Successfully Copied

अत्यास

अहो, के सारो गर्मी,’ निधार खुम्चिएको बाटुलो अनुहारतर्फ हातले हम्कँदै सविता भान्सातर्फ पसिन् । घाम पर जमिनमुनि लुक्न खोजिरहेका थिए । घरका भित्ताहरू घामको तातोपनलाई ग्रहण गरेर भुंग्रो जस्तो बनेका थिए ।



रेणुका जीसी
‘अहो, के सारो गर्मी,’ निधार खुम्चिएको बाटुलो अनुहारतर्फ हातले हम्कँदै सविता भान्सातर्फ पसिन् । घाम पर जमिनमुनि लुक्न खोजिरहेका थिए । घरका भित्ताहरू घामको तातोपनलाई ग्रहण गरेर भुंग्रो जस्तो बनेका थिए । घर त भर्खर हवन गरेको कुण्डजस्तो लाग्थ्यो । हावा अझै घामको तातोपन बोकेर बहिरहेको थियो । तातो हावाको झोक्काले सविताले खोल्साउँदै गरेको लसुनको बोक्रालाई भान्साभरि छरिदियो । कुप्री परेर बोक्रा टिप्दै गरेकी सविताको कानमा कोही हिँडेको आवाज ठोक्कियो । उनले शिर नउठाई बोलाइन्–‘ए नेहा, हातगोडा धोएर खाजा खान आऊ ।’
‘ममु, नेहा दिदी होइन । म हुँ ।’ नमन फिस्स हाँस्दै भान्साभित्र छिर्‍यो । नमनको अनुहारमा पसिनाका दाना शीतका थोपाझैं टल्किएका थिए ।
नमनको अनुहार पुछ्दै सविताले हातको घडी हेरिन् । हतारिएको स्वरमा उनले भनिन्–‘खोइ त नेहा, छ बजिसक्यो । अझ आएकी छैन? अघि नै आउनुपर्ने ।’
सविताले भान्साबाहिर निस्केर सडकतर्फ हेरिन् र त्यहीँबाट कराइन्,
‘ए नेहाका बाबा ।’ ‘के भयो ?’ कोठाभित्रबाट नै सरोजको आवाज आयो ।
‘सुन्नु न, नेहा अझै आइपुगिन । अस्ति हिँडेर आको म त मामु भन्थी । बाटोमा हिँड्दै पो छे कि । जानु त लिएर आउनू ।’

नेहाका बाबा हेलमेट हातमा बोकेर बाहिर निस्किए ।
‘घाम डुबिसक्दा पनि जमिन सेलाउने होइन । यस्तो गर्मीमा यो कोचिङले पनि नानीहरूलाई भार मात्र थप्ने भयो । थपक्क १० बजेदेखि ४ मात्र पढाउनू नि । स्कुल बसमा जान्थी, बसमा आउँथी । ढुक्क हुन्थ्यो ।’
‘कति गनगन गरेकी ? हिँड तिमीपनि ।’ सरोज झर्किए । सविताले पुलुक्क सरोजको अनुहारमा हेरिन् । खुम्चिएको निधार अझ खुम्च्याइन् । ओठ लेप्राउँदै स्कुटीको पछाडि बसिन् । सम्बन्ध जतिसुकै गाढा होस् पतिपत्नीका बीचमा सन्तानका कारण ठाकठुक त परिहाल्छ ।
स्कुटी सुस्त गतिमा गैंडाटार रोड हुँदै चन्द्रनिगाहपुर चोकबाट दक्षिण गौर रोडतर्फ मोडियो । राजमार्गमा सवारी साधन, ठेला र पैदलयात्रीको भीड थियो । सविताले सडकको दायाँ–बायाँ पैदलयात्रीहरूलाई हेरिन् । उनीहरू दुवैका आँखाले गहुँगोरो वर्णकी, पातली, अग्ली, चम्किला आँखा, सानो तर मुस्कुराइरहने अनुहार भएकी नेहालाई खोजिरहेका थिए । गौररोड हुँदै देउराली चोकमा पुगेपछि डोजरले बाटो मिलाइरहेका कारण उनीहरू एकछिन रोकिए । स्कुटी साँघुरो बाटो छिचोलेर बजार हुँदै नेहाको विद्यालयको गेटअगाडि रोकियो ।
सविता स्कुटीबाट झरेर गेटभित्र छिरिन् । विद्यालय सुनसान थियो । छेउछाउमा हेरिन् । कोही देखिनन् ।
सरसर बढारेको आवाजले सविताको ध्यान खिच्यो । उनी आवाज आएतर्फ गइन् । एउटा कक्षाकोठाभित्र शिर र अनुहार छोपिने गरी सल बाँधेकी महिला कुचोले बढारिरहेकी थिइन् । उनैलाई सोधिन्–‘दिदी, कक्षा आठको कोचिङ सकियो ?’
‘अँ,अघि नै सकियो ।’
‘कति बजेसम्म भयो र ?’‘पाँच बजे नै सकियो नि आज ।’‘हो र ?’, सविता जिल्ला परिन् र तीव्र गतिमा छिटोछिटो पाइला चाल्दै बाहिर निस्किन् ।
स्कुटीमै पर्खेर बसिरहेका सरोजसित आत्तिँदै भनिन्–‘पाँच बजे नै सकिएको रे त कोचिङ ।’
‘ए ! त्यसो भए यतिबेलासम्म नेहा घर पुगिसकी होला । बस । घरै जाऊ ।’ सरोजले स्कुटी घुमाए । सविता लामो श्वास छोडेर स्कुटीमा बसिन् ।
स्कुटी तीव्र गतिमा घरतिर कुँदिरहेको थियो ।
आँगनमा स्कुटी रोकिनासाथ सविताले तलैबाट चर्को स्वरले बोलाइन्, ‘नेहा, ए नेहा !’
नमन बाहिरै आयो । आमा आत्तिएको देखेर ऊ पनि आत्तिएको थियो । मधुरो स्वरमा भन्यो, ‘ममु, दिदी त आएकी छैन ।’
सविता झस्किन् । अघिसम्म उति नआत्तिएका सरोज पनि आत्तिएर मोबाइलमा समय हेर्दै भने ‘६ः२० भैसक्यो त’
‘प्रिन्सिपललाई फोन गर्नू न । बाटोमा कतै भेटिइन त ।’ सविताको स्वर सानो हुँदै गएको थियो ।
उफ्, सविता रोकिराखेको स्कुटीमा अडेस लागेर उभिइन् । उता प्रिन्सिपलको मोबाइल उठ्नासाथ सरोजले भनिहाले ।
‘सर, नेहा अझै घर आइपुगेकी छैन । सधै समयमा आउने नानी हो । धेरै साथी पनि छैनन् । सँगै फर्किने एकजना साथीको नाम युनिसा भन्थी । युनिसाको नम्बर पत्ता लगाइदिनुस् न सर ।’
‘हस्, म पत्ता लगाएर कल ब्याक गर्छु’, प्रिन्सिपलले आश्वस्त गराए । सरोज अन्योल देखिए । ठिंग उभिएर सडकतर्फ हेरे ।
सविताले नमनलाई आफूनिर बोलाइन् ।
बाबा–आमाको अनुहारको चिन्ता पढिरहेको नमन केही नबोली सुस्तरी सवितानिर पुग्यो । नमनलाई आफ्नो मोबाइल दिँदै सम्झाइन् ।‘नमु, यो मोबाइल लिऊ । नेहा आएपछि तुरुन्तै कल गर ।यताउताकतै नजाऊ । थपक्क घरभित्र बस ।’ अँध्यारो अनुहार लिएर नमन घरभित्र पस्यो ।
‘कुनै पसलतिर अलमलिएकी पो छे कि ?’ सविताको बोली पूरा नहुँदै सरोजले स्कुटी स्टार्ट गरे । सविताको मुटु ढुकढुक गरिरहेको थियो ।’ उफ,खुइय’ गर्दै उनले पटक–पटक लामो सुस्केरा छोडिरहेकी थिइन् । दुवै हात सरोजको कुममाथि राखेकी उनले सरोजलाई कक्रक्क हुने गरी समाइरहेकी थिइन् । सविताको डर कुम भएर सरोजको मनमा ढकढक्याउन खोज्दै थियो । सरोजले मौन बसेर आत्मबल दरो पार्न खोजेका थिए । दुवैका आँखा सडक वारिपारि डुलिरहेका थिए ।
‘बिस्तारै हाँक्नु नि ।’
सविताझर्किइन् । स्कुटीको गति त सुस्तै थियो । तीव्र त सविताको मनको गति थियो ।सायद उनी आफ्नै मनको गतिसँग डराइरहेकी थिइन् । नडराउन् पनि कसरी ? एक त आमा, त्यो पनि छोरीकी आमा, उनी छोरीमात्र हुँदा उनकी आमा पनि यसरी नै डराउँथिन् ।
‘हुर्कन त छोरीहरू बाँसको टुसाझैं हुर्कन्छन् । हुर्किसकेपछि जोगाउनै गाह्रो ।’ आमाको उतिबेलाको आवाज सविताको कानमा यतिबेला पनि प्रतिध्वनित भयो ।
‘तर त्यो समय यति क्रुर थिएन ।’, आफू मनमनै बोलेको जस्तो लागेको थियो सवितालाई । तर सरोजले सोधे,
‘के भनेको ?’ सरोजको प्रश्नले सवितालाई अतीतबाट वर्तमानमा ल्याइपुर्‍यायो । पूर्व–पश्चिम राजमार्ग छेउमा उभिएर सविता र सरोजले परपरसम्म सडक, पसल, पानीपुरी र चटपटे बेच्ने ठेला चारैतिर नजर डुलाए । नेहालाई कतै देखेनन् । बिस्तारै राजमार्गबाट दक्षिण गौर रोडतर्फ पुगेर स्कुटी रोके । उसैगरी टाढा टाढासम्म हेरे । भीडभाडमा उनीहरूले खोजेको अनुहार कतै देखिएन । दुवै सोचमग्नभए ।’ सविताको आँखाभरि नेहा नाचिरहेकी थिई ।‘ असारदेखि १२ वर्षमा टेकी । शरीरले भर्खर मात्र स्वरूप परिवर्तन गर्न खौज्दैछ । मनले त बच्चै छे । अहिलेसम्म नसोधी ठूलोबुवाको घरमा त गएकी छैन । कता भुली होला त आज ?’
सोच्दासोच्दै सवितालेसुस्केरा छोडिन् । उनले दुवै आँखा जोडले चिम्लिन् । त्यतिबेला प्रिन्सिपलको फोन आयो । सरोजले फोन उठाइहाले ।
‘सरोजजी, ‘युनिसाको घर देउराली चोकभित्र रहेछ । उनका बाबाको नाम धर्मेन्द्र सहनी रहेछ । तर उहाँको सम्पर्क नम्बर फेला परेको छैन । नम्बर पाउनासाथ खबर गरिहाल्छु ।’
‘त्यहाँ केको भीड हो ?’, सरोजले फोन काट्नासाथ अशोका होटलअगाडि जम्मा हुँदै गरेको भीड देखाउँदै सविताले सोधिन् । अज्ञात आशंकाले दुवैको मुटुमा ढ्याङ्ग्रो बज्यो । सरोजले अशोका होटलतिर स्कुटी कुँदाए ।
सरोज र सविताको निधारमा देखिएको पसिना र काँपिरहेको हातले उनीहरूको मनको दशा बताइरहेको थियो । स्कुटी साइड लगाएर उनीहरू भीडभित्र पसे । परर्र ताली बजेपछि उनीहरू झस्किए । दुवैको अनुहार अलिक उज्यालो भयो ।
गलाभरि माला, खादा लगाएका, अग्लो र अस्वाभाविक भुँडी उछिट्टिएका व्यक्ति दुवै हात उचालेर भीडलाई अभिवादन गरेजस्तो गरेर उभिए र भाषण गर्न थाले ।
‘यी जमिन सीता माता के जन्मभूमि हए । हमर हर बेटी मे माता सीता के स्वरूप हए । अपन बेटी के बचाऊ,बेटी के पढाऊ ।’
उनले हात उचाली–उचाली बेटीको बखान गरिरहेका थिए । सविताले गहिरिएर ती मानिसको अनुहारमा हेरिन् । झलक्क सम्झिन्–तीन वर्षअघि छापिएको समाचार, जसको शीर्षक थियो–माननीयकी बुहारीद्वारा आत्महत्या । नछापिएको तर सलहझैं फैलिएको अर्को समाचार थियो–‘त्यो आत्महत्या होइन, हत्या हो । बुहारीका बुवाले विवाहको बखत कबुलेको बुलेरो गाडी र दश लाख नगदी दिन सकेका थिएनन् । त्यसैले हत्या गरिएको हो ।’
सविताले ताली बजाइरहेको भीडलाई हेरिन् । भाषण गरिरहेका नेतालाई हेरिन् । भुइँमा पिच्च थुकेर सरोजसित भनिन्–‘नेहा छैन यहाँ । जाऊ यहाँबाट ।’
उनीहरू भीडबाट निस्किएर अझ दक्षिणतर्फ मोडिए । ‘धर्मेन्द्र सहनीको घर कुन हो ?’ देउरालीचोकमा मासु काट्दै गरेको मानिसलाई सविताले सोधिन् । किराना पसलमा छिरेर सरोजले सोही प्रश्न सोधे तर उत्तर एउटै आयो,’थाहा छैन ।’
सरोजले फेरि प्रिन्सिपललाई फोन लगाए । ‘सर, धर्मेन्द्र सहनीको नम्बर पत्ता लाग्यो ?’ ‘हामी खोज्दैछौं ।’
सरोजले सोधे–‘सर, हामी देउराली चोकमा आइपुगेका छौं । केहीलाई धर्मेन्द्र सहनीको घर कहाँ भनेर सोध्यौं पनि । तर कसैलाई थाहा रहेनछ । बरु, सरलाई देउराली चोकमा उसको घर कतातिर पर्छ भन्ने थाहा छ कि ?
‘अस्पताल रोडतर्फ । अलिक भित्र पर्छ रे ।’ त्यसपछि उनीहरू एकछिन पनि नरोकिएर अस्पताल रोडतिर लागे । अलिक पर पुगेर लहरै उभिएका घरतिर हेरे ।अधिकांश घरका गेट बन्द थिए । उनीहरू अलमलमा परे ।
‘यसरी खबरै नगरी त नेहा कहिल्यै साथीकोमा आउन्नथी । यहाँ रैनछे भने’ हिक्क–हिक्कले बोली अड्कियो । वाक्य पूरा बोल्न पनि सकेनन् । मनले भनेनेहा अप्ठ्यारोमा परिसकी भनेर ठम्याइसकेको थियो । बन्द रहेका घरहरूतिर हेर्दै आकाशतर्फ हेर्दै सविताले दाहिने हातले निधार र छाती छोइरहन्थिन् । उनलाई बेला–बेलामा थचक्क भुइँमा बसेर रुन मन लागिरहेको थियो । ‘छोरी तिमी कहाँ छ्यौ । दैव, मेरी नानीको रक्षा गर है’ मनमनै घरी नेहालाई घरी भगवान्लाई पुकारिरहेकी थिइन् । सविताको अस्थिर भएको मनस्थितिले सरोजलाई पनि अत्याइरहेको थियो । तर, उनले आफूलाई कमजोर देखाउन सकिरहेका थिएनन् ।
‘यो ठाउँ नै अगतिलो छ । अस्ति भर्खर त हो थलाइ टोलका दिदीबहिनीलाई नै मुम्बई पुराको रे भन्ने सुनेको । ठोकर टोलबाट हराएकी नानीको अझ अत्तोपत्तो छैन’ बोली रोकियो । उनले वाक्य टुङ्ग्याउन सकिनन् । आमा न हुन् सन्तानलाई अप्ठ्यारो पर्‍यो कि भनेर कल्पना मात्र गर्दा पनि मुटु कमाउँछन् ।
सरोजले सविताको आवाज सुनेर पनि नसुनेझैं गरे । सविताले सरोजको आँखामा हेरिन् । सरोजले शिर अन्तै मोडे । सविता फेरि आफैंभित्र हराइन् । उनको दिमागमा एकसाथ अपहरण, हत्या, बलात्कारका समाचारहरू गुन्जिरहेका थिए । क्राइम पेट्रोल, सिआइडी र सावधान इन्डियाका विभत्स दृश्यले उनलाई क्षतविक्षत बनाउन थाले । लुगलुग काँपिरहेकी सवितालाई ममु ममु भन्दै कतै टाढाबाट नेहाले पुकारेझैं भैरहेको थियो । ‘कतै निर्मला पन्तझैं’ सासले बोलेको अधूरो वाक्य सरोजले भने सुनेनन् तर सविताको मुटु फुट्लाजस्तो भयो ।
‘अहँ यसरी हुन्न । प्रहरीकोमा जाऊँ ।’ मनको भुइँचालोको कम्पन सविताको आवाजमा मिसिएर बाहिरियो ।
‘ह्या, के नचाहिने कुरा सोचेको होला ।’ सरोज झर्किए । झर्किन त झर्किए । तर उनको मनमा पनि यस्ता आशंकाहरू उत्पन्न नभएका कहाँ हुन् र ? उनले आफूलाई सकेसम्म बलियो बनाएर सडकमा हिँडिरहेको एकजना व्यक्तिसित सोधे–‘धर्मेन्द्र सहनीको घर कुन हो ?’त्यो व्यक्तिले केही जवाफ दिनै लागेको थियो । तर, त्यतिबेला मूल सडकतिरबाट होहल्लाको आवाज आयो ।
‘बाटोमा हिँडिरहेकी किशोरीमाथि एसिड छ्यापियो रे । चपुर हस्पिटलमा ल्याएका छन् ।’ सरोज र सविताले अत्यासको भावमा एक अर्कालाई हेरे । उनीहरूको शरीरका रौंठाडा भए । हातखुट्टा कामज्वरोलेलगलग काँपे । दुवैका आँखाअगाडि बाक्लो अँध्यारो पोतिएजस्तै भएको थियो । उनीहरूदौडिएर अस्पतालतिर जान चाहन्थे । तर उनीहरूका पैताला जमिनसँग टाँसिएझैं भारी भए । दुवैले एक अर्कालाई बेस्सरी समाए । आफू उभिएको जमिन खाडलमा भासिएझैं उनीहरू निसास्सिए । सडकमा हल्लिखल्ली भयो । मानिसहरू आ–आफ्नो काम छोडेर अस्पतालतर्फ दौडिन थाले । तर उनीहरू भने जडवत् उभिइरहे । उनीहरूको कानमा अनौठो स्वर गुन्जिएको थियो । टाउको हल्लाउन पनि असहज हुने गरी भारी भएको थियो ।त्यतिबेला सरोजको मोबाइल बज्यो । सरोजले हत्तपत्त मोबाइल हेरे । स्क्रिनमा ‘सविता कलिङ्’ देखायो ।
‘नमनले फोन गरेको होला’ सरोजको काँपिरहेको ओठबाट यति आवाज आयो । उनलाई फोन उठाउन पनि डर लागिरहेको थियो । कतै नमनले नेहामाथि एसिड आक्रमण भएको कुरा त सुनाउँदैन ? सविताको मनमा पनि त्यही डर थियो । तर यसपटक उनले मन बलियो बनाइन् । हत्तपत्त सरोजको हातबाट मोबाइल लिएर हरियो बटन थिचिन् । पसिनैपसिनाले भिजेको हात भएर होला हरियो संकेत एकैपटकमा थिचिएन ।
हरियो संकेत थिचिनेबित्तिकै ‘नमु’ भक्कानिएर छोरालाई बोलाइन् ।
‘मामु’, उताबाट आवाज आयो ।
‘नेहा’ सविताले लामो सास फेरिन् । उनको अनुहारको शीतलहर हरायो । सरोजले पनि लामो सास फेरे । उज्यालिएका सरोजले सविताको हातबाट फोन लिए ।
‘काली, कता हराएकी तँ?’ सरोजको आवाजमा स्नेह र पीडा दुवै मिसिएको थियो । ‘बाबा, मैले पैसा लग्न भुलिछु । पैसा नभएकाले इरिक्सा चढ्न सकिन । हिँडेर आउँदै गर्दा देउराली चोकमा डोजरले बाटो बनाउँदै भएकाले त्यहाँ जाम थियो । अनि म साथीहरूसँग मिलनचोकको बाटो आएँ । घुमाउरो बाटो भएकाले आउँदा ढिलो भयो ।तपाईंहरू घर छिटो आउनुहोस् ।’

 Image