Successfully Copied

‘प्याजेन्टले महिलामा आत्मविश्वास बढाउँछ’

वर्षा कुँवर यस वर्षकी मिसेस ब्युटी क्विन नेपाल हुन् । १३ जना प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी कुँवर यो उपाधि जितेपछि लेट मि इन (कोरियन), यस वाई कस्मेटिक्स र हाल्फ हेभेन कोलोनीको विज्ञापनमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाएको बताउँछिन् ।

ब्युटी प्याजेन्टले महिलाको क्षमता अझै निखार्ने उनको बुझाइ छ । ‘यस्ता प्याजेन्टले महिलाको भित्री क्षमता पहिचान गरी अझै आत्मविश्वास बढाउने अनुभव गरें । यो भनेको आफ्नो दक्षता प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान बनाउने थलो हो । तसर्थ यसलाई सकारात्मक रूपमा लिँदै आफ्ना छोरी–बुहारीलाई प्रेरित गर्नुपर्छ,’ उनले भनिन् ।
नवलपरासीमा जन्मिएकी वर्षा एक सफल व्यवसायी पनि हुन् । एक छोरीकी आमा उनले रियल स्टेट, पेट्रोल पम्प, सलुन व्यवसाय सम्हाल्दै आएकी छिन् । मिस नेपालमा भाग लिने अधूरो सपना पूरा गर्न मिसेस ब्युटी क्विन नेपालमा भाग लिएको उनको भनाइ छ । फेसबुकमा यसको विज्ञापन देखेपछि त्यतातर्फ आकर्षित भएको र सुरुका १५ दिनसम्म आफू यो प्रतिस्पर्धामा जाने निर्क्यौल भइनसकेको उनले सुनाइन् ।
‘सुरुमा मन लागेन भने बीचैमा छोडिदिन्छु भनेर फर्म भरेकी थिएँ । पछि त्यहाँका सर–म्याडमहरूले उत्प्रेरित गर्नुभयो । मलाई सहभागी मात्रै होइन विजेता नै बन्नु थियो,’ उनी भन्छिन्, ‘तालिम अवधिमा हामीलाई सोधिन्थ्यो, तपाईं कसलाई क्विन देख्नुहुन्छ भनेर । मेरो उत्तर सधैं म क्विन हुँ भन्ने हुन्थ्यो । यही आत्मविश्वासले उहाँहरूले मलाई प्रतिस्पर्धा छोड्न दिनुभएन । मैले धेरै मेहनत गरें फलस्वरूप सफलता हात पारें ।’
उनी हरेक नेपाली नारीलाई घरबाट निस्किएर केही न केही काम गरी आफ्नो स्वपहिचान बनाउन सुझाउँछिन् । ‘मेरो पनि महिलाकै लागि सामाजिक काम गर्ने योजना छ । म हरेक महिलालाई आत्मनिर्भर बनी आफ्नो पहिचान आफैं बनाउन आग्रह गर्छु,’ उनले भनिन् ।

पहिरनः रुबी राना शाह, रुबिज कलेक्सन, सागर मगर, एसएम कर्टर
मेकअपः दिनेश राई, मेकअप बाई दिनेश राई पुरानो बानेश्वर
गहनाः सविना रावत, २१ फर्चुनेट ज्वेल्स
लोकेसनः एलिस रिसेप्सन गैरीधारा
तस्बिरहरूः महेशमान प्रधान

 Image