Successfully Copied

महिला आश्रय सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न

‘आश्रय गृह सेवाः सशक्तीकरणमा टेवा’ नारा सहित तीन दिने महिला आश्रय सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न


नेपालमा लैङ्गिक हिंसा पीडित र प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । ‘आश्रय गृह सेवाः सशक्तीकरणमा टेवा’ नारा सहित तीन दिनसम्म चलेको सम्मेलनमा करिब २०० सहभागी, नेपाल सरकारका प्रमुख तथा प्रतिनिधि, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित ∕ प्रभावित, मनोसामाजिक परामर्शकर्ता,पत्रकार महिला, महिला अधिकारकर्मी सहभागी भएका थिए । कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्वपूर्ण विषयहरुका ६ समानान्तर विषयगत सत्रहरु र ३ पूर्ण सत्रहरू संचालन गरिएको थियो, जसमा आश्रय गृह सञ्चालन सम्बन्धी मापदण्ड, नविनतम मुद्दाहरू, प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणा आदि रहेका थिए ।

साथीका अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्देशन दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।साथी संस्थाका सहसंस्थापक, निवर्तमान अध्यक्ष महिला आश्रय गृह राष्ट्रिय सञ्जालका संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड–१९ ले आश्रय गृह सञ्चालकहरूलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताइन। ‘अत्यावश्यक सेवाहरूको रूपमा सूचीबद्ध नभएको कारण महामारी र त्यसपछिको बन्दाबन्दीको समयमा आश्रय गृहहरु सञ्चालन गर्न ठूलो कठिनाइहरूको सामना गर्नुपरेको थियो। घरेलु हिंसा बढेको कोभिड १९ को समयमा आश्रयको आवश्यकता सबैभन्दा बढी महसुस भएको थियो’ उनले थपिन।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रयस्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनर्निर्माणमा आश्रय सेवाले खेलेको महत्वपूर्ण भूमिकाबारे बिश्लेषण गरिन । उनले भनिन–‘आश्रय गृहले पीडित महिला तथा बालबालिकालाई हिंसा विरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको छ । विभिन्न संघ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउदै आएको छ तर अन्तमा यसको अभिभावकत्व राज्यले नै लिनुपर्ने हुन्छ ।’

कार्यक्रममा सांसद डा आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहास झल्काउँदै उपलब्धी, चुनौती र अबको बाटोमाथि प्रकाश पारिन । उनले आश्रयस्थलहरूले पीडित ∕ प्रभावितलाई सहयोग प्रदान गर्नुका साथै लैङ्गिक हिंसाको रोकथाममा जोड दिनु पर्ने बताइन ।
युएन सिड समितिकी सदस्य तथा सम्मेलनको प्रर्वतक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह(संस्थापक बन्दना राणाले आश्रय गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापी रूपमा अगाडि बढाउने आफ्नो अनुभव जोड्दै भनिन–‘राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा आश्रय गृह सञ्चालन गर्ने विभिन्न संघ संस्थाहरुकोे संयुक्त प्रयास र आश्रय गृह सेवाहरूमा आएको नयाँ प्रवृत्ति र दृष्टिकोणको उदयलाई यस सम्मेलनले सबै सरोकारवालाहरूलाई उपलब्धि र चुनौतीहरू प्रतिबिम्बित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्रदान गर्नेछ ।’ आश्रय गृह सञ्चालहकहरुको संयुक्त प्रयासले समाज र घरबाट अपहेलित भएका लैङ्गिक हिंसा पीडित ∕ प्रभावितका विविध आवश्यकताहरू र गुणस्तरीय सेवाहरूलाई सम्बोधन गर्न मद्दत गर्ने उनको तर्क थियो ।

कार्यक्रममा शक्ति समूहका पीडित ∕ प्रभावितहरूले लैङ्गिक हिंसालाई चित्रण गर्ने नृत्य प्रस्तुत गरेका थिए । पीडित महिलाहरूले पनि आश्रयस्थलहरूमा आएपछि उनीहरूको जीवन कसरी परिवर्तन भयो भनेर प्रकाश पार्दै आफ्ना कथा र अनुभवहरू साझा गरे।
सम्मेलनले आश्रय गृह सञ्चालकबीचको सहकार्य र समन्वयलाई बढावा दिने, सेवाहरूको गुणस्तर बढाउन, समान आश्रय गृह सम्बन्धी नीतिहरू स्थापना गर्ने र साझा सिकाइलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ । यसले आश्रय गृहहरुबीच मुद्दाहरुको आन्तरिक प्रेषण अभ्यासहरू सुधार गर्न र हिंसाको अनुभव गरिरहेका महिला र किशोरीहरूको विविध आवश्यकताहरूलाई राम्रोसँग सम्बोधन गर्न राष्ट्रिय प्रेषण संयन्त्रको स्थापनाको लागि वकालत गर्नेछ । महामारी र मानवीय संकटको समयमा आश्रय सेवाको महत्वलाई पहिचान गर्दै, सञ्जालले सरकारलाई आश्रय गृह सेवालाई अत्यावश्यक सेवाको रूपमा तोक्न र आवश्यक सहयोग प्रदान गर्न अनुरोध गर्नेछ ।
सम्मेलनले असल अभ्यास तथा सिकाईहरुको अनुभव साझा गर्ने हिंसा विरुद्ध सामूहिक आवाज प्रवर्द्धन र महिला तथा बालिकाको अधिकार, सुरक्षा र सशक्तीकरणको वकालत गर्ने मञ्चको रूपमा कार्य गर्नेछ । यसले आश्रय सेवाहरूलाई सुदृढ गर्न, समावेशीता, दिगोपन सुनिश्चित गर्न र पीडित(केन्द्रित अवधारणा अपनाउन साझा सिफारिसहरूको विकास गर्नेछ । सम्मेलने पारित गरेका घोषणा तथा प्रतिबद्धताहरुलाई सम्बन्धित निकायहरुमा पेश गर्ने तथा यी प्रस्तावहरु भविष्यमा आश्रय गृहको सुदृढिकरणका लागि एक महत्वपूर्ण दस्तावेजको रुपमा रहने छ । 

तस्विरहरु– कविता थापा 

 Image