Successfully Copied

चिकेन पाक छोई

सबैभन्दा पहिले मासुलाई मेरिनेट गर्ने । मेरिनेट गर्न चिकेनमा कर्नफ्लोर, भेनेगर, सोया सस, नुन, मरिचको धूलो, तिलको तेल हालेर मोल्ने ।

साङ्यो लामा

सेफ, एस. चाइनिज किचेन

सामग्री : सय ग्राम चिकेन, साग दुई सय ग्राम, पाँच थोपा डार्क र लाइट सोया सस, तीन थोपा चाइनिज भेनेगर, १० ग्राम क्रस गरेको लसुन, एक चिया चम्चा कर्नफ्लोर, एक चिया चम्चा तिलको तेल, सेतो र कालो मरिचको धूलो, स्वादअनुसार नुन ।

विधि : सबैभन्दा पहिले मासुलाई मेरिनेट गर्ने । मेरिनेट गर्न चिकेनमा कर्नफ्लोर, भेनेगर, सोया सस, नुन, मरिचको धूलो, तिलको तेल हालेर मोल्ने । त्यसपछि प्यानमा तेल तताउने र त्यसमा लसुन फ्राई गर्ने । त्यसपछि मेरिनेट गरेको चिकेन हाल्ने र सानो आँचमा हल्का फ्राई गर्ने । त्यसमाथि साग हालेर राम्ररी चलाउने । यसरी चिकेन पाक छोई तयार हुन्छ ।

 

एग फ्लेवर चिकेन सुप

सामग्री :  तीन सय मिलिलिटर चिकेन स्टक (एक केजी कुखराको हड्डीलाई उमाल्ने र पहिलो पानी फालिदिने । त्यसपछि सफा पानी राखेर एक घण्टा जति उमाल्ने ।) सय ग्राम पातलो स्लाइस गरी काटिएको चिकेन, तीन केस्रा स्लाइस गरेको लसुन, पाँच थोपा लाइट र डार्क सोया सस, चिकेन क्युब, ब्राउन सुगर, सेतो र कालो मरिचको धूलो, स्वादअनुसार नुन, २० मिलिलिटर तिलको तेल, सय ग्राम साग तथा अन्य मौसमी तरकारी, एउटा अण्डा, १० ग्राम धनियाँ वा सेलरी ।

विधि : सबैभन्दा पहिले स्टक उमाल्ने, त्यसमाथि अण्डाबाहेक सबै सामग्री र सागसब्जी राखिदिने । त्यसपछि लाइट र डार्क सोया सस, चिकेन क्युब, ब्राउन सुगर, सेतो र कालो मरिचको धूलो, नुन, सिसम आयल हालिदिने र एकछिन उमाल्ने, त्यसमाथि अण्डा फुटाएर हालिदिने । एग फ्लेवर चिकेन सुप तयार भयो ।

चिकेन कुरकुरे

चिकेन कुरकुरे कुखुराको फरक पार्टको मासु हो, जुन कुखुराको घुँडा र थाईको बीचको नरम हड्डीसहितको मासु हो ।

सामग्री : सय ग्राम चिकेन कुरकुरे, एक चिया चम्चा कर्नफ्लोर, तीन थोपा भेनेगर, १० ग्राम चप्ड लसुन, हरियो खुर्सानी, दुई चम्चा सिचुवान सस, पाँच थोपा सोया सस, लसुनका पात, धनियाँका पात, स्वादअनुसार नुन, मरिचको धूलो, २० मिलिलिटर तिलको तेल ।

विधि : सबैभन्दा पहिले मासुलाई मेरिनेट गर्ने । मेरिनेट गर्दा चिकेनमा कर्नफ्लोर, भेनेगर, सोया सस, नुन, मरिचको धूलो, तोरीको तेल हालेर मोल्ने । त्यसपछि प्यानमा तेल तताउने । तेल तातेपछि मेरिनेट गरेको मासु हल्का फ्राई गर्ने । माथिबाट हरियो काटेको खुर्सानी र तयार पारेको सबै सामग्री हालिदिने र एकछिन फ्राई गर्ने ।

सिचुवान चिकेन चिल्ली

सामग्री : एक सय ५० ग्राम स्लाइस गरेको बोनलेस चिकेन, एक चिया चम्चा कर्नफ्लोर, एक चम्चा लाइट र डार्क सोया सस, आधा लिटर तेल, थोरै ब्राउन सुगर, तीन केस्रा लसुन, २० ग्राम सुकेको खुर्सानी, २० एमएल राइस वाइन, स्वादअनुसार नुन र मरिचको धूलो, दुई चिया चम्चा थिक वेस्टर सस, एउटा अण्डा, दुई चम्चा सिचुवान सस, पाँच ग्राम धनियाँका पात ।

विधि : सबैभन्दा पहिले मासुलाई मेरिनेट गर्ने । मेरिनेट गर्न चिकेनमा कर्नफ्लोर, भेनेगर, सोया सस, नुन, मरिचको धूलो हालेर मोल्ने । त्यसपछि मेरिनेट गरेको चिकेनलाई डिप फ्राई गर्ने र सबै सामग्री माथिबाट हालेर राम्रोसँग चलाइदिने । यसरी सिचुवान चिकेन चिल्ली तयार भयो ।

 Image