परिचय
उचित रेखदेख भएन, ओसिलो भयो र समयमै ध्यान पर्ुयाइएन भने धेरैजसो खाद्यपदार्थमा ढुसी पर्ने सम्भावना हुन्छ । खाद्य तथा कृषि संगठनको प्रतिवेदनअनुसार संसारभर करिब २५ प्रतिशत कृषिजन्य उत्पादन प्रतिवर्ष ढुसीजन्य विषबाट विषाक्त भैरहेको छ । ढुसीले खाद्यपदार्थको स्वाभाविक गुणमा परिवर्तन गर्दै विषसमेत पैदा गर्न सक्छ्र । ढुसी परेका खानेकुराको सेवनबाट मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने हुनाले त्यस्ता खानेकुरा खानु हुँदैन । केही प्रजातिका ढुसी मानव उपयोगी भए पनि धेरैजसो ढुसीले विभिन्न किसिमका हानिकारक रसायन उत्पादन गर्छन् । ढुसीबाट उत्पन्न हुने विषहरूको समूहलाई माइकोटक्सिन्स भनिन्छ । विभिन्न प्रकारका माइकोटक्सिन्समध्ये अफ्लाटक्सिन नामक विष मानव तथा पशुपन्छीका लागि अत्यन्त्तै हानिकारक एवं प्राणघातक भएको कुरा वैज्ञानिक अनुसन्धानद्वारा पत्ता लागेको छ । खासगरी यसको सेवनबाट कलेजोको क्यान्सर भएको पाइएको छ । विश्वभर यो विषको संक्रमण जल्दोबल्दो समस्याका रूपमा देखा परेको छ । यस्ता विषको उत्पत्ति अति गर्मी हुने मुलुकमा हुन्छ जहाँ विष उत्पत्तिका लागि अनुकूल तापक्रम एवं सापेक्षित आद्र्रता हुन्छ । अफ्लाटक्सिन, एसपरजिलस फ्लेभसका साथै एसपरजिलस पारासिटिकस नामक ढुसीबाट पनि उत्पादन हुन सक्छ ।
यी विषालु ढुसी खेतको माटोमा, सडेर, गलेर जाने वस्तुहरू तथा वातावरणमा त्यसै फैलिएर बसेका हुन्छन् र उपयुक्त तापक्रम, चिस्यान एवं सापेक्षित आद्र्रता पाउनेबित्तिकै खाद्यवस्तुमा आक्रमण गर्न र विष उत्पादन गर्न सक्छन् । यस्ता अफ्लाटक्सिनमा अफ्लाटक्सिन बी १, बी २, जी १ र जी २ महत्वपूर्ण छन् र त्यसमा पनि बी १ प्रमुख हो । एसपरजिलस फ्लेभसले अफ्लाटक्सिन बी १, बी २ उत्पादन गर्छ भने एसपरजिलस पारासिटिकसले जी १, जी २ उत्पादन गर्नुका साथै बी १, बी २ समेत उत्पादन गर्छ । यो बेलायतमा सन् १९६० मा पत्ता लागेको हो जुन बेला टर्की चरामा नयाँ रोग देखा पर्यो र त्यसलाई टर्की एक्स डिजिज भनियो । यो रोगबाट त्यहाँ १ लाखभन्दा बढी टर्की चरा मरे ।
के कारणले ती चरा मरे भनेर अनुसन्धान गर्दै जाँदा तिनीहरूलाई ख्वाइएको दाना, ब्राजिलको बदामको पिना एसपरजिलस फ्लेभस ढुसीबाट संक्रमित भएको पाइयो र त्यही ढुसीबाट उत्पन्न भएको विष नै त्यत्रा चल्ला भटाभट मर्नुको कारण भएको कुरा सन् १९६१ मा पत्ता लाग्यो र त्यो ढुसीलाई अफ्लाटक्सिन नामकरण गरियो ।
अफ्लाटक्सिनबाट संक्रमण हुनसक्ने खाद्यवस्तु
खाद्यान्न बाली मकै, जुनेलो, कोदो, चामल, गहुँ, तेलहन बालीमा बदाम, भटमास, सूर्यमुखी, कपास, मसला पदार्थमा खुर्सानी, मरिच, धनियाँ, बेसार, अदुवा, खाने मसलामा कागती, बदाम, पेस्ता, ओखर, नरिवल, सुपारी तथा दूध आदिमा ढुसी लाग्यो भने त्यसबाट अफ्लाटक्सिन विष उत्पन्न हुनसक्छ । सबैजसो देशमा मकै, बदाम तथा त्यसबाट बनाइएका खाद्यपदार्थ अफ्लाटक्सिन संक्रमणका लागि अति नै संवेदनशील पाइएको छ । पशुपन्छीलाई ख्वाइने दानामा मकै, बदामको पिना, कपासको बीउ, नरिवलको पिना आदि मुख्य कच्चापदार्थका रूपमा प्रयोग गरिन्छ ।
त्यस्ता दानामा अफ्लाटक्सिनको समस्या गम्भीर रूपमा पाइएको छ । अफ्लाटक्सिनहरूमध्ये अफ्लाटक्सिन बी १ र अफ्लाटक्सिन बी २ बाट संक्रमित दाना पदार्थ गाई, भैंसी, बंगुर, हाँस, कुखुरालाई ख्वाइयो भने यी अफ्लाटक्सिनहरू पशुपन्छीको शरीरमा पुगी अफ्लाटक्सिन बी १ र बी २ का केही भाग अफ्लाटक्सिन एम १ र अफ्लाटक्सिन एम २ मा परिवर्तन भएर त्यो विष पशुपन्छीबाट उत्पादन हुने पशुजन्य खाद्यपदार्थ दूध, अण्डामा पनि सर्न सक्छ र मासुमा पनि त्यसको अंश पाइन सक्छ ।
विभिन्न देशमा गरिएका अध्ययन–अनुसन्धानअनुसार अफ्लाटक्सिन एम १ दूधमा बढी पाइन्छ । सुडान, घाना, केन्या र चीनको ग्यांगी प्रान्त, युएई, टर्की, अस्ट्रेलिया एवं थाइल्यान्डमा आमाको दूध र रगतमा पनि अफ्लाटक्सिन एम १ फेला परेको छ । चीज, दही, पाउडर दूध एवं दूधबाट बनाइने अरु परिकारमा पनि अफ्लाटक्सिन एम हुन सक्छ । दूधमा अफ्लाटक्सिन पाइनु निक्कै गम्भीर समस्या हो । यसले वयस्कभन्दा बालबालिकाहरूलाई बढी असर गर्छ्र । अफ्लाटक्सिन बी १ को तुलनामा अफ्लाटक्सिन एम १ कम क्यान्सर गराउने प्रकृतिको अर्थात् कम घातक हुन्छ ।
अफ्लाटक्सिनको विषादी
अफ्लाटक्सिनको मात्रा खाना अथवा दानामा अति धेरै भए त्यो एकदमै विषाक्त भएर भएर त्यसको असर पनि तुरुन्तै देखिने हुन्छ र मानिस, पशुपन्छी, माछा आदि तुरुन्तै मर्न सक्छन् । मात्रा थोरै भए यसको असर बिस्तारै देखिन्छ । अफ्लाटक्सिनले खासगरी कलेजोलाई घात पुर्याउँछ तर पनि अफ्लाटक्सिनको संक्रमणबाट मरेकाहरूको फोक्सो, मिर्गाैला मस्तिष्क एवं मुटुमा पनि अफ्लाटक्सिन फेला पारिएको छ । विषादीको असर उमेर, जात तथा पोषण स्थितिमा पनि भर पर्छ । यसले बालबालिका तथा गर्भवतीहरूलाई बढी असर गर्छ भने खाना वा दानामा प्रोटिनको कमी भए अझ बढी नकारात्मक असर पर्छ । मानिसमा अफ्लाटक्सिनको संक्रमणबाट यस्तै लक्षण देखापर्छन् भन्न गाह्रो छ तर पनि जहाँ खाद्यान्न बालीमा अफ्लाटक्सिनको संक्रमण हुने बढी हुन्छ त्यहाँ कलेजोको क्यान्सर धेरै जनामा देखिन्छ ।
विकसित देशहरूमा खाद्यपदार्थको गुणस्तरमा नियमित तरिकाले निरीक्षण र अनुगमन भैरहने भएकाले त्यहाँ यो विषादीबाट बिरामी भएको घटना बिरलै देखिन्छ तर विकासोन्मुख देशमा यसले जनस्वास्थ्यमा धेरै असर गरेको पाइन्छ । अफ्लाटक्सिनको मात्रा थोरै मात्र भएको दानाको सेवन लगातार धेरै दिनसम्म भैरहे पशुपन्छीको कलेजोको क्यान्सर हुने, हेपाटाइटिस तथा जन्डिसले सताउने, फोक्सोमा पानी जम्ने, सन्तान उत्पादन शक्तिमा कमी आउने, हुर्कने–बढ्ने प्रक्रियामा अवरोध आउने, अरुचि हुने, दूध तथा अण्डामा कमी आउने एवं रोग प्रतिरोधात्मक शक्तिमा कमी आई अन्य रोगले समेत आक्रमण गर्नसक्छ ।
अफ्लाटक्सिनको अधिकतम सुरक्षित मात्रा
उपभोक्ताहरूको स्वास्थ्यको रक्षार्थ संसारका लगभग १ सय देशले विभिन्न खाद्यान्न बालीमा बढीमा कति मात्रासम्म अफ्लाटक्सिन भए सुरक्षित हुन सकिन्छ भनेर विभिन्न खाद्यान्न बालीका लागि अफ्लाटक्सिनको अधिकतम सुरक्षित मात्रा सिफारिस गरेका छन् । नेपालमा पनि विभिन्न खाद्यान्न एवं दलहन पदार्थका लागि माइकोटक्सिन (अफ्लाटक्सिन) बढीमा २० माइक्रोग्राम प्रतिकिलोग्राम तोकिएको छ र दुधालु गाई–भैंसीको दानाका लागि अफ्लाटक्सिन बी १ को मात्रा बढीमा ५० माइक्रोग्राम प्रतिकिलोग्राम तोकिएको छ ।
अफ्लाटक्सिन उत्पन्न हुने अवस्था
खाद्य वस्तुमा ढुसी पर्नु र त्यसबाट अफ्लाटक्सिन उत्पादन हुनुमा चिस्यान प्रतिशतको उपलब्धता (खाद्यवस्तुको जलांश प्रतिशत), वायुमण्डलको तापक्रम, वायुमण्डलको सापेक्षिक आद्र्रता एवं अक्सिजनको उपलब्धतामा निर्भर गर्छ । खाद्यान्न बालीमा ढुसी खेतमै बाली काट्नुअघि वा कटानीको बेला, बाली कटानी गरिसकेपछि अथवा सुकाउँदा, थन्क्याउँदा, एक ठाउँबाट अर्को ठाउँमा ओसार्दा र भण्डारण गर्दा वा घरमै राख्दा पनि उचित ध्यान नपुर्याउनु जिम्मेवार हुन्छ । बालीमा खेतमै ढुसी लागिसकेको अवस्थामा त्यो बालीलाई राम्रोसँग नसुकाई भण्डारण गर्दा पनि अफ्लाटक्सिन उत्पादन हुनसक्छ तर खाद्यवस्तुमा ढुसी पर्नासाथ त्यसमा विषादी उत्पादन भैसकेको हुनुपर्छ वा ढुसी नदेख्दा विष उत्पादन भएको छैन भनेर यकिन गर्न सकिँदैन । खाद्यान्न बालीमा पहिले नै ढुसी लागेर विष उत्पन्न भैसकेपछि ढुसी झरेर गैसकेको पनि हुनसक्छ । साधारणतया राम्रो, पोटिलो, हृष्टपुष्ट, स्वस्थ अन्नको दानामा अफ्लाटक्सिनको संक्रमण कम हुन्छ । एकपटक विष उत्पन्न भैसकेपछि त्यसलाई एकदम उच्च तापमानमा पकाउँदा, पिस्दा, गोली वा पेलेट आदि बनाउँदा पनि वा कुनै रसायनले पनि नष्ट गर्न गाह्रो हुन्छ तसर्थ विष उत्पन्न हुनै नदिने उपाय अपनाउनु उत्तम हुन्छ ।
अफ्लाटक्सिन संक्रमणको रोकथाम
खाद्यान्नमा ढुसी लाग्न नै नदिनु नै ढुसीजन्य विषबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । विष उत्पादनको रोकथामका लागि असल कृषि अभ्यासको अनुशरण गरिनु जरुरी हुन्छ । ढुसी तथा कीरासँग लड्न सक्ने शक्त्ति भएको बाली लगाउने, हरेक पटक उही बाली नलगाई फरक–फरक बाली लगाउने, खेत सुक्खा हुन नदिन समयमा सिंचाइ गर्ने, बाली राम्रो पाकिसकेपछि मात्र काट्ने, बाली काटेको १–२ दिनभित्रैमा राम्रोसँग सुक्ने गरी चर्को घाममा सुकाउने । खाद्यान्नमा १४.५ भन्दा कम जलांश भएमा ढुसी लाग्दैन । ढुवानी तथा भण्डारणका बेला पनि जलांश प्रतिशत बढ्न नदिने । ढुसी परेको दाना झिकेर मिल्काउने, भुइँमा त्यसै नसुकाई दरी, तन्ना, सुकुल आदि ओछ्याई सुकाउने, सुकाउने क्रममा पनि पानी पर्यो भने त्यसलाई छोपेर थन्क्याउने र घाम लागेपछि फेरि सुकाउने । धेरै दिन लगाई सुकाउँदा अनाज गुम्सिएर चिस्यान प्रतिशत बढी अफ्लाटक्सिनको उत्पादन हुनसक्छ । छोप्न पनि प्लास्टिकले नछोपी जुट, दरी आदिले छोप्ने ताकि अन्नको जलांश गुम्सिएर उडेर जाओस् अन्यथा सानो ठाउँमा लागेको ढुसी फैलिएर सम्पूर्ण अनाज बिग्रनसक्छ ।
बाली काट्दा अन्नबालीमा क्षति नपुगोस् भनी ध्यान पुर्याउनुपर्छ, कारण टुटे–फुटेको, चोट लागेको, कीरा लागेको दानामा चाँडै एसपरजिलस फ्लेभस ढुसी लाग्न सक्छ ।
भण्डारण कोठा पनि सुक्खा, हावा लाग्ने, उज्यालो, पानी नरसाउने, नचुहिने हुनुपर्छ, भण्डारण गर्दा भुइँमा त्यसै नराखी काठको फलेक वा पिर्का ओछ्याई वा बेन्चमाथि भित्तामा नछुने गरी राख्ने, घुन, कीरा, फट्याङ्ग्रा, मुसा आदिको रोकथाम गर्ने, ढुसी मार्न सुरक्षित ढुसी नाशक तथा कीरा, फट्याङ्ग्रा, मुसा आदि मार्न सुरक्षित कीटनाशक प्रयोग गर्ने । ढुसी नाशक विषादी, प्राकृतिक एवं रासायनिक पदार्थहरू तथा गामा विकिरण प्रयोग गर्दा कृषिविज्ञको राय लिनु आवश्यक हुन्छ । कीराले पनि एसपरजिलस फ्लेभस ढुसी एक ठाउँबाट अर्को ठाउँ ओसार्न सक्छ भने मुसाले अन्नबालीमा पिसाब फेरिदिँदा पनि अन्नबालीको जलांश प्रतिशत बढेर ढुसीले आक्रमण गरी विषादी उत्पादन हुनसक्छ । भान्सा वा भण्डारमा सबै खानेकुरा बट्टा वा सिसीमा राम्रोसँग बिर्को लगाई हावा नछिर्ने गरी सुक्खा ठाउँमा राख्ने ।
भण्डारण गरिएका अन्नबाली बेलाबेलामा घाममा सुकाउने, खासगरी वर्षामा छिट्टै ढुसी तथा कीरा आदि पर्ने हुनाले राखिएको खाद्यवस्तुहरूको विशेष हेरविचार गर्नुपर्छ । घाममा सुकाउँदा सूर्यको किरणले अफ्लाटक्सिन केही हदसम्म नष्ट हुनसक्छ । खासगरी मकै र बदाम अफ्लाटक्सिन संक्रमणका लागि अति नै संवेदनशील हुन्छन् । यी बालीको कटानी पछि सकेसम्म छिटो सुकाउने उपाय गरी ढुसी लाग्नबाट जोगाउनुपर्छ । मकै भण्डारणका लागि हामीकहाँ प्रचलित तरिकाहरू जस्तै घरको बार्दली अथवा झ्यालको बाहिरपट्टि झुन्ड्याएर राख्ने वा बाहिर आँगनमा खाँबा गाडेर थन्क्याउने चलन ढुसी लाग्नबाट जोगाउने राम्रो उपाय हुनसक्छ । यसरी थन्क्याउँदा बालीमा हावा ओहोर–दोहोर हुने भएकाले ढुसी लाग्ने सम्भावना कम हुन्छ ।
मकै छोडाएर भण्डारण गर्दा हावा ओहोर–दोहोर हुन गाह्रो हुने भएकाले अफ्लाटक्सिन उत्पन्न हुने सम्भावना बढी हुन्छ र पिठो र च्याख्ला चाँडै नै ओसिलो हुनाले त्यसै खुला राखियो वा राखिएको भाँडाको बिर्को राम्रोसँग नलगाई सुक्खा ठाउँमा राखिएन भने ढुसी लागेर त्यसमा अफ्लाटक्सिन उत्पन्न हुने सम्भावना हुन्छ । बदामको हकमा पनि कोसा भन्दा छोडाएर राखिएको गेडामा अफ्लाटक्सिन उत्पादन हुने सम्भावना हुन्छ ।
स्न्याक्सका रूपमा प्रयोग गरिने भुटेको, तारेको बदाम पनि अफ्लाटक्सिनबाट संक्रमित बदामबाट बनाइएको भए त्यस्ता पदार्थमा यो विषको संक्रमण हुनसक्छ । अफ्लाटक्सिन संक्रमित बदामको गेडाबाट बनाइएको पिनट बटरमा पनि अफ्लाटक्सिनको संक्रमण हुनसक्छ । कुखुराको दानामा संक्रमणको मुख्य स्रोत नै अफ्लाटक्सिन संक्रमित मकै, बदाम एवं नरिवलको पिना हुनसक्छ । त्यसैले दाना बनाउँदा प्रयोग हुने यी कच्चापदार्थ पनि सकेसम्म ढुसी नलागेको हुनुपर्छ । जाडो मौसमभन्दा गर्मी तथा वर्षा मौसम र उपत्यका वा पहाडी ठाउँभन्दा तराई अफ्लाटक्सिन संक्रमणका लागि बढी संवेदनशील हुने भएकाले विशेष सतर्कता अपनाउनु आवश्यक छ।
सारांश
हालको आधुनिक र सवारी साधन अत्यन्तै सुलभ भएको युगमा एक ठाउँको खाद्यान्न अर्को ठाउँमा सजिलै ओसार–पसार हुने भएकाले अफ्लाटक्सिन संक्रमणको समस्या हाल संसारको सबै भागमा जल्दोबल्दो समस्याका रूपमा देखा परेको छ । विकसित देशहरूले विषादीयुक्त खाद्यान्न बाली आफ्नो देशमा नभित्रियोस् भनेर स्वीकृत सुरक्षित मात्रामा निक्कै कडा नियम–कानुन बनाएका छन् तर यो विषादीको संक्रमण कसैले जानीजानी गराउने होइन, यो वातावरण र मौसमका कारणले प्राकृतिक रूपले खाद्यान्न बालीमा हुने समस्या हो । हरेक देशको भिन्दाभिन्दै सुरक्षित मात्राले गर्दा खुल्ला विश्व व्यापारमा निकै विवाद उठ्ने गरेको छ ।
विवाद समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त अफ्लाटक्सिनको अधिकतम सुरक्षित मात्राको मार्गदर्शनलाई मान्यता दिइए खुल्ला विश्व व्यापारमा आउने विवाद समाधानमा सहयोग पुग्नसक्छ । यसको समाधानका लागि संक्रमण भैसकेपछि निदान तथा नष्ट गर्नतिर लाग्नुको सट्टा संक्रमण हुनै नदिनुतर्फ सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । यसका लागि माथि उल्लिखित बाली लगाउने बेलादेखि सम्पूर्ण कृषि प्रणाली, सुकाउँदा, ढुवानी गर्दा, भण्डारण गर्दा आवश्यक सावधानी अपनाउनुपर्छ । पशुजन्य खाद्यपदार्थको स्रोत दाना भएको हुनाले गुणस्तरीय पशुजन्य खाद्य पदार्थको प्राप्तिका लागि पशुपन्छीलाई दिइने दाना पनि गुणस्तरीय हुनुपर्छ । पशुपन्छीलाई दिने त हो भनी बिग्रिएको वा ढुसी लागेको, सडे–गलेको कम गुणस्तरीय खाद्य वा दाना दिनु हुँदैन अन्यथा अफ्लाटक्सिनबाट विषाक्त दानाबाट पशुपन्छीलाई नकारात्मक र घातक प्रभाव हुँदै त्यो मानवको खानामा पनि समावेश भएर त्यसले स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्छ ।
खाना स्वस्थ एवं गुणस्तरीय भए त्यो पोषिलो भई जीवनदायिनी हुन्छ भने त्यही खाना संक्रमित र विषाक्त भयो भने त्यो विषादीयुक्त भएर अनेकांै रोगको कारक बन्न पुग्छ तसर्थ खाद्यान्नको सुरक्षामा विशेष सतर्कता अपनाउनु आवश्यक छ ।