रंगीन छ । त्यसो त तिनै रङको अन्तर्घुलनले कहिले सुख–दुःख त कहिले खुसी र आँसु पनि देखापर्छ । पूवार्द्धमा थुप्रै दुःख–संघर्ष भोगेकाहरू उत्तरार्द्धमा आइपुग्दा सुखपूर्वक जीवन बिताइरहेका छन् । तर, यही समाजमा कसैलाई भने बुढ्यौलीमा दुःख आइपरेको देख्न सकिन्छ । जीवनका हरेक वस्तु चलायमान छन्, घडीको सुईजस्तै । शाश्वत भनेको मृत्यु मात्रै हो । जिन्दगीमा कुन बेला के समस्या आइपर्छ, समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ यो मान्छेको वशको कुरा होइन । मानवीय कर्मभित्र पर्ने महत्वपूर्ण पाटो विवाह पनि हो । मानव जीवनमा खुसी दिने विवाह प्रकृतिको निरन्तरता पनि हो । यो विषय पनि स्थिर रहन्छ भन्ने छैन । ‘नथिङ इज ग्रान्टेड इन लाइभ’ भन्ने भनाइ यो चराचर जगत्मा यसै सार्थक भएको होइन ।

सदियौंदेखि पितृसत्ता हाबी भएको नेपाली समाजमा महिलाको खुसी र स्वतन्त्रताले कम अर्थ राख्छ वा प्राथमिकतामा पर्दैन । तर पछिल्लो समय कतिपय आत्मनिर्भर महिलाले यस विषयलाई जीवनको मूल मन्त्र बनाएर साहसका साथ अघि बढेको देखिन्छ । श्रीमान्को मृत्युपछि वा सम्बन्धविच्छेदपछि एकल बसेका महिलालाई हेर्ने सामाजिक तथा पारिवारिक दृष्टिकोण अझै नबदलिइसकेको नेपाली समाजमा दोस्रो विवाह गर्ने महिलालाई कसरी हेरिन्छ वा कस्तो व्यवहार गरिन्छ, यो सोचनीय प्रश्न हो । आफ्नो खुसी र स्वतन्त्रतालाई केन्द्रविन्दुमा राखी ‘बोल्ड डिसिजन’ का साथ अघि बढ्दै दोस्रो विवाह गरेका केही प्रतिनिधि नारीलाई हामीले यहाँ प्रस्तुत गर्ने प्रयास गरेका छौं ।


‘सकारात्मक प्रतिक्रियाले खुसी छु’

सरिताश्री ज्ञवाली

गत महिना सरिताश्री ज्ञवालीले जवान हुँदै गरेका छोरा–छोरीको रोहवरमा दोस्रो विवाह गरिन् । आमाको खुसीमा सन्तान रमाए, इष्टमित्र तथा आफन्त पनि खुसी भए भने हजारौंले उनको यो साहसिक निर्णयको प्रशंसा गर्दै बधाई र शुभकामनाको ओइरो बर्साए । ‘महिलाले पनि स्वतन्त्रतापूर्वक आफ्नो जीवन खुसी भएर बाँच्नुपर्छ भन्ने हो । जीवनमा नसोचेका कुरा हुन्छन्, जे–जे आइपर्छ स्वीकार गर्दै अघि बढ्ने हो,’भर्खरै सम्पन्न विवाहबारे सरिता भन्छिन्, ‘तामझाम गरेर विवाह गर्न मन थिएन । आवश्यक पनि छैन भन्ने लागेको थियो तर विदेशबाट भाइ आइपुगेको र अगाडिदेखि नै छोराछोरी इभेन्ट प्लानर जस्ता भएर निकै उत्साहित भएकाले उनीहरूकै इच्छामा मन्दिरमा भन्दा घरैबाट गर्दा विवाहको भाइभ्स आउँछ भन्ने कुरा भयो । त्यसैले परिवार र नजिकका दुईचार जना आफन्त एवं साथीभाइको जमघटमा घरैबाट विधिपूर्वक विवाह भयो ।’ सामान्यतया विवाहमा सबै अरुले गरिदिन्छन् तर आफ्नो सवालमा लुगाफाटो किन्नेदेखि पार्टीका लागि ठाउँ मिलाउनेसम्मको व्यवस्थापनमाआफै खट्नुपरेको उनले बताइन् । श्रीमान्सँग लामो समयदेखि चिरपरिचित भएकाले पनि यो सम्बन्ध सुमधुर रूपमा अघि बढ्नेमा उनी ढुक्क छिन् ।

समाजले के भन्ला भन्ने भन्दा पनि आफ्नो कर्तव्यप्रति दृढ भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘समाज हामी आफैंले बनाउने हो । कुनै पनि कुरा सम्भव हुन्छ भनेर लागियो भने त्यो पूरा हुन्छ,’ उनी भन्छिन्, ‘समाजको डरले आफू भित्रभित्रै पिल्सिई दुःखी भएर बस्नु हुँदैन ।’ डिभोर्स, त्यसपछि अन्तरजातीय दोस्रो विवाहले बुवाआमालाई सामाजिक रूपमा केही अप्ठ्यारो बनाएको आफूले बुझेको उनले सुनाइन् । ‘मलाई भने खासै गाह्रो भएन किनकि मैले केही ढाकछोप गरेकै छैन । अगाडि सबैले राम्रो भन्नुहुन्छ, पछाडि कसले के भन्छन् मलाई मतलब छैन,’ उनी ढुक्क छिन्, ‘सामाजिक सञ्जालमा पनि सकारात्मक र प्रेरणादायी सन्देश नै प्राप्त भइरहेका छन् ।’

महिला प्राकृतिक रूपमा अरुलाई दिने मात्रै प्राणी भइदिएझैं सरितालाई लाग्छ । छोराछोरी, श्रीमान्, अभिभावक, नन्द, आमाजू, देवरानी, जेठानी, घरपरिवार सबैका लागि त्याग गर्ने तर आफ्नो खुसी बिर्सने गर्दा आफ्नो खुसी र हेरविचारका लागि पनि महिलाले आफ्नो लागि समय छुट्याउनुपर्ने उनको धारणा छ । ‘आफूलाई खुसी राख्न महिलाले आफैलाई बिर्सन हुँदैन, महिला आफू खुसी भए मात्रै अरुलाई खुसी बनाउन सक्छन्,’ सरिताले भनिन्, ‘मैले त डिभोर्सपछि पनि खासै फरक महसुस गरिनँ । आफ्नो कर्तव्य पूरा गर्दै, अनुशासनभित्रै बसेर आफ्ना काम गर्दै अगाडि बढें । सिंगल हुँदा समाजको अघिल्लो पुस्ताले बिचरा भनेर हेर्ने जस्तो लाग्यो भने कतिले सिंगल छ सहजै उपलब्ध हुन सक्छ भने जसरी व्यवहार गरेको पनि अनुभव गरें ।कतिपयले जतिखेर पनि फोन वा म्यासेजगर्ने गरेको पनि महसुस गरें ।’

अभिभावक र परिवारको सहयोगका कारण आफूलाई भाग्यमानी ठान्ने सरिता आफ्ना दुई छोराछोरीलाई जीवनकै उत्कृष्ट वरदान ठान्छिन् । ‘छोरीले नै मम्मी हजुर एक्लै बस्दा सहज हुन्छ कि जीवनमा कोही माया गर्ने मान्छे हुँदा सजिलो हुन्छ भनेर सोधिरहन्थिन्, किनभने उनीहरूको उमेर बढ्दै जाँदा आफ्नो पढाइ र आफ्नै संसार हुन्छ,’ उनले भनिन् । आफूले श्रीमान् भेट्नेबित्तिकै उनले छोराछोरीसँग भेट गराइदिएकी थिइन्, यसले पनि सम्बन्धलाई अझ सहज बनाएको उनको अनुभव छ । त्यहीअनुसार अभिभावक, परिवार र छोराछोरीको निर्णयानुसार अगाडि बढ्ने निर्णय गरिन् । विवाह सकिएपछि र दसैंमा टीका थाप्न जाँदा पनि सबैजना खुसी भएका थिए । ‘कोही खुसी हुँदा खुसी र दुःखमा दुःखी हुने समाज छ हाम्रो, यो अत्यन्तै सकारात्मक कुरा हो । केही थोरै मान्छे होलान् जसलाई चित्त नबुझेको हुनसक्छ तर म यस्ता कुरामा घोत्लिएर बस्दिनँ,’ उनी दृढ छिन्, ‘आफ्नो कर्म गर्दै जाने हो, सकेसम्म जनहितका लागि काम गर्ने हो, कसैको कुभलो गर्नु हुँदैन यत्ति हो ।’ आफ्नो परिवार, आफू र सन्तानको खुसीलाई प्राथमिकता दिने सरिता जीवनको अर्को खुड्किलो चढ्दै गर्दा अत्यन्तै खुसी र उत्साहित देखिन्छिन् ।


‘विवाह गर्न समाजले नै बाध्य पार्दोरहेछ’

सुष्मा महरा

सौन्दर्यविद् तथा व्यवसायी सुष्मा महराले दोस्रो सन्तान नजन्माउने समझदारीमा दोस्रो विवाह गरिन् । प्रज्ज्वलजंग पराक्रम शाहसँग विवाह गर्नुअघि नै उनले सबै कुरा खुलस्त पारेकी थिइन् । छोरा गीर्वाणलाई आफ्नो जीवन ठानेकी सुष्मा भन्छिन्, ‘मैले छोराका लागि विवाह गरेकी हुँ । उसका बाबा स्वर्गे भएपछि बाउ–आमा दुवैको माया दिएर हुर्काउँछु भन्दा पनि मलाई सहज भएन । यो समाजलाई लुलो–लंगडो चाहे जस्तोसुकै होस् श्रीमान् चाहिने रहेछ ।’

१७ वर्षको उमेरमा सुष्माले डीएसपी सुमन महरासँग पहिलो विवाह गरेकी थिइन् । सुमनले श्रीमती र छोरादुवैलाई विशेष माया र प्रेमका साथ आफ्नो न्यानो छत्रछायामा राखे । आफूभन्दा १० वर्ष कान्छी श्रीमतीलाई उनले अत्यन्तै लाडप्यार दिए । त्यही कारण सन्तान जन्माउन निकै ढिला भयो । तर दैवको लीला हृदयाघातका कारण सुमनको निधन भयो । ‘परिवार शिक्षित र बुझ्ने भएकाले भित्र केही समस्या थिएन तर म कामकाजी महिला भएकीले बाहिर भने कहिलेकाहीँ होच्याउने र गलतशब्दहरू सुन्नुपर्थ्यो । समाजको सोच अझैसम्म पनि उस्तै रहेछ भनेर दिक्क लाग्थ्यो,’ उनी भन्छिन्, ‘सहरमा बस्ने सचेत र शिक्षितले त यसरी हेप्दा रहेछन् भने गाउँका महिलालाई कस्तो होला भन्ने लाग्थ्यो ।’ सामाजिक व्यवहार यतिसम्म भोगिन् कि ‘श्रीमान् विदेश हुनुहुन्छ’ भन्नुपर्ने अवस्थासम्म बन्यो । तर दोस्रो विवाहपछि जीवन सहज र रमाइलो छ । छोराले बाउ पाएका छन् । मसँग भन्दा बाउसँग निकट छन् छोरा । छोरासँग अत्यन्तै भावनात्मक सम्बन्ध भएकाले होला श्रीमान् बेलाबखत भन्ने गर्नुहुन्छ–छोरा बढ्दैछ, ठूलो भए पनि अरूले अनेक कुरा सुनाइदिने हुन् कि ? बरु त्यसो हुनु अगाडि नै विदेश गएर बसौं ।’

महरा परिवारको राजीखुसीमै विवाह भएकाले प्रज्ज्वललाई ज्वाईंबनाउन पाउँदा परिवार खुसी छ । सुष्माले पनि हरेक कानुनी कागजातमा महरा नै लेख्ने गरेकी छिन् । उनले भनिन्, ‘छोराको मानसिकतामा के पर्ला भनेर पनि महरा थर छोडिन् । अर्को विवाह गर्नेबित्तिकै सबै कुरा परिवर्तन गरिहाल्नुपर्छ भन्ने छैन । मेरो इच्छा र अधिकारको कुरा हो । मलाई नयाँ जीवन प्रदान गर्ने कुरामा महरा परिवारको ठूलो हात र महत्वपूर्ण योगदान छ ।’

सञ्चार व्यवसायी प्रज्ज्वलसँग विवाह भएपछि आफू ढुक्क भएको र जीवनमा गर्नुपर्ने मूल कुरा बाँकी नरहेको सुष्मा बताउँछिन् । एकल हुँदा बच्चाका लागि गर्न सक्छु कि सक्दिन भन्ने लाथ्यो उनलाई तर अहिले श्रीमान् साथमा हुँदा जे गर्न पनि आँट आउँछ ।‘छोराको ९५ प्रतिशत जिम्मेवारी उहाँले नै पूरा गरिरहनुभएको छ । स्कुलमा समेत के खाने, के नखाने बाबालाई सोध्नुपर्छ भन्दोरहेछ छोरा, त्यसैले मलाई स्कुलमा गीर्वाणको बाबा साँच्चिकै मेडिकल डाक्टर हो ? भनेर सोध्ने गर्छन्,’ उनले भनिन् ।

सुष्माका अनुसार आफ्ना तीनैवटा परिवार खुसीसाथ मिलेर बस्दा पनि समाजले ईर्ष्या गर्ने र कुरा काट्ने गर्छ । महिला खुसी हुनै नहुने, जहिले बिचराको पात्र भएर बस्नुपर्ने देख्न चाहने यो समाजमा फुर्सदिला मानिसको कमी नहुनुले यस्तो भएको उनको तर्क छ । ‘एक्लै हुँदा पनि चरित्रमा धावा बोल्ने, हरेक कामका लागि सजिलै उपलब्ध हुन्छे भन्ने सोच धेरैको पाएँ,’ उनी भन्छिन्, ‘साथीभाइसँग खुसी हुँदा पनि अनेकथरी कुरा काट्दा हाम्रो समाजमा महिलालाई विवाह गर्न बाध्य बनाउने मैले महसुस गरें ।श्रीमान् बिरामी पर्दा स्याहार्ने स्वास्नी खोज्छ यो समाज, तिनै स्वास्नी बिरामी भइन् भने अर्को विवाह गरिदिन्छ । सुत्केरी हुँदा त स्याहार्नका लागि माइती पठाइदिन्छन् भने अरुको त के आशा गर्ने ?’ बुहारी पनि आफ्ना छोरीजस्तै हुन् भन्ने सोच उजागर गर्नु जरुरी रहेको उनको भनाइ छ । ‘यसका लागि मानिसहरू शिक्षित र व्यस्त हुनुपर्ने रहेछ, अनि मात्रै यस्ता सोच र व्यवहार कम भएर जाने थिए,’ उनी भन्छिन् ।


‘हरेक छोरी आत्मनिर्भर हुनु जरुरी छ’

गुञ्जना कुँवर

पहिलो विवाहमा ठूलै समस्या आएपछि गुञ्जना कुँवर माइतीमा आएर बस्न थालेको केही समयपछि सम्बन्धविच्छेद गरिन् । जब उनी एकल भइन्, त्यतिबेला आफूप्रतिको सामाजिक हेराइ तथा दृष्टिकोण नै नकारात्मक भएको उनले अनुभव गरेकी छिन् । ‘मेरै गल्तीका कारण सम्बन्धविच्छेद भएको हो कि भन्ने सबैले सोच्थे । अलि बोल्ड भएर आफ्ना धारणा राख्न खोज्दा चोथाले भन्थे । मैले गरेको मेहनत र संघर्ष देखिँदैनथ्यो,’ उनी भन्छिन्, ‘मलाई सकारात्मक रूपमा हेर्ने १० प्रतिशत मात्रै थिए होलान्, नत्र प्रायःले बिचराको ट्याग नै लगाउँथे ।’

उनी आफ्नो काम गर्दै, छोरा हुर्काउँदै खुसीसाथ जीवन चलाइरहेकी थिइन् । तर उनी साथीभाइसँग घुमेको र रमाइलो गरेको समाजले पचाउँदैनथ्यो । ‘पुरुषहरू यो सिंगल छ, त्यसैले अभाइलेभल होला भन्ने सोच्थे । यस्ता सामाजिक लाञ्छना र दबाबले महिलालाई श्रीमान् नै चाहिने रहेछ कि क्या हो भन्ने बोध गराउँदो रहेछ,’दोस्रो विवाहको कारणबारे उनले भनिन् ।

यतिबेला आमाबुवा र छोरीले नयाँ जीवन सुरु गरेकामा खुसी छन् । उनी आफू भने सिंगल हुँदा पनि उति नै खुसी भएको बताउँछिन् । ‘दोस्रो विवाहपछि अब छोरालाई हेला हुन्छ भन्ने सामाजिक सोच थियो । तर रगतको नाता मात्रै गहिरो नहुने र त्यो भन्दा गाढा, मीठो र प्रेमले भरिएको नाता मेरो श्रीमान्ले छोरालाई दिनुभयो,’ उनी भन्छिन्, ‘मलाई मेराश्रीमान्को प्रशस्त माया, साथ र सहयोग छ । जसले मलाई शिर ठाडो गरी गर्वका साथ खुसी भएर बाँच्न सिकाएको छ ।’ कतिपयले अहिले पनि गुञ्जनालाई ए दोस्रो विवाह पो गरेको रैछ है π भनेर नाँपजाँच गर्छन् तर श्रीमान्को प्रेम र साथका अगाडि जसले जे भने पनि आफू हेपिन नपर्ने उनको तर्क छ । श्रीमान्को गुञ्जनाप्रतिको सम्मान र विश्वासले विगतका दिनमा उनको कुरा काट्ने समाजले अहिले राम्रो व्यवहार गरेको बताइन् ।

त्यसो त हाम्रो पितृसत्तात्मक समाजमा हरेक दिन महिला धेरै कुराका लागि लडिरहेकै हुन्छन् । उनलाई पनि बेलाबखत आफ्नो पुरानो जीवन र कथासँग लड्नुपरेकै छ । ‘तपाईं जति नै शिक्षित, आर्थिक रूपमा सशक्त, आत्मनिर्भर हुनुहोस्, महिलाका यी सम्पूर्ण कुराको कुनै इज्जत र गणना हुँदो रहेनछ जबसम्म तपाईं महिला रहनुहुन्छ,’ गुञ्जना भन्छिन्, ‘यो डाक्टर, वकिल, इञ्जिनियर, पत्रकार, शिक्षिका भनेर होइन महिला भनेर आरोप लगाइने रहेछ । महिलाका अगाडि उसका हरेक पद, प्रतिष्ठा, पेसा र व्यवसाय नै गौण हुने रहेछन् ।’ आफूलाई शिक्षित, आर्थिक आत्मनिर्भर र सक्षमताका आधारमा प्रमाणित गर्दै अगाडि बढ्ने हो भने श्रीमान्को समेत साथ मिल्ने उनको भनाइ छ । ‘त्यसैले हरेक छोरी मान्छे शिक्षित, सक्षम र आर्थिक रूपमा आत्मनिर्भर हुनु जरुरी छ । उनीहरूले जीवनमा जस्तोसुकै परिस्थिति आइपरे पनि पार गर्न सक्छन्,’ उनी भन्छिन् ।

 Image