Successfully Copied

तीजको परिकार

मसरुमलाई पातलो पारेर च्यात्ने। केही समय तातोपानीमा डुबाएर मज्जाले निचोर्ने। सुख्खा भएपछि फलामको कराहीमा तेल तताएर रातो खुर्सानी हाल्ने।

सुगारिका केसी, पूर्व मिस नेपाल

मसरूम भुटुवा

सामग्री : मसरुम १ केजी, नुन, खुर्सानी, धूलो जिरा, धनियाँ गेडा, धनियाँ आदि मसला आवश्यकताअनुसार, तेल ५० मिलिलिटर।

विधि : मसरुमलाई पातलो पारेर च्यात्ने। केही समय तातोपानीमा डुबाएर मज्जाले निचोर्ने। सुख्खा भएपछि फलामको कराहीमा तेल तताएर रातो खुर्सानी हाल्ने। खुर्सानी डढेपछि बेसार, गेडा जिरा र गेडा धनियाँ अनि लगत्तै मसरुम हाल्ने। नुन, जिरा, धनियाँ, धूलो खुर्सानी हालेर रातो नहुन्जेल भुट्ने। पानी सुकेर रातो भएपछि मसरुम भुटुवा तयार हुन्छ। मसरुम भुटुवालाई चिउरा, पुलाउ आदिका साथमा  वा स्न्याक्सका रूपमा खान सकिन्छ।

तोफु चिल्ली

सामग्री : तोफु २ वटा, क्याप्सिकम २ वटा, प्याज २ वटा, हरिया खुर्सानी ५-६ वटा, ठूला गोलभेंडा २ वटा।

विधि : तोफुलाई चारपाटे आकारमा काट्ने। साथमा क्याप्सिकम, प्याज तथा गोलभेंडालाई पनि चारपाटे आकारमै काट्ने। हरियो खुर्सानीलाई चिरा पार्ने। तेल तताएपछि तोफु ओइरिने। रातो नभएसम्म फ्राई गर्ने। रातो र कडा भएपछि निकाल्ने। क्याप्सिकम सोथे गरेर निकाल्ने, प्याजलाई पनि हल्का फ्राई गरेर निकाल्ने । अर्को प्यानमा तेल तताउने अनि त्यसमा हरियो खुर्सानी तथा गोलभेंडा हाल्ने। त्यसपछि नुन, खुर्सानी, बेसार तथा जिरा हालेर चलाउने। गोलभेंडा पाकेर लेदो भएपछि सोथे गरेको सामग्री हालेर चलाउने। मन पर्नेले सोया सस हालेर चलाए पनि हुन्छ। अन्त्यमा धनियाँले गार्नेस गर्ने।

आलमन्ड दही

सामग्री : जुजु दही १ लिटर, आलमन्ड २५ वटा काटेको, चिनी ३ चम्चा, अलैंचीको धूलो थोरै।

विधि : दहीलाई मज्जाले फिटेर एक साइडमा राख्ने। प्यान तताएर चिनी हाल्ने। चिनी खैरो भएपछि आलमन्ड हाली तुरुन्तै निकाल्ने। फिटेको दहीमाथि आलमन्ड हाल्ने।  

सपना पौडेल महर्जन, कलाकार

खसीको ग्रेभी मासु

सामग्री : खसीको मासु आधा केजी, प्याज २ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन स्वादअनुसार, तेल ४ टेबुल चम्चा, बेसार १ चम्चा, जिराको धूलो २ चम्चा, धनियाँको धूलो २ चम्चा, रातो खुर्सानीको धूलो १ चम्चा, धनियाँको पात १ मुठा ।

विधि : एउटा कराहीमा तेल तताएर प्याज भुट्ने र बेसारको धूलो पनि राखिदिने। त्यसमा अदुवा र लसुनको पेस्ट हालेर मज्जाले चलाउने। प्याज तथा मसला खैरो हुने गरी भुट्ने। एउटा भाँडामा मासुलाई राम्रोसँग पखालेर नुन, खुर्सानीको धूलो, जिरा र धनियाँ पाउडर हालेर आधा घन्टाजति छोड्ने। त्यसपछि प्रेसर कुकर बसालेर त्यसमा प्याज तथा मसलाका साथमा मोलेको मासु पनि हालेर ओइरिने र २ सय ५० मिलिलिटर पानीका साथ बिर्को बन्द गरेर पकाउने। चार सिठी लगाएपछि बिर्को खोलेर अर्को भाँडोमा खन्याई धनियाँ छर्किदिने।

ग्रेभी फिस

सामग्री : रहु माछा १ केजी, गोलभेंडा आधा केजी, प्याज १ पाउ, नुन, बेसार तथा जिराको धूलो आवश्यकताअनुसार, अदुवा-लसुनको पेस्ट २ चम्चा, सर्स्युं १५ ग्राम, बेसन १ कप, प्ाानी १ लिटर, धनियाँ गार्नर्र्ेसका लागि सस्र्युंको पेस्ट स्वादअनुसार ।

विधि : माछालाई बेसार, बेसन र नुन हालेर मोल्ने। मोलेको माछालाई केही समयपछि फ्राई गर्ने। त्यसपछि अर्को प्यानमा तेल हालेर काटेको प्याजलाई खैरो हुने गरी भुट्ने। प्याज खैरो भएपछि गोलभेंडा हाल्ने र गल्ने गरी पकाउने। गोलभेंडा गलेपछि जिरा, नुन, बेसार, खुर्सानीको धूलो, अदुवा र लसुनको पेस्ट, सस्र्युंको धूलो र पेस्ट सबै हालेर ५ मिनेटजति पकाउने। पेस्ट तयार भएपछि फिस ग्रेभीमा कति झोल चाहिने हो त्यति नै पानी हाल्ने । पानी उम्लिदा फिँज आउँछ र त्यो फिँज पूरै गएपछि मात्र फ्राइड माछा हाल्ने। त्यसपछि माछालाई थप उमाल्ने। ७ मिनेटजति उम्लिएपछि काटेको धनियाँले सजाउने।

बेनिसा हमाल, नायिका

इटालियन राइस बल

सामग्री : चामल २ कप, तेल २ चम्चा, बेसन र मैदा १ चम्चा, चीज, अण्डाको पहेंलो भाग २ वटा, धनियाँ एक मुठा ।

विधि : एउटा भाँडामा तेल तताएर चामल हाल्ने र आवश्यक पानी हाली भात तयार गर्ने। एउटा बाबलमा कोरेको चीज, अण्डाको एउटा पहेंलो भाग, थोरै नुन र पानी हालेर फिट्ने। पाकिसकेको भात त्यसमा मिसाउने र  सजिलोका लागि २ चम्चा मैदा हालेर बल बनाउने। बललाई मैदाको पीठोमा डुबाउने। त्यसपछि अर्को एउटा पहेंलो अण्डाको भागमा पनि डुबाउने। अर्को एउटा प्लेटमा राखिएको बेसनमा त्यो बललाई बिस्तारै डुबाउने। सानो आँच गरेर प्यानमा तेल तताउने र १५ मिनेटजति बल फ्राई  गर्ने। यसलाई आफूलाई मन पर्ने कुनै पनि चटनीसँग खान सकिन्छ।

पमफ्रेड फ्राई

सामग्री : पमफ्रेड फिस २ वटा, नुन, बेसार तथा जिराको धूलो स्वादअनुसार, अदुवा र लसुनको पेस्ट २ चम्चा, चामलको पीठो २ चम्चा, दही २ चम्चा, कागतीको रस थोरै, तेल ३ चम्चा ।

विधि : माछालाई बिचबाट चिरेर राम्रोसँग सफा गर्ने। पुन: माथिबाट चक्कुले काटेपछि मसला सजिलै भित्र छिर्न पाउँछ। एउटा भाँडामा नुन, बेसार, अदुवा, लसुन एवं धनियाँको पेस्ट, दही, चामलको पीठो तथा कागतीको रस मिक्स गर्ने। माछाको अगाडि र पछाडि दुवै साइडमा सबै पेस्ट मज्जाले भित्र छिर्ने गरी लगाउने। आधा घन्टाजति त्यत्तिकै रहन दिने। आधा घन्टापछि नन स्टिक प्यानमा तेल तताएर माछा हाल्ने। माछाको दुवै भागलाई १०-१० मिनेट पल्टाइ-पल्टाइ पकाउने। यसरी पाकेको पमफ्रेड फ्राइलाई स्न्याक्सका रूपमा मीठो गरी खान सकिन्छ।

मञ्जु पौडेल, गायिका

लोकल कुखुराको ग्रेभी

सामग्री  : कुखुराको मासु १ केजी, तेल ३ चम्चा, प्याज २ वटा, गोलभेंडा २ वटा, चिकेन मसला थोरै, जिरा, लसुन र अदुवाको पेस्ट २ चम्चा नुन स्वादअनुसार।

विधि : कराहीमा तेल तताएर प्याजलाई खैरो हुने गरी भुट्ने। पखालेर मासु निकालेको कुखुराको मासुलाई प्याजसँगै मज्जाले भुट्ने। एकछिन पकाएपछि अदुवा, लसुन तथा जिराको पेस्ट हाल्ने। सानो आँचमा छोप्दै पकाउने। बिस्तारै पानी सकिन लागेपछि गोलभेंडा हाल्ने। लोकल कुखुरा भएकाले यसलाई आधा घन्टाजति मज्जाले पकाउनुपर्छ।

चुकौनी

सामग्री : उसिनेको आलु आधा केजी, अमिलो दही आधा लिटर, प्याज ३ वटा, मेथी १ चम्चा, नुन तथा खुर्सानी स्वादअनुसार, बेसार आधा चम्चा, लसुन १२ केस्रा, तेल २ चम्चा।

 विधि : उसिनेको आलुको बोक्रा निकालेर ४ टुक्रा पार्ने। प्याज र खुर्सानीलाई काटेर भाँडामै राख्ने। नुन, खुर्सानी पछि दही हालेर मोल्ने। दहीलाई स्वादअनुसार बाक्लो र पातलो गर्न सकिन्छ। त्यसको माथिबाट तेलमा मेथी, लसुन र बेसारले झान्ने। चुकौनी तीजमा दरका रूपमा खान सकिन्छ।

लामो खुर्सानी र आलु अचार

सामग्री : उसिनेको आलु आधा केजी, लामो खुर्सानी आधा केजी, तेल तथा १ कचौरा भाङ।

विधि : प्यानमा तेल तताएर मेथी पड्काउने। खुर्सानीलाई आधा काटेर भित्रको बियाँ निकाली तेलमा हाल्ने। नुन र बेसार पनि सँगै हालिदिने। केहीबेर पकाएपछि खुर्सानी गल्छ। त्यसपछि आलुलाई चारपाटे आकारमा काटेर हाल्ने। ५ मिनेट छोपेर बाहिर निकाली सेलाउन दिने। भुटेको भाङ पिसेर अमिलोसँग मिसाई आलु र खुर्सानीमा राम्रोसँग मोल्ने। माथिबाट धनियाँ छर्केर सजाउने।

सीता पाठक, सौन्दर्यविद्

आलुको अचार

सामग्री : आलु १ केजी, प्याज ३ वटा, ठूलो ग्ाोलभेंडा ३ वटा, हरियो खुर्सानी ६-७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनियाँ।

विधि : आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने। गोलभेंडा तथा काँचो प्याजलाई राउन्ड सेपमा काट्ने। हरियो खुर्सानीलाई चिरा पारेर काट्ने। अदुवालाई मसिनो गरी काट्ने। त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनियाँ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने। भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने। खानुभन्दा आधा घन्टाअघि फ्रिजमा हाल्ने। यो अचार ढकनीसँग खाँदा निकै स्वादिष्ट हुन्छ।

पनीरको अचार

सामग्री : पनीर आधा केजी, प्याज १ पाउ, गोलभेंडा २ वटा, हरियो खुर्सानी स्वादअनुसार, जिराको धूलो थोरै, नुन स्वादअनुसार, काँचो तोरीको तेल ३ चम्चा।

विधि : पनीरलाई डिप फ्राई गरी एउटा भाँडामा राख्ने। त्यही भाँडामा प्याज, गोलभेंडा एवं धनियाँ काटेर हाल्ने र त्यसमा जिरा, नुन, खुर्सानी तथा काँचो तोरीको तेल हालेर मज्जाले मोल्ने।

ढकनी

सामग्री : अनदीको चामल १ केजी, शुद्ध घिउ आधा पाउ, चिनी स्वादअनुसार, दूध १ लिटर।

विधि : पकाउनुभन्दा आधा घन्टाअघि चामललाई दूधमा भिजाउने। एउटा भाँडामा घिउ हालेर दूधबाट चामल निकालेर भुट्ने। चामल खैरो भएपछि चिनी र दूध हालेपछि छोपेर सानो आँचमा पकाउने। ढकनी दरका रूपमा खाइने मुख्य परिकार हो।

 

 Image