मैत्रीपुर्ण व्यवहार, बहुआयमिक व्यवसाय, आबद्धता, धेर्यताको कारण सफल उद्यमीको रुप्मा परिचय बनाएकी छिन्, कल्पना श्रेष्ठले । उनी हेटौंडाबाट काठमाडौं आउँदा उनीसँग सपनाबाहेक केही थिएन । तर, के गर्ने ? कुनै मेलोमेसो पाइरहेकी थिइनन् । काठमाडौं उनका लागि नयाँ थियो । कलेजको पढाइ सकेर विभिन्न बैंकमा रोजगारीकालागि आवेदन दिन थालिन् । तर कुनै पनि बैंकमा उनले अवसर पाइनन् । यत्तिकैमा उनको बैंकर्स बन्ने सपना अधूरो रह्यो । भनिन्छ, कहिलेकाहीँ असफलताले पनि जीवनलाई सही दिशातर्फ मोडिदिन्छ । उनको हकमा त्यस्तै भयो ।
जागिर नपाएको अवस्थामा उनी हतास भइनन् । बरु आफूलाई थप बलियो बनाइन् र केही फरक गर्ने अठोट लिइन् । तर के गर्ने, कहाँबाट सुरु गर्ने पत्तो थिएन ।
भर्खरै विवाह भएको थियो । उनीसँग केही गरगहना थिए । उनले भएभरका गहना बिक्री गरिन् । दुई लाख रुपैयाँ जम्मा भयो । त्यही पैसाले ‘प्लेटेड गहना’को शोरुम खोलिन् र आफैं गहनाको डिजाइन गर्न थालिन् ।
तर, मन ढुक्क थिएन । व्यापार आफैंमा खेल हो । ‘सेफ जोन’बाट बाहिर निस्केर व्यापार गर्दा नाफा–घाटासँग डराउनु भएन । तर, उनको मन यसकारण डराएको थियो कि, जुन पुँजी उनले लगानी गरेकी थिइन् त्यो माइतीको उपहार थियो । माइतीले दिएको गरगहना केवल वस्तु मात्र थिएन, त्यो उनको आत्मीयतासँग जोडिएको थियो ।
यसमा उनको डर हटाइदिए, श्रीमानले। आफ्नो श्रीमान्ले दह्रो साथ दिएपछि उनको आत्मविश्वास बढ्यो । अन्ततः उनी निर्धक्कसाथ आफ्नो व्यवसाय अगाडि बढाउन थालिन् ।
यो २० वर्षअघिको कुरा हो । दृढता, निरन्तरता र अटुट श्रमको प्रतिफलका कारण आज उनले व्यावसायिक सफलता हासिल गरिसकेकी छिन् । चाबहिलमा उनका दुई वटा शोरुम छन् । गहना तयार गर्ने आफ्नै कारखाना छ, जहाँ प्लेटेड रपञ्चधातुका गहना डिजाइन गरिन्छ । गहना बनाउनका लागि छ जनाले पूर्णकालीन रोजगार पाएका छन् ।
उनलाई लाग्छ प्लेटेड गहनाको व्यवसाय सुरु गर्ने त्यो उपयुक्त समय थियो । किनभने त्यसबेला भर्खरै मात्र प्लेटेड गहनाको ट्रेन्ड सुरु भएको थियो । ‘तैपनि यस्तो गहनाले बजार लिइसकेको थिएन’ उनी भन्छिन्, ‘ग्राहकलाई यसबारे बुझाउन वा विश्वस्त बनाउनै कठिन हुन्थ्यो ।’ यस्तो पृष्ठभूमिमा कसरी उपभोक्तालाई बुझाउने भन्ने कुरा चुनौतीपूर्ण थियो ।
त्यसबेला एजेन्टबाट कच्चा सामग्री मगाएर उनी आफंै गहना डिजाइन गर्थिन् । त्यसअघि भारतबाट तयारी गरहना ल्याएर बेचिन्थ्यो । ‘नेपाली गरगहना पाइँदैन र ? भन्ने प्रश्न उठ्न थालेपछि पछि हामीले का“डे चुरा, तिलहरी, नौगेडी बनाउन थाल्यौं’ उनी थप्छिन्, ‘लगत्तै नेवारी गरगहनाको पनि माग बढ्न थालेपछि हामीले नेवारी गहना बनाउन थाल्यौं ।’ नेवारी गहना न्यापुसी, टिकमाला न्यापुसी ङ, टायहरूको माग बढ्न थाल्यो ।
नेवारी गहना बिक्री भएपछि उनलाई लाग्यो, हाम्रो देश त विभिन्न जातजातिको साझा थलो हो । हरेकको आफ्नै संस्कार–संस्कृति छ, भेशभूषा छ, आभूषण छ । ‘अब अरु जातजातिका परम्परागत गहना पनि किन नबनाउने भन्ने सोंच आयो’ उनी सुनाउँछिन्, ‘सोहीअनुसार हामीले परम्परागत गहनाको डिजाइन सुरु गर्यौं ।’
राई, गुरुङ, तामाङ, नेवार, थारू आदिले लगाउने गरगहना बनाउन थालेपछि त्यसको माग पनि बढ्न थाल्यो । खासगरी यी जातजातिको पर्व, उत्सव जस्तै ल्होसार, उधौली–उभौली, छठ आदिमा यस्ता गहना बढी बिक्री हुन्थे । कतिपय गरगहना त लोप हुने स्थितिमा थिए । त्यस्ता गरगहना पुनः बजारमा देख्न थालेपछि ग्राहकहरू उत्साहित हुने नै भए । ग्राहकको त्यही उत्साहले उनमा थप ऊर्जा थपिरह्यो ।
संयोगले रोजेको उद्यम व्यवसाय थियो यो । तर, अहिले उनलाई यो व्यवसायले आफ्ना लागि सही समयमा गरिएको सही निर्णय हो भन्ने लाग्छ । साथै आफ्नो काम रचनात्मक र सार्थक पनि लाग्छ ।