Successfully Copied

मनसुनमा कपडाको हेरचाह

वर्षामा पानीको आनन्द एकातिर छ भने त्यही पानीमा रुझेर कपडा खराब हुने समस्या पनि उत्तिकै हुन्छ ।

वर्षामा पानीको आनन्द एकातिर छ भने त्यही पानीमा रुझेर कपडा खराब हुने समस्या पनि उत्तिकै हुन्छ । त्यसैले वर्षामा समझदारीपूर्वक उपयुक्त पहिरन छनोट गर्नु पर्छ । यो मौसममा सहजै रंग जाने कपडा लगाउनु हुँदैन । फ्लोरल प्रिन्टका टिसर्ट, केप्री, स्किनी जिन्स आदि वर्षाका लागि उपयुक्त हुन्छन् । सिल्क र कटनको साटो पोलिस्टर, टेरिकटन तथा नाइलनका कपडा लगाउन सकिन्छ । यी कपडा खुम्चदैनन् र सुकेपछि तुरुन्तै जस्ताको तस्तै हुन्छन् ।

वर्षा मौसममा सेतो कपडा लगाउनु हुँदैन । यो मौसममा उज्यालो रंग ठीक हुन्छ । ग्रीन, पिंक, ब्लु तथा ओरेन्ज बढी प्रभावकारी हुन्छन् । भारी खालको सलवार–कमिज, दुपट्टा, कटनको साडी आदि पनि लगाउनु हुँदैन । पहिरनका साथै पर्स, बेल्ट, स्यान्डल आदि वाटर प्रुफ हुनुपर्छ । यो मौसममा सबैभन्दा बढी ध्यान खुट्टा एवं जुत्तामा दिनुपर्छ । भिजेका जुत्ता–चप्पल अफिस एवं घर पुग्नेबित्तिकै फेर्नुपर्छ । अफिसमा पनि जुत्ता–चप्पलको विकल्प राख्नुपर्छ । दैनिक मनतातो पानीले खुट्टा धुने क्रममा साबुन पनि प्रयोग गर्नुपर्छ । ५ मिनेट मसाज गर्नु उपयुक्त हुन्छ । खुट्टा वा जुत्तामा चिसो रह्यो भने फंगल इन्फेक्सन आदि हुनसक्छ ।

- कपडामा हिलो–मैलो लाग्नु यो मौसमको स्वाभाविक समस्या हो । वर्षामा भिजेका पहिरन धोएर सुकाउन गाह्रो हुन्छ । यतिबेला कपडा ठीक ढंगबाट राखिएन भने बिग्रन्छन् ।

- वर्षामा बाहिर जाँदा रेनकोट लगाउने बानी बसाल्नुपर्छ । साथमा हातमा छाता पनि   राख्नुपर्छ । यसो गर्दा कपडा भिज्दैन र दाग पनि लाग्दैन ।

- वातावरणमा ओस रहने भएकाले कपडा सुक्न समय लाग्छ । त्यसैले यिनलाई ड्रायरले सुकाउनुपर्छ । भिजेको कपडा लगाउँदा छालासम्बन्धी रोग, निमोनिया, ज्वरो, रुघा आदि समस्या उत्पन्न हुनसक्छ ।

- रंग छुट्ने कपडा होइन भने हिलोको दागमा आलु काटेर रगड्न सकिन्छ । ५ मिनेटपछि कपडालाई चिसो पानीमा आधा घन्टासम्म राख्नुपर्छ अनि त्यसपछि धुनुपर्छ ।

- दाग–मैलो निकाल्न नुन प्रयोग गर्न सकिन्छ । हिलो परेको ठाउँमा नुन हालेर रगड्दा लाभ हुन्छ । थोरै भिनेगर हालेर एक बाल्टिन पानीमा कपडा भिजाउँदा पनि दाग जान्छ ।

- हिलो लागेको कपडालाई पहिले पानीमा डुबाएर राख्नुपर्छ । त्यसपछि सानो ब्रसले रगडे दाग सजिलै हट्छ ।

- वर्षा वा हिलोको दाग हटाउन सेविङ क्रिम पनि प्रयोग गर्न सकिन्छ ।

- पुरानो दाग हटाउन अमेनिया वास आवश्यक हुन्छ । एक कप तातोपानीमा दुई चम्चा अमोनिया हालेर दाग भएको ठाउँमा प्रयोग गर्दा लाभ हुन्छ ।

- यो मौसममा कहिलेकाहीँ सुख्खा कपडाबाट पनि दुर्गन्ध आउँछ । यसका लागि कपूरको पाउडर दराजमा राख्नुपर्छ । त्यसपछि त्यसमाथि कागज ओछ्याएर कपडा राख्न सकिन्छ ।

- भिजेको कपडा घर पुग्नेबित्तिकै फेर्नुपर्छ । भिजेका कपडालाई बाल्टिनको पानीमा डुबाएर राख्नुपर्छ अन्यथा कपडामा कालो दाग बस्नसक्छ ।

 

 Image