Successfully Copied

के तपाई बालबालिकालाई ‘सरी’ भन्नुहुन्छ ?

गल्तीको अर्थ तपाईंले कसैको मन दुखाउनु हो । त्यसैले अभिभावकले पनि गल्ती गर्दा आफ्ना बालबालिकासँग माफी माग्नुपर्छ । आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । अभिभावकको गल्तीले उनीहरूको मन दुखेको छ भने माफी माग्दा दुवैको सम्बन्ध सुमधुर हुन्छ ।


बालबालिकाले गल्ती गर्दा अभिभावकहरू तुरुन्तै उनीहरूलाई ‘सरी’ भन्न लगाउँछन् । किनभने भविष्यमा यस्तो गल्ती पटक–पटक नदोहोरियोस् । बालबालिकाले सरी नभने उनीहरूलाई सजाय दिइन्छ । तर के अभिभावकहरू आफू गल्ती गरेर पनि बालबालिकालाई यस्तै व्यवहार गर्छन् ? कतिपय अभिभावक आफ्ना छोराछोरीलाई सरी भन्दा उनीहरूको अगाडि आफ्नो इज्जत जाने र अरु बेला आफ्नो कुरालाई गम्भीर रूपमा लिँदैनन् भन्ने सोच्छन् । तर सरी भन्दा इज्जत जानुको साटो अझ बढ्ने विज्ञहरूको भनाइ छ । बालबालिकाले गल्ती गर्दा माफी माग्नु सामान्य कुरा हो । जब उनीहरू गल्ती गर्छन्, अभिभावक उनीहरूबाट माफीको चाहना राख्छन् ।
गल्तीको अर्थ तपाईंले कसैको मन दुखाउनु हो । त्यसैले अभिभावकले पनि गल्ती गर्दा आफ्ना बालबालिकासँग माफी माग्नुपर्छ । आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । अभिभावकको गल्तीले उनीहरूको मन दुखेको छ भने माफी माग्दा दुवैको सम्बन्ध सुमधुर हुन्छ ।


अभिभावकले सरी भन्नुपर्छ
यदि तपाईं र बालबालिकाको सम्बन्ध राम्रो छैन भने यसको कारण गल्ती स्वीकार नगर्नु पनि हो । अभिभावकले गल्ती गर्दा बालबालिकाले त्यसबारेमा सोच्छन् वा सोच्दैनन् होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर बालबालिका गल्ती कसको हो भन्ने कुरा बुझ्न सक्छन् । गल्ती गरेपछि सरी नै नभनेपछि उनीहरूले पनि माफी माग्नुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा लिँदैनन् । आफ्ना छोराछोरीसँग माफी माग्दा ‘सानो वा ठूलो गल्ती जोबाट पनि हुन सक्छ, त्यसलाई लुकाउनुको साटो स्वीकार गर्नुपर्छ’ भनेर पनि सिकाउन सकिन्छ । त्यसबाट बालबालिकाले गल्ती गर्दा अरुको भावनामा ठेस पुग्न सक्छ भन्ने कुरा थाहा पाउँछन् । माफी मागेर एक–अर्काको सम्बन्ध राम्रो बनाउन सकिन्छ । गल्ती गरेपछि सानोले मात्र होइन ठूलाले पनि माफी माग्नुपर्छ यसले आपसी विश्वास र प्रेम बढ्छ ।


जिम्मेवारी लिने
रिसका बेला धेरैजसो अभिभावक आफ्ना छोराछोरीलाई गाली गर्ने, कुट्ने गर्छन् । कहिलेकाहीँ रिसाउनु बालबालिकासँग कराउनु त ठीकै हो । तर पटक–पटक गाली गर्नु, कुट्नु गलत हो । यस्तोमा आफ्नो जिम्मेवारी लिएर माफी माग्नुपर्छ ।

सफाइ दिने
गल्ती गरेपछि माफी मात्र होइन सफाइ पनि दिनुपर्छ । गल्ती गर्नुको पछाडि के कारण थियो त्यो पनि बुझाइदिनुपर्छ । यसले बालबालिकाले गल्तीको कारण बुझेर उनीहरू पनि यस्तो गल्ती गर्नबाट बुझ्छन् ।


बालबालिकाको भावना बुझ्ने
बालबालिकालाई गाली गर्दा वा कराउँदा उनीहरू दुःखी हुन्छन् । सरी भनेपछि उनीहरूलाई आफू पनि दुःखी भएको महसुस गराउनुपर्छ । बालबालिकालाई गल्ती गरेपछि सजाय पाएको वा गाली गरेको कुरा उनीहरू गैरजिम्मेवार भएर होइन भन्ने कुरा बुझाउनुपर्छ ।


के तिमी माफी दिन सक्छौ ?
बालबालिकालाई माफी मागेपछि उनीहरूलाई सरल भाषामा ‘के तिमी मलाई माफी दिन सक्छौ ?’ भनेर सोध्ने । यसले दुवैको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्छ ।



समाधान खोज्ने
जुन कुराले अभिभावक र बालबालिकाकाबीचको सम्बन्ध बिग्रिएको थियो त्यसको समाधान खोज्नुपर्छ । त्यसका लागि दुवैजना बसेर यसबारे छलफल गर्न सकिन्छ, जसले गर्दा यस्तो परिस्थिति अर्को पटक आउँदा रोक्न सकिन्छ ।
कहिले र कसरी भन्ने सरी ?
आफ्ना बालबालिकालाई सरी भन्दा साँच्चै नै मनबाट भन्नुपर्छ । ‘म साँच्चै नै दुःखी छु’ भनेर आफ्नो गल्तीको जिम्मेवारी लिँदै माफी माग्नुपर्छ । त्यसका साथै गल्ती गर्नुको कारण पनि बताइदिनुपर्छ । अभिभावकको गल्तीले गर्दा बालबालिका दुःखी छन् भने उनीहरूको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ । बालबालिकालाई सरी भनिसकेपछि तुरुन्तै उनीहरूसँग ठट्टा गर्नु हुँदैन । यसले उनीहरूमा सरी सिर्फ फकाउने बाहना हो भन्ने बुझ्छन् र भविष्यमा यी कुरा बेवास्ता गर्ने तरिकाका रूपमा लिन सक्छन् । 

 Image