मैतीदेवीकी १० वर्षीया रिनाशालाई एक्कासी अधिक पेट दुख्यो । अघिल्लो रात मम खाएकाले भोलिपल्ट उनलाई पेट तथा टाउको दुखेको थियो । यसैगरी गौशालाका ८ वर्षीय राकेशलाई पनि धेरै खानेकुरा खाएकाले रातभर बान्ता आयो । अहिले लकडाउनका कारण धेरै बालबालिका घरमा नै बस्न बाध्य भएका छन् । घरमा बस्ने, आमाबुवाले पकाएको खानेकुरा धेरै खाँदा बालबालिकामा यस्ता समस्या देखा पर्ने बालरोग विशेषज्ञ डा. निभा राजभण्डारी बताउँछिन् ।
कतिपय स्कुलले लकडाउनका कारण पढाइ अनिश्चित बनेपछि वैकल्पिक शिक्षण पद्धतीको खोजी गर्न थालेका छन् । अनलाइन शिक्षणलाई विकल्प ठानिएको छ । कतिपय निजी विद्यालयले अनलाइन कक्षा सुरु गरिसकेका छन् । यसले गर्दा बालबालिका लगातार मनिटरमा हेर्दा आँखा तथा टाउको दुख्ने समस्या पनि देखा परेको छ ।
स्कुल बन्द भएकाले घरमै बस्दा बालबालिकाले लगातार खाइरहने, बस्ने गर्दा शारीरिक व्यायाममा कमी हुन जान्छ । यसले गर्दा राती निद्रा नलाग्ने समस्या पनि उत्पन्न हुन सक्छ । एकै ठाउँमा लगातार बसिरहदा शारीरिक गतिविधि कम हुन गई हातखुट्टा दुख्न सक्छ ।
अहिले धेरै अभिभावक पनि घरमै भएकाले र खाली समय व्यतित गर्न युट्युबमा हेरेर चिल्लो खानेकुरा बनाएर खान दिने गर्छन् । यस्ता खानेकुरा अधिक खाँदा, पानी नपिउँदा बालबालिकामा कन्स्टिपेसन हुन सक्छ । कति त बालबालिका आफैं पनि युट्युब हेरेर केक तथा नयाँ चिल्ला परिकार बनाएर खाने गर्छन् । यसरी धेरै खानेकुरा खाँदा बान्ता आउने, दिसा लाग्ने र अपच हुन सक्छ । अहिले गर्मी मौसम भएपनि दिनहँु पानी परिरहेकाले वातावरण चिसो छ । यस्तो अवस्थामा बालबालिकालाई ज्वरो आउने तथा रुघाखोकी लाग्न सक्छ । सामान्यतया: ७ देखि १२ वर्ष उमेरका बालबालिकामा यस्ता समस्या देखिन्छन् । अहिले लकडाउनका कारण बालबालिकाको दिनचर्या अस्तव्यस्त बनेको छ । यस्तो अवस्थामा बालबालिकाको सुत्ने, उठ्ने समय पहिलेको (स्कुल जाने बेलाको) जस्तै हुनुपर्छ । अनुशासित रुटिन हुनु वेश हुन्छ ।
समय–समयमा अभिभावकले बालबालिकालाई ध्यान दिनुपर्छ । स्वस्थ खानेकुरा खान दिनुपर्छ । शारीरिक गतिविधिमा संलग्न गराउनुपर्छ । बाहिरबाट खानेकुरा मगाएर खुवाउनु भन्दा घरकै खानेकुरा खानमा जोड दिनुपर्छ । लकडाउनका समयमा बाहिरको खाना स्वस्थ नहुन सक्छन् ।
समाधानका लागि
– पढ्न वा अन्य कुरा हेर्न धेरै समय लगातार अनलाइनमा बस्न दिनुहुँदैन । बीच–बीचमा ब्रेक गरिदिनुपर्छ ।
– बालबालिकालाई दिसा धेरै पटक दिसा लागेमा, पेट दुखेमा चिकित्सकको सल्लाहमा मात्र औषधी दिनुपर्छ ।
– दिसामा रगत देखापरेमा दिसाको जाँच गराउनुपर्छ ।
– बान्ता आएमा बान्ता रोक्ने औषधी दिन सकिन्छ ।
– बालबालिका पानी कम पिउँछन् त्यसैले समय–समयमा पानी पिउन दिराख्नुपर्छ ।
– जंकफुड खान प्रोत्साहन गर्नुहुँदैन । स्वस्थ खानेकुरा र फलफूल दिनुपर्छ ।
– समय–समयमा बाथरुम पठाउनुपर्छ ।
– बालबालिकाको संगीतमा रुचि भएमा गाउन, नाच्न तथा अन्य क्रियाकलाप गर्न प्रोत्साहन गर्नुपर्छ ।
– बालबालिकालाई योग, ध्यान गर्न लगाउनुपर्छ । शारीरिक गतिविधिमा जोड दिनुपर्छ । फूटबल तथा स्किपिङ खेल्न लगाउन सकिन्छ । यसैगरी स्पेस कम भएमा भर्याङ तलमाथि गर्न लगाउन सकिन्छ । यसो गर्दा बालबालिका स्वस्थ हुनुका साथै निद्रा राम्रो पर्छ ।
– सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्छ । बारम्बार साबुन पानीले हात धोइरहनु पर्छ ।
(वयोधा हस्पिटलका बालरोग विशेषज्ञ, डा. निभा राजभण्डारीसँगको कुराकानीमा आधारित)