Successfully Copied

सफ्टवेयर र एपहरू नेपाली भाषामै भए महिलाहरूलाई सहज हुन्छ : सुनैना घिमिरे पाण्डे

जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् ।

जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल' मा उनले नेपाली बजारमा उत्पादन बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोग कम हुने गरेको बताएकी हुन् । प्रविधिगत अप्ठेरा र भाषाको कठिनाइका कारण अझै पनि महिलाहरूले आफ्ना उत्पादनलाई बजारमा लैजान नसकेको पाण्डेले बताइन् । 'नेपाली बजारमा सामाजिक सञ्जालमा प्रयोग हुने उत्पादन निकै कम छ । सामाजिक सञ्जालबाट आफ्ना उत्पादनहरू विस्तारै राख्ने क्रम बढ्दो छ । बैंक एपहरूमा पनि विभिन्न सेवा सुविधाहरू भइरहेका छन् । प्रविधिको विकाससँगै विभिन्न सफ्टवेयर र एपहरू बनाउँदा नेपाली भाषामै भए महिलाहरूलाई सहज हुन्छ,' उनले भनिन् ।

महिलालाई सशक्त बनाउँदै अर्थतन्त्र धान्नुपर्ने अवस्था रहेको पनि उनको भनाइ छ । 'कान्छी किचन' नामक युट्युब च्यानलबाट फुड भ्लग चलाउँदै आएकी कान्छीमैया भण्डारीको उदाहरण दिँदै प्रबन्ध निर्देशक भण्डारीले महिलाहरूले व्यवसायलाई कसरी दीर्घकालीन बनाउने भन्नेमा सोच्नुपर्ने बताइन् । अझ बढी कसरी बजार विस्तार गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

'अब सोसल मार्केटिङमा कसरी जाने भन्ने कुरा उहाँको चुनौती हो । उहाँको अहिले पनि निश्चित दर्शक छन् तर त्यसलाई कसरी मास लेभलमा लैजान सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । उहाँको आम्दानी निरन्तर हुनुपर्‍यो । समयसँगै मान्छेको रुचि बदलिन सक्छ । सधैं मानिसहरूले एउटै विषयबस्तु मन नपराउन सक्छन् । त्यसैले पनि त्यसलाई कसरी दिगो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ,' उनले भनिन् ।

 Image