Successfully Copied

बिद्यार्थीलाई होमवर्कको भारी कसरी घटाउने ?

हामीले विद्यालयमा प्रदान गरिरहेको पूर्वीय दर्शन र पश्चिमी शैलीलाई मिश्रण गर्दै समयसापेक्ष शिक्षाले होमवर्कसँगै अन्य कृयाकलापमा पनि उत्तिकै सहभागी गराइरहेको छ ।

संगीता सिंह दाहाल (संस्थापक÷कार्यकारी निर्देशक, इलिक्सर एकेडेमी कुमारीगाल)

अहिले निजी विद्यालयहरूमा बालबालिकालाई होमवर्कको भारले थिचेको पाइन्छ । के होमवर्क मात्रै सिकाइको विकल्प हो ?
होइन । तर होमवर्कलाई सिकाइको एउटा ‘परम्परागत तरिका’ का रूपमा भने लिन सकिन्छ । सुनेको भन्दा व्यावहारिक रूपमै आफूले गरेको कामले ज्ञानको दायरालाई फराकिलो बनाउने र अझ बढी गहिराइमा गएर सिकिने भएकाले गृहकार्य विद्यार्थीका लागि जरुरी छ । तर यो मात्रै सिकाइको मूल विकल्प होइन ।

उसो भए होमवर्कको भारबाट दिक्क भएका विद्यार्थीलाई अन्य के–कस्ता अतिरिक्त कृयाकलापमा लगाउनुपर्ला ?
हामीले विद्यालयमा प्रदान गरिरहेको पूर्वीय दर्शन र पश्चिमी शैलीलाई मिश्रण गर्दै समयसापेक्ष शिक्षाले होमवर्कसँगै अन्य कृयाकलापमा पनि उत्तिकै सहभागी गराइरहेको छ । हाम्रा विद्यार्थीले विभिन्न विषयका कार्यशाला तथा तालिममा नियमित रूपमा सक्रिय सहभागिता जनाइरहेका हुन्छन् । संगीत, नृत्य, खेलकुदलगायतका कुरामा सहभागी हुँदा घोकन्ते विद्याबाट टाढा रही शारीरिक–मानसिक रूपमा तरोताजा हुने मौका मिल्छ ।


होमवर्कको तनाव व्यवस्थापन कसरी गर्ने ?
बालबालिका होमवर्कको मामिलामा अल्छी गर्छन् । कुनै पनि बालबालिका होमवर्कका लागि त्यति उत्साहित भएको पाइँदैन । त्यसैले यसका लागि अभिभावकले प्रेरणादायी र सहयोगी भूमिका निर्वाह गरिदिनुपर्छ । होमवर्कका लागि निश्चित तालिका बनाइदिनुपर्छ । कठिन खालका प्रोजेक्ट वर्कमा आवश्यक सामग्री जुटाइदिएर सहयोग गरिदिनुपर्छ, यदि हल नहुने समस्या आइपरेको खण्डमा फोन गरेर होस् वा सामाजिक सञ्जालमा जोडिएर, शिक्षकसम्म पुग्ने बाटो अपनाइदिनुपर्छ । होमवर्कको बीच–बीचमा लिइने ब्रेकमा बालबालिकालाई ‘सर्ट वाक’ मा लैजान सकिन्छ । प्रेरणादायक कथा सुनाउन सकिन्छ ।

विद्यार्थीले होमवर्कसँगै कसरी रमाइलो महसुस गर्न सक्छन् ?
सर्वप्रथम त कक्षामा पढाइरहेका बेला केन्द्रिकृत हुनु नै ‘होमवर्क इन्जोय’ गर्ने उत्तम उपाय हो । त्यसका अलावा विद्यार्थीले आफ्नो पढाइको निश्चित एरिया सेट गर्न सक्छन् । प्रोजेक्ट वर्कका लागि घरभित्रै र वरिपरि उपलब्ध हुन सक्ने सामग्री प्रयोग गर्न सकिन्छ । कुन होमवर्कलाई प्राथमिकतामा राख्ने भनेर तालिका बनाउन सक्छन् । त्यति मात्र नभएर होमवर्कका लागि समय तालिका बनाउनु अत्यावश्यक हुन्छ ।

होमवर्ककै कारण विद्यार्थीले अत्यधिक तनाव महसुस गरे भने के गर्ने ?
योग, मेडिटेसन, म्युजिक, डान्स र एक्सरसाइजले तनाव कम गर्न मद्दत गर्छ । होमवर्क गर्दागर्दै बालबालिकाले अत्यधिक तनाव महसुस गरेमा रिल्याक्स मुडमा लामो र गहिरो श्वास लि“दै–छोड्दै गर्न लगाउने, होमवर्क सुरु गर्नुअघि वाकिङमा लैजाने वा बालबालिकालाई मन परेको संगीत सुनाउँदै उनीहरूको रुचिको खाना खुवाउने गर्न सकिन्छ ।

आफ्ना बालबालिकालाई होमवर्कका लागि प्रेरित गर्न अभिभावकले के गर्नुपर्ला ?
डिजिटल स्टुडेन्ट प्लानर प्रयोग गर्दैै स्पष्ट गृहकार्य नीति बनाइदिएमा विद्यार्थीहरू होमवर्क गर्दा रमाउने सम्भावना रहन्छ । त्यसका अतिरिक्त दिइएको जिम्मेवारीलाई एकै पटकमा सिध्याउँछु भन्ने भन्दा पनि टुक्र्याएर पटक–पटकमा गर्न लगाउँदा बालबालिकालाई नयाँ अनुभव हुनसक्छ । उनीहरूस“ग छलफल गर्ने, समस्या पहिचान गरी त्यसको समाधान निकाल्न पर्याप्त सहयोग गर्दा होमवर्कका लागि उत्साहित हुनसक्छन् ।

 Image