करिब १ महिनादेखि सबै उमेर समुहका बालबालिका अहिले अभिभावकसँगै छन् । व्यस्त जीवशैली, कामको चटारो, बढ्दै गएको एकल पारिवारिक संरचनाका कारण अहिलेका बालबालिकाले आफ्ना अभिभावकसँग धेरै समय बिताउन पाएका थिएनन् । अझ दुधे नानीहरुलाई मन्टेश्वरीमा राखेर काममा निस्कने अभिभावक पनि प्रसस्तै छन् ।
अग्रज पुस्तासँगको विछोड र आफ्ना नानीलाई पनि सानैमा स्कुलका ‘डे होस्टल, मन्टेश्वरी तथा होस्टल’को जिम्मा लगाएका अभिभावकहरुलाई आफ्ना बच्चालाई कस्तो ब्यवहार गर्ने भन्ने पनि हेक्का नहुन सक्छ ।
साना बालबालिकालाई कसरी घरमै राखी उनीहरूसँग राम्रो सम्बन्ध तथा सम्झना बनाउने ? विशेष गरी ८ वर्षमुनिका बालबालिकालाई कसरी घरमै राखी उनीहरुको प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्ने भनेर यतिबेला अभिभावकहरुमा चिन्ता हुन सक्छ ।
हिजोआज बालबालिकाको दैनिकीमा परिवर्तन आएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको (कोभिड –१९) संक्रमणका कारण बालबालिका अहिले घरमै बस्न बाध्य छन् । विगतका वर्षहरुमा बालबालिहरु शैक्षिक सत्रको अन्तिम परीक्षा सकाएर लामो विदामा हुन्थे । घर बाहिर गएर खेल्न, घुम्न र सिक्न पाउँथे । तर, त्यो अवस्था अहिले छैन ।
त्यसैले सबैभन्दा पहिले आफ्ना बालबालिकाहरुले घरमै दिनभर के गर्ने भन्ने दैनिकी बनाउने कुराबाट शुरु गर्नुहोस् । दैनिकी बनाउँदा सजिलो र निरन्तर रुपमा पुरा गर्न सक्ने किसिमको बनाउनुहोस् ।
शारीरिक विकासका लागि आफ्ना बालबालिकालाई सदाझै पोषिलो खाना खुवाउनुहोस् । समयमै सुत्ने र समयमै उठ्ने बानीको विकास गर्नु पर्दछ । यो समय बालबालिकालाई व्यायाम, नाँच तथा योग जस्ता क्रियाकलापहरुमा सहभागी गराउनु होस् । औंला प्रयोग हुने सिर्जनात्मक क्रियाकलापहरु जस्तै: चित्र बनाउने, रङ भर्ने आदि कार्यमा उनीहरुलाई प्रेरित गर्नुहोस् ।
सानैबाट स्कुलको रेखदेखमा रहदै आएका बालबालिकाहरुलाई पनि आफ्ना परिवारसँग कसरी बोल्ने भन्ने ज्ञान नहुन सक्छ । त्यसैले बालबालिकाको सामाजिक विकासका लागि घरमा रहेका परिवारसँग विभिन्न विषयमा कुराकानी गर्न लगाउने । लोककथा तथा दन्त्य कथाहरु सुनाउने । घरमै खेलिने खेलहरु (चेस, लुडो, बाघचाल आदि) उनीहरुसँगै बसेर खेल्ने । साथीहरुसँग सञ्चार माध्यम (टेलिफोन तथा इन्टरनेट भएमा) प्रयोग गरेर कुराकानी गराईदिने गर्नु पर्दछ ।
उनीहरुको बौद्धिक विकासका लागि आवाज निकालेर कथाहरू पढ्न लगाउने । उनीहरू आफैं पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउने, गीत गाउन लगाउने अथवा गीत गाएर उनीहरुलाई सुनाउने । घरमा भएका सामग्रीसँग खेल्न सिकाउने । विभिन्न ध्वनि तथा वस्तुहरु चिनाउने । विभिन्न विषयमा प्रश्नोत्तर गर्ने, विभिन्न आकार (गोलो, चारकुने, त्रिकोण) तथा रङहरु भएका घरभित्रका सामानहरुको सुची बताउने वा सकेमा लेख्ने, खोजमूलक क्रियाकलाप गर्ने, पजलहरु बनाउने र बालबालिकालाई आफूसँगै राखेर झर्को नमानि सिकाउने ।