शे महोत्सवको सांस्कृतिक रूप
बीच भागबाट बगिरहेको शे खोला । दायाँतर्फ ८ सय वर्ष पुरानो शे गुम्बा । बायाँतर्फ क्रिस्टल हिमाल अनि बीचको चौरमा डोल्पाली भाकामा सांस्कृतिक वेशभूषामा सजिएर नाचिरहेका युवती ।

देवेन्द्र अर्याल ‘आँसु’
साँखु नगरमा प्रत्येक वर्ष एक महिनासम्म स्वस्थानी मेला लाग्छ । मेला भर्न विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनउपस्थित हुन्छन् । साँखु ऐतिहासक, सांस्कृतिक, पर्यटकीय एवं धार्मिक दृष्टिले महत्वपूर्ण नगर हो । यहाँ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेलालाई श्रीमाधवनारायण–श्रीस्वस्थानीको मेला पनि भनिन्छ ।
साँखु नगरको नामकरणबारे विभिन्न कथन पाइन्छन् । शंखको जस्तो भएका कारण नै यसलाई साकेतु भनिएको हो । प्रारम्भमा शंखदेव भन्ने राजाको राजधानी भएका कारण पनि यो ठाउँलाई साँखु भनिएको हो । देवमाला वंशावलीमा उल्लेख भएअनुसार शंखदेव वा शंकरदेव राजाले दाहिने शंखको आकारमा यस सहरको निर्माण गरी बज्रयोगिनी माईलाई चढाएको प्रमाण इतिहासमा उल्लेख छ ।
यसैगरी, मणिशैल महावदान ग्रन्थमा उल्लेख भएअनुसार कलिगत सम्वत् १८०१ मा बज्रयोगिनी देवीको जात्रा गर्न आठ दिन साँखुमा विराजमान हुने भविष्यवाणी भएकाले देवीकै आज्ञाबमोजिम जोगदेव वज्राचार्यले शंखरापुर निर्माण गरी उक्त समयमा नै महानगरका रूपमा स्थापना गरेका कारण यसलाई शंखरापुर भनिएको र कालान्तरमा साँखु भनिएको हुनसक्छ । शंखका रूपमा भएकाले नै यसलाई साकेतु भनिएको हुनसक्छ ।
साँखुमा पाइने सबैभन्दा पुरानो शिलालेख विक्रम सम्वत् ५९४ को हो । शिलालेख राजा वामनदेवले लेखेका हुन् । यो सहर काठमाडौंदेखि तिब्बतसम्मको व्यापारिक मार्गमा बनेको थियो । नेपालमा मल्ल वंशअघि साँखु छुट्टै राज्य मानिन्छ, तर यो अझै पनि बहसको विषय बनेको छ । मध्यकालमा भक्तपुरमा साँखुको शासन थियो । विक्रम सम्वत् १२९८ मा युद्ध भएको र इचिमिस पराजित भएको ठाउँका रूपमा गोपालराज वंशावलीमा साँखुलाई उल्लेख गरिएको छ । सन् १३३४ मा साँखु मुल्मी नामक व्यक्तिले ब्रा≈मणका गहना चोरेको ठाउँका रूपमा साँखुका बारेमा उल्लेख छ । यस अवधिमा साँखु नेपालको एउटा बलियो किल्ला थियो भन्ने विश्वास गरिन्छ ।
राजा स्वर्ण मल्ल (१५६०–७५) ले साँखुलाई दुई भागमा बाँडेर आधा आफ्नै भाइलाई दिए । विक्रम सम्वत् १५७६–८६ मा राजा सूर्य मल्लले साँखुलाई कब्जा गरेर त्यहाँ केही वर्ष शासकका रूपमा बसेका थिए । राजा जयप्रकाश मल्लले विक्रम सम्वत् १७९२ देखि १८२४ सम्म साँखु शासन गरेका थिए । उनको शासनको अन्त्यमा, मल्लहरूलाई काठमाडौंबाट गोरखा राज्यद्वारा पृथ्वीनारायण शाहले पराजित गरे । पृथ्वीनारायण शाहको प्रारम्भिक योजना काठमाडौंमा आक्रमण गर्नुअघि साँखुलाई कब्जा गर्ने थियो किनभने यो तिब्बतको व्यापार मार्ग थियो ।
शंखरापुर, साँखु, शंकरापुर जे नामले चिनिए पनि श्रीस्वस्थानी माहात्म्यमा भने यसलाई लावण्य देशका रूपमा उल्लेख गरिएको छ । यही लावण्य देशमा अर्थात् साँखु नगरको पूर्वमा शालीनदी बग्छिन् । जुन मेला भर्न, स्नान एवं पूजापाठ गर्न टाढाटाढाबाट भक्तजनहरू आउँछन् । साँखु नगरको स्वस्थानी मेलाले धार्मिक पर्यटन वृद्धि गर्न ठूलो टेवा पुर्याएको पाइन्छ । साँखु नगरको शालीनदीको पावन भूमिमा नर्वदेश्वर महादेव, गणेश, हनुमान, विष्णु, भैरव, नवराज, चन्द्रावती, डोलेहरूका मन्दिर तथा स–साना मूर्तिहरू पनि रहेका छन् । शालीनदीको किनारामा रहेको साँखु नगरको उत्तरमा बज्रयोगिनीको मन्दिर छ । यस वरपरको जंगललाई गुमविहार भनिन्छ । जसको निर्माण सत्रौं शताब्दीमा भएको पाइन्छ । यो मन्दिरलाई हिन्दू र बौद्ध दुवैको साझा तीर्थका रूपमा लिइन्छ ।
यहाँ लाग्ने एकमहिने मेलाको पहिलो दिन वा पौष शुक्लपूर्णिमाको अघिल्लो दिन विश्वम्भर माधवनारायणको वैदिक तवरले पूजा र हवन गरेपछि त्यसको भोलिपल्ट शालीनदीमा श्रीस्वस्थानीको मेला सुरु हुन्छ । जुन पौराणिक विषयलाई स्कन्द पुराणको केदारखण्डको माघ माहात्म्यका रूपमा प्रस्तुत गरिएको छ । यस व्रतको व्रतविधि अन्य व्रतको भन्दा पृथक् छ । पौषशुक्ल पूर्णिमाको दिनदेखि हातगोडाका नङ काटी, शुद्ध भई एकचित्त भई मध्यान्न कालमा स्वस्थानी देवी र महादेवको पूजा गरी साँझपख स्वस्थानीको महिमा सुन्ने र सुनाउने चलन छ । यो क्रम माघ शुक्लपूर्णिमासम्म चल्छ । यस व्रतका प्रभावले हिमालय पर्वतकी पुत्रीले महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन् भने गोमा ब्रा≈मणीले यस व्रतका प्रभावले छोरा नवराज लावण्य देशका राजा भएका थिए ।
स्वस्थानी माहात्म्यलाई हिन्दूहरू महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा लिन्छन् । त्यसमा विभिन्न कथा–उपकथाहरू रहेका छन् । यो व्रतका प्रभावले आरोग्य, सुस्वास्थ्य, उन्नति, सफलता मिल्ने विश्वास हिन्दू समाजमा अझै पनि चलिआएको पाइन्छ । स्वस्थानी साक्षात् देवीको स्वरूप भएकाले जसको पूजा–आराधना गर्नु देवीशक्ति, नारीशक्ति, मातृशक्तिको सम्मान गर्नु हो ।
खासगरी स्वस्थानी व्रतलाई देवीशक्तिको उपासना गरी मनाइने व्रतका रूपमा मनाइन्छ । मातृशक्तिको महत्वपूर्ण उत्सव, पर्व, व्रत आदि मनाइने हाम्रो देशका स्वस्थानी देवीको उपासना वा पूजा गरिनुले परापूर्वकालदेखि नै यसको महत्व रहेको प्रस्ट हुन्छ । देशका विभिन्न ठाउँमा लाग्ने मेला तथा पर्वले पक्कै पनि आन्तरिक पर्यटनमा थप टेवा पुर्याएको पाइन्छ । त्यसैले सरकारले नै सम्बन्धित क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विस्तार गर्नका लागि विशेष पहल गर्नुपर्ने देखिन्छ ।