Successfully Copied

भूकम्पप्रतिरोधी आवास निर्माणमा दिदीबहिनी

तीन दिदीबहिनीको एउटै भनाइ छ, ‘बजारमा महिलाले प्राविधिक काम गर्न सक्छन् भन्ने मानसिकता विकास गर्न धेरै गाह्रो रहेछ, यो स्थापित गर्न सकियो भने नेपाली परिवार सुरक्षित घरमा बस्न पाउँछन् ।’



कम्प्युटर विज्ञानमा स्नातकोत्तर पूरा गरेपछि बुटवलकी ४६ वर्षीया सृष्टि गुरुङका सामु धेरै अवसर सिर्जना भए । सुरुवात भने उनले युरोपियन युनियनको एउटा परियोजनामार्फत गरिन् । परियोजनाअन्तर्गत उनले ५ वर्ष प्रोजेक्ट म्यानेजरका रूपमा काम गरिन् । त्यसपछिको यात्रा जिआइजेड नेपालसम्म पुग्यो । जिआइजेडमा पनि ५ वर्षसम्म वरिष्ठ सूचना प्रविधि सल्लाहकार बनिन् । सूचना प्रविधि (आईटी) अन्तर्गत नेपालमा डिजास्टर रिकभरी सेन्टरमा काम गर्ने उनी पहिलो महिला हुन् ।
सन् २०१२ मा उनले जन्मस्थल बुटवल फर्किने निर्णय गरिन् । त्यसको कारण आफ्नै बुवालाई सञ्चालनमा सघाउनु थियो । बुटवल आएपछि बुवा राजेन्द्रसिंह गुरुङले संचालन गरिरहेको इन्टरटेक प्रालिमा टेक्निकल डाइरेक्टरका रूपमा काम सुरु गरिन् । तर, यस अवधिमा उनको अध्ययन यात्रा रोकियो । सृष्टिले पुनः अध्ययनलाई अगाडि बढाइन् र सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरिन् । त्यसपछि ६ वर्षसम्म आफ्ना बुवाको उद्योगमा स्टिल फेब्रिकेन्ट्स काम हेरेपछि उनमा आफूले पनि केही गर्नुपर्ने सोच पलायो ।
परिवारमा सृष्टि एक्ली थिइनन् । उनका थप दुई बहिनी छन् । सृष्टिमा नयाँ सोच पलाएका बेला माइली बहिनी सोनालीले पनि व्यवस्थापन संकाय अध्ययन पूरा गरिसकेकी थिइन् । एमबीए पूरा गरेपछि सोनालीले अन्तर्राष्ट्रिय सेयर मार्केटमा १ वर्ष काम गरिन् । सोनालीले माइती नेपालअन्तर्गत १ हजार ५ सय बेचबिखनमा परेका महिलाको जीवन धान्ने उपाय बारेको उपलब्धिमूलक प्रोजेक्टमा म्यानेजरका रूपमा काम गरेर अनुभव बटुलिसकेकी थिइन् । यतिमात्र होइन, सोनालीले ओमान पुगेर मल्टिनेसनल अस्पतालमा काम गरी अनुभव सँगालिन् । रोजगारमा उनको मन टिकेन । उनी पनि सन् २०१४ तिर बुवाकै उद्योगबाट अनुभव बटुलेर नयाँ काम गर्नुपर्छ भन्ने लागेर बुटवल फर्किइन् ।
सबै दिदिबहिनीको अनुभव र सोच मिलेपछि उनीहरूले आईटी स्टिल स्ट्रक्चर सोलुसन्स प्राइभेट लिमिटेड स्थापना गरे । रूपन्देहीको कञ्चन गाउँपालिका–१, बाँसगढीमा रहेको उद्योगमा उत्पादित स्टिलको प्रयोगबाट अहिले लाइट गेज स्टिल फ्रेमिङ प्रविधिमार्फत भूकम्प प्रतिरोधात्मक भवन निर्माण भइरहेका छन् । सृष्टि उद्योगको प्राविधिक पाटो हेर्छिन् भने सोनाली व्यवस्थापकीय जिम्मेवारीमा छिन् । परिवारकी कान्छी छोरी शिल्पी पेसाले दन्त चिकित्सक हुन् । डेन्टिस्ट भए पनि उनले दिदीहरूसँगै मिलेर आफ्नो व्यवसाय गर्ने उद्देश्यले मानव संसाधन (ह्युमन रिसोर्स) व्यवस्थापकको जिम्मेवारी सम्हालेकी छन् ।
यी ३ दिदीबहिनीले ५ करोड रुपैयाँ लगानी गरेर संचालन गरेको उद्योगबाट निर्मित सामग्रीबाट बुटवलको सिद्धार्थ केबलकार क्षेत्रभित्र भवन निर्माण गरिएका छन् । ‘सन् २०२० बाट निर्माण सुरु भएर अहिले सञ्चालनमा आएको केबलकार क्षेत्रमा त्यहाँका व्यवस्थापकीय भवन, हल, अन्य साना भवन बनाएका छौं,’ सृष्टिले भनिन्, ‘उक्त क्षेत्रमा थप संरचना बनाउनेछौं ।’ यसबाहेक आफूहरूले हालसम्म काठमाडौंमा २ वटा विद्यालयमा, बुटवलमा ७ वटा व्यावसायिक भवन, २ वटा आवासीय भवन बनाएको बताइन् ।
उनीहरूले सुरक्षित, वातावरणमैत्री र भूकम्पप्रतिरोधी घर निर्माणलाई मुख्य उद्देश्य बनाएका छन् । भारतको टाटा ब्लुस्कोप स्टिलको पार्टनरका रूपमा काम गरिरहेका उनीहरूले आफूहरूले निर्माण गर्ने संरचना भूकम्प प्रतिरोधीसँगै आगो प्रतिरोधी, अब्बल इन्सुलेसन भएको र दिगो हुने बताए । ‘टाटा ब्लु स्कोपबाट हामीले आयात गर्ने जिन्क आल्मुनियम कोटेड कोइल हो,’ सोनालीले भनिन्, ‘हाम्रा लागि उक्त कोइल कच्चा पदार्थका रूपमा आयात हुन्छ । यस कोइललाई सी सेक्सन र ह्याट सेक्सन भएको मेसिनमा राखेपछि त्यहाँबाट निस्कने दुईवटा आकारका फेब्रिकेन्टसलाई जोडेर पूर्वाधार बन्छ ।’


सि–सेक्सनबाट निकालिएको फेब्रिकेन्टले भित्ता तयार गरिन्छ । भने ह्याट सेक्सनबाट निस्किएको फेब्रिकेन्टबाट फ्लोर ट्रस र रुफ ट्रस निर्माण गर्ने गरिएको छ । भवनको अन्तिम रूप दिनका लागि यसको बाहिरबाट ग्राहकको चाहनाअनुसार डिजाइनेबल बोर्ड प्रयोग गर्ने गरिएको छ । उनीहरूले निर्माण गर्ने भवन लागत मूल्य २८ लाखबाट सुरु हुन्छ । ‘ढलानयुक्त घरको तुलनामा १० प्रतिशत जति बजेट कम पर्छ,’ सृष्टि भन्छिन्, ‘हामीलाई कोइल आयातमा पूर्ण वस्तुको करस्वरूप ३० प्रतिशत करको दर तोकिदिँदा समस्या भएको छ ।’ उनीहरूले अनुत्पादित सामग्रीका रूपमा ल्याइरहेको कोइलको कररेट घटाइदिने हो भने चाहना भएका मानिसले ढलान घरसँगको पैसाको तुलनामा यहीँ घर रोज्ने गुरुङको भनाइ छ ।
भूकम्प गइरहने हाम्रो देशमा भूकम्पप्रतिरोधी घर बनाउन सुझाउनुपर्नेमा हामीले गर्छौं भनेर लाग्दा समेत सरकारले खासै चासो नदिएकाले चुनौती मात्र देखिएको सेनालीले बताइन् । आफू पटक–पटक यस कामका लागि मन्त्रालयदेखि सरोकारवालाको ढोकासम्म पुगिरहे पनि प्रोत्साहनको साटो चासोसमेत नदिएर फिर्ता हुनुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘सरकारले लगाउने करको दायरा कम हुने हो भने यस प्रविधिबाट धेरै घर बनिसक्थे,’ सृष्टिले भनिन्, ‘महिलाले गरेका छन्, विचार हुन्छ भनेर पनि सरकारले सोच्दैन ।’ प्रयासलाई सफलतामा बदल्न लामो समय लाग्ने देखिएकाले आफूहरूले धैर्यपूर्वक कामलाई निरन्तरता दिइरहेको उनले बताइन् ।
आफ्नै देशमा ३० जना बढी कामदारलाई रोजगार दिएर अघि बढिरहेका आफूहरूले सरकारका कर्मचारी वा पदमा रहेका व्यक्तिले एकपटक उद्योग घुमेर उत्पादनका बारेमा बुझ्न समेत नखोज्ने दुखेसो गरिन् । ‘हामीले महिला कामदार मात्र राखेर काम गर्न खोजेका हौं, उनीहरूका लागि स्तनपान कक्ष, बच्चा सुताउने कक्षसमेत बनाएका छौं, तर महिला कामदार आफै टिकेर काम गर्ने अवस्था छैन,’ सृष्टिले भनिन्, ‘हाम्रोमा काम गर्ने पुरुष पनि हुनुहुन्छ । उहाँहरूलाई मुलुकमै रोक्न सकेका छौं ।’ पहिले खाडी मुलुकमा लाइट गेज प्रविधिकै काम गरेका यसै क्षेत्र र जिल्ला बाहिरका भाइहरूले विज्ञापन हेरेपछि आफ्नो उद्योगमा आएको सोनालीले बताइन् । मुलुकमै रोजगार सिर्जना भएकाले आफूहरूको जीवनको महत्वपूर्ण पाटो साबित भएको गुरुङ दिदिबीहनीले बताए ।
उनीहरूले उद्योगमा विश्वकै नम्बर वान ब्रान्ड मानिने जिन्क क्यालम आर ब्रान्डको प्रयोग गरेका छन् । यसको फाइदा नै यसबाट बनेको संरचना टिकाउको ग्यारेन्टी हुन्छ । भवन बिक्री गर्न मन लागे यसको रिसेल भ्यालु पनि बढ्दै जाने भन्दै सोनालीले फलामको दर जहिले पनि बढ्ने भएकाले ग्राहकले चिन्ता लिनुपर्ने विषय नरहने बताइन् । हेभी संरचना बनाउँदा लामो समय खर्चिनुपर्ने भएपनि ३ तल्लाको भवन बनाउँदा ३ महिनामै सकिने भएकाले यसले समयको बचत गर्ने भएकाले बजेट समेत बच्ने उनी बताउँछिन् । यो प्रविधिको भवन वातावरणमैत्री हुने भएकाले त्यो पनि फाइदाजनक रहने उनले बताइन् ।
बुटवल–९, का स्थायी बासिन्दा राजेन्द्र सिंह र राधिका देवी घले दम्पती अहिले छोरीहरूको कामप्रतिको दृढता देख्दा छक्क पर्छन् । दिदीबहिनीलाई यस काममा अघि बढ्न उनीहरूका श्रीमान्को समेत राम्रो साथ छ ।
तर तीन दिदीबहिनीको एउटै भनाइ छ, ‘बजारमा महिलाले प्राविधिक काम गर्न सक्छन् भन्ने मानसिकता विकास गर्न धेरै गाह्रो रहेछ, यो स्थापित गर्न सकियो भने नेपाली परिवार सुरक्षित घरमा बस्न पाउँछन् ।’

 Image