सीमा तामाङ
उनी बच्चैदेखि खाना पकाउन सौखिन थिए । बुवाबाट मम, चाउमिनलगायत स्ट्रिट फुड पकाउन सिके भने आमा, हजुरआमा र फुपूबाट रैथाने वा किराँती खाना पकाउने सीपको विकास गरे । ‘स्कुल पढ्ने बेलामा साथीहरू मिलेर पैसा जम्मा गर्थ्यौं, घरमै ल्याएर पकाएर खान्थ्यौं,’ उनले भने, ‘साथीहरूले मीठो छ भनेपछि फुर्किन्थें । बच्चैदेखि कुकिङ च्यानल धेरै हेर्थें ।’
उनी अर्थात् अजुईहाङ राई नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ का विजेता हुन् ।
एकेडेमी अफ कुलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (एसीई) मा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ मा स्नातक गरिरहेका अजुईहाङले सुरुको प्रशिक्षण भारत बैंग्लोरको एक होटलमा गरे । त्यसपछि ०७५ पुसमा पढाइकै क्रममा दुबईको बुर्ज खालिफा नजिकइमार होटलमाएक वर्षको अनुभव लिए । काम राम्रो गरेकाले उनले सोही होटलमा जागिर पनि पाए । केही समय नेपाल बसेर फर्कन्छु भन्दै उनी घर आए र पाँच महिनापछि फर्केर सोही होटलमाकाम गर्न थाले । तर विश्वभर कोभिड महामारी फैलिएकाले काम सुरु गरेको १० दिनमै होटल बन्द भयो । ‘१० दिनको मात्रै तलब पाइयो,’ उनले भने, ‘कोभिडका कारण एकातिर जागिर खोसियो, अर्कोतिर नेपाल फर्कन सकिएन ।’ ४ महिना बिनाकाम बस्नुपर्दा नै आफैले केहीगर्नुपर्छ भन्ने उनले सोच बनाइसकेका थिए । दुबईमा होटलको आफ्नै ‘फुड ट्रक’ भएकाले त्यसको पनि उनलाई अनुभव थियो ।
नेपाल फर्केपछि बोजुको उपचारकै सिलसिलामा डेढ वर्ष उनी व्यस्त भए । पछि बोजुले आशीर्वादस्वरूप १० हजार रुपैयाँले उनले आँगनमा प्लास्टिकको टेबल राखेर बर्गर, कर्नडग, मिन्ट लेमोनेड, मोजितोहरू बनाएर बेच्न थाले । ‘काठमाडौंमा बर्गर, कर्नडगजस्ता सामान्य भएपनि उदयपुरका लागि नौलो परिकार थियो, त्यसैले सबैले रुचाए,’ उनले भने, ‘व्यवसाय राम्रै चल्न थाल्यो ।’
यसरी हुँदैन भनेर उनले ‘फुड ट्रक’ नै बनाएर अघि बढ्ने निधो गरे । दुबईमा हुँदा नै‘फुडट्रक’को स्केच र आवश्यक सामग्रीबारे इस्टिमेट गरेका थिए ।आवश्यक चक्का, टायर रिम, फलामजुटाउन थाले । ‘फुडट्रक’ बनाउन मात्रै ८ लाख खर्चिएको उनको भनाइ छ । यसरी ०७८ मा उनको फुडट्रक व्यवसाय सुरु गरे । ‘त्यो दिन राम्रो व्यापार भयो,भोलिपल्ट जोसका साथ धेरै सामान बनाएर लग्यौं तर बिक्री भएन,’ उनले निराशा पोखे, ‘त्यसपछि, ट्रयाक्टरमा फुड ट्रक राखेर गाईघाट बजार पुर्यायौं । कहिले नदेखेको र नौलो परिकार देखेपछि त्यहाँ भने राम्रै बिक्री भयो ।’त्यसपछि गाईघाटमै एउटा सहकारी भवनको आँगनमा राखेर चलाउन थाले । तर, फुटपाथमा सामान बेच्न नपाइने पालिकाको उर्दीपछि उनले फुडट्रकलाई फेरि घरै लगेर राखे ।
घरमै राखेर जसोतसो चलिरहेका बेला फुपूको छोरा आशिषले सेफ नेपाल हुँदैछ भन्ने लिंक पठाएपछि उनको यात्रा मोडियो । ‘पहिलेदेखि मास्टर सेफ हेर्ने गर्थें, तर नेपालमा थिएन,’ उनले भने, ‘नेपालमै हुने र मास्टर सेफ विजेता सन्तोष शाह जज हुने भएपछि सेफ नेपालमा जाने सोच बनाए । तर गएर के बनाउने भन्ने भयो ।’सुरुमा आफूले खाना बनाएर भिडियो पठाउनुपर्ने थियो । पातलो ढुंगामा आगो बालेर ‘बार्बीक्यु’ जस्तै पोर्क डामेर पकाइएको भिडियो पठाइदिए । छनोट भइसकेपछि उनलाई काठमाडौं बोलाइयो ।
किराँत धर्म/संस्कृति मान्दै आएकाले खानामार्फत किराँती खानपान र संस्कृतिलाई नै जोड दिने उनले निधो गरे । र, सेफ नेपालको प्रतियोगितामा वाचिपा, तीतेजस्ता खानाका परिकार बनाए । ‘सेफ सन्तोषले यस्तो राम्रो खाना गाईघाटमा किन बेचिरहेको, काठमाडौंमा आएर बेच्नुस् भन्नुभयो, त्यसपछि त मेरो आत्मविश्वासको सीमा नै रहेन,’ उनले सुनाए ।
‘टिम्मुर’ भन्ने पुस्तकदेखि सबैतिर किराँती खानाबारे थप अध्ययन–अनुसन्धान गर्न थाले । सेफ नेपालमा उनले किराँती मात्र नभई उदयपुरका तामाङ तथा मगरले बनाउने सिमल तरुलको वाइनदेखि दनुवार जातिले बनाउने अन्डी चामल छ्याङसम्मलाई खानासँग मिलाएर पस्के ।
सेफ नेपालको दौरान झन्डै एक वर्ष अजुईहाङले फुड ट्रक बन्द गर्नुपर्यो । उनी भन्छन्, ‘एउटा चिज पाउन धेरै चिज गुमाएको छु । पहिलेका ग्राहकहरू पनि हराए,’ उनले भने, ‘सेफ नेपालको फाइनल हुने टुङ्गो नभएपछि उदयपुर गएर फेरि खोलें ।’ अहिले फुडट्रक गाईघाट नजिकैको एउटा विद्यालय छेउमा उनकी श्रीमतीले चलाइरहेकी छन् । त्यसैबेला उनले गाईघाट बजारमा भएका बैंकहरूलाई लक्षित गरेर ममः मात्र बेच्न थालेका थिए । ‘सेफ नेपालको फाइनल हुनेभएपछि त्यसलाई बन्द गरेर काठमाडौं आएँ, अहिले यसमै समय दिइरहेको छु,’ उनले भने ।
सेफ नेपालको विजेता भइसकेपछि नेपालभन्दा बाहिर रेस्टुरेन्ट खोलेर बसिरहेकाहरूले आइडिया ल्याउनु हामी लगानी गर्छौं भनेर फोन गरिरहेको उनी सुनाउँछन् । प्रतिस्पर्धाको दौरान सबै खाले किराँती खाना बनाइसकेकाले किराँती खानामा प्रयोग हुने इन्ग्रिडेन्ट्स प्रयोग गरेर सफलता पाएको उनको भनाइ छ ।
काठमाडौंमा थकाली खाना र नेवारी खानाका लागि रेस्टुरेन्टखुलिसकेका छन् । ‘सेफ सन्तोषले मिथिला थाली खोल्नुभएको छ, म चाहिँ भविष्यमा काठमाडौंमै किराँतीखानाका लागि रेस्टुरेन्ट खोल्ने योजनामा छु,’ उनी भन्छन्, ‘साथै फुडट्रकलाई नेपालको मुख्य सबै सहरमा पुर्याउने इच्छा पनि छ ।’
होटल म्यानेजमेन्टमा स्नातक गरे पनि उनी नेपाल फर्किएलान् भन्ने परिवारले सोचेको थिएन । तर उनलाई नेपालमै केही काम गर्ने मन थियो । ‘बुवाले समयअनुकूल छैन, व्यवसाय डुबिरहेका छन् भन्दै केही समय विदेशमा गर् अनि मात्र नेपाल आइज भन्नुहुन्थ्यो,’ उनले भने, ‘दुबईमा बस्दा धेरै सोच्थें । मरिन्छ कि बाँचिन्छ थाहा थिएन । त्यतिबेला नेपालमै बस्छु/गर्छु भन्ने लागिसकेको थियो ।’ आफ्नो समुदायसहित विभिन्न संस्कृतिलाई खानाको माध्यमबाटपनि प्रतिबिम्बित गर्न सकिने भएपछि झन् धेरै लगाव बढ्न थालेको उनले सुनाए ।