Successfully Copied

बालबालिकालाई पहिलोपटक स्कुल पुर्‍याउँदा...

आमाको काखबाट एकछिन पनि नछुटेका बालबालिकालाई अपरिचित ठाउँमा घुलमिल हुन गाह्रो पर्छ । स्कुलप्रति उनीहरूको सकारात्मक धारणा बनाउन अभिभावकको ठूलो भूमिका हुने रहेछ ।

सीताकुमारी न्यौपाने

कक्षामा रहेका ३ वर्ष हाराहारीका १२–१५ मध्ये आधाभन्दा बढी बालबालिका ‘मामु मामु...’ ‘घर जाने...’, ‘बुबु खाने..’ भन्दै कोलाहल गरिरहेका छन् । कोही उठेर, कोही बसेर रोइरहेका छन् । कोही आफ्ना झोला लिएर ढोकामा पुगिसकेका देखिन्छन् । सबैलाई फकाउन त्यहाँ रहेकी शिक्षिकालाई हम्मे परेको छ ।
‘मामुकोमा लगिदिनु न म्याम’ भन्दै ३/४ वर्षजतिको देखिने सानो बाबु शिक्षिकाको कपालमा झुन्डिरहेको छ । सिंगान र आँसुका धारा बगाएर ऊ एकोहोरो चिच्याइरहेको छ, ‘मलाई मामुकोमा किन नलगिदिएको ?’
१२ साथीको माझ एक मात्र बालक रोइरहेको छ । शिक्षिका उसलाई सम्झाइरहेकी छिन् । केही सीप नलागेपछि उनी भन्दै छिन्, ‘हेरिस्योस् न अरु साथी रोएका छन् त ? उनीहरूले झगडा गरेका छन् त ? हजुर त कस्तो ब्याड ब्वाई । उहाँलाई सबैले सेम सेम भनौं न’ (अरुलाई ऊतर्फ देखाउँदै) ।

केही समययता टिकटकमा मैले भेटेका भिडियो हुन् यी । यी दृश्यमा प्ले ग्रुप वा नर्सरी कक्षामा भर्खरै भर्ना गरिएका साना बालबालिकालाई फुल्याउन सकस परिरहेको देखिन्छ ।
अचेल यस्ता भिडियो टिकटकमा बग्रेल्ती भेटिन्छन् । ती भिडियो किन बनाइएको होला ? बनाएर किन सार्वजनिक गरिएको होला ? सामान्यतया त्यस्ता दृश्य हेर्दा तिनका अभिभावकलाई कस्तो लाग्छ होला ? साना बालबालिकाका त्यस्ता दृश्य सार्वजनिक नगरिदिए पनि हुने हो । दृश्यमा शिक्षिकाले गुनासो गरेको पनि देखिन्छ, ‘हेर्नुस् न हाम्रो पेसा यस्तो छ ।’ सायद यति दुःख हुन्छ भन्ने देखाउन पनि भिडियो टिकटकमा राखिएको होला । कतिपयको ध्येय त्यसबाट पैसा कमाउनु पनि होला ।
निश्चय नै आमाको काखबाट एकछिन पनि नछुटेका र फरक परिवेशबाट आएका बालबालिकालाई अपरिचित ठाउँमा घुलमिल हुन गाह्रो पर्छ नै उनीहरूलार्ई सम्हाल्न म्याम (शिक्षिका र सिस्टर (सहयोगी) लाई फलामको च्युरा चपाएजस्तै हुन्छ होला ।
यस्तो समस्या किन आएको होला ? प्रायः स्कुलहरूमा (मन्टेश्वरीलाई छाडेर) सामान्यतया साढे दुईदेखि ३/४ वर्ष समूहका बालबालिकालाई सम्हाल्न सक्नेगरी अध्ययन गरेका वा तालिम लिएका शिक्षिकाको व्यवस्था गरिएको पाइँदैन । भर्खरै आमाको काखबाट छुटेर आएका बालबालिकालाई कस्तो व्यवहार गर्नुपर्छ थाहै हुँदैन । कतिपय स्कुलले अलि माथिल्ला कक्षामा पढाइरहेका शिक्षकलाई पनि शिशु कक्षामा ल्याएको देखिन्छ । बच्चालाई खेलाउने त हो नि भन्ने ध्येयले न्यून तलबमा पाइने शिक्षक राख्दा पनि समस्या आएको देखिन्छ । किनभने उनीहरूमा साना बच्चालाई गर्ने व्यवहारको सीप नै हुँदैन ।
वास्तवमा पाँच वर्ष नपुगेकालाई स्कुलमा भर्ना गर्नु उपयुक्त मानिँदैन । उनीहरू शारीरिक र मानसिक रूपमा तयार भइसकेका हुँदैनन् । आमाबाबुको व्यस्तता र बाध्यताका कारण अचेल दुई वर्ष बित्न नपाउँदै स्कुलमा हालिदिने चलन बढेको छ । त्यसो त प्ले ग्रुपमा राख्ने खेलाउने–सुताउने आदि गराएर तिनलाई घर पठाइन्छ ।
साना बालबालिका सुरुमा स्कुल जान मन नगर्नु त त्यति नौलो होइन । तर विस्तारै उनीहरूलाई स्कुल जाऊँजाऊँ त्यहाँ बसूँबसूँ लाग्ने बनाउनुपर्छ । तर विस्तारै शिक्षकशिक्षिका साथीसँग अभ्यस्त हुँदै जानुपर्छ ।
बालबालिका स्कुल जान मन नगर्नुमा शिक्षक मात्र नभई हामी अभिभावक पनि दोषी छौं । हामीले साना नानीलाई स्कुल र शिक्षकबारे अनावश्यक हौवा भरिदिएका हुन्छौं । ‘धेरै झगडा गर्‍यौ भने स्कुलमा लगेर भर्ना गरिदिन्छौं’, ‘स्कुलमा सर–म्यामले पिट्दा थाहा पाउँछौ’, जस्ता कुराले उनीहरूको दिमाग भरिदिएका हुन्छौं । यसले गर्दा उनीहरूको कलिलो मस्तिष्कमा स्कुल भनेको डरलाग्दो ठाउँ हो, शिक्षक–शिक्षिका खराब हुन्छन्, तिनले पिट्छन्–हप्काउँछन् भन्ने छाप पर्दै जान्छ ।

आफ्नै उदाहरण
साढे तीन वर्ष पुगेको मेरो सानो बाबुलाई यसैपालि वैशाखदेखि स्कुल पठाएँ । बाबुको बाबा ‘यो वर्ष माघ वा अर्को वैशाखदेखि पठाउँला, हतार नगर’ भन्दै हुनुहुन्थ्यो । म पनि बाबुलाई यति चाँडै स्कुल पढाउने मनस्थितिमा थिइन । तर ‘अरु साथीको दाँजोमा ढिला होला है’ भन्ने छिमेकी तथा आफन्तको करकर र डरले यसैपालि माघमा भर्ना गरेर वैशाखदेखि पठाएँ । बाबुलाई पनि स्कुल जान हतार भइरहेको थियो ।
उसले रहर गरेको तीन वर्ष लाग्नुअघि नै हो । घरमा उसले दाजु (अहिले कक्षा ७ मा) ले घरमा पढेको देखिरहेको थियो । त्यसैको प्रभाव उसमा पढाइप्रति बढेको थियो । ‘मलाई पनि किताब ल्याइदिनुस्’ भन्थ्यो । उसैको रहरबमोजिम पुस्तक र भित्तामा झुन्ड्याउने वर्णमाला ल्याइदियौं । चित्रकथाका पुस्तकमा रमाउने बनायौं । रंगीचंगी चित्रहरू देखाएर वस्तुहरू चिन्ने बनायौं ।
पढाइको रस यतिसम्म बसेको थियो कि, बेलुकी खाना खाएर धन्दा सकेपछि लगभग एकघण्टा ओछ्यानमा पल्टेर पढ्नैपर्ने । ‘होमवर्क नगरी त सुत्दै सुत्दिनँ’ भन्ने । कम्तीमा कलम समाउन र कागजमा कोर्न भए पनि अभ्यस्त भयो । अघिल्लो दसैंदेखि ‘म पनि माघदेखि स्कुल जाने हो’ भन्थ्यो । माघमा भर्ना गरिदिइयो । तर स्कुल पठाउन मन लागेन । तीन महिना घरमै खेलोस् भन्ने लाग्यो ।
वैशाखमा नयाँ सत्र सुरु भयो । वैशाख ८ गते स्कुल खुल्यो । चिन्ता थियो, ‘रहर त गरेको छ, स्कुलमा नमान्ने हो कि ?’ ठूलोलाई जस्तै गरी तयार पारिदिएँ । दाजुभाइ हात समातेर स्कुल लागे । पछिपछि गएँ । गेटबाट पस्नेबित्तिकै दादासँग छुट्टियो । उसको अनुहार हेर्दै थिएँ, ‘अब के गर्ला ?’ म्याम र सरले हार्दिकतासहित समातेर उसलाई लाइन लगाइदिनुभयो । त्यति अप्ठ्यारो मानेजस्तो लागेन । अरु सानासाना साथी अटेर गर्दै थिए ।
यत्रो समयसम्म काखमा राखेर खेलाएको छोरा पठाउनुपर्दा न्यास्रो लाग्यो, दिनभर चिन्ता लाग्यो, ‘रुने पो हो कि स्कुलबाट फोन पो आउने हो कि ?’ साढे दुई बजे लिन स्कुल पुगें । स्कुलको गेटबाट निस्कँदा पनि ऊ खुसी नै देखियो ।
घर आएपछि अरु साथीहरू रोएको र बस्न नमानेको कुरा सुनायो । त्यसले पो असर पार्छ कि भनेर चिन्तित भएँ । तीन महिना पूरा हुन लाग्यो, कुनै दिन पनि ‘स्कुल जाँदिन’ भनेको सुनेको छैन । बरु अरु साथीहरूले नमान्दा आफूले सम्झाएको कुरा सुनाउँछ । त्यति सानो मान्छेले अरुलाई कसरी सम्झाउँछ होला ? सोचेर पनि मनमनै हाँसो उठ्छ ।
सुरुमै उसको दिमागमा भरेकी थिएँ, ‘साना मान्छे भनेका भगवान् नै हुन् । स्कुल भनेको भगवान्को घर हो मन्दिर हो । त्यहाँ म्याम–सरले साना बाबुनानीलाई माया गरेर सिकाउनु हुन्छ । शौचालय जानुपर्‍यो भने सिस्टरले सघाउनुहुन्छ । खाजा पनि उहाँले खुवाउनुहुन्छ । तिमीजस्तै सानासाना नानीबाबु हुन्छन् । उनीहरूसँग खेल्दै पढ्ने हो ।’ यस्ता विषय मैलै दिनहुँ उसको दिमागमा कुरा भरिरहेकी थिएँ । त्यसैले पनि पनि उसमा स्कुल र सर–म्यामप्रति सकारात्मक धारणा बनिरहेको थियो ।
यति भएर पनि कहाँ पुग्छ र आफूले भनेजस्तो त्यहाँ भएन भने बिच्किने डर त छँदै छ । त्यहाँ शिक्षिका र सहयोगीले गर्ने व्यवहारले बिच्केला भन्ने डर अझै छ । घरमा उसको दादा र बाबालाई अहिले पनि ‘टिकटकमा माथि भनिएजस्ता दृश्य आए भने नदेखाउनु है’ भन्छु ।
माघ वा वैशाखमा स्कुल जान थालेका साना नानीबाबु त स्कुलमा अभ्यस्त भइसके होलान् । रुने वा कराउने गर्न छाड्ने भइसके होलान् । कतिपय त अझै स्कुलमा रमाइरहेका छैनन् होला । अर्को शैक्षिक सत्रमा स्कुल पठाउने तयारीमा रहेका अभिभावकलाई यो अनुशरणीय हुनसक्छ ।
सबैले मेरै कुरा अनुशरण गर्नुपर्छ भन्ने त छैन तर पनि स्कुलप्रति बालकको सकारात्मक धारणा बनाउन अभिभावकको ठूलो भूमिका हुने रहेछ । भनिन्छ नि घर नै मानिसको पहिलो पाठशाला हो । आमा पहिलो गुरुआमा (बुवा गुरु) । त्यसपछि वातावरण बनाउने जिम्मा स्कुलको, सर–म्याम र सहयोगीको हो । अभिभावकले दुःख गरेर कमाएको रकम बुझाई आफ्ना सन्तान स्कुल पठाएका हुन्छन् । उनीहरूलाई पारिवारिक वातावरणमा सिकाउने र अगाडि बढाउने जिम्मा स्कुलकै हो । त्यसैले बालबालिकामा सकारात्मक चेतना भर्न स्कुल हरदम प्रयत्नशील हुनुपर्छ ।

 Image