‘ढुङ्गालाई माटाको र माटालाई ढुङ्गाको भर, एक रथका दुई पाङ्ग्रा’ भन्ने उखानले अझैसम्म पनि हाम्रो समाजमा प्रश्रय पाइरहेकै छ । महिला–पुरुष दुवैलाई एक अर्काविनाको जीवन निरर्थक हुने विश्लेषकहरू बताउँछन् । जीवनको कुनै मोडमा पुरुष एक्लियो भने उसले तत्कालै कसैको साथ खोजिहाल्छ तर एक्लिएका अनेकौं महिलाले पुरुषको साथविना आफ्ना सन्तानलाई शिखर चुम्न सफल बनाएका छन् । उनीहरूको एकल साथ, एक्लो संघर्ष र परिश्रम त छँदैछ ती सन्तानको जीवनमा समाजका अनेक व्यवहार एवं लाञ्छनासमेत अल्झिएका हुन्छन् । आजको सहज अवस्थामा पुग्नुअघि ती सन्तानले आफ्नी आमाले हरेक कष्टलाई पैतालामुनि कुल्चिएर हिँडेको देखेका छन्, आमाको एक्लो जीवनलाई नजिकबाट महसुस गरेका छन् । एकल आमाको छहारीमा हुर्किएका सन्तानसँग आफूलाई आमाले कहिल्यै बाबुको कमी हुन नदिएको अनुभव छ ।
एकल महिला हित र अधिकारका लागि लडिरहेकी लिली थापाका तीन छोरामध्ये जेठा अतुप थापा नियोटेक कम्पनीका डाइरेक्टर हुन् । उनी आफ्नो सफलताको सम्पूर्ण श्रेय आमालाई दिन्छन् । आफू नौ वर्षको हुँदा बुवाको स्वर्गारोहण भएपछि आमाको मानसिक एवं शारीरिक दु:ख नजिकबाट अनुभूति गरेका अतुप आफ्नी आमाले आफ्नो शिक्षामा कुनै कमी हुन नदिएको तथा शिक्षा एवं करियरका विषयमा कहिल्यै कुनै सम्झौता नगरेको बताउँछन् । थापा भन्छन्– सायद म बाबु नभएको छोरो भएकाले होला मलाई आमाको महत्त्व बढी महसुस हुन्छ । उहाँ मेरो सिङ्गो संसार हुनुहुन्छ । उहाँको चाहना पूरा गर्न सक्नुमै मैले आफ्नो सफलता मानेको छु ।
लिलीका अनुसार समाजले अझैसम्म ‘काठी नभएको घोडा र बाउ नभएको छोरा’ भन्छ । बाउ नभएका छोराहरूले आमाको महत्त्व अझ बढी महसुस गर्दा रहेछन् । आमा नै हाम्रो संसार हो, उहाँले सबै गर्नुभएको हो भन्ने अनुभूति छ उनीहरूमा । एक्ली नारी, त्यो सामाजिक अवस्था, तीन–तीनजना छोरा हुर्काउन निकै कठिन भयो लिलीलाई । ठूला निर्णय लिन पनि निकै गाह्रो भयो र पनि लिलीले सन्तानका लागि ढाल बनेर आफूमा भएको शक्ति, बुद्धि, विवेक सबै खर्चिइन् ।
पढाइमा अब्बल दिजा खनाल गम्भीर स्वभावकी छिन् । उनको लक्ष्य कुनै ठूलो डाक्टर, इन्जिनियर बनेर पैसा कमाई धनाढ्य बन्ने छैन । आमाले उनलाई धनी र ठूलो होइन असल मानिस बन्नुपर्छ भन्ने शिक्षा दिएकी छिन् । दिजा भन्छिन्, मेरी आमाले मलाई पैसा घरपरिवारको ऐश–आराम र विलासिताका लागि होइन, समाज परिवर्तनको साधन हो भन्ने पाठ सिकाउनुभएको छ ।
बाल्यावस्थादेखि नै उनलाई आमाको काखको न्यानो स्पर्शले सुरक्षित राखेको छ । थाहा पाउने भएदेखि दिजाले बाबुको मुख देखेकी छैनन् । एकल आमाले हुर्काएको सन्तान भए पनि कुनै कुरामा कमी नभएको उनको भनाइ छ । दिजाले भनिन्, ‘मेरी आमाको धर्म, संस्कार र सत्य कुराका लागि कहिल्यै कसैसँग नझुक्ने र नदब्ने दृढ स्वभावका कारण मलाई रीता खनालकी छोरी हुनुमा गर्व छ । समाजले नारीलाई दिएको दोस्रो दर्जालाई तोड्नैपर्छ भन्ने सोचका कारण मेरी आमाले जीवनका प्रत्येक कदममा भोगेका कठिनाइ र उतारचढावले हाम्रो परिवारलाई बेलाबखत मर्माहत बनाएको छ । म आमाको संघर्षमा हरेक पल साथ दिनेछु ।’
दिजाका अनुसार उनकी एक्ली आमा गहभरि आँसु र मुटुभरि भक्कानो लिएर पनि कहिल्यै कसैका अगाडि झुकिनन् । पुरुषप्रधान समाजले आमालाई अनेक दोषारोपण गर्न र होच्याउन खोज्दा उनलाई असह्य पीडा हुन्छ । पुरुष र महिलालाई हेर्ने दृष्टिमा अन्तर भएका कारण समाजले आमाका कुराहरू पुरातन सोच भएकाहरूलाई चित्त नबुझेको भए पनि आफ्नी आमाको दिनचर्या अनुशासित जीवन, दृढ एवं इमान्दार स्वभाव कुनै दिन यो मुलुकका तमाम छोरीहरूका लागि आवश्यक हुन सक्नेमा दिजा निश्चित छिन् । उनी आफूमा जेजति गुण छन् ती सबैको श्रेय आमालाई दिन्छिन् । दिजा भन्छिन्, ‘मैले बुवाको अनुहार देखेकी छैन । मेरी आमाले मेरा लागि समाज र परिवारसँग गरेको संघर्ष मैले देखेकी छु । देख्दा मात्र त मलाई असह्य हुन्थ्यो भने सहनेलाई कति गाह्रो भएको होला त्यो म अनुभव गर्न सक्छु । समाजमा एकल आमा भएर बाँच्न निकै गाह्रो छ तसर्थ सबै आमा मेरी आमाजस्ता बहादुर र सशक्त हुँदैनन् ।’ उनकी आमाको एक्लो कदममा साथ दिइन् दिजाकी ठूलीआमा (आमाकी दिदी) गीता अर्यालले । उनको प्रेम, साथ, समर्पण र विश्वासले मेरी आमा र मलाई यहाँसम्म पुर्यायो भन्ने भावना व्यक्त गर्दै दिजाले भनिन्, ‘म ठूली मम्मीलाई पनि आमालाई जत्तिकै सम्मान गर्छु ।’ समग्र महिला हिंसाको अन्त्य र मुलुककै रूपान्तरणका लागि महिला शिक्षित हुनु जरुरी छ भनी आफ्नी आमाको नेतृत्वमा अघि बढेको गृहिणी शिक्षा अभियानलाई समाजको हरनिकाय तथा व्यक्तिले साथ दिन आग्रह गर्दै आमाको यो कदममा आफू एक हिस्सा बनेर अगाडि बढ्ने दिजा बताउँछिन् ।
सानैदेखि एकल आमा मायादेवी थपलियाको साथ र सहयोगमा हुर्किएकी साहित्यकार तथा राजनीतिज्ञ उर्मिला थपलिया अहिले जुन स्थानमा छिन् त्यो सबै आमाको देन हो भन्छिन् । ७ वर्षको उमेरदेखि पढ्नुपर्ने बाध्यताका कारण कान्छीआमा (बुवाकी कान्छी श्रीमती) सँग बस्न थालेकी थपलिया पढाइका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार थिइन् । धादिङबेसीमा कान्छी आमाको होटल थियो, उनले बिहान–बेलुका भाँडा माझ्नुपथ्र्यो । होटलमा भएका अन्य काममा सहयोग गर्नुपथ्र्यो । त्यसपछि मात्र दिउँसो पढ्न जान पाइन्थ्यो । उनलाई त्यतिखेर बरु कान्छी आमाको सहयोग मिल्यो तर बाबुको सहयोग कहिल्यै मिलेन । कैयौंपटक चप्पल नभएकै कारण खाली खुट्टा स्कुल जानुपथ्र्यो । कान्छी आमाले लुकाई–लुकाई पैसा दिनुहुन्थ्यो । सानैदेखि विद्रोही स्वभावकी उर्मिला आफ्नो लक्ष्यमा स्पष्ट थिइन् । आमा छोरा नपाएको यातना सहँदै हुनुहुन्थ्यो भने पटक–पटक उनले पनि बुवाको यातना खप्नुपथ्र्यो । उनकी आमालाई माइतीको सहयोग पनि थिएन । आमाको मामाघरबाट उहाँका भाइहरू आक्कलझुक्कल आउँथे तर उर्मिलाका वकिल बुवाको डरका कारणले धेरै बस्दैनथे । जहिले पनि उनकी आमाले तिमीहरू ४ जना नै मेरा छोरा हौ, तिमीहरूले धेरै गर्नुपर्छ भन्नुहुन्थ्यो । उर्मिला भन्छिन्, ‘आमाले जहिले पनि तिमी मेरो छोरा हौ भन्नुहुन्थ्यो तसर्थ ममा महिला हुँ भन्ने भावना नै हुँदैनथ्यो । महिनामा एकपटक रजस्वला हुँदा मात्र म छोरी पो हुँ कि क्या हो भन्ने लाग्थ्यो । म जहिले पनि आमाका लागि असल छोरा र तीनजना बहिनीका लागि दाजु बन्ने प्रयत्नमा रहें ।
प्लस टु सिध्याएर काठमाडौं प्रवेश गरेकी उर्मिला आफ्नो करियरमा आमाको ठूलो योगदान रहेको बताउँदै भन्छिन्– आमालाई जति आफ्ना श्रीमान्को महत्त्व र ममता हुन्छ सायद त्यो त हामीबाट पूरा नहोला तर उहाँको खुसीका लागि हामी सधैं प्रयासरत छौं । हाम्रो शिक्षाका लागि उहाँले ठूलो त्याग गर्नुभएको छ । उहाँ २५ वर्षसम्म जंगलको बीचमा रहेको घरमा एक्लै बस्नुभयो । उर्मिला भन्छिन्, ‘मलाई प्लस टु पढ्दाको एउटा घटना सम्झना छ, म र कान्छी भाउजू (बुवाकी अर्की श्रीमतीकी बुहारी) ले सँगै परीक्षा दिनुपर्ने भयो । बुवाले कान्छी भाउजूको फिस तिरिदिनुभएछ, मेरो तिरिदिनुभएनछ । परीक्षा हलमा सर आएर तिमीले परीक्षा दिन पाउँदिनौ भन्नुभयो । म त्यसबेला अत्यन्तै भावुक भएँ । त्यस दिनदेखि मलाई बुवा भन्ने शब्द र सम्बन्धप्रति नै घृणा लाग्न थाल्यो । बरू बाबु नभइदिएको भए हुन्थ्यो भन्ने लाग्यो । उहाँसँगको बदलाको भावना त्यसै दिनदेखि सुरु भयो ।’
भावुक हुँदै उर्मिलाले भनिन्–आमासँग रहेको आत्मविश्वास, हाम्रो पढाइका लागि उहाँले गरेको परिश्रम, उहाँमा भएको सकारात्मक सोचका कारण आज म यो स्थानमा छु ।’ आमा वर्षमा एकजोर नयाँ लुगा अरूलाई दिनुहुन्थ्यो । त्यो स्वभाव अहिले उर्मिलामा पनि छ । उर्मिलालाई आफ्नी आमा अलिकति पढे–लेखेकी भए कहाँ पुग्नुहुन्थ्यो भन्ने लाग्छ । उनी भन्छिन्–बुवाले मेरी आमालाई यत्ति कुट्नुहुन्थ्यो कि उहाँ मरेतुल्य हुनुहुन्थ्यो, त्यति हुँदा पनि उहाँ हाम्रो अगाडि कहिल्यै रुनुभएन ।’ केही सोच्दै उर्मिला भन्छिन्–‘अब मेरो एउटै इच्छा छ, आमाका लागि काठमाडौंमा एउटा घर बनाइदिन पाए....... ।’