Successfully Copied

बुनेर आत्मनिर्भर बनेकी निकिता

उनले स्वेटर, कार्डिगन, क्रप टप, इयर मफ, टोपी, बुके आदि बुन्छिन् । उनले बुनेका सामग्री १५ देखि २५ वर्ष उमेर समूहकाले बढी रुचाउँछन् । कतिपय आमाहरूले आफ्ना छोरीहरूका लागि पनि उपहारस्वरूप किनिदिन्छन् ।


झापा काँकडभिट्टाकी निकिता गजमेरले १२ वर्षकै उमेरमा बुन्न सिकेकी थिइन् । मामाघरकी हजुरआमाले बुन्ने हुँदा उनले पनि सानै उमेरमा कुरुस र काँटा कसरी चलाउने भन्ने कुरा सिकिन् । सिकेको कुरालाई उनले लकडाउनमाव्यवहारमा उतारिन् । निकिता भन्छिन्, ‘लकडाउनमा घरभित्रै बस्नुपर्ने बाध्यता थियो । मैले समय कटाउन बुन्न थालें । त्यतिबेला सामाजिक सञ्जालमा सबै सक्रिय थिए । अरुले पनि बुनेका सामग्रीहरू हालेको देखेपछि मैले पनि जानेको कुरा गरें ।’


यसरी बुनेका सामग्रीहरू उनले फेसबुकको स्टोरीमा हाल्न थालिन् । साथीहरूले मन पराएर उनीहरूले नै अर्डर गर्न थाले । त्यसपछि उनले साथीको सहयोगमा इन्स्टाग्राममा ‘क्राफ्टीहेन्ड’ नामको पेज चलाउन थालिन् । ‘त्यसबेला राम्रो फोन थिएन । प्रिन्टेस्टबाट फोटो तानेर हाल्थें ।’ उनी भन्छिन्, ‘अहिले पेज चलाउनराम्रो फोन किनेकी छु ।’


सुरुमा उनले क्रप टप बुनेकी थिइन् जुन ६ सय रुपैयाँमा बिक्री भएको थियो । राम्रै नाफा भएपछि उनलाई थप प्रोत्साहन मिल्यो । उनी सुनाउँछिन्, ‘सुरुमा त साथीहरूले नै अर्डर गरे ।’ उनीहरूले आफ्ना चिनजान भएकालाई भन्न थाले र कलेजमा पनि थाहा हुन थाल्यो । विस्तारै एक–एक गरी अर्डर आउन थाल्यो । सोचेको भन्दा राम्रो भएपछि यो व्यवसायलाई नै निरन्तरता दिएको उनी बताउँछिन् ।

उनले स्वेटर, कार्डिगन, क्रप टप, इयर मफ, टोपी, बुके आदि बुन्छिन् । उनले बुनेका सामग्री १५ देखि २५ वर्ष उमेर समूहकाले बढी रुचाउँछन् । कतिपय आमाहरूले आफ्ना छोरीहरूका लागि पनि उपहारस्वरूप किनिदिन्छन् । उनले बुनेका सामग्री नेपालभरिका ग्राहकहरूले अर्डर गर्छन् । उनले बुन्न थालेदेखि घरमा साना कुराको लागि खर्च व्यहोर्नुपरेको छैन । उनी भन्छिन्, ‘यसैबाट आफ्नो खर्च जुटाउने गरेकी छु । सुरुमा अभिभावकले पढाइ बिग्रन्छ भनेर सहयोग नगरे पनि अहिले गर्नुहुन्छ । कलेजका शिक्षकहरूले पनि सहयोग गर्नुभएको छ ।’


स्नातक तेस्रो वर्षमा अध्ययनरत निकिता बिहान सबैरै कलेज जान्छिन् । बाँकी रहेको समयमा बुन्छिन् । अर्डर धेरै हुँदा राति अबेरसम्म पनि बुन्छिन् । उनी भन्छिन्, ‘कहिलेकाहीँत राति २–३ बजेसम्म पनि बुन्छु ।‘मलाई बुन्न एकदमै मनपर्छ । त्यसैले म बुनेर कहिल्यै थाक्दिन ।’ 

 Image