Successfully Copied

बगान थकालीका परिकार

विगत ७ वर्षदेखि ठमेलमा सञ्चालित बगान थकाली विशेष परिकारका लागि प्रख्यात छ ।

अमित तामाङ, सेफ, बगान थकाली, त्रिदेवी मार्ग ठमेल

रातो च्याउ (रेड मसरुम)
सामग्रीहरूः
रातो च्याउः २ सय ग्राम
होममेड मसलाः १ चम्चा
प्याजः एउटा
चप गरेको लसुनः १ चम्चा
धूलो टिम्मुरः आधा चम्चा
धूलो जिराः आधा चम्चा
धूलो खुर्सानीः आधा चम्चा
नुन/तेलः स्वादअनुसार
विधिः
रातो च्याउलाई सफा पानीमा पखाल्ने । कराही बसालेर तोरीको तेल तताउने । तेल राम्ररी तातिसकेपछि लसुन फुराएर केही सेकेन्ड सते गर्ने । लसुन गोल्डेन ब्राउन भएपछि च्याउ हालेर मज्जाले चलाउँदै केहीबेर पाक्न दिने । च्याउ पाकिसकेपछि माथि उल्लेख गरिएका मरमसला हालेर मन्द आँचमा दुई मिनेट पकाउने । अब यो स्वादिष्ट परिकार प्लेटिङका लागि तयार भयो । उच्च हिमाली भेगमा पाइने रातो च्याउ दुर्लभ छ तर बगान थकालीले सिजनल मेनुमा राख्ने यो परिकार स्वादका हिसाबले मात्रै नभएर स्वास्थ्यका लागि पनि लाभदायक छ । दम, बाथ, क्यान्सरलगायतका रोगका लागि लाभदायक यो परिकार स्न्याक्सका रूपमा खान सकिन्छ ।

कञ्चम्पा
सामग्रीहरूः
फापरको ढिँडोः २ सय ग्राम
लसुन पेस्टः १ चम्चा
अदुवा पेस्टः १ चम्चा
घिउः १ ठूलो चम्चा
तेलः आधा लिटर
नुनः स्वादअनुसार

विधिः
पहिले फलामको कराहीमा पानी उमाल्ने । त्यसपछि फापरको पिठो, अदुवा र एक चम्चा घिउ हालेर काठको दाबिलोले मज्जाले ओडालेर ढिँडो तयार पार्ने । ढिँडो सेलाइसकेपछि एउटा अर्को साधारण कराहीमा तेल बसाल्ने । तेल तातिसकेपछि ढिँडोलाई इच्छानुसार सेप दिएर गोल्डेन ब्राउन हुने गरी फ्राई गर्ने । बकविट चिप्सका रूपमा चिनिने यो परिकार स्न्याक्सका लागि बेस्ट हुन्छ । उहिले लेकमा बस्ने थकालीरूले बिहान पकाएको ढिँडो दिउँसो खाजाका रूपमा खान्थे । कञ्चम्पा स्वादिष्ट त छ नै त्यसमाथि यसमा रहेको पोषकतत्वले शरीरलाई मजबुत बनाउनुका साथै तातो प्रदान गर्छ ।

रनिङ रिभर फ्रेस असला करी
सामग्रीहरूः
फ्रेस असला माछाः २ सय ग्राम
प्याज/टमाटरः एक–एक वटा
होममेड मसालाः डेढ चम्चा
लसुन पेस्टः १ चम्चा
अदुवा पेस्टः १ चम्चा
धूलो जिराः १ चम्चा
धूलो खुर्सानीः १ चम्चा
धनियाँ पाउडरः १ चम्चा
लेमन जुसः १ चम्चा
नुन/तेलः स्वादअनुसार
चप गरेको हरियो धनियाःँ एक चम्चा

विधिः
सफा पानीले पखालेर राखेको कराहीमा तेल तताउने । प्याजलाई राम्ररी फ्राई गर्ने । त्यसपछि सफासँग पखालेर टुक्रा पारेको फ्रेस असला हालेर कम आँचमा चलाउँदै पकाउने । माछा करिब आधा पाकिसकेपछि सम्पूर्ण मरमसला हालेर राम्ररी चलाउने । केहीबेर छोपेर पाक्न दिने । अब टमाटर हालेर ५ मिनटे फेरि पकाउने, अनि छिपछिपे पानी हालेर ३ मिनेट पाक्न छोडिदिने । अन्तिममा लेमन जुस र हरियो धनियाँ पत्ता राखेर वाउलमा सर्भ गर्ने । खाना, रोटी, पराठा, चिउरासँग खान सकिने यो परिकार मेनकोर्सका लागि सर्भ गर्न सकिन्छ । स्वादले भरिपूर्ण यो करी प्रोटिनयुक्त छ ।

लेप्पो खु
सामग्रीहरूः
खसीको गिदीः एउटा
खसीको जिब्रोः एउटा
खसीको टाउकोको मासुः २ सय ग्राम
होममेड मसलाः २ चम्चा
उवाको सातुः २ चम्चा
प्याजः एउटा
जिरा धूलोः १ चम्चा
टिम्मुर पाउडरः आधा चम्चा
लेमन जुसः आधा चम्चा
नुन/तेलः स्वादअनुसार
चप गरेको हरियो धनियाःँ एक ठूलो चम्चा

विधिः
सफा प्यान बसालेर ग्यासको हिट अन गर्ने । प्यान तातिसकेपछि तेल हालेर प्याज फ्राइ गर्ने । प्याज गोल्डेन ब्राउन भइसकेपछि ग्यासको हिट लो राखेर बेसार, जिराको धूलो, खुर्सानी हालेर ३० सेकेन्ड पकाउने । त्यसपछि सफासँग पखालिराखेको मिक्स मासुलाई हालेर कम आँचमा ३० मिनेट पकाउने । राम्ररी पाकिसकेपछि उवाको सातु चिसो पानीमा फिटी हाल्ने अनि राम्ररी चलाएर ५ मिनेट पाक्न दिने । अन्तिममा हरियो धनियाँ राखेर सर्भ गर्ने । लेकतिरका थकालीहरूको विशेष परिकारका रूपमा कहलिएको लेप्पो खु खासगरी वृद्धवृद्धालाई खुवाउने चलन छ । पौष्टिकताले भरिपूर्ण यो परिकार भात, रोटी वा चिउरासँग खाँदा अझै स्वादिष्ट हुन्छ । 

 Image