शिशिरराज पाण्डे
धेरैजसो बालबालिका कुनै पनि कुरामा एकाग्र हुन सक्दैनन् । चकचक गरिरहन्छन् । यसलाई हामी सामान्य रूपमा लिँदै ‘बच्चाको बानी’ भन्छौं र त्यति वास्ता गर्दैनौं । तर यो एउटा स्वास्थ्य समस्या पनि हो । यसलाई एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) भनिन्छ ।
विश्वको तथ्यांक हेर्ने हो भने यस्तो समस्या करिब ३ देखि ५ प्रतिशत बच्चामा देखिन्छ । यस्तो समस्या भएका बच्चाचकचक गरिराख्ने, एकै ठाउँमा बस्न नसक्ने, अरुलाई चलाइराख्ने, पढाइमा ध्यान दिन नसक्ने खालका हुन्छन् । टिभी, कम्प्युटर, भिडियो गेममा भुल्छन् । ५ वर्षभन्दामुनिका बालबालिकाले चकचक गरे सामान्य मान्न सकिन्छ । तर यो उमेरभन्दा बढीका बालबालिकामा एकै ठाउँमा नबस्ने, सामान तोडफोड गर्ने, रिस देखाएर नडराउने,बढी बोल्ने, अरुलाई जे पनि भन्ने, पिट्ने, कुनै कुरामा ध्यान दिन नसक्ने, दिएको काम पूरा गर्न नसक्ने जस्ता समस्या देखिए एडीएचडीकै कारण हो भन्न सकिन्छ ।
मानिसको मस्तिष्कमा ध्यान दिने र शान्त हुने भाग हुन्छ । एडीएचडीको समस्या भएका बालबालिकामा मस्तिष्कको त्यो भाग विकास भएको हुँदैन । कसैको १३–१४ देखि १७–१८ वर्षको उमेरसम्म विकास हुन्छ भने कतिपयलाई जीवनभर नै एडीएचडीको समस्या हुन्छ ।यस्ता बालबालिकाछिटो एक्सन लिने अर्थात् देखेपछि गरिहाल्ने खालका हुन्छन् । यस्तो समस्या भएका बच्चाबाटो काट्नुपर्यो भने सोच्दै नसोची दौडन्छन् । हाम फाल्नुपर्यो भने हाम फालिहाल्ने र झगडा गरिहाल्ने खालका हुन्छन् ।
कोही ठूला मान्छे बोलेका छन् भने सोच्दै नसोची बोलिहाल्छन् । पालो कुर्न सक्दैनन् । कतै लाइन बस्नुपर्यो भने अगाडिकालाई धकेलेर भए पनि जानुपर्छ । कक्षामा शिक्षकले जे प्रश्न गरे पनि हात उठाउँछन् । हेर्दा चनाखोजस्तै देखिन्छन् । तर उनीहरूमा एडीएचडी समस्या भएको हुन सक्छ। यस्ता समस्या दुई खालका हुन्छन् । एउटा कुनै पनि कुरामा राम्रोसँग ध्यान दिन नसक्ने खालका हुन्छन् । तिनीरूलाई बढ्न गाह्रो हुन्छ । बच्चा हेर्दा चलाखजस्तै देखिए पनि उसको बुद्धि विकासअनुसार पढाइमा प्रगति गर्न गाह्रो हुन्छ । पढाइमा राम्रोसँग ध्यान दिन सकेन भने राम्रोसँग सिक्न सक्दैनन् पनि । यस्ता समस्या भएका बच्चालाई गाली गर्नुभन्दामाया गरेर सम्झाउनुपर्छ । समस्याको समयमै पहिचान गरी उसलाई जे गर्दा खुसी मिल्छ त्यही गर्न लगाउनुपर्छ । कक्षाकोठामाएकै ठाउँमा बस्न नसक्ने बच्चा छन् भने बीचबीचमा उठ्न दिनुपर्छ । खेलकुदमा भाग लिन लगाउनुपर्छ । जबर्जस्ती यो काम गर भन्नुभन्दा पनि उसले चाहेको कुरा गर्न दिनुपर्छ । जबसम्म शान्त भएर बस्ने वातावरणको विकास हुँदैन तबसम्म यो समस्या रहिरहन्छ ।
बालबालिकालाई हुर्काउने वातावरणले पनि प्रभाव पार्छ ।अक्सर आमाबुवा चाहन्छन्, घर सुकिलोहोस् । सबै सामग्री व्यवस्थित होस् । बच्चाले कुनैपनि सामग्री चलाउने, खेलाउने, फुटाउनेनगरोस् । तर, घरमा बच्चा भइसकेपछि यी सबै कुरा सहनुपर्छ । जति बढी बच्चालाई नियन्त्रणमा राख्न खोज्यो त्यति नै नियन्त्रणबाहिर जान सक्छन् ।
तपार्इं सोच्दै हुनुहुन्छ होला, ‘के त्यसो भए सबैकुरा गर्न छाडिदिने ?’ होइन तर तालिका बनाइदिने ।बच्चाले जे गर्छन्, जसरी गर्छन् उनकै मर्जीअनुसार गर्न दिनुपर्छ । यसको अर्थ हो कि, तपाईंले बच्चालाई नियन्त्रण गर्नु आवश्यक छैन ।किनभने बच्चाले जे–जे गरिरहेका छन्, त्यो उसले काम बिगारेको होइन ।बच्चालाई कुनकुन समयमा कस्तो खालका खेल बच्चाले खेल्ने घरबाहिर र भित्र सिकाइदिनुपर्छ ।
यो उमेरमा उनीहरू हरेक कुरा जान्न, बुझ्न उत्सुक हुन्छन् । त्यही उत्सुकताले डोहोर्याउँदै कहिले पानीको जग तान्न लगाउँछ, कहिले भाडा पछार्न लगाउँछ, कहिले पुस्तकहरू च्यात्न लगाउँछ ।उनीहरूमा अथाह जिज्ञासा हुन्छ, चासो हुन्छ । हरेक कुरा वा वस्तुमाथि उनीहरूको प्रश्न हुन्छ । त्यही उत्सुकता, जिज्ञासा, चासो, उत्सुकता मेट्नका लागि उनीहरूले आफूले भेटेजति सामग्री खेलाउने, तान्ने, बिगार्ने गर्छन् । हामी उनीहरूको मनोभाव बुझ्दैनौं । भन्छौं, ‘साह्रै चकचके छ मेरो बच्चा । सबै कुरा लथालिंग बनाइदिन्छ ।’
कति आमाबुवा बच्चाको यस्तो कामबाट आजित हुन्छन् ।तर्साउँछन् र हप्काउँछन् । कुटपिट गर्छन् । शान्त भएपछि उनीहरू भन्छन्, ‘मेरो बच्चा त साह्रै ज्ञानी छ । केही बिगार गर्दैन ।’
जति धेरै बच्चाले चकचक गर्छन्, त्यसले उनीहरूको मानसिक र शारीरिक दुवै विकास हुन्छ । चकचक गरिरहँदा उनको मनमा जिज्ञासा पैदा हुन्छ । जिज्ञासा मेटिन्छ । फेरि नयाँ कुरा गर्ने सोच पलाउँछ । मस्तिष्क क्रियशील हुन्छ । चकचक गरिरहँदा बच्चाको शारीरिक क्रिया पनि धेरै हुन्छ । यसले उनीहरूको समुचित विकास हुनपुग्छ । आजभोलि बच्चाहरू सानै उमेरदेखि नै टेलिभिजन र मोबाइलमा धेरै समय बिताउँछन् । कुनै वस्तु मन परेन भने अर्को कुरा माग गर्छन् । यसो गर्दा पनि ध्यान एउटै कुरामा टिक्न गाह्रो हुन्छ । त्यसैले यो समस्या दिनप्रतिदिन बढिरहेको छ । त्यसैले बच्चालाई टिभी, मोबाइलमा एक घण्टाभन्दा बढी समय बिताउन दिनुहुँदैन ।
दुई तिहाई बच्चामा उमेर भएपछि अर्थात् १५ वर्षसम्ममा यस्ता समस्या आफैं सुधार भएर जान्छन् । एक तिहाइमा भने यो समस्या जीवनभर रहिरहन सक्छ । यस्तो समस्या ठूलो मानिसमा पनि हुनसक्छ । जसले गर्दा उनीहरू बढी बोल्ने, कुनै कुरामा ध्यान दिन नसक्ने, सवारीसाधन चलाउँदा दुर्घटनामा पर्नेजस्ता समस्या हुन्छन् । यस्ता मानिस कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन् । जसको असर उनीहरूको सम्पूर्ण जिन्दगीमै पर्छ ।
आमावुबाले बच्चा धेरै चकचके छ भनेर घरमै राख्छन्, नियन्त्रण गर्न खोज्छन् । त्यसैले यो रोग पहिचान पनि ढिला हुन्छ । तर औषधोपचार गरे यसलाई नियन्त्रण गर्न सकिन्छ । यसको औषधि नेपालमा पाइँदैन । विदेशबाट ल्याउनुपर्छ । एडीएचडी उपचारबाट भन्दा पनि सहज वातावरण निर्माणबाट समाधान हुन्छ । यदि सबै उपाय गर्दा पनि निको भएन भने उपचार गर्न अस्पताल लैजानुपर्छ ।