Successfully Copied

वैज्ञानिक मनीषा

संघर्ष नगरी कुनै पनि सपना पूरा हुँदैन, कामप्रति रुचि राखेर अगाडि बढेको खण्डमा हरेक मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।’

आरती पौडेल
बाल्यकालदेखि नै विज्ञानमा रुचि राख्ने मनीषा वैज्ञानिक बन्न चाहन्थिन्, सानैदेखि सामान्यज्ञान पढ्न रुचाउने उनको मनमा लाग्थ्यो वैज्ञानिकले त सबै कुराको आविष्कार गरिसकेका रहेछन्, मैले वैज्ञानिक भएर केही आविष्कार गर्ने काम नै छैन । यो कुराले उनलाई चिन्ता लाग्न थाल्यो । उनले पृथ्वीभन्दा टाढाको कुरा अध्ययन गर्छु भन्ने सोचाइ बनाउन थालिन् । आफूले आफैलाई हौसला दिँदै जे–जस्तो बने पनि अरुभन्दा फरक बनेर समाजमा आफ्नो छुट्टै पहिचान बनाउने अठोट राख्दै अगाडि बढ्दै गइन् । नभन्दै उनले सोचेको पूरा गरेरै छोडिन् । उनी नेपालको पहिलो महिला एस्ट्रो–फोटोग्राफर बनिन् । मनीषा भन्छिन्, ‘तब म ब्रम्हाण्डमा हुने वा आकाशमा देखिने नयाँदेखि पुराना ग्रहलगायत, चन्द्रमा, तारामण्डल तथा अन्य ग्रहहरूको फोटो खिच्न थालें । अँध्यारो रातमा आकाश नियाल्दै आफ्नै दुनियाँका फोटो खिच्नुमा म दंग पर्थें ।’
पोखराको सामान्य नेवार परिवारमा जन्मिएकी मनीषा सानैदेखि पढ्नमा अब्बल थिइन् । उनी रोचक लाग्ने केही कुरा देख्नेबित्तिकै आफ्नी आमालाई सोध्ने गर्थिन्, आमा शिक्षक भएका कारण उनले सोधेका हरेक प्रश्नको उत्तर सजिलै पाउँथिन् । उनका प्रश्न प्रायः आकाशसँग जोडिएका हुन्थे, कहिले आकाशमा तारा किन हिँडेको मामु भनेर प्रश्न गर्थिन्, त कहिले तारा खस्यो भने के हुन्छ ? भनेर प्रश्न गर्थिन् । आमाले उनका हरेक प्रश्नको उत्तर दिन्थिन् । उनी आफ्ना बुवासँग रातमा आकाशको सौन्दर्य अवलोकन गर्न रुचाउँथिन् ।
उनी पढाइमा तेज भएकै कारण घरपरिवारदेखि आफन्त र छरछिमेकीले डाक्टर बनाउन चाहन्थे । तर विभिन्न परिस्थितिका कारण उनले डाक्टर पढ्न सकिनन् । उनी स्नातक तहमा जीवविज्ञान पढ्न पी.एन. क्याम्पस पुगिन् । तर त्यहाँको वातावरणले उनी भौतिक विज्ञानतिर मोडिइन् ।
उनी भन्छिन्, ‘त्यसपछि मलाई भौतिक विज्ञान पढ्ने इच्छा भयो । म त्यतैतिर मोडिएँ । महिला र पुरुषबीच समाजले पैदा गरेको नकारात्मक सोच हटाउने अभियानमा सक्रिय भएँ । अनि कडा परिश्रमका साथ अध्ययन गर्न थालें ।’ भन्छिन्, ‘हाल म एस्ट्रोनोमीमा त्रि. वि. बाट विद्यावारिधि गरिरहेकी छु । पहिले छोरीले सक्दैनन् भन्नेहरू अहिले छोरी–बुहारीको उन्नति एवं प्रगतिमा सहयोगी बनेका छन् । समय बदलिएको छ । आगामी पुस्ताका लागि हामीले आजैदेखि पहल गरियो भने उनीहरूलाई थप सहज हुन्छ ।’ मनीषा जोन्टा इन्टरनेसनलद्वारा प्रदान गरिने १०,००० अमेरिकी डलर मूल्य बराबरको प्रतिष्ठित अमेलिया इयर हार्ट छात्रवृत्ति प्राप्त गर्ने पहिलो नेपाली महिला हुन् ।
स्नातकोत्तर सकेर पोखराकै एउटा विद्यालयमा पढाउने क्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको तालिम पोखरामा आयोजना हुन लागेको थाहा पाएपछि उनले आफ्नो कमाइबाट केही पैसा त्यसका लागि बचत गर्न थालिन् । आफूले कमाएको पैसा सबै आमालाई दिने बानी परेकी उनी ती दिनहरू सम्झिदै भन्छिन्, ‘जब तालिममा जोडिने मौका पाएँ त्यसमा सहभागी हुनु नै मेरो उत्कृष्ट निर्णय हुनपुग्यो । त्यहाँ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका विभिन्न व्यक्तिसँग भेटघाट गर्ने मौका मिल्यो । जब विज्ञानप्रतिको रुचि र मैले खिचेका तस्बिरहरू देखेर तालिम सञ्चालकले मेरो कामको प्रशंसा गरे । त्यसपछि ममा सन्तुष्टि र आत्मविश्वास पैदा भयो ।’ मनीषा खगोल विज्ञानमा आफ्नो भविष्य देखेर राजधानी आउने सोच बनाइन् । परिवारको सल्लाहमा उनी काठमाडौं आइन् । उनलाई नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सुरुदेखि अहिलेसम्म प्रेरणा र हौसला दिँदै आएका छन् ।


नेपाल आईएयू अफिस अफ एस्ट्रोनोमी फर एजुकेसनकी सह–प्रबन्धक उनी यो संस्थाले शिक्षक र विद्यार्थीहरूलाई खगोल विज्ञानलगायत विभिन्न विषयमा सिक्ने मौका प्रदान गरिरहेको बताउँछिन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी संयोजक, राष्ट्रिय खगोल शिक्षा संयोजक, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन नेसनल आउटरिच कोअर्डिनेटर, वर्ड स्पेस विकास नेपालको संयोजकका रूपमा आबद्ध मनीषा नेपालमा खगोलीय पर्यटन एस्ट्रो टुरिजमको वकालत गर्दै आएकी छन् । उनले विश्वका २५ भन्दा बढी देशमा आफ्नो क्षमता र बौद्धिकता प्रदर्शन गरिसकेकी छिन् । सुरुमा जीवनमा आफूले के गर्दैछु र भोलि के गर्ने ? भनी निराश भएका बेला आफ्नी बहिनी न्यान्सीले दिएको आशा र विश्वास अविस्मरणीय भएको बताइन् । मनीषा इन्टरनेसन एस्ट्रोनटिक फेडेरेसन इमर्जिङ लिडर अवार्डबाट सम्मानित हुने पहिलो नेपाली महिला हुन् । इन्द्रकला छात्रवृत्ति, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) बाट प्रविधि प्रवद्र्धन पुरस्कारलगायतका पुरस्कारबाट पनि उनी सम्मानित भइसकेकी छिन् ।
छोरी भएकै कारण उनको करियरलाई लिएर सुरुवाती दिनमा टीकाटिप्पणी भने नभएका होइनन् । उनी भन्छिन्, ‘समाज र आफन्तले छोरीमान्छे भएर रातबिरात हिँड्ने कस्तो काम हो ? भनेर प्रश्न उठाउँदा मैले कामले नै जवाफ फर्काउन सक्ने सबल र सक्षम बन्नुपर्छ भन्ने अठोट गरें । हिजो नराम्रो भन्नेहरू अहिले आफ्ना छोराछोरीका लागि पनि सल्लाह र हौसला दिन र मजस्तै बनाउने इच्छा व्यक्त गर्छन् । यसले मेरो जीवन सार्थक भएको महसुस गरेकी छु ।’


परिवार शिक्षित र बुझ्ने भएकै कारण आफूले सबैको साथ पाएको बताउँदै उनी भन्छिन्, ‘जीवनमा कसैको हौसला बन्न सकूँ, अहिलेका बाबु–नानीहरू जीवनमा के गर्ने भनेर दोधारमा पर्दा उनीहरूको क्षमतालाई चिनेर आफ्नो लक्ष्यसम्म पु¥याउन सके मेरो कर्तव्य पूरा भएको ठान्नेछु । हरेक विषयमा मेहनत गर्नुपर्छ । संघर्ष नगरी कुनै पनि सपना पूरा हुँदैन, कामप्रति रुचि राखेर अगाडि बढेको खण्डमा हरेक मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।’ आफूले पढाएका विद्यार्थीले राम्रो गर्दा आफैले जितेजस्तो महसुस गर्ने मनीषा आफ्ना बुवाले निकै गम्भीर हुँदै भनेका कुरा स्मरण गर्छिन्, ‘तिमी अविवाहित छौ । आफ्ना लागि पनि सोच्नुपर्छ । हामी बाँचुन्जेल तिमी सँगै हामी हांैला । हाम्रो शेषपछि तिमी एक्लै हुन्छ्यौ । त्यसैले विवाह गर ।’ बुवाको आफूप्रतिको चिन्तामा ढाडस दिँदै उतिबेला मनीषाले भनेकी थिइन्, ‘चिन्ता नलिनू बाबा π तपार्इंले सोचेजस्तो नातिनातिना नहोलान् तर म मर्ने बेलामा मेरा यति धेरै बालबच्चा (विद्यार्थी) हुनेछन् कि तपार्इंले चिन्ता गर्नु पर्दैन ।’ उनले बुवालाई त्यस दिन भनेको कुरा अहिले आफ्ना विद्यार्थीले गरेको मायाले प्रमाणित गरिदिएका छन् । उनी भन्छिन्, ‘नेपालमै बसेर विद्यार्थीहरूलाई विज्ञानमा रुचि बढाउन र संसारभर उनीहरूको कामले नेपाल चिनाउने इच्छा छ ।’ आफूले गरेको मेहनत, संघर्ष र मुलुकप्रति दिएको आफ्नो अमूल्य समय अनि योगदान नेपालले चिन्नुअघि विदेशले चिनेकोमा उनलाई दुःख लाग्छ । उनी मातृभूमिकै काखमा लुटपुटिएर स्वदेश बनाउन चाहन्छिन् ।

 Image