Successfully Copied

परीक्षाको समयमा बालबालिकासँग कस्तो व्यवहार गर्ने ?

हरेक बालबालिकाको फरक फरक क्षमता हुन्छ ।


यतिबेला बालबालिकाहरूको अन्तिम परीक्षाको तयारी चलिरहेको छ । ‘परिक्षा’ शब्द सुन्नेबित्तिकै बालबालिकाहरूमा तनाव र चिन्ता बढ्न थाल्छ । उनीहरूसँगै अभिभावकको पनि तनाव बढ्छ । बालबालिकाहरूलाई परीक्षामा राम्रो परिणाम ल्याउनुपर्ने दबाबले उनीहरूमा तनाव झनै थपिन्छ । नियमित पठनपाठन नगरेका बालबालिकाहरूको तनाव झनै बढेको पाइन्छ । परीक्षाको समयमा अभिभावकले आफ्ना बालबालिकाहरूसँग निम्न व्यवहार गरी उनीहरूको तनाव कम गर्न सकिन्छ ।



दबाब नदिने
हरेक बालबालिकाको फरक–फरक क्षमता हुन्छ । उनीहरूको बुझाइ, सिकाइ र सोचाइ क्षमता पनि भिन्दाभिन्दै हुन्छ । अन्य बालबालिकासँग तुलना गरेर उनीहरूलाई पटक–पटक पढ्नका लागि दबाब दिनुहुँदैन । अत्यधिक दबाबकै कारण बालबालिकामा तनाव बढ्छ । बालबालिकालाई उनीहरूको क्षमतानुसार परीक्षाको तयारी गर्न लगाउनुपर्छ । उनीहरूको क्षमतामाथि अभिभावकले विश्वास गर्न सक्नुपर्छ ।
मनोबल बढाइदिने
परीक्षाको समयमा पटक–पटक उनीहरूको कमजोरी देखाउनुको साटो शक्तिमा केन्द्रित गराउन सक्नुपर्छ । उनीहरूको कदर अन्य समयको तुलनामा बढी गर्नुपर्छ । उनीहरूलाई पढ्न प्रेरित गर्न सक्नुपर्छ । मनोबल बढाउने खालको व्यवहार अभिभावकले गर्नुपर्छ । बालबालिकाले पढिरहेको समयमा आफूपनि स“गै बसिदिनुपर्छ । यसले उनीहरूको हौसला बढ्छ ।

संवाद गर्ने
बालबालिकाहरू परीक्षाको तनावमा छन् भने उनीहरूसँग संवाद गर्नुपर्छ । परीक्षालाई सामान्य रूपमा लिन उत्प्रेरित गर्नुपर्छ । बेलाबेलामा संवाद गरी बालबालिकाको मनोबल बढाइरहनुपर्छ । उनीहरूलाई पढ्नमा सहजीकरण गरिदिनुपर्छ । उनीहरूका हरेक कुरा सुन्ने प्रयास गर्नुपर्छ । उनीहरूले नबुझेका प्रश्नको उत्तर खोजिदिनुपर्छ ।
बालबालिकाको पढाइमा ध्यान दिने
व्यस्तताका कारण आफ्ना बालबालिकाको पढाइलाई अभिभावकले बेवास्ता गर्नुहुँदैन । उनीहरूले के पढिरहेका छन्, कसरी पढ्छन्, कतिबेला पढ्छन् यी विषयमा ध्यान दिनुपर्छ । परीक्षाअगावै पढाइका लागि प्रेरित गर्नुपर्छ । परीक्षाको समय भनेको ‘मेमोराइज’ मात्र गर्ने हो । पढ्नका लागि समय तालिका बनाइदिनुपर्छ ।
पर्याप्त निद्रा
प्रायः बालबालिकाहरू परीक्षाको समयमा कम सुत्छन्,धेरै पढ्छन् । यो शैली स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । स्वस्थ हुनका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । बालबालिका शारीरिक रूपमा कमजोर छन् भने रातभरि पढ्दा उनीहरू झनै कमजोर बन्न सक्छन् । त्यसैले रातभर जाग्राम भएर पढ्न दिनुहुँदैन । निद्रा पुगेन भने उनीहरू फ्रेस हुँदैनन् र पढाइमा पूर्णरूपले केन्द्रित पनि हुन सक्दैनन् ।

हल्का डाइट दिने
पढाइसँगै बालबालिकाको खानपिनमा ध्यान दिन उत्तिकै आवश्यक छ । स्वस्थ आहारले उनीहरूमा एकाग्रता बढ्छ । परीक्षाको समयमा बालबालिकाहरूलाई स्वस्थ र हल्का खाना खुवाउनुपर्छ । यस्तो खाना सजिलैसँग पच्छ । भरसक घरमै बनाएको खाना खुवाउनुपर्छ । तारेको वा भुटेको खानाभन्दा ताजा फलफूल र तरकारीमा जोड दिनुपर्छ ।
प्रशस्त पानी दिने
पानी पिउनु स्वास्थ्यका लागि मात्र नभई पढाइका लागि पनि उत्तिकै जरुरी छ । शरीर जति हाइड्रेट हुन्छ त्यति नै बालबालिकाले ताजगी महसुस गर्छन् । उनीहरूलाई पढ्ने समयमा पनि पानी खान दिनुपर्छ । ताजा फलफूलको जुस वा सुपले पनि उनीहरूलाई हाइड्रेट राख्न सहयोग गर्छ ।

‘शिक्षण सिकाइ प्रक्रिया नै तनावका कारण हुन्’
मीनाक्षी दाहाल, मनोविद्
धेरैजसो परिक्षाको समयमा बालबालिकाले आफै तनाव लिने भन्दा पनि अभिभावकले नै तनावपूर्ण वातावरण बनाइदिने गरेको पाइन्छ । उनीहरूलाई पटक–पटक परीक्षाको डर देखाइएको हुन्छ । ‘अहिले नपढ पछि परीक्षाको बेला थाहा पाउँछौ’ भन्दै उनीहरूलाई परीक्षाको नाममा तह लगाउने प्रयास गरिन्छ । बालबालिकाहरूमा तनाव तत्कालै नभई बिस्तारै विकास हुँदै जान्छ । यसको असर डरलाग्दो हुन्छ । परीक्षाको डरले उनीहरूको नियमित पढाइ मात्रै होइन व्यवहार पनि परिवर्तन भइदिन्छ । यस्तो अवस्थामा उनीहरू राम्रोसँग नबोली झर्किन पनि सक्छन् । उनीहरू असामाजिक बन्दै जान्छन् । बालबालिका तनावमा रहेका बेला उनीहरूको सिकाइ क्षमतामा ह्रास आउँछ ।
परीक्षाको समयमा बालबालिकाले ‘मेमोराइज’ मात्रै गर्ने हो । तनावमा हुँदा उनीहरूले पढेको विषय राम्रोसँग बुझ्न सक्दैनन् र परीक्षा बिग्रिन सक्छ । बालबालिकाको परीक्षा आउँदा अभिभावक पनि तनावमा देखिन्छन् । यसले उनीहरू झनै आत्तिन्छन् । यसलाई सामान्यीकरण बनाउनुपर्छ । तनावको स्रोतलाई न्यूनीकरण गर्नुपर्छ । अभिभावकले उनीहरूको आनीबानी, सिक्ने क्षमता, पढ्ने प्रवृत्तिलाई नियाल्नुपर्छ । हरेक बालबालिकाको सिक्ने क्षमता फरक हुन्छ । त्यसैले अभिभावकले उनीहरूमाथि दबाब दिनुको साटो सहजीकरण गरिदिनुपर्छ ।
अर्को कुरा, हाम्रो शिक्षण सिकाइनै बालबालिकामैत्री नभएर उनीहरूलाई तनाव सिर्जना गर्ने खालको छ । बालबालिकाले प्रश्नको उत्तर किताबको जस्तो हुबहु दिँदा नम्बर बढी दिइन्छ । उनीहरूको मौलिक उत्तरलाई प्रोत्साहन गरिँदैन । उनीहरूको प्रस्तुतीकरण हेरेर नम्बर दिइँदैन । घोकेको उत्तरलाई बढी प्राथमिकता दिँदा उनीहरूमा बुझेर पढ्ने भन्दा पनि घोक्ने बानीको विकास हुन्छ । घोक्न नसकेका वा नभ्याएका बालबालिका तनावमा हुन्छन् । यस्तो अवस्थामा उनीहरूको तर्क गर्ने क्षमता, सिक्ने, बुझ्ने क्षमताका साथै सिर्जनात्मक क्षमताको पनि राम्रोसँग विकास हुन पाउ“दैन ।

‘सिकाइ क्षमता बढाउन स्वास्थ्य महत्वपूर्ण’
रेश्मा राणा, मनोविद्
परीक्ष्को समयमा बालबालिका स्वस्थ हुन जरुरी हुन्छ । पढाइका लागि उनीहरूको शारीरिक एवं मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । यसका लागि स्वस्थ खाना र पर्याप्त निद्रा हुनुपर्छ । परीक्षाको समयमा मात्र पढ्ने बानी राम्रो होइन । अरु बेला पनि अभिभावकले पढ्ने वातावरण मिलाइदिनुपर्छ । उनीहरूले जतिखेर पनि पढिरहनु राम्रो होइन । अभिभावकले उनीहरूलाई पढिराख भन्नुभन्दा उनीहरूले थोरै पढून् तर पढेको विषयवस्तु प्रभावकारी होस् भन्नेमा सधैं ध्यान दिनुपर्छ । उनीहरूलाई पढ्नका लागि अभिभावकले ‘टाइम टेबल’ बनाइदिनुपर्छ, सही मार्गनिर्देशन गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ । कतिपयलाई परीक्षाको समयमा झाडापखाला लाग्ने, टाउको र पेट दुख्ने हुन्छ । नदुखे पनि दुखेजस्तै लाग्छ । यो उनीहरूको तनावको लेभल बढेर हो । त्यसैले उनीहरूको भित्रैबाट परीक्षाको डरलाई हटाइदिनुपर्छ । धेरै नम्बर ल्याउनुपर्ने दबाब बालबालिकामा थोपार्नु हुँदैन । परीक्षाको समयमा प्रेसर दिँदा आत्तिएर पढेको विषयवस्तु पनि बिर्सन सक्छन् । तनावले स्मरण शक्ति कमजोर हुन्छ ।

‘अभिभावकको भूमिका महत्वपूर्ण’
मुना घिमिरे, शिक्षिका
बालबालिकाहरूले विद्यालयमा सिकेको विषय घरमा गएर ‘रिभिजन’ गरे भने उनीहरूलाई परिक्षाको समयमा सहज हुन्छ । परिक्षाको समयमा मात्र पढ्ने बालबालिकाहरू तनाव र दबाबमा हुन्छन् । अभिभावकहरू पढाइको समयमा उनीहरूसँगै बसिदिनुपर्छ । उनीहरूलाई पढाइमा बानी लगाउन सक्नुपर्छ । विद्यालयले धेरै गृहकार्य दिँदा उनीहरूको पढ्ने वा रिभिजन गर्ने समय बच्दैन । यसले पनि उनीहरूलाई परिक्षाको समयमा तनाव बढ्न सक्छ । अभिभावक र शिक्षकबीच संवाद र संचार भइरहनुपर्छ । बालबालिकाको आनीबानी शिक्षकलाई थाहा हुनुपर्छ । लामोसमयसम्म बालबालिकाले लगातार पढिरहँदा दिमाग र शरीर दुवै थाक्छ । यस्तो अवस्थामा अध्ययन गरेको विषयवस्तु स्मरण गर्नमा कठिन हुनसक्छ ।

 Image