Successfully Copied

यसरी ल्याउनुस् बच्चाको खाने बानीमा सुधार

बच्चालाई खाना खुवाउनका लागि हातमाप्लेट लिएर घण्टौं पच्छ्याउनु पर्दा धेरै अभिभावक हैरान हुनु भएको छ । नखाँदा बच्चामा विभिन्न स्वास्थ्य एवम् शारीरिक समस्या पनि हुने गरेको छ । निश्चय नै तपाईंको प्रथामिकतामा बच्चाको पोषण र स्वास्थ्य हो ।



के तपाईंको बच्चा खाने मामलामा किचकिच गर्छ ? खानै नमान्नाले पोषणमा कमी आई स्वास्थ्यमा असर पो परिरहेको छ कि ! चिन्ता नमान्नुन्, बच्चाको खाना खाने बानीमा सुधार ल्याउन अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अञ्जु भट्टराईले केही सुझाव दिनु भएको छ । यसलाई पालना गर्नुस्, बच्चाको बानीमा सुधार आउने छ ।

उनको सुझाव यस्तो छ :
बच्चालाई खाना खुवाउनका लागि हातमाप्लेट लिएर घण्टौं पच्छ्याउनु पर्दा धेरै अभिभावक हैरान हुनु भएको छ । नखाँदा बच्चामा विभिन्न स्वास्थ्य एवम् शारीरिक समस्या पनि हुने गरेको छ । निश्चय नै तपाईंको प्रथामिकतामा बच्चाको पोषण र स्वास्थ्य हो । जुन उसको आहारसँग सम्बन्धित हुन्छ । त्यसैले बच्चालाई खाना खाने बानीमा सुधार गराउने केही उपाय छन् । ती यसप्रकार छन् ः

रंगको कमाल
बच्चाहरूमा स्वस्थ खाने बानीको विकास गर्न रंग सहयोगी बन्न सक्छ ।हप्ताको प्रत्येक दिन इन्द्रेणी रंगका रंगीबिरंगी पकवान तयार पार्नुहोस् ।प्रत्येक दिन फरक–फरक रंगका खानेकुरा देख्दा बच्चाको दिमाग मोडिन सक्छ र उसको खानाप्रतिको रुचि बढ्दै जान्छ । साथै, बच्चाको प्लेटलाई आकर्षक बनाउन केही प्रयोगहरू गर्न सकिन्छ। जस्तै प्लेटमा सानो र पातलो रोटी राख्नुहोस्, त्यसलाई बिभिन्न सेप दिएर कटिङ गर्नुहोस् र बच्चाले चाहेको आकारमा ढाल्नुहोस् । 

खाना मूल्यावान भएको महसुस गराउनुहोस्
बच्चाहरूमा राम्रो खाना बानी विकास गर्न उनीहरूले खानाको मूल्य थाहा पाउनु महत्वपूर्ण हुन्छ । सबै भेराइटी बच्चाको अगाडि एकैपटक नटक्रयाउनुहोस् । यसो गर्दा बच्चाले खाना फाल्छ । उसलाई खानाको कुनै महत्व हँुदैन् र उसमा दुबिधा बढेर जान्छ । अब के गर्ने त ?एकपटकमा एउटा मात्र खाना त्यो पनि कम मात्रामा बच्चालाई दिनुहोस् । ता कि ऊत्यो खाना सकेर फेरि थप्न इच्छुक देखियोस् । बच्चालाई उसको खाना पूर्ण रुपमा समाप्त गर्ने मौका दिनुहोस् । एकपटकमा एउटा मात्रै बिकल्प दिनुहोस्, तब उसले बुझ्छ खाना कति मूल्यवान छ । 

खाना पस्किँदा समानान्तर पकवानमा ध्यान दिनुहोस्
यो महत्वपूर्ण छ कि बच्चालाई उही चीजहरू दिनुपर्छ जुन घरका अन्य सदस्यहरूले खाइरहेका छन् ।उसलाई मात्र फरक चिज दिंदा बच्चाले आफू बिभेदमा परेको अनुभूत गर्छ ।घरका अन्य सदस्यको प्लेटमा जस्तो खाना छ बच्चालाई पनि यसैगरी खाना सर्भ गर्नुपर्छ । यसो गर्दा बच्चाले घरका अभिभवाकरुको अनुकरण गरेर टेबल म्यानर सिक्ने मौका पाउँछ । हुनसक्छ केही दिन उ डायनिङ टेबलमा चकचक गर्छ तर बिस्तारै आफ्ना गल्तीहरु सच्याउँदै सफा राख्न र सही तरिकाले टेबल म्यानर फलो गर्न उसलाई प्रोहोत्साहन मिल्छ । 

आफैंले खाने बानीमा जोड दिनुहोस्
बच्चालाई आफैं खाना खाने बानी बसाल्नुहोस् । बिशेषज्ञहरुका अनुसार पन्ध्र महिनाको बच्चाले खानाको अर्थ बुझ्न थाल्छ । बढ्दो उमेरसंगै बच्चा आफैंले खानुपर्दछ । बच्चाको खाना गाँजर, पापड आदिबाट सुरू गर्नुहोस् । त्यस पछि चम्चाको साथ दाल, भात खाने बानीको विकास गराउनुहोस् । बिस्तारै ऊ आफैंले खान थाल्छ र त्यसमा रमाउँछ पनि । 

सबै किसिमका खाना आवश्यक 
जब बच्चाले ठोस खाना खान सुरू गर्दछ, दाल या त्यसबाट बनेका परिकार तथा सूजी जस्ता विकल्पहरू राम्रो हुन्छ । कहिलेकाहीं आमाहरू लामो समयसम्म पनि बच्चालाई आफ्नै हातले सुवाइदिने काम गर्छन्, जुन सही होइन । चौध वा पन्ध्र महिनाको उमेरदेखिबच्चाहरुको स्वाद लिने क्षमता सक्रिय हुन्छ । चिसो, तातो, अमिलो, गुलियो सबै स्वाद महसुस गर्न सक्छन् । यस्तो अवस्थामा, सुरुदेखि नै सबैथोक खाने बानी विकास गराउनु आवश्यक छ । बच्चाहरू बारम्बार उहीं परिकार खाँदा दिक्क हुन्छन् । त्यसैले उनीहरूलाई दैनिक स्वाद परिवर्तन गराउँदै खाना दिनु आवश्यक हुन्छ । 

जबरजस्ती नकोचाउनुस्
बच्चालाई जबरजस्त खाना कोचाउने चलन पनि हुन्छ । यसो गर्नु गलत हो । बरु आफैंलाई केही प्रश्नहरू सोध्नुहोस्, के बच्चाको खानामा पर्याप्त समय अन्तराल छ ? के खाना बच्चाले चाहेको स्वादअनुसार छ ? के बच्चाले खानाअघि खाजा खाएको त थिएन ? तपाईंको बच्चालाई शारीरिक गतिविधि कत्ति बढी चाहिएको छ ? खानाको बीचमा ३ देखि ४ घण्टासम्मको समयान्तर हुनुपर्दछ । यद्यपि बच्चाहरूलाई जंक फूडबाट टाढा राख्नुपर्दछ, तर यसमा बच्चा ज्यादै जिद्धी गरिहालेमा कहिलेकाही कम मात्रामा खाना खानुभन्दा १ घण्टा अगाडिखाजाका रुपमा दिन सकिन्छ ।  जंक फूडले भोक कम गर्दछ ।

बच्चाका लागि महत्वपूर्ण खानेकुरा
– अलि ठूलो भएका बच्चाहरूसंगै किचनका सामानहरू किन्नुहोस् । यसबाट तपाईंले उनीहरूको छनौट जान्ने अवसर पाउनुहुनेछ र बच्चाहरूले पनि पौष्टिक तत्वहरूको महत्व बुझ्नेछन् । 

– दुधमा कटौती आवश्यक छ । जब बच्चा खाना खान योग्य हुन्छ, उसलाई दिनको दुईपटक मात्र दूध पिलाउँदा उत्तम हुन्छ । 

– प्याकेजिङ गरिएका खाना (जुस, रोटी, चाउचाउ) आदि बच्चाहरूलाई दिनुहुँदैन । चिनीको उच्च मात्राभएका खानेकुराले बच्चाको शारीरिक र मानसिक विकासमा असर गर्छ ।

– बच्चाका लागि प्लास्टिकले बनेका स्कूलको टिफिन बक्स र पानीका बोतलहरू प्रयोग नगर्नुहोस् । यति मात्र होइन, खाजा बक्समा भएको रोटी वा स्यान्डविचलाई सिल्भर फोइलमा लपेट्नु हुँदैन ।यी कुराले हाम्रो स्वास्थ्यमा साइड इफेक्ट पैदा गर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । 

– खाना खाइसकेपछि, बच्चाहरूलाई चकलेट तथा आइसक्रिम जस्ता चीजहरू नदिनुहोस् । रातको खाना सुत्नुअघिको अन्तिम खुराक हो । यसले बच्चाको निद्रामा प्रत्यक्ष्य प्रभाव पार्दछ । जसले बच्चाको शारीरिक र मानसिक विकास दुबैलाई असर गर्दछ । बच्चाहरूलाई रातमा यी चीजहरूबाट टाढा राख्नुहोस् । 
 

 Image