Successfully Copied

निर्भीक नारी प्रदेशमा सम्पन्न

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित विश्वभर ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको थियो ।


कान्तिपुर सह–प्रकाशन नारी मासिकले कोशी प्रदेशमा ‘निर्भीक नारी’ कार्यक्रम आयोजना गरेको छ । ‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित विश्वभर ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको थियो ।
कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्की र संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा ‘सक्षम नारी, सबल नेतृत्व’, ‘स्वदेशमै रोजगार, युवा सरोकार’, ‘स्वस्थ महिला, ‘स्वस्थ मुलुक’ र ‘लघुवित्तले उद्यमी बनायो, ऋण तिर्न नसक्दा समस्या निम्त्यायो’ गरी चार सत्रमा छलफल भएको थियो ।

कार्यक्रमको प्रमुख अथिति केदार कार्कीले महिलाहरुलाई सक्षम बनाउन प्रदेश सरकार सदैव अग्रसर रहेको बताए । ‘लडेरमात्र अधिकार पाइने भएकाले लड्न, सक्षम र निर्भीक नारी बन्ने वातावरण प्रदेश सरकारले गर्नेछ,’ उनले भने । 

त्यसैगरी मुख्य वक्ता इन्दिरा राना मगरले भ्रष्टाचार न्यूनीकरणमा महिलाको ठूलो हात हुने बताइन् । उनले भनिन, ‘त्यही कारण पनि महिलालाई नेतृत्वमा ल्याउनै पर्छ । भ्रष्टाचार न्यूनीकरण भयो भने देशको आधा भन्दा बढी समस्या समाधान हुन्छ ।’


कार्यक्रमको पहिलो सत्र ‘सक्षम नारी, सबल नेतृत्व’ शीर्षकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा, उच्च अदालत विराटनगरकी न्यायधीश श्रीराधाकुमारी पुडासैनी, महिला उद्यमी कृति श्रेष्ठ र दलित अधिकारकर्मी सावित्रा परियार छलफलमा सहभागी भएका थिए । नारीकी लक्ष्मी भण्डारीले यस सत्रको सहजकर्ताको भूमिका निभाएकी थिइन् । उक्त छलफलमा महिलाहरुलाई नेतृत्व तहमा पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।

त्यसैगरी दोस्रो सत्र ‘स्वदेशमै रोजगार, युवा सरोकार’ शीर्षकमा युवा उद्यमीहरु गौरव दुगड, रक्तिम प्याकुरेल, विराटनगर महानगरकी उपप्रमुख शिल्पा कार्की, उपप्राध्यापक बन्दना जैन, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार दिलनाथ फुएल वक्ताको रुपमा थिए । नारीकी प्रकृति दाहालले सहीजकरण गरेको उक्त छलफलमा युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताए ।

‘स्वस्थ महिला, ‘स्वस्थ मुलुक’ विषयको तेस्रो सत्रमा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी स्वास्थ्य सचिव डा.सुधा देवकोटा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाह, धरान उपमहानगरकी पूर्वउप्रमुख मञ्जु भण्डारी र महिला स्वास्थ्य स्वयंसेविका कोशकशा कौसर सहभागी थिए । कान्तिपुर टेलिभिजनकी सुशीला पाठकले उक्त सत्रमा सहजीकरणको भूमिका निर्वाह गरेकी थिइन् । यस सत्रका वक्ताहरुले महिला स्वस्थ भए परिवार, समाज र पुरै मुलुक नै स्वस्थ हुने बताएका थिए ।

त्यसैगरी कार्यक्रमको अन्तिम तथा चौथो सत्र ‘लघुवित्तले उद्यमी बनायो, ऋण तिर्न नसक्दा समस्या निम्त्यायो’ रहेको थियो । यस सत्रमा फरवार्ड लघुवित्तका प्रमुख कार्यकारी रामदयाल राजवंशी, जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी सन्जय मण्डल, सफल उद्यमी नसमिा खातुन र अर्थशास्त्री भेषप्रसाद धमलाले छलफलमा सहभागी थिए । पछिल्लो समय लुघवत्तिले निम्त्याएका विभिन्न समस्या र यसले गरेका उपलब्धीबारे यस सत्रमा चर्चा गरियो । कान्तिपुर दैनिकका सुरेशराज न्यौपानेले सहजकर्ताको भूमिका निभाएका थिए ।

नारी मासिककी सम्पादक उपासना घिमिरेले स्वागत गरेकी थिइन भने कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी महेश स्वाँरले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालक रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्य थिए भने कार्यक्रमको समापन धन्यवाद ज्ञापन सुजाता मुखियाले गरेकी थिइन्  । कार्यक्रममा २ सयभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो ।

 Image